Saturday, June 5, 2010

भक्तमानको अपहरणमा के भेट्टाइयो? ―अनिल शर्मा 'विरही'

भक्तमानको अपहरणमा के भेट्टाइयो? ―अनिल शर्मा 'विरही'

Hitssmaller text tool iconmedium text tool iconlarger text tool icon
चितवनलाई देशकै एउटा सुरक्षित जिल्ला मानिन्थ्यो। जेठ ४ गते रातिबाट दक्षिण एसियाकै राम्रो र साधनसम्पन्न मानिने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठ अपहरण भएपछि चितवनको प्रतिष्ठा, परिचय र जनमनोविज्ञानमा गम्भीर धक्का लागेको छ। झन्डै दुई सातासम्म ठोस रूप नलिनु, प्रचार युद्ध तीव्र हुनु र कांग्रेसनिकट कोणबाट र 'र' निकट मिडियाहरूले लगातार माओवादी पार्टीविरुद्ध तीर सोझ्याउनाले थुप्रै प्रश्न उठेका छन्।
अपहरणकारी त मै नै हुँ ।

भक्तमान सामान्य गरिब परिवारबाट उठेका प्रसिद्ध सर्जन हुन्। उनी हक्की र स्वाभिमानी मान्छे हुन्। 'स्पात भाँचिन्छ, तर नुग्दैन' उनी भन्ने गर्थे। माओवादी पार्टीले सरकार बनेको वेला धेरै मेहनत गरेर उनलाई कार्यकारी निर्देशक बनाएको थियो। उनी त्यो पदमा पुग्नु परम्परागत कुलीनवर्गको हितमा थिएन। उनी निर्देशक बनेपछि क्यान्सर अस्पतालमा महत्त्वपूर्ण सुधारको प्रयत्न गरेका थिए। उनले अस्पतालमा हुँदै आएको ठेक्का प्रथालाई पारदर्शी बनाउने कोसिस गरे। कोटेसनको दररेट धेरै राखेर ठेक्का प्रथालाई निष्त्रि्कय पार्ने कर्मचारीको कारबाहीदेखि ठेकेदारहरूको स्वार्थपूर्ति नगर्नेसम्म गरे। कतिपय ठेकेदारले उनलाई धम्की दिने गरेको पनि सुनिन्थ्यो। पछिल्लो चरणमा २२ करोडको एउटा मेसिन खरिद हुँदै थियो। उनले आफैँले बुझेर सो मेसिन पाँच करोडमा ल्याउने व्यवस्था मिलाए। यसबाट १७ करोडका अंशियार निकै चिढिएको बुझिन्छ। उनी कार्यकारी निर्देशक भएपछि र माओवादी पार्टीको सरकार विघटन भएपछि कानुनी प्रक्रियाबाटै हटाउने प्रयास भयो। तर, न्यायालयले भक्तमान र उनको टोलीलाई कायम राखिदियो। त्यसका विरुद्ध चितवनका राजनीतिक दल आन्दोलित हँुदा त्यो संघर्षमा नेपाली कांग्रेस सहभागी नै भएन। कांग्रेसका जिल्ला नेताहरू रमकृष्ण घिमिरे र टेकप्रसाद गुरुङ उनको विरुद्ध कस्सिएर लागे। राजनीतिक हैसियत नभएका र दर्जनौँ अपराधमा आरोपित, प्रहरीमा मुद्दा खेपिरहेका शिव पौडेल (शिवे बाहुन) ले १० लाख नजराना चढाएपछि उनलाई रामकृष्ण घिमिरेले तरुण दलको अध्यक्ष बनाएको चर्चा थियो। शिवे बाहुनद्वारा रामकृष्ण र टेकबहादुरको निर्देशनमा तरुण दलको नामबाट उहाँलाई धम्की र दबाब दिएका थिए। मोसो दल्ने चर्चा थियो र उनीहरूले अस्पतालभित्रै नाराबाजी र जुलुस निकालेका थिए। डा. भक्तमानका निकटहरूले त्यसैवेला उहाँलाई राति बाहिर ननिस्कन सुझाब दिएका हुन्। भक्तमानको सुरक्षाका लागि त्यसवेला प्रहरी परिचालन गरिएको थियो। वाइसिएल पनि भक्तमानको रक्षामा परिचालन खटिएको थियो।

