म कसरी बालसाहित्यकार भएँ ?
भदौ दोस्रो साता गुरुकुलमा आयोजित खगेन्द्र संग्रौलाको एकल गद्यवाचन कार्यक्रममा डा. अभि सुवेदीले संग्रौलाको गद्यलेखनको चर्चा गर्दै 'उनी एउटा लेख छपाएर ६ महिना चुपचाप बसे पनि उनको नामले कतिपय मानिसलाई तर्साइरहन्छ' भनेका थिए । नेपाली अखबारी लेखनमा शक्तिशाली संग्रौला कथा, उपन्यास र निबन्धमा पनि उत्तिकै प्रभावशाली छन् । संग्रौला राम्रो बालसाहित्य पनि लेख्छन् भन्ने सायद थोरैलाई मात्रै थाहा छ । बालसाहित्य लेख्न आफूलाई प्रेरित गर्ने शान्तदास मानन्धरको संग्रौलाले धेरै ठाउँमा चर्चा गरेका छन् । अघिल्लो महिना बजारमा आएको पछिल्लो बालकथा संग्रह 'मंगलीको अधुरो क' सार्वजनिक गर्ने कार्यक्रममा संग्रौलाले दिएको मन्तव्यको सम्पादित अंश प्रस्तुत छः
खगेन्द्र संग्रौला
मेरो बाल्यकालमा मेरो छेउमा बालकथाका किताबहरू थिएनन् । मलाई सम्झना भएअनुसार जम्मा दुईवटा किताब थिए । ती किताबका गाता थिएनन् । छपाइ अत्यन्तै निम्नस्तरको थियो । एउटा तोतामैनाको कथा थियो र अर्को गुलबकावलीको कथा । मैले बाल्यकालमा यी दुईटा कथाबाहेक कुनै पनि कथा पढ्न पाइनँ । मैले आफ्नी आमाबाट, भाउजूबाट, दिदीबाट, फुपूबाट धेरै कथा सुनेँ । ती भूतप्रेतका, बोक्सीका र वनझाँक्रीका कथा थिए । र, ती कथाबाट मलाई आनन्दको भन्दा पनि त्रासको अनुभूति हुन्थ्यो । केहीपछि मैले बोधविक्रम अधिकारीका दन्त्यकथा पढेँ, जसमा लाटोबुंगोको कथा पनि थियो ।
विश्वसाहित्य मात्र होइन, नेपाली साहित्यकै पनि बालसाहित्यका राम्रा कृतिहरू मैले वयस्क भएपछि मात्रै पढ्ने मौका पाएँ । ह्यान्स क्रिश्चियन एन्डर्सन मैले धेरै ढिलो पढेको हुँ । विश्वसाहित्यका उत्कृष्ट भनिएका बालकथाहरू पनि मैले पाको उमेरको भइसकेपछि मात्रै पढेँ । मलाई जीवनभरि के लागिरह्यो भने बालककालमै ती उत्कृष्ट कथाहरू पढ्न पाएको भए सायद मेरो मस्तिष्क योभन्दा बढी मलिलो हुन्थ्यो ! र, सायद मेरो अनुभूति पनि तिखो हुन्थ्यो र म अहिलेभन्दा राम्रो लेखक हुन्थेँ । तर, अफसोस ! मलाई त्यस्तो अवसर प्राप्त भएन ।
अहिले मैले लेख्ने गरेको बालसाहित्य आफ्नो बाल्यकालको अभावको पूूर्ति गर्नका लागि लेखेको हुँ । वास्तवमा यी कथा म आफँैले लेखेका होइनन् । आधुनिक चीनका लेखक लु सुनले गुरुका बारेमा धेरैपटक धेरै कुरा लेख्नुभएको छ । गुरुबारे उहाँका आफ्ना अनुभव छन् र उहाँ भन्नुहुन्छ- मैले जीवनमा धेरै समय गुरु खोजिरहेँ, तर गतिलो गुरु कहीँ पनि फेला परेन । प्रत्येक मानिसको जीवनको परिवेश फरक हुन्छ, उसका सामाजिक सम्बन्धहरू फरक हुन्छन्, उसका लक्ष्य र आदर्शहरू, आकांक्षा र स्वप्नहरू, सुखहरू र दुःखहरू सबै फरक हुन्छन् । त्यसैले जीवनमा चिताएजस्तो गुरु खोजेर पाइँदैन । तपाईं कि त आफँै आफ्नो गुरु हुनुहुन्छ, कि तपाईं कसैको छाया हुनुहुन्छ ।
