Tuesday, March 29, 2011

आखिर किन रोएर हिंडे रामेश्वर ?

आखिर किन रोएर हिंडे रामेश्वर ?

समाचार टिप्पणी/ओम थापा

१५ चैत्र, काठमाडौं । भरतमोहन अधिकारी अर्थमन्त्रीका रुपमा एमालेका ‘च्वाइस’ होइनन्, यी नेपाल उद्योग परिसंघका अध्यक्ष तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरीका ‘च्वाइस’ हुन् । तिनै चौधरी जो एमालेको तर्फबाट संविधानसभामा सदस्य समेत छन् ।

अर्थमन्त्रीका रुपमा भरतमोहन अधिकारीलाई प्रस्तुत गर्न चौधरीले निक्कै पापड बेलेका थिए । जतिवेला माधव नेपालविरुद्ध माओवादी सडकमा आन्दोलनरत थियो, त्यतिवेला विनोदले एमाले र माओवादी मिलाउने रणनीतिमा गृहकार्य थालेका थिए । उनको त्यतिवेला देखिको चाहना थियो, अर्थमन्त्रालयको जिम्मेवारी भरतमोहन अधिकारीलाई ।

तत्कालिन प्रधानमन्त्री नेपाल विरुद्धको अभियानमा लागेका खनाल र प्रचण्डलाई सँगै राखेर दर्जनौं पटक विनोदले डिनर मिटिङ गरेका थिए । थुप्रै पटक सहमतिको मस्यौदाहरु पनि तयार पारिएको थियो । भलै ती सबै सहमतिका मस्यौदाहरु पछि च्यातिए, डस्टिवनमा फालिए ।

त्यतिवेलादेखि खनाल र प्रचण्डबीचको सेतुका रुपमा काम गर्ने जिम्मेवारी चौधरीले अधिकारीलाई लगाएका थिए । देखाउनका लागि अधिकारी एमालेका नेता हुन् तर यि तिनै अधिकारी हुन जो लामो समयदेखि चौधरीका सल्लाहाकारको भूमिकामा समेत छन् ।

अधिकारी चौधरीका त्यस्ता सल्लाहकार हुन्, जो चौधरीको विजनेश फैलाउन यथार्थमा सल्लाह दिने होइन, त्यसलाई सरकारी र एमालेको संयन्त्रबाट पार लगाउन ‘मिडलम्यान’को भूमिका निर्वाह गर्ने सल्लाहकार हुन् । अधिकारीले चौधरी समूहबाट यहि काम गरेवापत नियमित ‘तलव’ समेत बुझ्छन् ।

भरतमोहन अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएपछि सबैभन्दा पहिले विनोद चौधरी फुलमाला लिएर पुगेका थिए । त्यसको भोलिपल्ट देशभर सञ्जाल भएको उद्योगी व्यापारीको छाता संगठन नेपाल उद्योग वाणिज्य संघले अर्थमन्त्रीसँग भेटका लागि समय माग्दा समेत अधिकारीले समय दिएनन् ।

कभरमा विनोद चौधरी प्रष्ट छविमा देखिन्छन् तर उद्योगपति तथा व्यापारीका रुपमा विनोद चौधरीको ट्रयाक रेकर्ड राम्रो छैन । पछिल्लो समयमा समेत चौधरीका थुप्रै मुद्धाहरु अर्थमन्त्रालय र राष्ट्र बैंकसँग ‘फेसअफ’मा छन् । यी मुद्धामा अर्थसचिव रामेश्वर खनाल एउटा अवरोध थिए । जसलाई विनोद चौधरीले पन्छाउन लामो समयदेखि प्रयाय गरेका थिए, यसपटक उनी भरतमोहन अधिकारीलाई नै अर्थमन्त्री बनाउन सफल भए । त्यसैकारण भरतमोहन अधिकारी अर्थमन्त्री भएपछि ढिलो वा छिटो रामेश्वर खनालले अर्थमन्त्रालय छोड्नुपर्दथ्यो, सो उनले मंगलबार छोडिदिए ।

खनालको पछिल्लो मिसन थियो, राजस्व प्रशासनमा सुधार । यो सुधारको क्रममा २० यस्ता ठूला कम्पनी फेला परे जसले सरकारलाई अर्बौं रुपैयाँको भ्याट चुना लगाउँदै आएका थिए । यस्तै २० कम्पनीमा थियो, विनोद चौधरीका कान्छा भाई अरुण चौधरीले सञ्चालन गरेको अरुण कन्टिनेन्टल ।

चौधरीका सामु अर्को सिधा मुद्धा राष्ट्र बैंकसँग पनि जोडिएको छ, यही राष्ट्र बैंकमा खनाल बोर्ड मेम्वर छन् र त्यो पनि प्रभावशाली । तर उता विनोद चौधरी आफ्नो लगानी विदेशमा फैलाउन चाहन्छन्, जसको अनुमति राष्ट्र बैंकले दिंदैन । केही साता अधि चौधरीले भारत, थाइल्याण्ड, मलेसिया र खाडी लगायका मलुकमा अर्बौं रुपैयाँको लगानी सम्वन्धी योजनाहरु सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको योजनाका लागि कतारमा बस्ने छोराहरुले पैसा जुटाउन सक्दैनन् । त्यसका लागि उनले वैध/अवैध रुपमा नेपालबाटै पैसा लैजानुपर्दछ, वा नेपालबाटै लगानी गरेको पैसाबाट पैसा बनाउनुपर्दछ ।

