बुवा राम्रो गाउनु पनि हुन्थ्यो: महाकविकी छोरी
महाकविकी गायिका छोरीसँग गफगाफ
काठमाडौ, भाद्र २१ - अम्बिकादेवी रिमाल महाकवि लक्ष्मीप्रसाद देवकोटाका चार छोरीमध्ये माइली हुन् । उनले भारतको गुजरातस्थित एमएस युनिभर्सिटीबाट शास्त्रीय गायनमा प्रभाकर (एमम्युज) गरेकी छन् । उनी राष्ट्रिय नाचघरमा कार्यरत रहिन्, रेडियो नेपालमा लामो समय प्रमुख शास्त्रीय गायिकाका रूपमा प्रस्तुत भइन् । ६७ वर्षीया रिमाल अचेल काठमाडौं मैतीदेवीमा बिरामी साइली बहिनी मीराको सेवाशुश्रूषा गर्दै दिन बिताइरहेकी छन् । सात वर्षअघि पति लोकेन्द्रनाथ रिमाल गुमाएकी उनका छोराछोरीसमेत छैनन् ।
महाकविकी छोरीलाई शास्त्रीय संगीतमा रुचि कसरी बसेको थियो ?
बुवाकै कारणले हो । बुवा गाना मज्जाले गाउनुहुन्थ्यो । आफैं हारमोनियम बजाएर यस्तो तान मार्ने कि कुरो गरी साद्धे छैन । उहाँको आवाज केटीको जस्तो थियो, तीखो । हारमोनियम पनि त्यस्तै, पेरिस रिडको । म उहाँले गाउँदा जिल्ल परेर हेर्दै सुनिरहन्थें । बुवाले गाना गाएको मलाई खुब मन पर्ने क्या, आनन्द आउने । हुँदाहुँदा मलाई पनि कसोकसो त्यतैपट्टी इन्ट्रेस्ट लाग्यो । 'पढ्ली जस्ती छैन, यल्लाई चैं गानै सिकाउनुपर्ला जस्तो छ' भन्दै बुवाले मलाई शास्त्रीय संगीत सिकाउन मास्टर पनि राखिदिनुभयो ।
पढाइमा मन जाँदैनथ्यो त ?
अब पढ्ने कसरी ? आमाले काम अराएको अरायै गर्ने । खालि यो गर् त्यो गर् भन्ने । मेरा कान निमोठ्ने र यसोत्यसो गर्ने मान्छे कोही भएनन् । दिदीको सानैमा बिहे भएकाले घरकी जेठी मै थिएँ । धेरै जसो काम मैले नै गर्नुपथ्र्यो । मलाई गायन सिकाउन चेतनाथ (शर्मा) गुरु आउनुहुन्थ्यो । मीराले र मैले उहाँसँग सिक्यौं । १२/१३ वर्षी थिएँ होला, मेरो आवाज खुब तगडा थियो । मलाई खुब प्राक्टिस गर्न मन लाग्थ्यो, बिहान चारै बजे उठेर प्राक्टिस गर्थें । तर मेरो मदरले चाहिं गाली गर्ने क्या । मान्छे खुसी हुनुपर्ने ठाउँमा, 'मुटु फुटेर मर्छेको त, किन यस्तरी चिच्याइरहेकी' भन्ने । आफू जति बिहानै उठेर प्राक्टिस गरे पनि मुमा जागेपछि काम सघाइहाल्नुपथ्र्यो । दुइटा दाइ स्वर्गे भएर पाएकोले होला, मुमाले भाइ (पदम) लाई केही भन्न दिनुहुन्नथ्यो । कान्छो भाइ दीपक सानो थियो । 'बाबु, यो गिलास उता लग्देन' भनेको सुने पनि 'भाइलाई काम अराएको - 'भन्दै कराइहाल्नुहुन्थ्यो । अनि अरू पढाइमा कसरी मन जान्थ्यो ?
पढ्न मन नलाग्ने मान्छे गुजरात कसरी पुग्नुभयो त ?
