मिर्जालाई मार्ने गिरोहले नै जमिमलाई मारेको पुष्टि

बब्लु श्रीवास्तवले भारतको बरेली जेलमै योजना बनाए, भरत नेपालीसँगको सल्लाहमा अन्तिम निर्णय भयो
श्रीवास्तवले दीपक शाही उर्फ बब्बुलाई मुख्य रणनीतिकार नियुक्त गरे, बब्बु कात्तिकमै नेपाल र माघमा काठमाडौं आए
बब्बुले काठमाडौंमा सई प्रकाश क्षेत्रीलगायत १३ जनाको सहयोगमा जमिम हत्याको रणनीति बनाए
उनीहरुबीच काठमाडौंका विभिन्न ठाउँमा पटक-पटक बैठक भए, गोली हान्ने जिम्मा दुईजनालाई दिइयो
हत्यालगत्तै दुवैजना सुटरसहित सबै रणनीतिकार लैनचौरमा भेला भए, फरक-फरक मोटरसाइकलमा दुईजना सुटरलाई पालैपालो कलंकी पुर्याइयो, हत्यामा प्रयोग भएको मोटरसाइकल सहयोगीले फुटुङ पुर्याए
नयाँ पत्रिका
काठमाडौं, ३ फागुन
११ वर्षअघि पूर्वमन्त्री तथा तत्कालीन सांसद मिर्जा दिलसाद बेगको हत्या गर्ने अन्डरवल्र्ड गिरोहले नै मिडिया उद्यमी जमिम शाहको हत्या गरेको पुष्टि भएको छ । मिर्जालाई मार्ने बब्लु श्रीवास्तवको निर्देशनमा नेपाली अपराधीसमेत मिलेर जमिमको हत्या गराएको प्रहरीको दाबी छ ।
हत्या र अपहरणका करिब ४० वटा मुद्दाका अभियुक्त बब्लु श्रीवास्तव अहिले भारत उत्तरप्रदेशको बरेली जेलमा छन् । सन् १९९५ मा सिंगापुरमा पक्राउ परी भारत सुपुर्द गरिएका श्रीवास्तवले जेलबाटै आपराधिक सञ्जालको नेतृत्व गरिरहेका छन् । उनकै निर्देशनमा सन् १९९९ मा मिर्जाको हत्या भएको थियो ।
भारतविरोधी गतिविधि गर्नेलाई मार्ने भन्दै उनले नेपाली मुस्लिम समुदायका उद्यमी युनुश अन्सारीलाई निशाना बनाएका थिए । तर, युनुश जेल परेपछि श्रीवास्तवको गिरोहले जमिमलाई मार्ने योजना बनाएको थियो । श्रीवास्तवका सहयोगीले काठमाडौंमा महिना दिन लामो योजना बनाएर २४ माघ अपराह्न २:३० मा लाजिम्पाटमा जमिमको हत्या गरेका थिए ।
बब्लु श्रीवास्तवका 'पार्टनर' भरत नेपालीले नेपाल प्रहरीका एक सई र अन्य नेपालीको सहयोगमा जमिमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार हत्यामा १४ जनाको प्रत्यक्ष संलग्नता थियो । तीमध्ये १२ जना नेपाली र दुईजना भारतीय हुन् ।
हत्या भएको भोलिपल्टै माघ २५ गते बिहान ११:५५ मा जमिम शाहकै स्पेसटाइम केबुलमा फोन गरेर भरत नेपालीले हत्याको जिम्मेवारी लिएका थिए ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले सोमबार पत्रकार सम्मेलन गरेर प्रहरीले भरत नेपालीकै समूहले जमिमको हत्या गरेको सार्वजनिक गरेको छ । महानगरीय प्रहरी आयुक्त एआइजी मदन खड्काले हत्याको रणनीतिक योजनाकार भने बब्बु भन्ने दीपक शाही रहेको जानकारी दिए ।तर, आरोपीमध्ये नेपाल प्रहरीका सई प्रकाश क्षेत्रीबाहेक सबै फरार छन् । क्षेत्रीलाई भने प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । 'हत्याका अन्य अभियुक्त सबै फरार छन्,' एआइजी खड्काले भने, 'सई क्षेत्रीले अभियुक्तहरूलाई भगाउन सहयोग गरेको पुष्टि भएको छ, अब अन्य अभियुक्त पनि छिट्टै पक्राउ पर्छन् ।'
