Sunday, April 24, 2011

माओवादी बैठकमा बोल्ने १३ मध्ये १० प्रचण्डको पक्षमा

माओवादी बैठकमा बोल्ने १३ मध्ये १० प्रचण्डको पक्षमा

Font size: Decrease font Enlarge font
image

केन्द्रीय समितिको शनिबारको बैठकमा बोल्ने उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव रामबहादुर थापा बादल, सचिव पोष्टबहादुर बोगटीका साथै स्थायी समिति सदस्यहरू कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, अमिक शेरचन, गिरिराजमणि पोखरेल, दीनानाथ शर्मा र लीलामणि पोखरेलले प्रचण्ड र सचिव सिपी गजुरेल, स्थायी समिति सदस्य देव गुरुङ र नेत्रविक्रम चन्द ँविप्लव’ले किरणको प्रस्तावको पक्षमा बोले

नयाँ पत्रिका

काठमाडौं, १० वैशाख

माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष किरणले पेस गरेका प्रस्तावमाथि सदस्यहरूले धारणा राख्नेक्रम सुरु छ । शनिबार बोल्ने स्थायी समितिका १३ जनामध्ये १० जनाले प्रचण्डको प्रस्तावको समर्थन गरेका छन् ।

७ वैशाखको पोलिटब्युरो बैठकमा शान्ति र संविधानको कार्ययोजना प्रस्तुत गर्दै प्रचण्डले दलीय सहमति, सेना समायोजन र संविधान निर्माणमा जाने प्रस्ताव गरेका थिए । शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकमा विद्रोहकै कार्ययोजनालाई निरन्तरता दिनुपर्ने भन्दै उपाध्यक्ष मोहन वैद्य किरणले भिन्दै प्रस्ताव पेस गरेका थिए ।

अध्यक्ष प्रचण्ड र उपाध्यक्ष किरणको प्रस्तावमा १४ जेठपछि विद्रोहमा जाने वा शान्ति र संविधानका लागि प्रयास कायम राख्ने भन्नेमा मतभेद छ । प्रचण्डले शान्ति र संविधानका लागि १४ जेठपछि पनि प्रयास कायम राख्नुपर्ने नयाँ कार्ययोजना पेस गरेका छन् । किरणले भने १४ जेठपछि पालुङटार प्लेनमले तय गरेको कार्यदिशाअनुसार विद्रोहमा जानुपर्ने उल्लेख गरेका छन् ।

शनिबार उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव रामबहादुर थापा बादल, सचिवद्वय सिपी गजुरेल र पोष्टबहादुर बोगटीका साथै स्थायी समिति सदस्यहरू कृष्णबहादुर महरा, देव गुरुङ, टोपबहादुर रायमाझी, अमिक शेरचन, गिरिराजमणि पोखरेल, दीनानाथ शर्मा, नेत्रविक्रम चन्द र लीलामणि पोखरेलले धारणा राखेका थिए । अन्य सदस्यहरूले आइतबार आफ्नो मत राख्नेछन् ।

शुक्रबारको बैठकमा अनन्तबाहेकका स्थायी समिति सबै सदस्य बोलेका थिए । सूत्रका अनुसार शुक्रबारको बैठकमा स्थायी समिति देव गुरुङ खरो रूपमा बोलेका थिए, विप्लव पहिलेभन्दा पनि सरल रूपमा प्रस्तुत भएका थिए । प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्न २० मिनेटको समय दिइएको थियो ।

शनिबार उपाध्यक्ष भट्टराईले केन्द्रीय समिति बैठक आकस्मिक भए पनि यसले विश्वको ध्यान खिचेको बताएका थिए । उनले बैठकमा आफूले पालुङटार विस्तारित बैठकमा अपेक्षा गरेअनुसार परिस्थिति विकास भएको बताएका थिए । उनले अध्यक्षको प्रस्ताव वस्तुनिष्ठ रहेको बताएका थिए । 'किरण कमरेडले उठाएका सैद्धान्तिक कुराहरू ठीक भए पनि उहाँको कार्ययोजना वस्तुनिष्ट छैन । जनताले शान्ति चाहेको वेला विद्रोहको कुरा गर्नु वस्तुनिष्ठ होइन,' उनको भनाइ थियो ।