स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले आफ्ना मान्छे राख्नका लागि पटक(पटक दबाब दिँदा भक्तमानले त्यसलाई अस्वीकार गरे। भक्तमानले साझा पसलको विस्तार गरेका थिए। बाहिरका पसलले महँगो, म्याद गुज्रेका र नक्कली औषधि बेचेर ग्राहकलाई हैरान पारेका थिए। वाइसिएलले कैयौँपटक त नक्कली औषधि कब्जा गरेर प्रहरीलाई बुझाएको पनि थियो। त्यो समस्या रोक्ने उपाय भनेको अस्पतालभित्रै साझा औषधि पसल खोल्नु थियो। साझा पसलको विस्तारले काठमाडौंदेखि चितवनसम्मका औषधि तस्करहरू आक्रोशित थिए। उनीहरूले खुला दबाब दिएका थिए। साझा पसलमा नेपालमा उत्पादन भएसम्म विदेशी औषधि खरिद गर्न नपाइने हुनाले भारतीय व्यापारी चिढिएका थिए। गोपी नामका भारतीय तस्कर पनि त्यसबाट चिढिएको बताइन्छ। यसबाट अन्य अस्पतालमा पनि भारतीय औषधिको खपत घट्ने नजिर बन्न सक्थ्यो। नेपालको स्वास्थ्य क्षेत्रमा भारतीय प्रभाव घट्न सक्थ्यो। त्यसबाट यस घटनामा 'र' को संलग्नता देखिन्छ। कांग्रेसको अनुदार तप्का र 'र' निकट अखबारले माओवादीप्रति दोषारोपण गर्नुले पनि कांग्रेसको एउटा अपराधी गुट, सरकार र सरकार संरक्षित अपराधी समूहको एकीकृत षड्यन्त्र हो भन्नेमा बढी विश्वास गर्न सकिन्छ। उच्च प्रहरी अधिकृत र विभिन्न छानबिन समितिमा मेरो त्यही धारणा लगातार रहँदै आएको छ।

त्यसैगरी, डा. भक्तमानले इ(टेन्डर प्रणाली लागू गरेर टेन्डरको नाममा हुने भ्रष्टाचारलाई जरैदेखि उखेलेको र खाइपाई आएकाहरू त्यसबाट चिढिएका थिए। अज्ञात स्रोतबाट 'हामी ठेक्का जसरी पनि लिन्छौँ,' भनेर फोनमा धम्की पनि आएको थियो। उनले क्यान्सर अस्पतालका बिरामीलाई खाना निःशुल्क गर्दा बाहिरका होटलवाला चिढिएका थिए। अस्पतालभित्र बिरामी कुरुवाघर बनाउने प्रक्रिया चलिरहेको थियो र त्यसबाट लजवाला आक्रोशित थिए। उनले ७० वर्षभन्दा माथिका बिरामीलाई रेडियोथेरापी निःशुल्क गरेका थिए। क्यान्सरमा उनैले पहिलोपटक कर्मचारी र डाक्टरको बढुवा र स्थायीको नियमावली बनाए। कर्मचारीलाई धरापमा राख्ने र दास बनाउने कांग्रेसी चालबाजी बन्द गरियो। माओवादी पार्टीको सरकारले नै झन्डै वार्षिक १७ करोडको बजेट वृद्धि गरेर ३० करोड पुर्यागएको थियो।