पछि पढें नि । पद्मकन्यामा आईए पढ्दापढ्दा गुजरातको स्कलरसिप पाएकी थिएँ । एसएलसी दिने बेलामा पनि 'यल्लाई जाँच दिन लगाउनु हुँदैन है, बेइज्जत गर्छे होल सब्जेक्ट पर्छे त' भन्थे । तर म बिहान सबेरै उठेर पढ्थें, कसैले देख्दैदेख्दैनथे । एसएलसी कसोकसो पास भएँ ।
एकै चोटिमा पास हुनुभएको थियो ?
बुवा स्वर्गीय भएपछि मैले जाँच दिएको क्या । अरू दुइ बहिनी घरको काम गर्दैनथे । अनि मदरले मलाई बुवाको कोठासोठा सफा गर्ने जिम्मा पनि दिनुभएको थियो । बुवा ट्युसन पढाउनुहुन्थ्यो । उहाँ बितेपछि एक दिन कोठा सफा गर्दा मैले क्वेस्चन-एन्सरको कापी भेटें, बुवाले कसकसलाई पढाउँदा लेखेर राखेको । 'मैले टिचर राखेर पढ्न नपाए पनि यो कण्ठ पारिदिएँ भने त पास भइहाल्छु नि' भनेर डटाडट घोक्न थालें । नभन्दै जाँचमा तिनैतिनै आए, पास भइहालें नि हा˜हा˜हा˜...
अनि संगीत पढ्न बाटो खुल्यो ?
पद्मकन्यामा एक सब्जेक्ट म्युजिक लिएर आईए पढ्दै थिएँ । म्युजिकमा नाइन्टी ओभर आएछ । इन्दिरा पाण्डे बडोदरा (गुजरात) बाट पास भएर भर्खर आउनुभएको थियो । उहाँले 'तपाईंको म्युजिकमा धेरै राम्रो रहेछ, बडोदरै गएर पढ्नुस्' भनेर प्रेरणा दिनुभयो । पछि एक शुभेच्छुकले 'ल स्कलरसिप आएको छ, जाने भए एप्लाई गर' भने । लौ न त भनेर एप्लाई गरेको, नाम निस्क्यो । त्यति खेर नारायणगोपालले भर्नुभएको थिएन र मैले पाएँ । भगवानको कृपा भएपछि पढिंदो रैछ ।
नारायणगोपालजी पछि त्यहीं जानुभएको थियो नि ?
अँ, म थर्ड इयरमा हुँदा हो कि कसो हो, उहाँ पुग्नुभएको थियो ।
उहाँले कति वर्षपढ्नुभयो गुजरातमा ?
दुइ वर्ष हो क्यार । उहाँको गलाको तासिर थियो, सबै जनाले मन पराउँथे । आर्मी मान्छे हिंडया जस्तो डमडम परेर हिंड्नुहुन्थ्यो, मनमौजी तालबाट । स्वतन्त्र विचारधाराको व्यक्ति हुनुहुन्थ्यो । खानपरे गम्म खाने, बोल्नपरे निर्धक्क बोल्ने । त्यो युनिभर्सिटीमा रहेका नेपालीले 'लौन दाइ, त्यो गीत सुनौं न' भने भने बसेर हारमोनियम समाइहाल्नुहुन्थ्यो ।
गुजरातबाट फर्केपछि सरसंगत भयो कि भएन ?
खासै भएन । मैले नाचघर छोडिसकेपछि उहाँ महाप्रबन्धक बनेर पुग्नुभएको थियो । म नाचघरमा त्यति बसिनँ पनि । त्यहाँ विशेष गरी लोकगीतको मात्रै ऊ हुने रैछ । हाम्रा सरहरूले चाहिं के भनेका थिए भने क्लासिकल गाउनेले लोकगीत गाएर हिंड्नु हुँदैन । त्यस्तो इम्प्रेसन पर्यो, म त्यसैले लोकगीतपट्टी ढल्किइनँ । शास्त्रीय संगीतमा पनि त्यति प्रगति गर्न सकिएन ।
नारायणजीले आधुनिक गीत गाऔं भन्नुभएन ?
अहँ । रेडियो नेपालमा खालि क्लासिकल गीतहरू रेकर्ड गरें । 'दहीको ठेकी चामल रेखी...' जस्ता एकदुइटा लोकगीत पनि गाएकी थिएँ । तराईको एक जना कलाकारले सिकाइदिनुभा' थ्यो । लौ भरौंभरौं यो भनेपछि 'दहीको ठेकी...' गाएँ क्यार । कोइली दिदीका बूढाले दिएका दुइ तीनटा भजन रेकर्ड गरें ।
नारायणजीले संगीत पढाइ बीचैमा छोड्नुको कुनै कारण थियो कि ?