अर्का उपाध्यक्ष प्रकाशले माओवादीभित्र समीकरण बदलियो भनेर गरिएको चर्चा सत्य नभएको भन्दै नेताहरूको प्रस्ताव आ-आफ्ना ठाउँमा यथावत् रहेको बताएका थिए । 'अध्यक्षको प्रस्तावमा पालुङटार विस्तारित बैठकको निर्देशन र त्यसपछि बसेको केन्द्रीय समितिले तयार पारेको कार्ययोजनाको निरन्तरता हो, प्रतिक्रान्तिकारी षड्यन्त्र असफल पार्दै शान्ति र संविधानको तत्कालीन कार्यनीति पूरा गरेर मात्र अगाडि बढ्न सकिन्छ,' उनको भनाइ थियो ।

महासचिव बादलले अध्यक्ष प्रचण्ड र किरणको प्रस्तावमा केही कुरा थपघट गर्न आवश्यक रहेकोसमेत बताएका थिए । तर, प्रचण्डकै प्रस्तावको बचाउ गर्दै उनले परिस्थिति परिवर्तन भएकै कारण पार्टीले कार्ययोजना परिमार्जन गर्नुपर्ने आवश्यकता आएको बताएका थिए । 'यो कार्ययोजना पालुङटार विस्तारित बैठकबाटै अगाडि सार्नुपर्ने थियो, तर अहिले नै आएको भए पनि अध्यक्षको प्रस्ताव प्रतिक्रान्तिकारी षड्यन्त्रलाई असफल पार्न उपयुक्त छ,' बादलको भनाइ थियो ।

सचिव गौरवले अध्यक्ष प्रचण्डले शान्ति र संविधानका नाममा कार्यदिशाको मूल स्पिरिट नै हट्ने गरी बोलेको प्रस्ताव ल्याएको बताएका थिए । 'अध्यक्षले अहिले ल्याएको प्रस्तावले त पार्टी बाबुरामले लग्न खोजेको बाटोमा जान्छ, यो पार्टीले प्लेनमले पास गरेको लाइनविपरीत छ,' उनले भने ।

स्रोतका अनुसार अर्का सचिव दिवाकरले प्रचण्डको प्रस्ताव ठीक रहेको भन्दै प्रस्ताव १४ जेठको आसपासमा आउने प्रतिक्रान्तिलाई कसरी रोक्ने भन्नेमा निर्देशित रहेको बताए । दिवाकरले भने, 'जसरी पनि एक थान संविधान बनाउने अथवा संविधान बन्नै नदिने दुईवटै सम्भावनालाई अध्यक्षको लाइनले परास्त गर्नेछ, सामन्तवाद र साम्राज्यवादविरोधी र नेपाली जनताको पक्षमा संविधान बनाउन यही कार्ययोजना ठीक छ ।'

स्थायी समिति सदस्य कृष्णबहादुर महराले अध्यक्ष, उपाध्यक्ष अथवा अरू कसैको पनि नियतमा शंका नभएको भन्दै क्रान्तिलाई कसरी सफल पार्ने भन्ने विधिमा मात्र फरकमत रहेको बताएका थिए । उनले प्रचण्डको प्रस्ताव कार्ययोजनाका हिसाबले ठीक भएको भन्दै पालुङटार विस्तारित बैठक र केन्द्रीय समितिको निर्णयअनुरूप नै आएको बताए । 'किरण कमरेडले क्रान्तिका लागि आधारभूत वर्गमा मात्र भर पर्नुपर्छ भनी उठाएको प्रश्न ठीक हुँदाहुँदै पनि अहिलेको अवस्थामा उपयुक्त छैन । तलमाथि सन्तुलन मिलाएर जानुपर्ने अवस्था हो अहिले,' उनको भनाइ थियो ।