केही समयअगाडि स्वास्थ्यमन्त्रीले भक्तमानलाई २२ करोडको मेसिन खरिद गर्ने योजना पेस गर्न भनेको बताइन्छ। पाँच(सात करोडको मेसिन १२(१५ करोडमा खरिद गरेको बिल बनाएर भ्रष्टाचार गर्ने स्वास्थ्यमन्त्रीको बद्नियत देखिन्छ। तर, भक्तमान श्रेष्ठले अस्पताललाई सीधै बजेटको माग गरे। त्यसबाट पनि भ्रष्टाचारको खेलमा मन्त्रीले समेत अवरोध ठानेका थिए। क्याबिनेटमै सहकर्मीसँग पाखुरा सुर्कने स्वास्थ्यमन्त्रीको चरित्र पनि गुन्डाको जस्तो भएको जगजाहेर छ। क्यान्सर अस्पतालमा दुई सय शय्या थप विस्तार हुँदै थियो। त्यो योजनामा दुई अर्बभन्दा बढी रकमको चलखेल हुनेवाला थियो। भक्तमान रहेसम्म त्यत्रो ठूलो बजेटको कमिसन खान सम्भव थिएन। जसका कारण त्यो योजना आउनुअगाडि नै भक्तमानलाई निषेध गर्न आवश्यक ठानिएको हुन सक्छ।

माओवादी पार्टीको कोणबाट उनी एकजना सामान्य पार्टी सदस्य मात्र थिए। उनको क्रियाशील राजनीति नभएर पेसा थियो र पेसाप्रति व्यस्त र इमानदार थिए। चितवन देशभक्तहरूको उर्बरभूमि हो। केही समययता हामीले भारतीय कूटनीतिज्ञहरूलाई शिलान्यास, उद्घाटनको नाममा राजनीति गर्न रोक लगाएका छौँ। बौद्धिक क्षेत्रमा माओवादीको प्रभाव बढ्दै छ। क्याम्पसप्रमुख, व्यवस्थापन समिति, निर्देशक तथा उद्योगपतिमा माओवादी प्रभाव बढ्दै छ। बौद्धिक क्षेत्रमा माओवादी प्रभाव बढ्नु भनेको भारतीय विस्तारवादविरोधी देशभक्तहरूको धारा हावी हुनु पनि हो। यसरी सरकार, कांग्रेस र 'र' को स्वार्थ एकै स्थानमा पुगेको देखिन्छ। त्यसैले तथ्यहरूले आशंकाको घेरालाई फराकिलो पार्दै लगेका छन्।

जेठ ४ गते राति डा. भक्तमानले १०(१०.३० भित्र निवासमा आउने बताएको हुँदा परिवारले सुरुमा आफन्त, साथीभाइकहाँ खोज(खबर गरेछ। काम नपरी कसैसँग नभेट्ने, पारिवारिक नातेदारहरूका सन्दर्भमा पनि त्यही अन्तर्मुखी शैलीका कारण श्रेष्ठ परिवारसँग मेरो चिनजान थिएन। गोकर्ण सापकोटाले राति दुई बजेतिर खबर गर्नुभयो। मैले सर्वप्रथम चितवन एसपी धीरु बस्नेतलाई फोन गरेँ। त्यसपछि राज्यसमिति इन्चार्ज क. अग्नि सापकोटालाई गरेँ। उहाँको फोन बन्द भएकाले तत्काल क. हितबहादुर तामाङलाई गरेँ। उहाँले फोन उठाएर गृह मन्त्रालयमा भन्नका लागि पार्टी नेतृत्वलाई खबर गर्छु भन्नुभयो। त्यसपछि मैले क. पथिकलाई फोन गरेँ। क. पथिकसँगै उहाँको फोन पनि निद्रामा रहेछ। त्यसपछि क. अटललाई गरेर अवधका प्रहरी प्रमुखहरूलाई नाकाबन्द गरिदिनुपर्योम भनेँ। उहाँले एकै घन्टीमा फोन उठाउनुभयो र भोजपुरा, मिथिला र अवध सबैतिर प्रहरी र वाइसिएललाई सतर्क गराएको खबरले खुसी लाग्यो। त्यसपछि चितवनका वाइसिएल अध्यक्ष अभिषेकलाई फोन गरेँ। उहाँको युवा जोशको फोन उठ्दै उठेन। त्यसपछि मैले क. शैलेशलाई गरेँ। उहाँको फोन उठ्यो र वाइसिएललाई राति नै तत्काल भक्तमानको खोजी गर्न नारायणी, राप्तीका किनार र जंगल तथा बाटोका छेउछाउ हेर्न जान भनेँ। यो टोली खोजीमा पठाएको कुरा मैले एसपी धीरु बस्नेतलाई समेत भनेको थिएँ। त्यसपछि मैले चितवनका प्रजिअलाई खबर गरेँ। यतिवेला रातको २.३० बजिसकेको थियो। यत्ति खबर गर्दा क. बिपिन, क. शोभा कट्टेल 'प्रतिभा' र म सँगै थियाँै।

