Friday, July 10, 2009

वर्षकै ठूलो ट्राफिक जाम

वर्षकै ठूलो ट्राफिक जाम

केदार ओझा

३ः ३५ राष्ट्रपति निस्के

५ः४५ राष्ट्रपति पसे

अाधा घन्टा अघिदेखि आवागमन रोक्दा पौने तीन घन्टा सडक ठप्प ।

काठमाडौं- राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम पढ्ने मेसो मिलाउँदा बिहीबार राजधानीका सबैतिर सम्भवतः वर्षकै सबैभन्दा लामो ट्राफिक जाम भयो ।

जताततै सवारी अवरुद्ध भएपछि उपत्यका नै एक ढिक्काजस्तो भएको जाममा एम्बुलेन्सलगायत आकस्मिक सवारीहरू समेत साइरन बजाउँदै घन्टौं रोकिए । बिरामीहरू बाटोमै अलपत्र परेका थिए भने स्कुले गाडीभित्र बसेर घर फकर्ंर्दै गरेका बालबालिका निसास्सिएर रुँदै कराउँदै गरेको देखिन्थ्यो । असह्य भएपछि यात्रु पैदल हिँडेकाले जाममा परेका सार्वजनिक सवारीहरू खाली देखिन्थे ।

राष्ट्रपति रामवरण यादवलाई राष्ट्रपति कार्यालयबाट, उपराष्ट्रप्रति परमानन्द झालाई मित्रपार्कस्थित निवासबाट र प्रधानमन्त्री माधव नेपाललाई सिंहदरबारबाट औपचारिक सवारीकासाथ बानेश्वरस्थित संविधानसभा भवन ल्याउन, लैजान अन्य सवारी रोकिएकाले यस्तो जाम भएको थियो ।

राष्ट्रपतिको गाडी विशाल कारगेडसहित ३ः३५ बजे राष्ट्रपति भवनबाट संविधानसभाका लागि निस्केको थियो । पूरै सडक खाली गराएर स्कर्टिङ गरी ल्याइएका राष्ट्रपतिलाई सिंहदरबारबाट थप घोडाको बथान -रिसल्ला) ले स्कर्टिङ गरेका थिए । घोडा अगुवा पछुवा लगाएर ल्याउँदा, लैजाँदा पूरै कारगेड र राष्ट्रपतिको गाडी सुस्त गतिमा गुडेको थियो । घोडाको स्कर्टिङमा राष्ट्रपतिको गाडी प्रतिघन्टा पाँच किलोमिटरका दरलेमात्रै गुडेको थियो ।

निर्धारित समयभन्दा आधा घन्टाअघि नै खाली गरिएको सडक राष्ट्रपति यादवले नीति तथा कार्यक्रम पढेर राष्ट्रपति भवन नफर्कुन्जेल खाली नै गराइएको थियो । 'राजकीय सम्मानसाथ सवारी चलाउनु परेकाले केही बढी समय जाम भएको हो,' ट्राफिक महाशाखाका कार्यवाहक प्रमुख रवि श्रेष्ठले भने ।

ट्राफिकले अपराह्न तीन बजेदेखि ठूला गाडीको आवागमन बन्द गराएको थियो भने ३ः२५ देखि सबैखाले सवारीसाधनलाई सवारी रुटमा गुड्न बन्द गरेको थियो । संविधानसभा भवन आउँदा, नीति तथा कार्यक्रम पढदा र फकर्ंदा राजधानीका सडकहरू पौने तीन घन्टा ठप्प भए । महाराजगन्जस्थित शीतल निवासदेखि बानेश्वरसम्म सडक पूरै खाली गरिएको असर चक्रपथ र भित्री गल्लीहरूमा समेत पर्दा राजधानी एक ढिक्काजस्तो हुने गरी जाम भएको थियो ।

सडक खाली गराएको माइतीघर, बानेश्वर क्षेत्र प्रतिमिनेट १ सय ६० मोटरसाइकल र ५० गाडी गुडने सडक हो । विशेष सुरक्षा र सम्मानकासाथ कारगेडमा लैजाने क्रममा भएको जामबाट विगतमा राजाको सवारीको क्रममा हुने हैरानीको झल्को आउँथ्यो । 'आम सडक प्रयोगकर्ताका लागि गणतन्त्र आएपछि पनि कुनै फरक महसुस भएन' एकैस्थानमा डेढ घन्टा जाममा परेका ट्याक्सी चालक श्याम तामाङले भने, 'ठूला व्यक्तिलाई हेलिकप्टरबाटै ल्याउने लैजाने नगर्ने हो भने आम जनतामाथिको यस्तो ज्यादती अब धेरै दिनसम्म चल्दैन ।' मोटरसाइकल चालक तुलसी भट्टराईले भने, 'राजतन्त्र र गणतन्त्रमा राष्ट्रप्रमुखका नाममा हुने ज्यादतीमा केही फरक देखिएन ।'

सडकमा घन्टौं उभिन बाध्य सवारीसाधनका चालकले सुन्धारा, केशरमहल, लैनचौर, माइतीघर र बानेश्वरलगायतका स्थानमा जामको विरोधमा हर्न र सिटी बजाएका थिए । तुरुन्तै बाटो खुल्ने आसमा अधिकांशले घन्टौंसम्म सवारीको इन्जिन बन्द नगरी बस्दा प्रदूषणले आँखा पोलेर पुस्दै गरेको देखिन्थ्यो ।

'सम्भवतः विगत डेढ वर्षयताकै सबैभन्दा लामो समयसम्म सडक अवरोध भयो' महानगरीय ट्राफिक महाशाखामा विगत दुई वर्षदेखि कार्यरत एक अधिकृतले भने, 'सम्मान र सुरक्षाका नाममा यस्तो ज्यादती गरिनुहुन्न ।'

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने सुरक्षा समिति बैठकले सवारीसम्बन्धी नीति बनाउने गर्छ । नेपाली सेनाका 'विशेष सुरक्षा दस्ता' हावी रहने उक्त बैठकमा जनतालाई कम दुःख हुने गरीभन्दा पनि परम्परागत शैली र ढर्रालाई कायमै राख्ने प्रयास बढी हुने गर्छ । ट्राफिकले सवारी रुटमा साइकलसमेत हिँडन नदिएका कारण सडक पेटीमा पैदल यात्रुको जुलुस हिँडेजस्तो देखिन्थ्यो । महाशाखाका एक अधिकृत भन्छन् सवारीका कारण जनतालाई दुःख नहोस् भनी अघिल्लै दिन अभ्यास पनि गरिन्छ, तर हैरानी पाउने क्रम भने कहिल्यै रोकिएन ।'

ट्राफिक जाम भएका अवधिभर महाशाखास्थित पैसा नलाग्ने १०३ मा फोन उठाउन भ्याइनभ्याई थियो । जामबारे सोध्ने अधिकांशले कारण थाहा पाएपछि सरकार र नेताबारे जथाभावी गाली गर्ने गरेका कन्ट्रोल कक्षमा बस्ने ट्राफिकहरूले बताए । जाममा परेका अधिकांश चालकले पनि राष्ट्रपति र सरकारमा बस्ने नेताहरूको चर्को आलोचना गरेका थिए ।

Posted on: 2009-07-09 20:15:39

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=203441


No comments:

Search and Buy from amazon.com