Friday, July 10, 2009

बर्सेनि १० हजार घर थपिँदो

बर्सेनि १० हजार घर थपिँदो

कान्तिपुर संवाददाता

काठमाडौं, उपत्यकामा वर्षको १० हजार घर थपिनाले भूमिगत खानेपानीमा प्रत्यक्ष असर परेको अध्ययनले देखाएको छ ।

बर्सेनि निर्माण हुने घरले कम्तीमा ३ हजार रोपनी जमिन ढाक्ने हुनाले भूमिगत पानी पुनः पूरण -रिचार्ज) हुन नपाई उपत्यकामा सतहमुनिको पानी सुक्ने अध्ययनमा छ । खारेज हुनुअघिको जलस्रोत मन्त्रालयअन्तर्गतको भूमिगत जलस्रोत विकास समितिले गराएको अध्ययनले यही दरमा उपत्यकाको जमिन घरहरूले ढाक्दै जाने हो भने आगामी दिनमा एक थोपा पानी जमिनमुनि घुस्न नपाउने उल्लेख छ ।

सन् २००१ को तथ्यांकअनुसार उपत्यकामा ३ लाख ४५ हजार घरधुरी छन् । उपत्यकामध्ये सबैभन्दा बढी काठमाडौंमा मात्र २ लाख ३५ हजार घर छन् । यिनले १६ हजार हेक्टरभन्दा बढी भूमि ओगटेका छन् ।

जमिन र वातावरणमाथि खराब असर नपारीकन उपत्यकाको भूमिगत जलस्रोत उपयोगिताको अवस्था अध्ययन गराउन अघिल्ला वर्ष समितिले अध्ययन गराएको थियो । अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने क्रममा विज्ञहरूको परामर्श लिने क्रममा बुधबार आयोजित कार्यशालामा विज्ञ डा. सुरेशदास श्रेष्ठले भने, 'भूमिगत पानी नियमन नगर्ने हो भने ठूलो खतरा आइलाग्ने छ ।'

तीव्र सहरीकरण र बढदो जनसंख्याले भूमिगत पानीमा चाप बढिरहेको छ । खानेपानी, उद्योग, कलकारखानाले भूमिगत पानी उपयोग गरिरहेकाले वर्षको २ दशलमव ५ मिटरका दरले भौगर्भिक पानीको सतह घटिरहेको डा. श्रेष्ठले जानकारी दिए । उनका अनुसार सन् १९८४ मा बाँसबारीमा ४८ दशमलव शून्य ८ मिटर गहिराइमा पानी आउने गरेकामा सन् २००० मा त्यस्तो गहिराइ ८२ दशलमव ५ मिटर पुगेको छ ।

उपत्यकामा ७ सयभन्दा बढी डिप ट्युबवेल छन् । डिप ट्युबवलेले कम्तीमा २ सय मिटर गहिरोमा गएर जमिनमुनिको पानी झिक्ने गरेका छन् । ट्युबवेलको पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयूकेएल), होटलहरू, उद्योग प्रतिष्ठान र घरायसी प्रयोजनका लागि प्रयोग हुँदै आएको छ ।

खानेपानी संस्थान, प्लास्टिक टेक्सटाइल, बोटल उद्योग, डाइङ तथा कार्पेट उद्योग, होटल, राजदूतावास, प्रतिष्ठान, हाउजिङ कोलोनी आदि गरी दैनिक करिब ५ करोड लिटर भूमिगत पानी दोहन हुने गरेको उक्त अध्ययनमा छ । केयूकेएलले यो वर्ष ४९ वटा विभिन्न ट्युबवेलबाट दैनिक २ करोड ३५ लाख लिटर पानी दोहन गरेको छ ।

Posted on: 2009-07-09 20:16:27

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=203444


No comments:

Search and Buy from amazon.com