मैले राति नै एसपी र प्रजिअलाई हामी बिहानै भेट्न आउने खबर गरेँ। र, गोकर्ण सापकोटालाई भक्तमानको परिवारलाई लिएर बिहान ६ बजे प्रजिअ निवासमा आउन भनेँ। हामी त्यहाँ पुग्दा सयौँ फोन आउँथे कि डा. भक्तमान त युनिटी नेटवर्कसँग जोडिएका छन् रे हो? एसपी र प्रजिअ दुवैजनाले उहाँको युनिटी नेटवर्किङसँग सम्बन्ध थियो? भन्ने प्रश्न गरे। उता, बिहान ६ बजे पोखरामा अन्नपूर्ण एफएमले नेटवर्किङ व्यवसायका कारण भक्तमान बेपत्ता भएको अर्थात् रकम खाएर भागेको आशयको समाचार प्रसारण गरेको खबर तमुवानका इन्चार्ज क. उत्तमले गर्नुभयो। यता, चितवन कांग्रेस सभापति रामकृष्ण घिमिरेले त्यही प्रश्न उठाए। यसबाट प्रस्ट हुन्छ, एउटा ठूलो षड्यन्त्र र पूर्व तयारीसहित यो घटना भएको छ।

राति चार बजेतिर काठमाडौंबाट एमाले नेताहरू कृष्ण खनाल र कृष्णभक्त पोखरेलले सहानुभूतिसहित गृहमन्त्रीलाई दबाब दिने बताउँदा राहत महसुस भयो। अपराह्न दुई बजे एमाले पार्टी कार्यालयमा सर्वदलीय बैठक भयो। त्यो बैठकमा सबैले दलका प्रमुख या वरिष्ठ नेताहरू पठाए। तर, कांग्रेसका कनिष्ठ नेता आए। उनले भक्तमानले आत्महत्या गरेको हुन सक्छ, अपहरण शब्द नलेखाँै भने। त्यतिवेलासम्म नर्स लिएर घुम्न गएको छ भनेर अर्को हल्ला जिल्लाभरि भइसकेको थियो। तर, त्यसप्रकारका हल्ला निस्तेज बन्दै गए।

