Sunday, April 11, 2010

एमालेको कलि-काल

एमालेको कलि-काल
11/04/2010 17:22:00Naya Patrika
Font size:


यो सालको अन्तिम मसान्त होइन । ०६६ सालको अन्तिम दिन भोलि बाँकी नै छ । तर, आजै चैतेमसान्त भइदिए हुन्थ्यो भन्ने यो टिप्पणीकारलाई लागेको छ ।
प्रधानमन्त्रीलाई राजीनामा दिन ७० जना सभासद्को हस्ताक्षर भन्ने भँगेराटाउके समाचारले पहिलो धक्का दिएको थियो । सर्वसम्मतिबाट नेकपा एमालेको केन्द्रीय कमिटीबाट प्रस्ताव गरिएका माधवकुमार नेपालको राजीनामा माग्दै एमालेकै ११ जना सभासद्को नाम पढेपछि एकपल्ट धेरैको मन दुख्यो । माधवकुमार नेपालको राजीनामा माग्ने र पत्रपत्रिकामा प्रतिक्रिया दिनेहरूको नाम पढ्न थालेपछि मेरो मस्तिष्कमा नेपाली राजनीतिलाई विनाशको पल्लै फालसम्म लैजाने ०५४ सालको एमाले विभाजनको दृश्य झलझली नाच्न थाल्यो ।
०५४ सालमा पनि पार्टीलाई संसद्कै आडमा फुटाइएको थियो भने अहिले पनि विनाशको राग संसद्तिरैबाट उठेको थियो । उतिवेला एउटा थाङ्ने मुद्दा उठाइएको थियो पार्टी फुटाउन महाकाली नाम गरेको । नेकपा एमालेलाई विभाजित गरेपछि सुस्ताएर बगरमा पल्टिएको महाकाली कालो रातले १३ वर्ष पूरा गरिसक्दा पनि ब्युँझिन सकेको छैन र निकट भविष्यमा त्यो बिउँझिने सम्भावना पनि अहिलेसम्म देखिएको छैन । तर, नेकपा एमालेका केही अबुझ नेताका कारण महाकाली प्रकरणले मुलुकमा राजाको दक्षिणपन्थी निरंकुशता र माओवादीको उग्रवामपन्थी निरंकुशतालाई बलियो बनाउने अनि नेकपा एमालेसहित नेपालको प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाउनेबाहेक अर्को कुनै काम गर्न सकेन ।
एउटा घटना बीभत्स हुन्छ, त्यही घटना दोहोरिँदा व्यंग्य हुन्छ । नेकपा एमालेको जिन्दगीमा त्यो पुरानो र बीभत्स ०५४ साल यतिवेला विद्रूप व्यंग्य भएर दोहोरिएको छ । हिजो पनि विवादको मुद्दा खाते थियो । अहिलेको मुद्दा पनि त्यस्तै खाते छ । ०५४ सालको विद्रोह पनि संसद्बाटै आरम्भ भएको थियो । अहिले पनि विद्रोहको शंखघोष संसद्बाटै भएको छ । उतिवेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल सभामुख थिए । अहिले नेकपा एमालेकै सुवास नेम्वाङ सभामुख छन् । ०५४ सालमा विद्रोहका नेता वामदेव गौतम स्वयं सांसद थिए । अहिले विद्रोहका उद्घोषक भएका उनी सांसद छैनन् । तर, ०५४ सालको विभाजनमा अग्रपंक्तिमा रहेर सक्रिय भूमिका निभाउनेको अनुहार र मन अहिले पनि फेरिएको छैन ।
परिदृश्यमा देखिएका घटना र अनुहार हेर्दा लाग्छ, राहुको फन्दामा फसेको छ नेकपा एमालेको जीवन, यसैकारण नेपाल राष्ट्रको जीवनमा पनि कलिकाल लागेको अनुमान गर्न सकिन्छ ।
