Tuesday, July 7, 2009

सीमा मिचिएको संसदीय समितिको ठहर

सीमा मिचिएको संसदीय समितिको ठहर


काठमाडौं, असार २४ (नागरिक)- संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले भारतसँग जोडिएको भूभागमा भारतीय पक्षबाट सीमा अतिक्रमण भएको निष्कर्ष निकालेको छ।

गत महिना सीमा निरीक्षणमा गएको समितिको टोलीले सीमावर्ती क्षेत्रका नेपाली बासिन्दामाथि ज्यादती भएको पनि ठहर गरेको छ ।

समितिका सभापति पद्मलाल विश्वकर्माका अनुसार समितिले इलाम झापा बारा र दाङमा स्थलगत भ्रमण गरी निष्कर्ष निकालेको हो। बाराको मटिअर्वा र दक्षिण झिट्कैयाँ गाविसमा नेपाली भूमि अतिक्रमण गरिएको उनले बताए।

दाङ जिल्लामा गत महिना स्थलगत भ्रमण गर्ने टोलीको नेतृत्व गरी फर्केका विश्वकर्माले दाङको खबरी नाकादेखि भौवा नाकासम्म करिब ७५ किलोमिटर सीमाको दसगजा क्षेत्रमा भारतले ४३ फिटको खाल्डो खनेको जानकारी दिए।

नेपाली भूभागमा प्रवेश जरी नेपाली भूमिका खाँबा र रुखहरुमा इनामेलले एरो चिन्ह लगाएको र भारतको भन्दै त्यहाँबाट हट्न दबाब दिएको पनि समितिको प्रतिवेदनमा छ।

दाङका ७८ वटा पिलरमध्ये एउटा सहायक पिलर पहिरोले नासिएको र एउटा जीर्ण अवस्थामा छ। समितिले नेपाली बस्तीमा भारतीयहरुले बलात्कार कुटपिट र चरम यौन शोषण गर्ने गरेको पनि प्रतिवेदनमा छ। समितिले दसगजा क्षेत्रलाई 'नो म्यान्स ल्यान्ड'को रुपमा व्यवस्थित गर्न पनि समितिले सुझाव दिएको छ।

समितिको प्रतिवेदनमा भारतीय विदेश सचिव शिवशंकर मेनन र नेपालस्थित भारतीय राजदूत राकेश सुदले सीमा विवाद कुनै राजनीतिक दलको उक्साहटजन्य राजनीतिक मुद्दा भनेकामा पनि आपत्ति प्रकट गरिएको छ। विश्वकर्माले भने 'परराष्ट्रमन्त्री सुजाता कोइरालाले केही भएको छैन भनी उल्लेख गर्नु गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति हो यो टिप्पणी पनि प्रतिवेदनमा थप्नेछौं।'

source:

http://www.nagariknews.com/politics/party-politics/2691-2009-07-08-02-59-09.html


No comments:

Search and Buy from amazon.com