Thursday, May 27, 2010

नेपालभित्रै पसेर एसएसबीद्वारा गोली हानी नेपालीको हत्या

नेपालभित्रै पसेर एसएसबीद्वारा गोली हानी नेपालीको हत्या

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

मोरङ, १२ जेठ

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का इन्स्पेक्टरले नेपालभित्र छिरेर नेपाली सर्वसाधारणलाई गोली हानी हत्या गरेका छन् । एसएसबीको गोली प्रहारबाट स्थानीय वासुदेव साहको मृत्यु भएपछि मोरङको अमाहिवरियाती गाउँ शोकमा डुबेको छ 

मंगलबार राति पौने ९ बजे इन्स्पेक्टर हितेन्द्र सिंह र कन्स्टेबल मदन सोडार नेपाली भूमिमा प्रवेश गरेर नेपाल प्रहरीका हवल्दार शम्भु चौधरीसँग झगडा गरेका थिए । झगडा छुट्याउन स्थानीय सर्वसाधारण जम्मा भएका थिए । तर, उन्मादी भारतीय इन्स्पेक्टरले गोली हान्दा साहको मृत्यु भएको हो । 'झगडा मिलाउन गएका सर्वसाधारणलाई गोली हानेर मारे,' स्थानीय रामदेव मुखियाले भने 

सीमापारि भारतीय गाउँ गरैया लैलोखर बस्ने भारतीय नागरिक हरिचन्द्र साहलाई लेखेट्दै भारतीय सुरक्षाकर्मी नेपाल पसेका थिए । साहले साइकलमा एक टिन तेल ल्याउँदा घुस नदिएको भन्दै सुरक्षाकर्मीले उनलाई लखेटेको थियो । तर, भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाल छिरेपछि नेपाली प्रहरीले रोकेका थिए 

यही विषयमा दुई देशका प्रहरीबीच विवाद भएपछि सर्वसाधारण जम्मा भएका थिए । 'गरैया क्याम्पबाट आएका भारतीय सुरक्षाकर्मीले नेपालको सीमादेखि दुई सय मिटरभित्र आएर गोली हानेर भागे,' स्थानीयवासी सूर्यनारायण साहले भने 

गोली लागी घाइते भएका साहलाई राति नै कोसी अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक साहका श्रीमती, तीन छोरा र चार छोरी छन् । शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ 

भारतीय प्रहरीले गोली प्रहार गरी साहलाई घाइते बनाएपछि नेपाल प्रहरीले पनि दुई राउन्ड गोली चलाएको थियो । बुधबार दिनभर अमाहिवरियातीको खयरवोना गाउँमा नेपाल-भारत दुवैतर्फका बासिन्दा थप घटना हुने हो कि भनेर सन्त्रस्त थिए 

नेपाली भूमिमा हतियारसहित किन आएको भनेर नेपाल प्रहरीले भारतीय प्रहरीलाई रोक्न खोजेका थिए । 'हामीलाई त उल्टै हेपेर तथानाम गाली गर्न थाले, उनीहरू ममाथि जाइलागे,' नेपाल प्रहरीका हवल्दार शम्भु चौधरीले भने 

विवाद भएपछि भारतीय सुरक्षाकर्मीले नेपाली हवल्दारलाई समातेर भारततिर लग्न खोजेका थिए । 'गाउँलेले प्रतिकार गरेपछि गोली हानेर भागे,' चौधरीले भने । भारतको अररिया जिल्ला गरैयामा रहेको एसएसबीको २४ नम्बर बटालियनका जवान नेपाली भूमिमा पटक-पटक पसेर आतंक मच्चाउने गरेको प्रहरी तथा सर्वसाधारणले बताए । 'यो पहिलोपटक होइन, दैनिकजसो आएर हैरान गर्छन्,' स्थानीय राजेश कामतले भने 

भारतीय एसएसबीको ज्यादती सहन नसक्ने भन्दै स्थानीयवासीले सरकारसँग सुरक्षा मागेका छन् । 'त्यसका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिने तयारी गरिरहेका छौँ,' कामतले भने । स्थानीयवासीले पटक-पटक नेपाली भूमिमा प्रवेश गरी युवाहरूमाथि कुटपिट गर्ने र हतियारसहित निर्वाध रूपमा घुमफिर गर्ने गरेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् 