देव गुरुङले क्रान्तिका लागि आफ्नो प्रस्ताव फिर्ता लिन प्रचण्डलाई आग्रह गरेका थिए । 'यो प्रस्तावले पार्टीलाई राष्ट्रिय आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवाद हुँदै विसर्जनवादमा पुर्‍याउँछ, एक वर्षसम्म कांग्रेस, एमालेको केपी-माधव गुट, सभामुख, संवैधानिक समितिका सभापतिलगायतका कारणले संविधानको काम हुन सकेन भन्ने, अहिले आएर हामी शान्ति र संविधानका लागि प्रतिबद्ध छौँ भनेर देखाउन खोज्ने ?' उनको प्रश्न थियो ।

टोपबहादुर रायमाझीले भने अहिलेको आवश्यकता शान्ति र संविधानलाई सम्बोधन गर्ने भएकाले प्रचण्डको प्रस्ताव ठीक रहेको बताए । उनले शान्ति र संविधानमा लाग्नु नै अहिलेका लागि क्रान्तिकारी हुने भन्दै यतिवेला नै विद्रोह गर्छु भन्दा प्रतिक्रान्तिकारीहरूलाई सहयोग पुग्ने बताए । रायमाझीले किरणपक्षतर्फ इंगित गर्दै भने, 'विद्रोहका कुरा गर्ने, अनि मन्त्रीका लागि पनि मरिहत्ते गर्ने, पार्टीभित्र दोहोरो प्रवृत्ति देखा परेकोले समस्या छ,' रायमाझीले भने ।

गिरिराजमणि पोखरेलले पनि अध्यक्षको प्रस्तावबाट कार्यदिशा नै परिवर्तन गरियो भनेर गरिएको प्रचार सत्य नभएको बताए । उनले भने, 'नयाँ परिस्थितिको विश्लेषण गरी नयाँ सन्दर्भमा तयार पारिएको नयाँ कार्ययोजना हो, यो प्रस्तावले अहिलेका समस्या हल गर्छ ।'

दीनानाथ शर्माले पार्टीलाई अनिर्णयबाट मुक्ति दिलाउन अध्यक्षको प्रस्ताव आएको भन्दै यसको मर्म ठीक भएको बताए । 'अहिले नै पार्टी नेतृत्वको प्रश्न उठाउने वेला आएको छैन, अहिले नेतृत्वमा प्रचण्ड र नीतिमा उहाँको प्रस्तावको विकल्प छैन,' शर्माले भने, 'किरण कमरेड आफैंलाई पनि १४ जेठमा विद्रोह हुन्छ भन्नेमा विश्वास छैन, त्यसैले उहाँको प्रस्तावको औचित्य छैन ।'

विप्लवले पार्टीभित्र वर्गसंघर्षभन्दा अन्तरसंघर्ष प्रधान बन्न थालेकोमा चिन्ता व्यक्त गरे । उनले किरणको प्रस्तावमा समर्थन गर्दै आफूहरू (युवाहरू) लाई सहयोग गर्न आग्रह गरेका थिए । विगतमा आक्रामक ढंगले प्रस्तुत हुने शैली बसालेका विप्लव यो बैठकमा भने सरल तरिकाले आफ्नो भनाइ राखेको स्रोतले बतायो ।

स्थायी समिति सदस्य अमिक शेरचन र लीलामणि पोखरेलले पनि प्रचण्डको प्रस्ताव नै वस्तुसंगत रहेको बताए ।

source:

http://nayapatrika.net/coverstory/5275-%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80-%E0%A4%AC%E0%A5%88%E0%A4%A0%E0%A4%95%E0%A4%AE%E0%A4%BE-%E0%A4%AC%E0%A5%8B%E0%A4%B2%E0%A5%8D%E0%A4%A8%E0%A5%87-%E0%A5%A7%E0%A5%A9-%E0%A4%AE%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A5%87-%E0%A5%A7%E0%A5%A6-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%9A%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%AE%E0%A4%BE.html

No comments:

Search and Buy from amazon.com