किनकी यो मामिलामा चौधरी यस अघि फसिसकेका छन्, पाँच वर्ष अघि एभरेष्ट बैंकको टेकु शाखामा १८ करोड रुपैयाँ स्रोत नखुलेको रकम चौधरीका नाममा भेटियो । अनुसन्धान गर्दै जाँदा त्यो रकम चौधरीले भारतमा वाईवाई विक्री गरेर ल्याएर राखेको पत्ता लाग्यो । कर र जरिवाना तिरेर झण्डै पाँच करोड रुपैयाँ चौधरीले तिरे । यो मुद्धा उठ्दा रामेश्वर खनाल अर्थमन्त्रालयकै राजस्वमा थिए ।

दवावकावीचमा पनि खनालले चौधरीलाई कारवाही गराए, यही मुद्धा उठाउने र कारवाही गर्ने राजस्व अनुसन्धानका हाकिम सुरुमा अर्थमन्त्रालय तानिए त्यसपछि लोकसेवा आयोगमा फालिए । अर्कोतर्फ चौधरीको यही बैंक खाताका वारेमा गोप्य सूचना दिएका उनका एक कर्मचारी केही महिनापछि चौधरी समूहको सानेपास्थित विल्डिङबाट भुँईमा खसेको अवस्थामा भेटिए । नेपाल प्रहरीले यसलाई आत्महत्याका रुपमा सावित गर्‍यो, तर त्यतिवेला चौधरीको अवैध आम्दानीमा अनुसन्धान गर्ने अधिकृतहरु भने यसलाई रहस्मय मृत्युका रुपमा लिन्छन् ।

चौधरी यस अधि नै महालक्ष्मी सुगरमिलमा पनि फसिसकेका छन् । उनी महालक्ष्मी सुगरमिलकै मुद्धाका कारण धन्नैले कालोसूचीमा पर्नबाट जोगिए तर मुद्धाले अदालत, संसदीय समिति, अर्थमन्त्रालय र राष्ट्र बैंकमा भने ठूलै उथलपुथल ल्यायो । यी प्रसङ्गमा पनि कहिं न कहिं राम्रोलाई पुरुस्कार दिन नसके पनि र खराव नियतका व्याक्तिलाई कारवाही गराउनमा रामेश्वर खनालको भूमिका भने राम्रै थियो ।

भन्नका लागि खनाल पुरक बजेटमा सन्तुष्ट थिएनन् भनिएको छ, पछिल्लोपटकको सहसचिवको सरुवामा सन्तुष्ट थिएनन् भनिएको छ, भ्याट छलिमा भरतमोहनसँग विवाद भएको भनिएको छ । जे भनिए पनि खनाल सानो तिनो विवाद झेल्न नसकेर बाहिरिएका होइनन् उनी एउटा लामो योजनाको शिकार बनाइएका हुन ।

किनकी हरेक कार्यसम्पादन मूल्यांकनमा १ नम्वरमा आउने रामेश्वर खनालले फरक राजनीतिक लाइनका तीन फरक मन्त्रीसँग सफलतापूर्वक काम गरेका थिए । खनाल त्यस्ता सचिव थिए जो या त मन्त्रीको राम्रो अवधारणामा आफै हिंड्थे नभए आफ्नो अवधारणमा मन्त्रीलाई ‘कन्भिन्स’ गर्थे । त्यसका उदाहरण हुन, डा. बाबुराम भट्टराई र सुरेन्द्र पाण्डे । खनालले डा. बाबुरामका एजेण्डामा काम गरे सुरेन्द्रलाई आफ्नो एजेण्डामा हिंडाए ।

पुरक बजेटको प्रसङ्गमा खनाल सन्तुष्ट थिएनन् होला तर उनलाई खास ठूलो समस्या नभएको प्रष्ट देखिन्थ्यो । त्यो कसरी भने उनैले खर्च नहुने कार्यक्रमको सूची हरेक मन्त्रालयका सचिवसँग मागेका थिए । जहाँ एमाले र माओवादीले पुरक बजेटका लागि १० अर्बको माग गरेका थिए, खनाल यस्ता कार्यक्रमबाटै २० अर्ब रुपैयाँ निकाल्न सक्थे । सहसचिव सरुवामा पनि उनी असन्तुष्ट थिए होलान तर त्यति धेरै होइन । किन भने आइतवारमात्र सहसचिवको सरुवा भएको थियो उनी मंगलवार बिहान पनि काम गर्ने मुडमा थिए । त्यसैले बिहान आफैले ८ बजे सहसचिवको बैठक बोलाएका थिए ।

सोमवार साँझ वा रातमै खनालले त्यस्तो दवावको सामना गर्नुपर्‍यो जसले आफैले डाकेको बैठकमा उपस्थित भएनन्, १० बजे कार्यालय आएका खनालले चार सहसचिव भेटे, केही सहसचिवलाई एसएमएस पठाए र सिंहदरवार गेटबाट ट्याक्सी लिएर बाहिरिए र टेलिफोन सम्पर्कबाट समेत बाहिरिए ।

source:

http://www.onlinekhabar.com/2011/03/29/48067.html


No comments:

Search and Buy from amazon.com