Monday, March 28, 2011

एकै दिन सात ठाउँ बम

एकै दिन सात ठाउँ बम


    काठमाडौ, चैत्र १३ -
    तराईका जिल्लाहरूमा जनजीवन आतंकित बनाउने गरी सार्वजनिक यातायातहरूमा एकाएक शृंखलाबद्ध विस्फोट भएका छन् । पछिल्ला तीन दिनमा भएका विस्फोटहरूमा मात्रै कम्तीमा ४३ जना घाइते भएका छन् ।

    विस्फोटको क्रम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर सुरक्षामा कडाइ गरेका छन् । गृह मन्त्रालयको आदेशमा दुवै मुख्यालय सक्रिय भएका हुन् ।

    दुवै निकायका केही उच्च सुरक्षा अधिकृतहरूले यी घटना भारतीय पक्षबाट नेपालमा नवगठित सरकारलाई दबाबमा राख्न गराइएको हुन सक्ने अनुमान समेत गरेका छन् । मधेसी दलका तीन नेताहरू विजयकुमार गच्छदार, महन्त ठाकुर र राजेन्द्र महतोले हालै भारत सरकारको निमन्त्रणामा नयाँदिल्लीको भ्रमण गर्दा तराईका सशस्त्र भूमिगत समूहका अगुवाहरूसँग समेत बैठक गरेका थिए । त्यसलगत्तै यी घटनाक्रम भएका हुन् । तराईका जिल्लाहरू एक वर्षयता तुलनात्मक रूपमा शान्त रहँदै आएका थिए ।

    'पाँचै क्षेत्रका प्रमुखहरूलाई सुरक्षा सतर्कता बढाउन र सूचना संकलन तीव्र पार्न अपनाउनुपर्ने तरिकासहित बि्रफ गरेका छौं,' प्रहरी मुख्यालय, कार्य विभाग प्रमुख रवीन्द्रप्रताप शाहले भने, 'यी विस्फोट आतंकवादी घटना गराउँदै आएका भवानी सिंहको मृत्युको प्रतिक्रिया हो ।'

    नेपालगन्जका भगत सिंहले नेतृत्व गरेको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका भवानी सिंह भनिने अर्जुन सिंहको रूपन्देहीमा केही दिनअघि प्रहरीसँगको भिडन्तमा मृत्यु भएको थियो । यो समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंहबाट छुट्टएिको हो । जनतान्त्रिक पार्टीको महोत्तरी, धनुषा, सर्लाही, रौतहट, पर्सा, बारा, कपिलवस्तु, रूपन्देही, नवलपरासी, बाँके र बर्दियामा प्रभाव छ । भगतले नेपाल-भारत सीमा क्षेत्रमा रहेर मुलुकमा हिंसात्मक गतिविधि चलाउँदै आएको प्रहरीले जनाएको छ । मुख्यालयको आदेशलगत्तै महानगरीय आयुक्त कार्यालयले उपत्यकाका सबै अधिकृतहरूलाई बोलाई उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।

    महानगरीय आयुक्त कार्यालयका प्रमुख अर्जुनजंग शाहीले आइतबार विशेष भेला बोलाई भने, 'कुनै पनि बेला कहीं पनि बम विस्फोट भएर ठूलो धनजनको क्षति हुन सक्छ, परिणाममुखी उच्च सुरक्षा सतर्कता अपनाऊ ।'

    नेपालगन्ज, रौतहट र भैरहवामा केही दिनयता भएका विस्फोटबारे जानकारी दिँदै शाहीले संवेदनशील स्थान र प्रतिष्ठानहरूमा पूर्वसावधानी अपनाउन निर्देशन दिए । प्रहरीले गर्दै आएको परम्परागत चेकिङलाई बदलेर परिणाममुखी काम गर्न पनि उनले अह्राएका छन् । त्यस्तै आपराधिक गतिविधि हुन नदिन प्रभावकारी रूपमा सूचना संकलन गर्न पनि उनको निर्देशन छ ।

    आयुक्त कार्यालयमा भएको भेलामा अधिकांश वृत्तका प्रमुखहरूले हाल कार्यरत जनशक्ति अपुग भएको तथा गाडी र इन्धन नपुगेको पुरानै गुनासा दोहोर्‍याएका थिए ।

    आयुक्त कार्यालयका डीआईजी सुरेन्द्रबहादुर शाहले भने मातहतका अधिकृतहरू आफैं काममा गम्भीर नभएको भन्दै आपत्ति जनाएका थिए ।

    अधिकांश अधिकृतले सञ्चार सेटमा मात्रै ठिक्क पार्ने गरी कुरा गर्ने गरेको उदाहरण दिँदै शाहले काममा लापरबाही नगर्न सचेत गराएका थिए । उनले चेकिङका नाममा सर्वसाधारणलाई मात्र हैरानी हुने गरेको बताउँदै खास अपराधी नउम्किऊन् भनेर तत्काल पहल थाल्न निर्देशन दिएका थिए ।

    काठमाडौंको सुरक्षा स्थिति तत्काल मजबुत पार्न कम्तीमा दुई सय जनशक्ति र डेढ सय मोटरसाइकल चाहिने प्रहरी परिसर प्रमुख पुष्कर कार्कीले बताए । ललितपुरका प्रहरी प्रमुख विक्रम सिंह भने साधनस्रोत र जनशक्तिबाट मात्र नभई अपराधीमा मनोवैज्ञानिक त्रास उत्पन्न गराउनुसमेत जरुरी भएको बताए । त्यस्तै भक्तपुरका प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले आफ्नो कार्यालयलाई तत्काल हाल भएका गाडीको सट्टा ३० मोटरसाइकल र कम्तीमा एक दर्जन फुर्तिला अधिकृतहरू आवश्यक रहेको बताए ।


    प्रकाशित मिति: २०६७ चैत्र १४ ०८:३५

    source:

    No comments:

    Search and Buy from amazon.com