लु सुनले भनेको त्यही कुरो मैले जीवनमा पटकपटक दोहोर्याएको छु । तर, मलाई के लागिरहन्छ भने म पनि जीवनभरि गुरु नै खोजिहरेको छु । मेरो सम्पर्कमा शान्तदास मानन्धर नहुनुभएको भए सम्भवतः मैले बालकथा एउटा पनि लेख्ने थिइनँ । ०४२ सालमा म चितवनबाट काठमाडौं आएँ । मेरो काठमाडौं आउनुको बडो रमाइलो कथा छ । म चितवनमा वीरेन्द्र कलेजमा शिक्षक थिएँ, अंग्रेजी पढाउँथे । रामकृष्ण पन्त भन्ने एकजना सिडिओ सिन्धुलीबाट सरुवा भएर चितवन आए । चितवन आएको एक सातापछि उनले मलाई कार्यालयमा डाकिपठाए । म गएँ । उनको शिरमाथि राजारानीको तस्बिर थियो । त्यही तस्बिर देखाएर उनले मलाई भने, 'विष्णुका औतारका वैरीहरूलाई म मार्छु ।' चितवन आउनुभन्दा अगाडि ऋषि देवकोटा 'आजाद'को हत्या गरेर उनी चितवन आएका थिए । मलाई डर लाग्यो । हातमा हतियार नभएको मान्छेले मार्छु भन्यो भने डराइहाल्नुपर्ने अवस्था हुँदैन । हातमा हतियार छ र जसलाई राज्यले मार्ने अधिकार दिएको छ, त्यसले मार्छु भन्यो भने डराउनुपर्छ । हो, मलाई डर लाग्यो । र, म लुक्दै-छिप्दै भागेर काठमाडौं आएँ ।
अहिले पछि फर्केर हेर्दाखेरि तत्कालीन सिडिओ रामकृष्ण पन्तप्रति म कृतज्ञ छु । तिनले मारेको भए मेरो एकबारको चोला समाप्त नै हुन्थ्यो । तिनले मलाई मार्छु मात्रै भने, तर मारेनन् । ज्यान जोगाऊ अभियानमा म काठमाडौं आएँ । काठमाडौं आएपछि म सञ्चारको नजिक भएँ, प्रकाशनगृहको नजिक भएँ र मलाई बौद्धिक सत्संग प्राप्त भयो । त्यसवेला शान्तदास मानन्धर बालप्रकाशनमा व्यस्त हुनुहुन्थ्यो, अत्यन्त निष्ठापूर्वक र गम्भीर साधनाका साथ । उहाँ बालकोसेली छाप्नुहुन्थ्यो । एकदिन बिहान सबेरै उहाँ आएर भन्नुभयो- 'केटाकेटीका निम्ति जसले लेख्दैन, त्यो केही कामको लेखक होइन । भविष्य आजका बालबालिकाहरूको हो । आजका बालबालिकाहरूको मस्तिष्क समृद्ध भयो भने, तिनीहरू विवेकमान भए भने र तिनको हातमा सीप भयो भने मात्रै यो समाज राम्रो हुन्छ, समाज राम्रो हुँदै गयो भने संसार राम्रो हुन्छ । संसार राम्रो भयो भने यो जीवन यसभन्दा अलि बढी जिउनलायक हुन्छ, जीवन सुन्दर हुन्छ ।' यसरी नै उहाँले धेरैपटक मलाई घच्घच्याउनु र इख्याउनुभयो ।