उहाँलाई पढ्न जरुरी नै थिएन । गलाको तासिर थियो । गीतहरू टप्पटप्प टिप्नुहुन्थ्यो, खटखटी । उहाँलाई आधुनिकमा ऊ गर्नु थियो, गर्नुभयो ।
बुवा बित्दा तपाईं कति वर्षी हुनुहुन्थ्यो ?
ठूलै भइसकेकी थिएँ, १६/१७ वर्षकी । मेरो विवाह भइसकेको थियो । श्रीमानको घर कालिकास्थान (काठमाडौं) मै भए पनि हाम्रै नजिक डेरामा बस्नुहुन्थ्यो । उहाँको सानोतिनो जागिर थियो, त्यसैले बुवाले हामीलाई सँगै राख्नुभएको थियो ।
श्रीमान्ले गुजरात जान सजिलै दिनुभएको थियो ?
उहाँको जागिर सानोतिनो थियो । मैले कुनै उपाय गर्नैपथ्र्यो । त्यसैले उहाँको त्यति मन नभए पनि जे त पर्ला भनेर टाप कसें । सात वर्षबसें उता । बीचमा यता श्रीमान्ले 'लौ न मेरी स्वास्नीलाई कसले भगाइदिएछ, भेटे त्यसलाई काट्छु' भनेर होहल्ला मच्चाउनुभएछ । म फर्केपछि मैतीदेवी छाडौं भन्नुभयो र सिनामंगलमा डेरा लिएर बस्यौं । उहाँ पनि तबला राम्रो बजाउनुहुन्थ्यो, तर बेलाबेलामा दिमाग फुस्सफुस्स उड्थ्यो । उहाँको स्वर यस्तो मीठो थियो कि तलत महमूदलाई फिका पारिदिनुहुन्थ्यो । नारायणगोपालको पलायन हुनुहुन्थ्यो । नेपालमा गायक भनेको नारायण गोपाल मात्रै छ भन्नुहुन्थ्यो । मैले चाहिं दरबारतिर गाउदैवर्दै परिवार चलाउँदै गएँ । मैले महेन्द्र सरकारका तीनटै छोराका बिहेमा क्लासिकल गाना सुनाएकी छु ।
राजपरिवारका अगाडि गाउन धक लाग्थ्यो कि ?
ओहो कुरै नगर्नुस् । पहिलो चोटि गाएको वीरेन्द्र सरकारको बिहेको पालामा हो कि क्या हो । म सिनामंगलमा भाँडा माझेर बसेकी थिएँ, मीरा स्याँस्याँ र प्याँफ्याँ गर्दै आई । दरबारबाट गाउनलाई निम्ता पठाएका रैछन् । हतारहतार गरेर मैतीदेवी आएँ र मुमासँग भाडा मागेर ट्याक्सी चढी महाराजगन्जतिरको खोइ कुन्नि के निवासमा पुगें । अपराह्न चार बजेतिर मेरो पालो आयो, तर गलो खुल्दैन । राजपरिवार अगाडि बसेका छन्, मेरो बाक्के बसे जस्तो भयो । गर्नलाई चार सय पचास राग कण्ठ गर्या हो, गाउने बेला आउँदैन । भरे होमनाथजी (तबलावादक पं. होमनाथ उपाध्याय) ले 'चार बज्न लागेको छ, राग मुलतानी गाउनुस् न' भनेपछि पो म झल्याँस्स भएँ हा˜हा˜हा˜...
महाकविजीले गीत बनाएर तपाईंहरूलाई सिकाउनुहुन्न थियो ?
कहाँ सिकाउनु हामी भुराभुरीलाई - बुवा त बाहिरबाट कहिले राति दस एघार बजे आउने, पसिनासरि भएर । कोट फुकालेर फ्यात्त फ्याँक्यो अनि बिछ्यौनामा बसेर कि कवितासविता लेख्यो कि हारमोनियम बजाउन थालिहाल्यो । कहिले एघार बजे राति पनि गाना गाउने । उहाँका धेरै कविताहरूलाई मैले बन्दिश बनाएर रेडियो नेपालमा रेकर्ड गरेकी थिएँ, छन् कि मासिसके कुन्नि ।
सुरमा गाउनुहुन्थ्यो कि बेसुरमा ?