बब्लु श्रीवास्तव र भरत नेपालीको निर्देशन पाएपछि बब्बुले नेपालमा रहेका विभिन्न आपराधिक गिरोहका सदस्यलाई भेटेर हत्याको सम्पूर्ण योजना बनाएका थिए । बब्बुसँग नेपाल र भारतको दोहोरो नागरिकता रहेको प्रहरीको भनाइ छ, तर कुन जिल्लाको नागरिकता छ भन्ने अहिलेसम्म खुलेको छैन ।
जमिमको हत्या गर्न मोटरसाइकलमा आउनेमध्ये एकजना भारतीय नागरिक मोहम्मद बकार सैयद भएको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा सुटर नं. २ मानिएका मोहम्मद सैयदले १० पुसमा सौखात बेगलाई बुटवलमा गोली हानी हत्या गरेका थिए । उनी भारतीय नागरिक हुन् । मोटरसाइकलमा आएका सुटर नं. १ को नाम खुल्न सकेको छैन ।
हत्यामा काउले- १ नुवाकोटनिवासी श्रीकृष्ण पौडेल, रविन भन्ने गुड्डु सिंह, दादु, राजु लामा, किशोर खड्का, सई प्रकाश क्षेत्रीको प्रत्यक्ष सहभागिता रहेको महानगरीय प्रहरी परिसर हनुमानढोकाका एसपी गणेश केसीले जानकारी दिए । अर्का एकको नाम खुलेको छैन ।
एसपी केसीका अनुसार बानेश्वरमा एभरेस्ट कम्युनिकेसन सेन्टर चलाएर बसेका रोशनकुमार पाण्डे, सिद्धि अटोवक्र्सका धनी वीरेन्द्र मण्डल, केशर भनिने अर्का एकजना पनि हत्याराको सम्पर्कमा थिए । तर, उनीहरूलाई हत्या-योजनाको सम्बन्धमा जानकारी नभएको प्रहरी भनाइ छ ।
कहाँ बन्यो हत्याको योजना ?
११ वर्षअघि १५ असार ०५५ मा पूर्वमन्त्री तथा तत्कालीन सांसद मिर्जा दिलसाद बेगलाई मार्ने गिरोहले उस्तै शैलीमा जमिमको हत्या गरेको छ । मिर्जाको हत्या गर्नेहरू पूर्वप्रहरीमहानिरीक्षक हेमबहादुर सिंहको घरमा बसेझै जमिमको हत्या गर्नेहरू सशस्त्र प्रहरीका पूर्वडिआइजी ज्ञानेन्द्र राईको घरमा बसेको तथ्य खुलेको छ ।
जमिमका हत्याराले बानेश्वर शान्तिनगरमा सशस्त्र प्रहरीका पूर्वडिआइजी ज्ञानेन्द्र राईको घर, श्रीकृष्ण पौडेलको कार्गो अफिस, श्रीकृष्णकै म्हैपीमा रहेको भाडाको कोठा, बागबजारको संगम गेस्टहाउस र गोंगबुमा राजु लामाको सहयोगमा भाडामा लिइएको सविता श्रेष्ठको घरमा पटक-पटक बैठक बसेर हत्याको योजना बनाएका थिए ।
'यी घरहरूमा बसेर अभियुक्तले हत्याको योजना बनाएका थिए,' एसएसपी रणबहादुर चन्द भन्छन्, 'हत्याको योजना बन्दै गर्दा सई प्रकाश क्षेत्रीले पनि प्रलोभनमा परेर प्रहरीको सुरक्षा-रणनीतिबारे जानकारी दिएका थिए ।'
श्रीकृष्णले हतियार सुरक्षित राख्ने, घर व्यवस्थापन गर्ने, बब्बुलाई आश्रय दिने काम गरेको अनुसन्धानले देखाएको छ । त्यस्तै, सई प्रकाश क्षेत्री काठमाडौंको सम्पूर्ण सुरक्षा-व्यवस्थाका बारेमा जानकारी दिएर हत्या गर्न सहयोग गरेका थिए । उनले सुरक्षा अवस्थाको बारेमा दिएको जानकारीका आधारमा जमिमको लाजिम्पाटमा हत्या भएको हो । क्षेत्रीले जमिमको हत्या गर्न बनाइँदै गरेको योजनालाई पूर्ण रूपमा सहयोग गरेका थिए ।
मुख्य रणनीतिकार नेपाल आए
बब्लु श्रीवास्तवले जमिमको हत्या गर्ने योजना बनाएपछि रणनीतिकारका रूपमा बब्बु भन्ने दीपक शाहीलाई छनोट गरे । बब्बु नेपाल आएर सई प्रकाश क्षेत्रीको सम्पर्कमा गए । करिब चार/पाँच वर्षअघि प्रकाशको फुपूको छोराको बिहेमा भारत जन्ती गएको वेला दुवैको चिनजान भएको थियो । उनीहरूबीच वेलावेलामा सम्पर्क हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जमिम हत्याका मुख्य रणनीतिकार बब्बु कात्तिक १५ गते नेपाल आएका हुन् । त्यसबीच उनी कहाँ बसे भन्ने खुलेको छैन, उनी काठमाडौं भने माघको पहिलो साता नै आएको प्रहरी भनाइ छ ।