तर, वामदेव गौतमको आफ्नो पार्टीप्रतिको शत्रुभाव र माओवादी पार्टीप्रतिको मित्रभाव अनायास अनि अहिले देखिएको होइन । आठौँ महाधिवेशनको कालमा ०५४ सालमा पार्टी फुटाएर जानेहरूलाई गोलबन्द गर्न गम्भीर बिमार भएर गएका वामदेव गौतमले भ्याएकै थिए । आठौँ महाधिवेशनपछि ०५४ सालपछिका 'माले' को एउटा सानो पंक्ति पुनः संगठित भयो र एमालेभित्र केपी ओली र माधव नेपालका विरुद्ध गतिविधि गर्न थाल्यो । झलनाथ खनाललाई एक्ल्याउन र एकांगी बनाएर बिगार्न प्रमुख भूमिका निभाउने माले कम्पनीको नेतृत्व पनि वामदेव गौतमले नै गरेका थिए यस बीचमा । एघार भाइबैनाको हस्ताक्षरका कारण यतिवेला सबैभन्दा अप्ठ्यारोमा परेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको यो हविगत पनि वामदेव गौतमको आँकलनमा निकै अगाडि नै परिसकेको थियो । सायद अन्तिम घडीमा झलनाथ खनालको दिमागमा शंख-घन्ट बजे होलान् । त्यसैले उनले ठाउँ-ठाउँमा हस्ताक्षर अभियान नभएको बोलिरहको सुनियो । जब कि हिजो एमाले फुटाउन तोकिएको भूमिका निभाउनेमध्येका एकजना सभासद्ले आफूले १ नम्बरमा र अर्का सभासद्ले ६ नम्बरमा सही गरेको सत्यको उद्घाटन आफैँले गरेका थिए ।
०५७ सालमा माधव नेपाल, झलनाथ खनाल, केपी ओलीबाट निराश भएर भौँतारिएर मसम्म आइपुगेका वामदेव गौतमलाई हरि रोका, घनश्याम भुसाल र कोमल भट्टराईको दबाबमा मैले किन भित्र्याएछु भनेर यतिवेला थकथक मानेको छैन मैले । 'म त एमाले फर्किन्नँ, बरु पढ्न जान्छु, वामदेवलाई समूहसहित पार्टीमा फर्काउनुहोस्' भनी सल्लाह दिने हरि रोका पिएचडीको पढाइ छाडेर यतिवेला आफूलाई स्वतन्त्र सभासद् भनेर परिचय दिन उभिए पनि चिन्ने-जान्ने सबैले उनलाई माओवादी सभासद् नै भन्छन् । घनश्याम भुसाल म कुनै गुटमा छैनँ त भनिरहेकै छन्, तर गुटबन्दीलाई बाठो हिसाबले संगठित गर्ने कामबाट उनी पनि पछि हटेका छैनन् । जहाँसम्म कोमल भट्टराईको कुरो हो— यतिवेला उनी किनारबाट एमालेको भविष्य नियालिरहेका छन् ।
अर्थात्, वामदेव गौतमसहितको, टुक्रिएको मालेसमूहलाई एमालेमा लैजानूस् भनेर मसँग पुतलीसडकको मनमोहनचोकस्थित खोटाङ समाजको कार्यालयदेखि मानभवनको वामदेव गौतमको डेरासम्म कचकच गरेर पार्टी पुनः एकीकरण गर्ने काममा मलाई धकेल्ने तीनैजना युवा यतिवेला जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त मान्ने नेकपा एमालेको मूलधारबाट चोइटिएर बसेका छन् भन्नुपर्ने हुनाले, म ०५७ सालको पुनः एकीकरणमा आफू घिच्चिनुपरेको घटनालाई विषादका रूपमा सम्भिmन बाध्य भएको छु । हरि रोका, घनश्याम भुसाल र कोमल भट्टराईको चर्को दबाब नभएको भए वामदेव गौतमसहितको माले-एमाले एकीकरण पनि हुने थिएन र हामीले ०६७ सालको चैते खडेरीमा यो फोहोरी चर्तिकलाको दर्शन पनि गर्नुपर्ने थिएन ।