सुरमा नि । अँ, काइदाले गाउनुहुन्थ्यो । उहाँले पटनामा गायन सिक्नुभएको रैछ । मैतीदेवी घरमा उहाँलाई सिकाउन यज्ञराज ओस्ताज (संगीतशिरोमणि यज्ञराज शर्मा) आउनुहुन्थ्यो । जोशी थरका अर्का कलाकारले पनि उहाँलाई सिकाउनुहुन्थ्यो । यज्ञराजजीले एक चोटि बुवालाई 'ए कविजी, तपाईंको जस्तो फररर सरगम आउने भैदिएको भए हामी कति ठूलो कलाकार हुन्थ्यौं हुन्थ्यौं' भनेको मेरै कानले सुनेका हुन् । बुवा यति छिटो र मीठो सरगम भन्नुहुन्थ्यो कि के भन्नु । सारै मीठो गाउनुहुन्थ्यो ।
कसकसलाई गाना सिकाइदिन्छु पनि भन्नुहुन्थ्यो रे ?
त्यो चाहिं मैले सुनिनँ । ट्युसन चाहिं जसलाई पनि पढाइदिनुहुन्थ्यो, पैसा देऊ या नदेऊ, मतलब छैन । जोजो आउँछन्, सबलाई पढाउनुहुन्थ्यो ।
महाकविजी कलेज पढाउनुहुन्थ्यो, ट्युसन पढाउनुहुन्थ्यो, मैतीदेवीमा तीनचार रोपनी जग्गा थियो र पनि मान्छेले देवकोटा परिवारलाई दालभात डुकुको समस्या थियो भन्छन् नि ?
हा˜हा˜.. यौटा विचित्रको कुरा छ के । उहाँ त कमाउनुहुन्थ्यो बिहान छ बजेदेखि राति दस-एघार बजेसम्म । माथि बज्यै (मुवा) ले खाना पकाइरहे पनि कहिले नखाई हिंडिदिनुहुन्थ्यो । फेरि हाम्रो मुवाले चाहिं बुवाले भान्सा छाडेपछि खानुहुन्न थियो । बेलुका उहाँ घरमा आउनासाथ मान्छेहरू हुरुर्रुर्रुर कमिलाको गोलो जस्तो आउने । कोही ट्युसन पढ्न, कोही भेट्न । भन्या सुन्छु, त्यो बेलामा मेरा बुवाले जस्तो कमाएको कसैले होइन । पाँचसात हजार महिनाको चैं हुन्थ्यो । तर पैसा देखेपछि महादेवको तीन नेत्र हुन्थ्यो बुवालाई । कसैले यसो पैसाको कुरो गर्नेबित्तिकै 'ए, कति चाहियो -' भन्दै दिइहाल्नुहुन्थ्यो । बज्यै माथि भान्सामा छन्, बुवा तल पैसा बाँड्नुहुन्छ । अर्को आइपुग्छ, उसलाई पनि दियो । यसरी बुवाको हातमा त पैसा नरहने । अनि मुवाले माग्दा छैन । बज्यैले त छोराछोरीलाई खाउनुपर्यो नि । मुवाले 'यस्तो के गरेको बुवा हजुर -' भन्दा बुवा 'पैसा आइहाल्छ नि फेरि, तिमी वल्लो घर पल्लो घर सरसापटी लिएर काम चलाउन भनेर भन्दिने हा˜हा˜... । बुवाले यसो गरेपछि दुःख त बज्यैलाई भयो नि त ।
हातमुख जोड्नै दुःख कसरी हुन्छ त काठमाडौंका रैथानेलाई ?
दुःख भैहाल्छ नि । पैसा बेस्सरी कमाउनुभयो तर आफूसँग छैन । घर चलाउनुपर्ने बज्यै जहिल्यै रित्ता रित्तै भइनन् ।
पैसा त नुनभुटुन किन्न मात्रै त चाहिने हो ?