अनुसन्धान अधिकृतका अनुसार बब्बु तीनजना सहयोगीका साथ काठमाडौं आएका हुन् । त्यसपछि समूहमा सदस्य थपिँदै गए । उनीहरूमध्ये कोही बानेश्वर शान्तिनगरमा सशस्त्र प्रहरीका पूर्वडिआइजी ज्ञानेन्द्र राईको घर, कोही श्रीकृष्ण पौडेलको कार्गो अफिस, कोही बागबजारको संगम गेस्टहाउस, कोही श्रीकृष्णकै म्हैपीमा रहेको भाडाको कोठा र कोही गोंगबुमा राजु लामाको सहयोगमा भाडामा लिइएको सविता श्रेष्ठको घरमा बसे ।
बब्बुले काठमाडौंमा बसेका वेला माघ १६/१७ गते सई प्रकाशसँग ल्यान्डलाइन फोनबाट सम्पर्क गरे । त्यसपछि उनीहरूको भेट बाक्लै भयो । उनले जमिमबारे जानकारी दिइरहेका थिए ।
कसरी भागे हत्यारा ?
जमिमको हत्या भएलगत्तै महाराजगञ्जतिर गएजस्तो गरे पनि हत्याराहरू घुमेर लैनचौर आएका थिए । त्यतिञ्जेल समूहका सबै सदस्य भेला भइसकेका थिए । लैनचौरमा रहेको दुग्ध विकास संस्थानअगाडि भेला भएका दुईजना सुटरलाई श्रीकृष्ण पौडेलले कलंकी कटाए । पौडेलले दुवैजनालाई फरक-फरक मोटरसाइकलमा पालैपालो कलंकी पुर्याएका थिए । प्रहरीलाई भ्रममा पार्न अन्य सहयोगीले हत्यामा प्रयोग भएको मोटरसाइकल फुटुङ पुर्याएर बाँसको झ्याङमा फालिदिएका थिए । यसबीचमा सई प्रकाशले सुरक्षा अवस्थाको बारेमा जानकारी दिइरहेका थिए ।
कसरी सघाए सई प्रकाश क्षेत्रीले ?
जमिमको हत्यामा मुख्य सहयोगीको भूमिका खेल्ने प्रकाश क्षेत्री नेपाल प्रहरीका सई हुन् । असई पदबाट ०५४ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका उनको ०६१ सालमा सईमा बढुवा भएको थियो । श्रीपुर- ८ बेलौरी कञ्चनपुरनिवासी क्षेत्री हाल ललितपुरमा बस्दै आएका छन् ।
सेती अञ्चल प्रहरी कार्यालय धनगढी दरबन्दीमा भए पनि क्षेत्रीको गत वर्ष प्रहरी प्रधान कार्यालयमा काज सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालयमा केही समय काम गरेका उनी लगत्तै सेक्युरिटी लियाजो अफिसरमा नियुक्त भएका थिए । उनी अमेरिकन राजदूतावासको सुरक्षाका लागि खटिएका जुनियर अधिकृत हुन् ।
क्षेत्रीले कहिलेदेखि अमेरिकन दूतावासमा काम गर्न थालेका हुन् भन्नेबारे प्रहरीले केही खुलाएको छैन । हाल उनलाई म्याद थप गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतमा राखिएको प्रहरीले दाबी गरे पनि महानगरीय प्रहरी आयुक्तको कार्यालयमा राखेर दिनदिनै सोधपुछ गर्ने गरिएको प्रहरी स्रोत बताउँछ ।
source:
http://www.nayapatrika.com/newsportal/permalink/11061.html
1 comment:
jp成人jp58jpkiss小說jpkissjpgirl成人jpgirljpav18japan援交少女ipkgirlintitle免費成人資訊iibabeh漫蜜室之理容院小姐的高潮h漫hot視訊honey視訊聊天honey視訊honey聊天室hk免費視訊美女hk85cchivhannelhilive影音視訊hilive會員hilive無法進入頁面hilive帳號hilive主題hilivetvhichannel免費影視hi5tv免費hi5tvhh漫hhh重鹹系列免費hhh重鹹系列金瓶梅免費網路視訊金瓶梅免費色情視訊金瓶梅免費線上聊天金瓶梅視訊聊天室辣妹視訊交友網辣妹交友視訊sex自拍sex成人uthome成人網站聊天室uthome視訊聊天室
Post a Comment