Sunday, June 27, 2010

गाई पालेर करोडपति

गाई पालेर करोडपति

    कृष्ण आचार्य

    च्याङ्ली (गोरखा), अषाढ १३ - १५ वर्षअघि ऋण लिएर गाईपालन थालेका यहाँका एक किसान अहिले करोडपति बनेका छन् । त्यतिखेर एक लाख ९० हजार रुपैयाँ ऋण लिएर गाईपालन थालेका च्याङ्ली-८ का राजेन्द्र पन्तले यो सफलता हासिल गरेका हुन् ।

    कृषि विकास बैंकबाट ऋण लिएर सातवटा गाईबाट सुरु गरेको उनको व्यवसायमा अहिले एक सय ३५ गाई छन् । गोठ मात्रै नौवटा रहेको उनले बताए । होलेस्टिन फिजियन नामका गाईबाट व्यवसाय थालेका उनको गोठमा अहिले विश्वप्रसिद्व गाईका जात देख्न सकिन्छ । हलिस्टपान, जर्सी र टेरेन्टेजलगायत जातका गाई आफ्नो गोठमा रहेका उनले बताए ।

    'यो व्यवसायमा ऋण दिन त्यतिबेला कसैले नपत्याएपछि बैंकबाट लिएर सुरु गरेको थिएँ,' ५४ वर्षीय पन्तले कान्तिपुरसँग भने, 'अहिले गोठमा भएका सबै गाई बिक्री गर्ने हो भने करोडभन्दा बढी आउँछ ।' बैंकबाट लिएको ऋणबाट व्यवसाय सुरु गरेको दुई वर्षमै चुक्ता गरिसकेको उनले बताए । उनी अहिले दैनिक हजारदेखि १ हजार २ सय लिटर दूध बिक्री गर्ने गरेका

    छन् । उनले लिटरको २९ रुपैयाँका दरले दूध बिक्री गर्ने गरेका छन् । उनले ५२ सालबाट व्यावसायिक रूपमा गाईपालन सुरु गरेका थिए । 'व्यवसायमा दैनिक हुने खर्च कटाएर मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म बचत गर्ने गरेको छु,' उनले भने । उनले भएको आम्दानीसमेत गाई र तिनको आहारामा लगानी गर्ने गरेको बताए । देशका विभिन्न सहरमा दूध वितरण गरिसकेका उनले अहिले चितवनको सुजल कम्पनीलाई मात्र दूध दिने गरेका छन् ।

    'यो व्यवसाय सुरु गर्दा धेरैले बौलायो भन्थे,' पन्तले भने, 'अहिले तिनीहरूको मुख थुनिएको छ ।' पन्तका बाबु जिल्लाका तत्कालीन बडाहाकिम थिए । परिवार र आफन्तले अरू काम गर्नुपर्छ भन्दाभन्दै उनी आफ्नै सुरमा गाईपालन पेसामा लागेका हुन् । मुलुककै सफल कृषक भएबापत् उनलाई एक दर्जनभन्दा बढी संघसंस्थाले सम्मान गरिसकेका छन् । सरकारले यस वर्षको समाजसेवा पदकसमेत उनलाई दिएको छ ।

    सरकारले ०३२ सालमा घोषणा गरेको कृषि वर्षबाट प्रेरित भएर उनी कृषि पेसामा लागेका हुन् । ०३२ सालमै राजनीतिशास्त्र र इतिहास विषय लिएर स्नातक गरेका पन्तले राजधानीबाट गाउँ फर्किएर कृषि पेसा अँगालेका थिए । उनको परिवारका सदस्य भने काठमाडौं बस्दै आएका थिए । त्यसयता उनले फलफूलखेती, भंैसीपालनलगायत कृषि पेसा अपनाए । गाईका विषयमा लामो समय अनुसन्धान गरेका पन्तले गाईपालनबाट राम्रो मुनाफा आर्जन गर्न थालेपछि एक वर्षभित्रै विदेशबाट थप १२ वटा गाई किनेर ल्याएका थिए । तीनबाट उनले अहिले १२ दर्जनभन्दा बढी गाई बनाइसकेका छन् । पन्तको गोठमा भएका एउटा गाईले आठदेखि १५ लिटरसम्म दूध दिने गरेका छन् । उनको गोठमा सात पुस्तासम्मका गाई छन् । उनले आफ्नो १२ जनालाई स्थायी रूपमा रोजगारी दिएका छन् । दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरू २० जनासम्म हुने गरेको पन्तले बताए । उनले भने, 'करिब एक सय रोपनीमा गाईलाई खुवाउने घाँससमेत आफैंले लगाएको छु ।'

    source:

    http://www.ekantipur.com/np/2067/3/13/full-news/313744/



    No comments:

    Search and Buy from amazon.com