Wednesday, April 21, 2010

PARIJAT पारिजातको सम्झना

पारिजातको सम्झना
21/04/2010 06:49:00संगीतश्रोता
Font size:


दिदी पारिजातको रुचि, जीवनशैली र व्यक्तित्वबारे बहिनी सुकन्याको स्मृति

हिजो वैशाख ५ गते, प्रसिद्ध साहित्यकार पारिजातको स्मृति दिवस । भौतिक रूपमा पारिजातले संसार छाडेर गएको १६ वर्ष नाघिसक्यो । तर, उनको सिर्जनात्मक प्रसिद्धि झन्-झन् उजेलिँदै गइरहेको छ । सोह्र वर्षभरिमा पनि नेपाली साहित्य-वृत्तमा पारिजातको ओजन र उचाइसम्म पुग्ने अर्को कुनै प्रभावशाली व्यक्तित्व देखिएको छैन । महिला साहित्यकारको उपस्थिति त तुलनात्मक रूपमा झन् कमजोर देखिन्छ ।

पारिजात साहित्यकार मात्रै होइन, एउटा निर्भीक, जुझारु र निरन्तर सक्रिय आन्दोलनकर्मी पनि थिइन् । एउटा सामान्य मान्छेका रूपमा पारिजातका आफ्नै रुचि/अरुचि थिए, स्वभाव र आनीबानी थिए । रमाइलो बाल्यकालदेखि जीवनको कठिन अन्तिम अवस्थासम्म पारिजातलाई साथ दिइरहने बहिनी सुकन्या बाइबा दिदीको स्वभाव 'हठी र आफ्नो कुरामा जिद्दी गर्ने खालको' भएको स्विकार्छिन् । 'दिदी जस्तोसुकै कठिन अवस्थामा पनि कुनै पिर मान्दैनथिन्,' सुकनले भनिन्, 'मलाई भने स-साना कुराले पनि पिर पथ्र्याे । परिवारमा बुबालाई केही होला कि, बिरामी दिदीलाई केही होला कि भनेर कैयौँपटक म रातभरि ननिदाईकन छट्पटिन्थेँ । तर, दिदी भने सधैँ ढुक्क ! आफू पनि सुत्दिनस्, अरूलाई पनि सुत्न दिन्नस् भनेर उल्टै मलाई हप्काउँथिन् ।'

पारिजात समयको व्यवस्थापनमा आफूलाई एकदम चुस्त राख्थिन् । उनको दैनिकी पूर्वनिर्धारित तालिकाअनुसार चल्थ्यो । बिहान ६ बजे उठ्थिन् र ओछ्यानमै कालो चिया पिउँथिन् । चिया खाइसकेपछि मात्रै मुख धुन्थिन् । पारिजातको यो बानीलाई सुकन्या 'बाउले बिगारेको बानी' भन्छिन् । पारिजातका बुबा केएस बाइबाले छोरीहरू सानै हुँदा ओछ्यानमै चियाको चुस्की लगाइदिन्थे । अन्तिम अवस्थासम्म पनि पारिजातको यो बानी छुटेन- आँखा मिच्दै बिउँझयिो, ओछ्यानमै कालो चिया सुक्र्यायो, अनि मात्रै मुख धोयो । उनी बिहानको खाना १२ बजे खान्थिन् । १२ बज्नासाथ जस्तोसुकै काममा रहे पनि उनी खान बसिहाल्थिन् । घरमा नयाँ र सम्मान गर्नुपर्ने पाहुना आएका भए पनि पारिजात आफ्नो खाना खाने समय टल्न दिँदैनथिन् । 'लौ बस्दै गर्नूस्, मेरो त खाना खाने समय भयो' पाहुनालाई उनी यसै भन्थिन् र एक्लै सपासप खान थाल्थिन् ।अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकन पनि त्यसै गर्थे भनिन्छ । पारिजातको यो स्वभाव भने आफ्नै बुबाको बानीबाट निर्माण भएको थियो । 'सधैँ घडी हेरेर काम गर्ने र खाना तयार हुन अलिकति मात्रै ढिलो भयो भने निस्केर हिँडिहाल्ने बानी थियो बाउको,' सुकनले भनिन्, 'दिदी पनि त्यसै गर्थिन् ।' सुकनलाई खाना खाने वेलामा पाहुनालाई पनि बेवास्ता गर्ने दिदीको यस्तो बानी देख्दा असजिलो लाग्थ्यो । तर, पारिजात भने आफू बस्ने टेबलभन्दा सीधै अगाडिको भित्तामा घडी झुन्ड्याउने र मिनेट-मिनेटको हिसाब राखेर काम गर्ने गर्थिन् । 'समयको कुरामा त दिदीलाई मिलटरी भने पनि हुन्छ,' सुकनले भनिन्, 'जुनवेला जे गर्ने हो, त्यो गरिछाड्ने स्वभावकी ।'