बुधबार मोरङका प्रहरी उपरीक्षक दीपककुमार थापा र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका उपरीक्षक कृष्ण थापाले घटनास्थलको अवलोकन गरेका छन् । उनीहरूले भारतीय सीमा सुरक्षा बल २४औँ बटालियन वथनाहाका कमान्डेड एके सिंह र सहकमान्डेड बिआर चौहानलाई भेटेर घटनाबारे जानकारी गराएका छन् । तर, एसएसबीले भने आफ्ना सुरक्षाकर्मीलाई नेपाल प्रहरीले तानेर जबर्जस्ती नेपाल ल्याएको र आत्मरक्षाका लागि गोली चलाएको प्रतिक्रिया दिएको छ । 'उनीहरूले आफ्ना अधिकृतलाई सीमा क्षेत्रबाट तानेर नेपाली भूमिमा ल्याएको र आत्मरक्षाका लागि गोली चलाउँदा साहको मृत्यु भएको दाबी गरेको छ,' भारतीय पक्षलाई भेटेपछि प्रहरी उपरीक्षक दीपककुमार थापाले भने 

साहको हत्यापछि आक्रोशित स्थानीयवासीबाट हुन सक्ने अपि्रय घटना रोक्न खैरवानामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मानवअधिकारवादी संघसंस्थाहरूले स्थलगत निरीक्षण गरेका छन् 

भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै आएर नेपाली नागरिकको हत्या गरेको घटनाको दल र विभिन्न संघसंगठनहरूले भत्र्सना गरेका छन् । नेपाली भूमिमा आएर नेपालीकोे हत्या गरिनु भारतीय हस्तक्षेप र हेपाहा प्रवृत्तिको पराकाष्ठा भएको एकीकृत नेकपा माओवादीले जनाएको छ 

माओवादी मोरङका इन्चार्ज शिवकुमार मण्डलले विज्ञप्ति जारी गरी यो घटना राष्ट्रियतामाथि गम्भीर प्रहार भएको बताएका छन् । उनले मृतकलाई राष्ट्रिय सहिद घोषणा गर्न, दोषीलाई कडा कारबाही गर्न र नेपाली नागरिकको सुरक्षाको व्यवस्था गर्न सरकारसँग मागसमेत गरेका छन् 

यसैबीच अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, एड्भोकेसी फोरम, सामाजिक न्यायका लागि एकीकृत अभियान, मानवअधिकारका लागि स्रोत विकास मञ्च, सिविन र नेपाल पत्रकार महासंघले हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् 

मलाई तानेर लग्न खोजेका थिए

शम्भु चौधरी, प्रहरी हवल्दार (मंगलबार) रातिको त्यस्तै पौने नौ बजेको थियो होला । म नेपालतर्फ बोर्डरभन्दा एक सय मिटर उत्तरतिर स्थानीय केही व्यक्तिसँग कुरा गरेर बसिरहेको थिएँ । त्यत्तिकैमा उता (भारततिर) बाट पहिले एउटा साइकल र त्यसपछि मोटरसाइकल हान्निएर आए 

हामीनजिक आइपुगेपछि मोटरसाइकलमा भएका दुई व्यक्तिले साइकलमा रहेको व्यक्तिलाई रोकाएर केही विवाद गर्न थाले । त्यसपछि को हुन् भनेर जाँदा मोटरसाइकलमा सवार दुईजना सादा पोसाकका भारतीय अर्धसैनिक बल एसएसबीका सुरक्षाकर्मी रहेछन् 

मैले किन हल्ला गरेको, के भयो भन्न मात्र पाएको थिएँ, तँ साले बढी जान्ने हुन्छस्, दुई नम्बरी काम गर्ने भन्दै हिन्दीमै नानाभाँती गाली गरे । मैले तस्कर हो भने पनि उतै नरोकेर नेपाली भूमिमा आएर के गरेको भन्दै थिएँ । उनीहरू ममाथि जाइलागे । मलाई हातपात गरेर तान्दै भारततिर लग्न खोजे । तर, त्यतिन्जेलसम्ममा नेपाली सर्वसाधारण जम्मा भइसकेका थिए । मलाई हातपात गरेपछि गाउँलेले एसएसबीका सुरक्षाकर्मीलाई समातेर लडाइदिए । त्यसपछि उनले गोली चलाए । गोली मलाई ताकेर हानिएको थियो, तर वासुदेवजीलाई लाग्यो 

वासुदेव रन्थनिँदै ढलेपछि उनीहरू बिआर ३८ बी ००३७ नम्बरको हिरोहोन्डा स्प्लेन्डर मोटरसाइकलमा भाग्न लागेका थिए । ठीक त्यसैवेला मैले पनि गोली चलाएँ । त्यसपछि उनीहरू मोटरसाइकल छाडेर भागे । गाउँलेले लखेटे, तर उनीहरू दसगजा क्षेत्र पार गरेर गइसकेका थिए 

source:

http://www.nayapatrika.net/newsportal/cover_story/13853.html


No comments:

Search and Buy from amazon.com