तर, पछुतो मानेर हुन्छ के ! हुन त एमालेको विभाजनकारी द्वन्द्व, ०५४ साल या ०६६ सालको मसान्तमा आएर मात्रै झाङ्िगएको होइन । भूमिगत भएका कारण बाहिरबाट चोट नदेखिएको मात्र हो । प्रतिशतका हिसाबमा यसभन्दा ठूलो विभाजन त ०३९ सालमै भएको थियो । सुन्दर भविष्य बोकेका होनहार युवालाई प्रजातन्त्रप्राप्तिको संघर्षबाट विमुख गराउने काम ०३९ सालमै भएको थियो । आजको केन्द्रीय कमिटी, पोलिटब्युरो सदस्य बन्नसक्ने क्षमता भएका दर्जनभन्दा बढी युवाको जीवन राजनीतिको मैदानबाट चटक्कै बाहिर निस्किएको थियो । उतिवेलाको अधोगतिको जिम्मा लिनुपर्ने व्यक्ति अहिले नेकपा मालेका महासचिव हुनुभएका सिपी मैनाली नै हुनुहुन्छ भन्ने निष्कर्ष लेख्न अलिकति पनि गाह्रो मान्नुपर्दैन । कहाँ पुगे होलान् त्यतिवेलाका ऊर्जावान् लोक सुब्बा, ठाकुर श्रेष्ठ, दामोदर उपाध्याय, नन्द कन्दङ्वाजस्ता साथीहरू !
ठूला-ठूला विभाजनकारी गतिविधिलाई सहन गर्दै आजको नेकपा एमाले यस ठाउँमा आइपुगेको हो । पार्टीमा व्यक्तिगत नाफा-नोक्सान हेर्नेहरूले कहिल्यै पनि पार्टी बलियो भएको देख्न चाहँदैनन् । पार्टी बलियो हुनु व्यक्तिको स्वः समूहमा समाहित हुनु हो । आफूलाई केन्द्रमा राखेर सोच्नेहरू सधैँभरि पार्टीको अग्रगमनका लागि बाधक हुन्छन् ।
पार्टी फुट्छ/फुट्दैन, अझै पनि भविष्यकै कुरा हो । कान्तिपुर टेलिभिजनको पर्दामा वामदेव गौतमले गरेको उद्घोषले पार्टी फुट्ने रहेछ भन्ने धेरैलाई लागेको मात्र हो । जेठ १३ गतेसम्म पर्खिएर हेर्ने, त्यतिवेलासम्म आफूले भनेअनुसारको काम नभए ०६७ साल जेठको १४ गते एमालेका विरुद्ध विद्रोहको आह्वान नेतृत्व गर्ने बोली बोलेर वामदेव गौतमले एकीकृत माओवादी पार्टीको जनविद्रोहको तात्कालिक कार्यनीतिलाई खर्लप्पै बोकेका छन् । उहिल्यै विभाजनका सूत्रधार बनिसकेका वामदेवले अहिले पार्टीलाई कति चर्को धक्का दिने हुन् थाहा पाउन जेठ १४ गतेसम्म कुर्नैपर्ला ।
त्यो धक्कालाई सीमित बनाउने हो भने यतिवेला झलनाथ खनाल, माधव नेपाल र केपी ओली टपक्क मिल्नु पहिलो आवश्यकता हो । राष्ट्रिय राजनीतिमा मध्यमार्गको परिचय बनाइसकेको नेकपा एमालेको भविष्य उग्रवामपन्थ र उग्रदक्षिणपन्थको विरोध तथा मध्यमार्गी शक्तिसँगको ऐक्यबद्धतामा नै सुरक्षित रहनेछ

source:

http://www.nayapatrika.net/newsportal/view/12786--.html

No comments:

Search and Buy from amazon.com