पारिजातको दिउँसोको लेख्ने-पढ्ने समय दुई बजेपछि सुरु हुन्थ्यो । लेख्न-पढ्न लागेका वेला अरू मान्छे त्यहीँ भए पनि उनलाई डिस्टर्ब हुन्थेन । त्यही कोठामा अरू उनैसँग कुरा गरिरहेका छन् भने पनि पारिजात खुरुखुरु लेखपढ गरिरहेकी हुन्थिन् । साहित्यकार र साथीहरूसँग भेटघाट गर्ने उनको समय दिउँसोकै हो । तर, अध्ययन गरिरहेको वेलामा उनले साथीहरूलाई बोलाउँदिनथिन् । प्रायः साहित्यकार वा भेट्न चाहने मान्छे खबरै नगरी आउँथे । उनीहरूसँग पारिजात रिसाउँथिन्- के हो, खबर गरेर आउनुपर्दैन ? खबरै नगरी आउने ? 'तर भेट्न आउनेहरू जतिवेला पनि आइरहन्थे,' सुकन्याले सम्झिन् ।

दिउँसो तीन बजेतिर पारिजातलाई एक कप कालो चिया चाहिन्थ्यो । दिउँसो सुख्खा रोटीको नास्ता खान्थिन् । दिनभरि लेखपढ र साथीहरूसँग भेटघाट गरिसकेपछि साँझ सात बजे खाना खाने बानी थियो । बेलुकाको खानामा रक्सीको सितन हुन्थ्यो । सुकनले भनिन्, 'पहिले-पहिले बेलुकाको खानामा रक्सी र रक्सीसित आलुको पकौडा नियमित खान्थ्यौँ । साँझको खानामा दिदीलाई पकौडा अनिवार्य चाहिन्थ्यो ।' साँझको खाना खाइसकेपछि पारिजात केहीबेर गीत/गजल सुन्ने गर्थिन् । राति १० बजेतिर उनी सुत्थिन् । पारिजात सुत्ने वेलामा निकै पातलो लुगा ओढ्थिन् । बाक्लो लुगाले थिच्छ भन्थिन्, उनी । सुकन्या दिदीलाई जिस्क्याइरहन्थिन्, 'तिम्रो जिउमा त झँिगा बस्यो भने पनि थिच्छ क्यारे !'

खाना खाने कुरामा पारिजात अलि बढी सोखिन थिइन् । उनलाई थोरै खानुपथ्र्यो, मीठो खानुपथ्र्यो । उनी आफैँ पनि मीठो खाना पकाउँथिन् । खानामा अचार हुनैपथ्र्यो । खुर्सानी र लसुन मात्रै भए पनि पारिजातको भोजनमा अचार अनिवार्य हुन्थ्यो । उनी चिन्डे र कोइरालोको अचार, तिलको छोप बढी मन पराउँथिन् । नास्तामा सुख्खा रोटी, सुप र मःमः रुचाउँथिन् । कुन दिन के खाने भनेर पारिजातले साताभरिको खानाको मेनु आफँै तयार पार्थिन् । 'सबै दिनको मेनु त मैले अहिले बिसेर्ं,' सुकनले सम्भ"mदै भनिन्, 'दिदीले तयार पारेको तालिकाअनुसार हामीले सोमबार आलुपुरी, बुधबार मःमः, शुक्रबार खिचडी खान्थ्यौँ ।' पेय पदार्थमा पारिजातको सबैभन्दा बढी रुचि कालो चियामा थियो । उनी साँझपख रक्सी पनि पिउँथिन् । कफी भने उनी रुचाउँदिनथिन् । 'दिदीलाई सबैभन्दा मन नपर्ने कोकाकोला हो, उनले त्यो कहिल्यै पिइनन्,' सुकनले भनिन्, 'उनी कफी पनि खाँदिनथिन् ।'

बरु सबै चिजको अनुभव लिनुपर्छ भनेर पारिजातले कलिलो उमेरमा पनि नयाँ-नयाँ खानेकुरा खाने हिम्मत गर्थिन् । सुकन्याका अनुसार १५/१६ वर्षकै उमेरमा एकचोटि पारिजातले गाँजा खाएर घर आएकी थिइन् । गाँजाको नशा लागेपछि उनी रातभरि सुत्न सकिनन् । 'सुकन आइज, ओ, सुकन आइज न' भनेर छटपटाइरहिन् । पछि पारिजातका दाजुको साथीले कताकताबाट कागती खोजेर खुवाएपछि ठीक भएको थियो । त्यो दिन पारिजातले अनुभव लिनुपर्छ भनेर गाँजा खाएकी थिइन् ।