बालकथा लेख्नका निम्ति मसँग कुनै विषय नै थिएन, भाषा थिएन, शैली र सीप पनि थिएन, मलाई साहस भएन । शान्तदास मानन्धरले मलाई धेरैपटक गिज्याउनुभयो । उहाँले पारिजातलाई पनि गिज्याउनुभयो- 'तपाईंहरू वयस्कहरूका लागि साहित्य लेखिरहनुभएको छ । वयस्कहरूलाई साहित्यका राम्रा सामग्रीहरूको स्रोत के हो, त्यस्तो साहित्य कहाँ फेला पर्छ, त्यो थाहा छ । तर, केटाकेटीहरूलाई थाहा छैन । केटाकेटीहरू अबोध, असहाय र निरूपाय हुन्छन् । त्यसैले तिनीहरूका लागि लेख्नुपर्छ ।' त्यसपछि मैले उहाँले प्रकाशन गर्नुभएको बालकोसेली पत्रिकाका लागि बालसाहित्य लेख्न सुरु गरेँ । 'पुतलीका कथा' भनेर मैले १४/१५ वटा कथा लेखेँ । ती कथा ठीकठीकै थिए । पछि मूल्यांकन प्रकाशन गृहद्वारा प्रकाशित नवयुवा पत्रिकामा मैले आफ्ना किशोरवयका अनुभव स-सानो टुक्राटाक्री गरेर ४५/४६ वटा लेखेँ । ती पनि ठीकै थिए । भर्खरै प्रकाशित मेरो 'मंगलीको अधुरो ँक’ पुस्तकमा संकलित तीन कथा भने तीभन्दा बाहिरका हुन् । र, यी केही नयाँ पनि छन् भन्ने मलाई लागेको छ । गुरुका रूपमा शान्तदास मानन्धर मेरोअगाडि नआउनुभएको भए यी बालकथा रचिने थिएनन् र म बालसाहित्यकार पनि हुने थिइनँ । तसर्थ यसको श्रेय म उहाँलाई दिन्छु ।
नेपाली बालसाहित्यका क्षेत्रमा दुईथरी धारणा छन् र लेखनमा पनि दुईथरी बान्की छन् । एउटा धारणा धेरै पुरानोजस्तो लाग्छ । त्यसमा महेन्द्रीय राष्ट्रवाद अर्थात् शाही राष्ट्रवाद धेरै बाक्लो पाइन्छ । चिन्तन र शिक्षाको त्यो परम्परामा राष्ट्रवाद शाही राष्ट्रवादका रूपमा देखिन्छ । धेरैजसो कथाका विषयवस्तुमा छाँगा, छहरा, पहरा, बुद्ध, सीता, देवीदेवता आदि हुन्छन् । ती कथामा अर्ती-उपदेशहरूको धेरै ठूलो भारी हुन्छ । वर्णन धेरै भद्दा हुन्छ । भाषा धेरै पुरानो हुन्छ । भाषा, विषय र शैली-निर्माणको दृष्टिकोणबाट ती पठनीय हुँदैनन् । नेपाली बालसाहित्यको एउटा ढर्रा यही हो । अर्को ढर्रा, अहिलेका बोर्डिङ स्कुलहरूमा फेसनका रूपमा छ । त्यसले भन्छ- बालसाहित्यको मुख्य उद्देश्य भनेको बालबालिकाहरूको आनन्द हो, उनीहरूलाई नीति-उपदेश र ज्ञान दिनु होइन । यो ढर्राले बालबालिकाहरूको मनोरञ्जन नै बालसाहित्यको मुख्य उद्देश्य हुनुपर्छ भनी जिद्दी गर्छ ।
