Wednesday, March 16, 2011

भारतले मधेसी दललाई नयाँदिल्ली बोलायो

भारतले मधेसी दललाई नयाँदिल्ली बोलायो

सरकार असफल बनाउने रणनीति बन्दै

२ चैत्र, काठमाडौं । एमाले-माओवादी गठवन्धन सरकार असफल बनाउने रणनीतिमा लागेको भारतले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध प्रमुख तीन मधेसवादी दलका अध्यक्ष नयाँदिल्ली बोलाएको छ ।

एमाले-माओवादी गठवन्धन विरुद्ध बृहत लोकतान्त्रिक मोर्चा निर्णणका लागि राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई सहमत गराएको भारतले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सदभावना अध्यक्ष राजेन्द्र महतो नयाँदिल्ली बोलाएको हो । मंगलबार अबेर निम्तो आएपछि अध्यक्षत्रय हतार हतार गर्दै बुधबार अपराऋन नयाँदिल्ली हानिएका छन् ।

नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले आफुहरु भारत सरकारकेा नियन्त्रणमा सद्भावना भ्रमणका लागि त्यसतर्फ जान लागेको बताउनु भयो । भारत बसाईका क्रममा अध्यक्षत्रयले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेसका आईकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री एसएम कृष्णालगायत शीर्ष नेताहरुसँग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा नेपालको वर्तमान सत्ता गठबन्धन र मधेसी दलको भूमिकाबारे छलफल हुने सद्भावना अध्यक्ष महतोले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

भेटमा एकीकृत नेकपा माओवादी र नेकपा एमाले गठबन्धनको वर्तमान सरकारविरुद्ध वृहत लोकतान्त्रिक मोर्चा बनाउनेबारे छलफल केन्दि्रत हुने स्रोतको भनाई छ । झलनाथ खनाल नेतृत्वको सरकारलाई असहयोग गर्ने र पूर्णरुपमा असफल पर्ने रणनीति अख्तियार गरेको भारत संस्थापन पक्षले आफ्नो रणनीति कार्यान्वयनका लागि मधेसवादी दललाई लोकतान्त्रिक मोर्चामा आवद्ध हुन सुझाउने बताइएको छ ।

लोकतान्त्रिक मोर्चा निर्माणपछि नेपाली दलहरुबीचको ध्रुवीकरण उत्कर्षमा पुग्ने र त्यसले संविधान जारी हुन नसक्नेमा भारत ढुक्कप्रायः छ । संविधान सभाको म्याद एक दुई महिना थपेरै भएपनि संविधान जारी गर्ने तयारीमा लागेको खनाल-प्रचण्ड गठवन्धनको तयारीलाई निस्तेज पार्न कुनैपनि हालतमा म्याद थप्न नदिने रणनीति भारतले अख्तियार गरेको छ । ‘तोकिएको समयमा संविधान नबनेको अवस्थामा संविधानसभाको म्याद थप्न खोजिए मधेसवादी दलहरु सामुहिक राजीनामा दिएर संविधानसभाबाट बाहिरिनेछन् ।’- स्रोतले भन्यो ।

वर्तमान सरकारमा सहभागी हुन सकारात्मक देखिएका उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र महेन्द्र यादव नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी नेपाललाई भने नयाँदिल्ली बोलाइएको छैन ।

source:

http://www.onlinekhabar.com/2011/03/16/45083.html


No comments:

Search and Buy from amazon.com