देशभरिबाट भक्तमानको अपहरणको विरोधमा चर्को दबाब आयो। नयाँ शिराबाट षड्यन्त्र सुरु भयो। कामदारको यौनशोषण गरेका, ज्ञानेन्द्रका दलाल 'र' का एजेन्ट सुदीप पाठक, रसुवाका गुन्डाहरू रेवकुमार पौडेल, माइला श्रेष्ठ, जो युद्धकालमा ब्यारेकमा बस्थे, उनीहरूको मालिक, कांग्रेसी नेता केदारनरसिंह केसी चितवन आए। स्मरण रहोस्, रसुवामा केदारनरसिंह केसीलाई जिल्ला प्रवेश गर्न दुई वर्षअगाडि माओवादी पार्टीले प्रतिबन्ध लगाएको थियो र उनी अझैसम्म रसुवा जान सकेका छैनन्, जसले अस्पताल व्यवस्थापन समितिलाई सम्म भेटेन, जसले माओवादीविरुद्ध हतियार दाग्ने कोसिस गर्‍यो। भक्तमानले सञ्चयकोषबाट ११ लाख झिकेर घडेरीको ऋण बैंकलाई तिरेको कागज प्रहरीले उनको ब्रिफकेसबाट लिएको हुँदाहुँदै ११ लाख ५० हजार उल्लेख गर्नु, ११ लाख रकम के गरे उल्लेख नगर्नु, ११ देखि दुई बजेसम्म परिवारले के(के गरे भन्ने उल्लेख नगर्नु, दुई बजे मैले प्रहरीलाई खबर गरेकोमा २.३० भन्नु सीधै बद्नियतपूर्ण देखिन्छ। प्रहरीलाई भन्दा पार्टी नेतृत्वलाई पहिले खबर गर्नु स्वाभाविक र सही थियो। किनकि प्रहरीप्रति जनताको विश्वास र पहुँच दुवै छैन। राति दुई बजे सामान्य नागरिकको फोन प्रहरीले न उठाउँछ, न त रेस्पोन्स नै गर्छ। गोकर्ण सापकोटा हाम्रा समर्थक हुन् र घटनाको पहिलो जानकारी नेतृत्वलाई दिनु अनिवार्य कर्तव्य हो। माओवादी पार्टी भनेको कांग्रेसजस्तै दान गरेर ल्याइएका गाईहरूको झुन्ड होइन। सुदीप पाठकले क्यान्सर अस्पतालमा दुई दिनभित्र आइहाल्नुहुन्छ, निश्चित छ भनेर ठोकुवा गरेका थिए। उनले त्यो बोलेपछि चितवनका केही पत्रकारले यिनीहरूले भक्तमानलाई मार्छन्। के बोलेको होला यो? भनेका थिए। अनैतिक, यौनपिपासु, ज्ञानेन्द्रका दलाल सुदीप पाठकले त्यो केका आधारमा बोले? केही समयअगाडि चितवनमा पूर्वराजकुमार पारस शाह आएर पुल्चोकको किचन क्याफेमा कांग्रेसनिकट गुन्डाहरूलाई भेटी गएका थिए। त्यसैदिन साँझ त्रिवेणी एफएमसँगको प्रतिक्रियामा मैले पारसको धन्दा नै अपराध भएकाले चितवनको शान्ति(सुरक्षामा खतरा हुन सक्छ भनेको थिएँ। अहिले लाग्न थालेको छ, पारस शाहको चितवन यात्रा, भक्तमान श्रेष्ठको अपहरण र सुदीप(केदार यात्राका बीचमा कुनै सम्बन्ध त छैन?

चितवनका आमनागरिकले प्रहरी र प्रशासनले सक्रियतापूर्वक भूमिका निर्वाह नगरेको महसुस गरिरहेका छन्। प्रहरी निष्त्रि्कयता थप रहस्यको विषय बनेको छ। सर्वप्रथम कथित नागरिक छानबिनको हवाला दिएर समाचारपत्र दैनिकले तीर हान्यो। समाचारपत्र ज्ञानेन्द्रकालसम्म दरबारको आशीर्वादमा चलेको र ज्ञानेन्द्रको अवसानपछि सम्पादकीय नै लेखेर 'र'निकट भई चलेको अखबार हो। अर्को 'र' निकटका अखबारहरूले कथित नागरिक छानबिनले बनाएको गोरेटोमा राजमार्ग बनाउने र त्यो राजमार्गमा अपराधीहरूको 'ट्राफिक फ्री रनिङ वे' बनाउने गरिरहेका छन्। पार्टीमा भक्तमानलाई कुनै आर्थिक काम दिइएको थिएन र त्यो स्तरका मान्छे पनि उनी थिएनन्। आन्तरिक समस्या पनि थिएन। अझै निजी मामिलामा कतै चासो नराख्ने क. बादललाई समेत जोड्नुले उनीहरूको बद्नियत स्पष्ट हुन्छ। अखबारको नाममा राजनीति गर्ने हो भने पार्टी खोलेर आउने आँट गर्नुपर्योन। प्रेस स्वतन्त्रता भनेको अपराधीहरूको मतियार बन्नु, 'र'को दलाली गर्नु, पीडित पक्षकै हुर्मत लिनु र देशभक्तहरूको तेजोबध गर्नु होइन। कोही हामीसँग लड्न चाहन्छ भने कुन हतियार प्रयोग गर्ने भन्ने कुरा मेरो इच्छा र क्षमताको प्रश्न हो।

(लेखक माओवादीका केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज हुन्।)
source:
http://www.weeklynepal.com/newsite2/component/content/article/53-artilviews/6159-2010-06-02-10-34-29.html

No comments:

Search and Buy from amazon.com