म निष्ठापूर्वक संलग्न भएको, मैले जिन्दगीभरि प्रेम गरेको र मैले धेरै कुरा सिकेको मेरो पाठशाला वामपन्थी पाठशाला हो । वामपन्थी पाठशालामा पनि बालसाहित्य सामान्यतया पहिलो ढर्रामा पर्छ । वामपन्थी साहित्यमा पनि विषयको अत्यन्त ठूलो बोझ हुन्छ र नैतिक शिक्षाको पनि बोझ हुन्छ । मेरो आफ्नो चिन्तन र धारणा यो दुई धारको बीचमा पर्छ । यस सन्दर्भमा पनि म मध्यपन्थी संशोधनवादी नै हुँ । मध्यपन्थ खराब कुरा होइन । संशोधन भनेको परिमार्जन र परिष्कार पनि हो । त्यो भनेको पोलिस लगाउने र काम नलाग्ने चिजहरू फ्याँकेर नयाँ राम्रा चिज थप्ने कुरा पनि हो । त्यसैले चिन्तनमा र साहित्यलेखनमा म मध्यपन्थी संशोधनवादी हुँ । बालसाहित्य लेखनका सम्बन्धी मेरो धारणा पनि म यी दुईवटा कुराको बीचमा पर्छ ।
मलाई के लाग्छ भने बालसाहित्य होस् या प्रौढ साहित्य पाठकका निम्ति जिज्ञासा नै प्रस्थानबिन्दु हो । पाठकको मनमा केही नयाँ कुरा भेट्ने, नयाँ कुरा देख्ने र केही नयाँ अनुभव प्राप्त गर्ने खुल्दुली हुन्छ । खुल्दुलीबाट नै पाठकले पढ्न सुरु गर्छ । सम्पूर्ण पठन प्रक्रियाभरि उसले आनन्द प्राप्त गर्छ । तपाईंको कृतिले पठनको सम्पूर्ण प्रक्रियाभरि पाठकलाई आनन्द दिएन भने पाठकले तपाईंको कृति बीचमै छाडिदिन्छ । किनभने तपाईंको पट्यारलाग्दो, निस्सासलाग्दो र उच्चाटलाग्दो कृति पढिदिनका लागि कोही पनि दुनियाँमा जन्मेको हुँदैन । तपाईंको कृति बोधगम्य छ, रुचिकर छ र त्यसले पाठकलाई सम्मोहित गर्छ भने मात्रै उसले त्यो पढिसक्छ । पठनको प्रारम्भ भनेको जिज्ञासा हो, पठनको सम्पूर्ण प्रक्रिया भनेको आनन्द हो र पठनको अवतरण भनेको शिक्षा हो ।
साहित्य-कला भनेको उपयोगी चिज हो । त्यसको सामाजिक लक्ष्य, दायित्व र प्रयोजन हुन्छ । बालसाहित्यले, मैले भनेजस्तो बालसाहित्यले, पढिरहँदा आनन्द दिन्छ र पढिसकेपछि पढ्नेलाई थाहै नपाउनेगरी केही ज्ञान र शिक्षा दिन्छ । वास्तवमा यो पाठकको मनमा सियो भएर पस्ने र फाली भएर निस्कने चातुर्ययुक्त कलाको परिणति हो । यस्तो साहित्यको रचना गर्दा कलाकार वा स्रष्टाले कलाका सबै उपकरणको उपयोग गर्न जान्नुपर्छ । पहिलो कुरा भाषामा दख्खल र ताजापन हुनुपर्छ । साहित्यमा प्रयोग गरिने उपमा, विम्ब, प्रतीक, मिथक, रुपक, किंवदन्ती, लोकगाथा आदिको प्रयोग हुनुपर्छ र यथार्थबाट टिपिएको कच्चापदार्थलाई कलात्मक विधिले रूपान्तरण गर्न जान्नुपर्छ । यति सबै कुरा भएपछि तपाईंले निर्माण गरेको साहित्य आनन्ददायी पनि हुन्छ, शिक्षाप्रद पनि हुन्छ । पछिल्लो समयमा मैले यही धारणा र यही प्रयोजनलाई आधार मानेर बालसाहित्य लेख्ने गरेको छु ।
प्रस्तुतिः सङ्गीतश्रोता
sangeet.srota@gmail.com
source:
http://www.nayapatrika.net/newsportal/middle_page/16844.html
No comments:
Post a Comment