Monday, March 28, 2011

उता गएर फर्कने बित्तिकै यता पडक्यो बम

उता गएर फर्कने बित्तिकै यता पडक्यो बम


• यो महिनाको सुरुमा भारतमुखी भनेर चिनिने सूर्यबहादुर थापा दिल्ली गए। नेपालमा खासै केही हैसियत नभएको जनशक्ति पार्टीका अध्यक्ष भए पनि भारतका ठूल्ठूला नेताले उनलाई ‘दर्शन भेट’ दिए।
• त्यसपछि फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, तमलोपाका महन्थ ठाकुर र सदभावनाका राजेन्द्र महतो सामूहिक रुपमा दिल्ली गए। सल्लाह गर्न दिल्लीले नै बोलाएको भनेर उनीहरुले खुल्लमखुल्ला भने। गोप्य रुपमा भने दिल्लीले तराईमा सशस्त्र संघर्षरत संगठनहरुलाई पनि बोलाएको सुनियो। मधेस विद्रोहको बारेमा दिल्लीमा छलफल गर्‍यौँ भनेर नेताहरुले सार्वजनिक रुप मै भने। गच्छदार फर्केर संविधान नबने चुनाव हुनुपर्छ भन्ने भारतीय बोली बोले भने ठाकुरले चाहिँ दुई तिहाई बहुमतले संविधान बनाए नि हाम्रो माग पूरा नभए मान्दैनौँ, हद नाघ्छौँ भनेर धम्की दिए।
• यतिञ्जेल तराईमा खासै ठूला घटना भएनन्। तराई शान्त नै थियो। विगत केही दिनका घटना हेरौँ, योजनावद्ध रुपमा नै तराईलाई अशान्त बनाइएको देखिन्छ।

• शुक्रबार रौतहटमा एउटा यात्रुवाहक बसमा विस्फोट भयो, १२ यात्रु घाइते भए।
• शनिबार चैत १२ गते बाँके जिल्लामा नेपालगन्जबाट कोहलपुर जाँदै गरेको माइक्रो बसभित्रै बम विस्फोट हुँदा आधा ६ भन्दा बढी यात्रु घाइते भए। विस्फोटबाट बस पूर्णरुपमा क्षतिग्रस्त भयो। जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष भगत सिंहले फोनबाट विस्फोटको जिम्मा लिए।
• आइतबार चैत १३ गते बुटवलको मिलनचोकमा भैरहवाबाट बुटवल आउँदै गरेको यात्रुवाहक माइक्रोबसमा बम विस्फोट भयो जसमा १५ जना घाइते भए।

यत्रो दिनसम्म शान्त रहेको तराईमा अचानक कसरी दिनदिनै बम पडकियो ? के छ रहस्य यसमा ? बुझ्नेलाई इशारा काफी छ। हामीले किन बोल्नुपर्‍यो र, संसदमा सभासदहरुले नै बोलिरहेका छन्-

सभासद् बबन सिंहले तराईका विभिन्न आपराधिक सङ्घ–सङ्गठनसँग साँठगाँठ गरी मधेसवादी दलहरूले बम विस्फोट गराएको आरोप लगाए। भूमिगत समूहसँग भारतमा वार्ता गरेर आए लगत्तै तराईका जिल्लाहरुमा सार्वजनिक बसमा विस्फोटका घटना भएकोले यसको जिम्मा दिल्ली गएका मधेसी नेताहरुले लिनुपर्छ- उनले हिजो संसदमा यस्तै भने।

बम मात्र हैन, थप केही घटना पनि हेरौँ-
• अखिल तराई मुक्तिमोर्चाले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी तत्कालीन सरकारसँग भएको सहमति पालना नभए पुनःविद्रोहमा उत्रिने चेतावनी दिए। मोर्चाको वार्ता टोली संयोजक विवेक विद्रोहीले हस्ताक्षर गरेको सो विज्ञप्तिमा तराईप्रति यो सरकारको गलत धारणा रहेकाले सरकारले सहमति कार्यान्वयन गर्न नचाहेको उल्लेख गरिएको छ। मोर्चाले माधव नेपालको अघिल्लो सरकारसँग छ बुँदे सहमति गरेको थियो।
• तलब बढाउनु पर्ने माग राख्दै भइरहेको आन्दोलनपछि चार दिनअघि ११ बुँदे सम्झौता भयो। तर मधेसवादी दलहरुका ट्रेड युनियनको अगुवाइमा त्यो सम्झौता खारेज हुनुपर्छ भन्दै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग बन्द जारी छ। मधेसी ट्रेड युनियन फोरम महासङ्घ नेपाल, स्वतन्त्र प्रजातन्त्रिक ट्रेड युनियन महासङ्घ फोरम लोकतान्त्रिक र नेपाल प्रगतिशील ट्रेड युनियन (फिनेप)को अगुवाइमा उद्योग बन्द छ। सरकारले उद्योगहरुमा कार्यरत दैनिक ज्यालादारीका मजदुरलाई नो वर्क नो पेको सिद्धान्त अघि सारेका कारण बिचरा कामदारहरु उद्योग बन्दका कारण काम र पैसा दुवै पाइरहेका छैनन्।

संभावनाहरु
भारत आफूविरोधीहरु धेरै भएको यो संसदको पक्षमा छैन। त्यसैले यो विघटन होस् भन्ने चाहन्छ। त्यसैले गच्छदारको मुखबाट नयाँ चुनाव हुनुपर्ने बोली बोलाइएको थियो। यसका लागि तराईमा उत्पात् मच्चाउनु बाहेक अरु उपाय हुन सक्दैन। संविधानका विषयमा २ सयभन्दा बढी असहमति भएकामा अहिले झरेर ३० वटा मात्र असहमति बाँकी भइसकेको छ। ३० वटा असहमति मिल्ने बित्तिकै संविधान जारी हुन्छ। यी ३० वटा असहमतिलाई पनि पछि मिलाउने गरी संविधान जारी हुनसक्ने संभावना पनि छ। त्यही भएर आफ्ना माग पूरा नभए दुई तिहाई बहुमतले पास भएको संविधान पनि मान्दैनौँ भनेर ठाकुरको मुखबाट बोलाइएको हुनसक्छ।

तराईमा अशान्ति मच्चाएर यो सरकार शान्ति सुरक्षा कायम गर्न असफल रहेको भन्ने जनमानसमा छाप पार्ने, संविधान जारी नभए तराईका सभासदहरुलाई राजीनामा दिन लगाएर संविधान सभा औचित्यहीन पार्ने, फेरि चुनाव भए आफूविरोधीहरुकै बहुमत आउन सक्ने देखिए चुनावै हुन नदिई देशलाई संक्रमण काल कै अलमलमा घुमाइराख्‍ने ग्रायण्ड डिजाइन पनि बनेको हुनसक्छ।

विगत केही दिनका तराईबाट आएका समाचार विश्लेषण गर्दा सरकारले कदम नचाल्ने हो भने त्यहाँ अझै अशान्त पार्न सक्ने संभावना देखिएको छ।

source:

http://www.mysansar.com/archives/2011/03/id/17970


No comments:

Search and Buy from amazon.com