फूलहरूमा विशेष रुचि थियो, पारिजातको । गुराँस उनको मन पर्ने फूल थियो । पारिजातलाई मन परेको र उही वेलामा रोपेको कुर्सीमल सुकन्याले अहिले पनि पारिजातनिवासमै जोगाएर राखेकी छिन् । त्यो फूल पारिजातले मदन मेमोरियलमा पढाउँदाताकाकी जयन्ती नामकी विद्यार्थीले उपहार दिएकी थिइन् । पारिजातले त्यो फूललाई 'जयन्ती फूल' भन्थिन् । केटाकेटी छँदा त पारिजात फूल खुब बटुल्थिन् । वनजंगलमा घुम्न हुरुक्क हुने उनको बानी थियो । दार्जिलिङमा छँदा पारिजातको बाल्यकाल लगभग पूरै वनजंगलमै बितेको हो । उनी साथीहरूसँग घुम्न र वनजंगलमा दाउरा खोज्न खुब रमाउँथिन् । कतिसम्म भने दाइको मृत्यु भएका वेलामा पनि पारिजात घरमा थिइनन्, साथीहरूसँग सहरतिर घुम्न गएकी थिइन् । काठमाडौं आएपछि पनि उनी वनजंगल, हरियाली र फूलबारीमा घुम्न चाख मान्थिन् । बहिनीहरूलाई ताजा फूल ल्याएर टेबलमा राखिदिन भन्थिन् । फूलका ताजा पत्रदल किताबको कापमा राख्ने बानी थियो उनको । 'अहिले पनि दिदीले पढेका किताब झकिेर हेर्दा बीच-बीचमा सुकेका फूलका पत्रदल फेला पर्छन्,' सुकन्याले भनिन् ।

सरसफाइ र फेसनमा भने पारिजातको रुचि नै हुन्थेन । सानो छँदा राम्रो हुने, सफा लगाउने, चिटिक्क हुनेतर्फ उनले कहिल्यै वास्ता गरिनन् । सरसफाइमा सुकनले ध्यान दिन्थिन्, पारिजात भने कहिलेकाहीँ त मुखै नधोई स्कुल जान्थिन् । साथीहरूले स्कुलमा 'ए, विष्णु तेरो अनुहारमा कालो लागेको छ' भन्थे । पारिजात 'खै, कहाँ लागेको छ ?' भन्दै फरियामा थुक लगाएर पुछ्न थाल्थिन् । उमेरमा निकै सुन्दरी पारिजात नाच्ने-गाउने गर्थिन्, जुन कुरा बालाई मन पर्थेन । उनी खुबै राम्री थिइन्, प्रेमपत्र पनि खुबै आइरहन्थे । 'हामी दिदीलाई आएका प्रेमपत्र पढ्दै, हाँस्दै, च्यात्दै गथ्र्यौं,' सुकन्याले वैंशालु दिन सम्भ"mदै भनिन्, 'दिदीलाई मन पराउनेहरू त कति थिए कति ! तर, लुगा मिलाएर लगाउने कुरामा भने उनले पछिसम्म पनि त्यति धेरै ध्यान दिँदैनथिन् ।' स्कुल जाँदा मैलो पेटिकोट बाहिरै देखियो भने सुकन्याले 'दिदी, तिम्रो पेटिकोट मैलो देखिएको छ' भन्थिन् । पारिजात भने 'अघि हिँड्, पछि बसेपछि के-के देख्छे, के-के !' भनेर हकार्थिन् ।

सुरु-सुरुमा पारिजातले सारी लगाइन्, पछि बिरामी परेपछि सुविधाका लागि कुर्तासुरुवाल लगाउन थालिन् । पछिल्लो समयमा टाउको अलिकति ढाकिनेगरी सल ओढ्थिन् । पहिले उनको मन पर्ने रङ सेतो थियो । 'पछि भने हरियो रङ नै दिदीको पि्रय रङ भयो । सायद हरियो जीवनको प्रतीक भएकाले होला,' सुकन्याले अनुमान गरिन् । युवाउमेरमा अलि-अलि शृंगारमा ध्यान दिएकी पारिजातले पछिल्लो समयमा भने शृंगार प्रसाधनका सामग्रीमा खासै ध्यान दिइनन् । युवा छँदा उनले आँखामा गाजल र अनुहारमा पाउडर लगाउँथिन्, क्रिम र लिपस्टिक भने कहिल्यै लगाइनन् । एकचोटि उनका साथीहरूले क्रिम उपहार ल्याइदिएका थिए । एकदिन उनले त्यो लगाएर बाहिर निस्किन् । तर, क्रिम लगाएको केहीबेरमै उनलाई त्यसको गन्धले निकै असजिलो बनायो । 'सुकन, मलाई त यो क्रिम कतिवेला धोउ"mजस्तो भयो !' त्यतिवेला पारिजातले भनेकी थिइन् ।

जीवनको उत्तरार्द्धमा पारिजातले आफ्ना व्यक्तिगत रुचि/अरुचिप्रति लगभग वास्ता गर्न छाडेकी थिइन् । शारीरिक रूपमा अशक्त भए पनि उनी राजनीतिक परिवर्तन र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा सशरीर सडकमा समेत उत्रिन् । उनले ०४६ सालको कालोपट्टी आन्दोलनको नेतृत्व पनि गरेकी थिइन् । पछिल्लो समयमा मानवअधिकार, महिलामुक्ति, बन्दी सहायतालगायतका सामाजिक काममा उनले आफूलाई बढी समर्पित गरिन् । पारिजातले साहित्य सिर्जनाका साथै सामाजिक काममा सक्रियता बढाएकी थिइन् । 'साहित्यकारभन्दा सोसल वर्कर बढी भइन् दिदी,' पछिल्लो समयको सम्झना गर्दै बहिनी सुकन्याले भनिन्, 'नेपाल मानवअधिकार संगठनको दिदी संस्थापक उपाध्यक्ष भइन्, बन्दी सहायता नियोग दिदीकै अध्यक्षतामा स्थापना भयो । कैदीहरूको सहायताका लागि नख्खु जेल, सेन्टर जेल, पोखरा, विराटनगरलगायतका देशका अन्य भागका जेलमा पनि उनी पुगिन् ।'

जीवनको अन्तिम अवस्थामा वीर अस्पतालमा रहँदा सुकन्यालाई नजिकै बोलाएर पारिजातले भनिन्, 'सुकन, यता आइज । म धेरै थाकेँ, अब बिसाउन जाँदै छु । तँैले कहिल्यै हिम्मत नहार्नू है !' संसार छाड्नुअघि पारिजातले बहिनी सुकन्यासित केही अन्तिम इच्छा व्यक्त गरेकी थिइन् । ती इच्छा थिए- आफूलाई असाध्यै मन पर्ने नेता लेनिनको फोटो मृत्युपछि शिरमा राखियोस् । शवलाई श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा होइन, खुलामञ्चमा राखियोस्, अन्तिम संस्कार पशुपतिमा होइन, स्वयम्भूमा गरियोस् ।' पारिजातको मन पर्ने रङ भएकाले दिदीले नभने पनि सुकन्याले शवमा हरियो लुगा ओढाइदिएकी थिइन् । तर, त्यो पारिजातको अन्तिम इच्छा थिएन । त्यसपछि पारिजातको अर्थी शान्ता श्रेष्ठलगायतका महिलाले बोकेका थिए ।

यस्तै व्यक्तिगत रुचि/अरुचि र आनीबानीसहितको पारिजातको भौतिक शरीरको अवसान भएको डेढ दशकभन्दा बढी भयो । उनको भौतिक अवसानपछि उनकै जीवनका कतिपय तथ्य तोडमरोड गरिँदै छ । सुकन्यालाई दिदीको जीवन आफैँमा खुला किताबजस्तो थियो भन्ने लाग्छ । तर, मृत्युपछि कतिपय झुटा किंवदन्ती थपिएका छन् । पारिजातलाई पक्षघात थियो भन्न थालिएको छ । उनलाई पक्षघात होइन, रिह्युमाटोयड आर्थि्रटिज नामको हाडजोर्नीसम्बन्धी रोग लागेको थियो । बुबालाई कतिपय ठाउँमा होमियोप्याथिक भनेर उल्लेख गरिएको छ, खासमा बुबा एलियोप्याथिक थिए ।

पारिजात दिदीलाई सम्भदै बहिनी सुकन्या भन्छिन्, 'दिदी हाम्रो परिवारकै अभिभावक थिइन्, परिवारका सबैजसो निर्णय उनैले गर्थिन् । दिदी गएपछि मलाई एक्लो र निरीहजस्तो महसुस हुन्छ । उनको सम्झनामा निर्माण गर्न लागिएको स्मृति भवन यत्तिकै अधुरो छ । दिदीले प्रयोग गरेका थुप्रै सामान पनि त्यत्तिकै छन्, संकलित र सुरक्षित गर्न म एक्लैले कसरी सक्छु र ? म पनि गएँ भने सबै लथालिंग हुनेछ । खै, यतातिर सरकारले पनि कहिल्यै ध्यान दिँदैन ।'


sangeet.srota@gmail.com

source:
http://www.nayapatrika.net/newsportal/middle_page/12960.html

No comments:

Search and Buy from amazon.com