पैसै नभएपछि त्यो पनि कसरी किन्नु बाबु - महिनैपिच्छे बुवाले 'ल बज्यै, यति घरखर्चलाई राख' भनेर छुट्टयाएर दिने गरेको भए हुन्थ्यो नि, तर नगर्दिने । बुवा पैसा राख्नै नसक्ने । उहाँ त्रिचन्द्र क्याम्पसमा पढाउनुहुन्थ्यो । ए देवकोटाले पैसा बाँडेर सिध्याउँछन् रे, याँ गर्छन् रे, त्याँ गर्छन् रे भनेर क्याम्पसमा हल्ला चलेछ । हो कि होइन, बुझ्न भनेर तलब पाएको एक महिना सिद्धिचरण (श्रेष्ठ) हो कि कुन चैं कविजी उहाँको पछि लागेछन् । देवकोटाजीको तलब आयो भनेपछि क्याम्पसको भर्याङदेखि हात थाप्नेहरू थुप्रै हुने रे क्या । ती कविजीले एक सय नोट चैं सट्ट थुतेर उहाँको कोटको भित्री खल्तीमा राखिदिएछन् । त्रिचन्द्र क्याम्पसको सरस्वती सदनबाट डिल्लीबजारको पीपलबोटसम्म उहाँ माग्ने भेटे माग्ने, नभए उधारो खाएका मिठाई पसल वा बगरे (मासु पसले) लाई पैसा दिंदै आउनुभएछ । ठ्याक्क पीपलबोटमुनि एउटा माग्ने 'हजुर एक पैसा, हजुर एक पैसा' भन्दै बसेको रैछ । बुवाले दिन खोज्दा पैसा भेट्नुभएनछ अनि खल्तीमा राखिदिएको पैसा सम्झिनुभएछ र झिक्नुभएछ । त्यो सयको नोट माग्नेलाई दिन उहाँले हात बढाउँदा ती कविजीले च्याप्प समाएछन् रे । 'तपाईंले किन मेरो हात समाउनुभो' भनेर बुवाले सोध्दा उनले 'तपाईंका छोराछोरी के खान्छन् - यो सय रुपैयाँ बाहेक सबै बाँडेर सिध्याउनुभयो, यस्तो गर्नु भएन नि' भनेर सम्झाएछन् । बुवाले 'यो दियो भने उसले एक दुइ छाक मज्जाले खान पाउँछ नि' भनेपछि उनले सोधेछन्- 'तपाईंका स्वास्नी छोराछोरीले के खान्छन् नि -' अनि बुवाले आकाशतिर हेर्दै भन्नुभएछ- 'मेरा छोराछोरीलाई पाल्ने त उः त्याँ माथि छ ।' हा˜हा˜हा˜...
बज्यै कहिलेकाही नाङ्लामा चामलका गेडा अड्केका छन् कि भनेर खोज्नुहुन्थ्यो रे ?
त्यो कुरा चैं हाम्ले देखेनौं हेर्नुस् । मान्छेहरूले सियोलाई पहाड र पहाडलाई सियो पनि बनाउँछन् । नाङ्लो कोट्याउँदा कति गेडा चामल आउँछ र ? चाहिने कुरा पो गर्नुपर्छ त । पहिलेपहिले भात पकाउन ठिक्क पारेको चामलबाट एक मुठी फाँको उठाएर राख्ने चलन थियो । त्यो चामलको भात ठूलाबडाले खाँदैनथे, केटाकेटीलाई पकाएर दिन्थे । ती मान्छेले त्यही कुरा भनेका होलान् ।
माइला ज्वाइ महाकविजीले नै खोज्नुभएको थियो कि ?
मैले आफैं खोज्या भन्नुपर्यो अब ।
बुवा बितेपछि बिहे भएको हो ?
उहाँ छँदै हो । बुवाले पनि धेरै मन पराइरहनुभएको थियो । जोसँग भए पनि बिहे गर्नैपर्ने थियो, लौ जा त भनेर गरिदिएँ । हाम्रो घरछेउ नै डेरा गरेर बस्नुहुन्थ्यो । उहाँका बुवाआमा कोही थिएनन् । सुरुमै बिहे गर्न खोज्दा मैले मानिनँ र उहाँले अर्को बिहे गर्नुभयो । पछि त्यो दुलही चैं काम नलाग्ने रैछ भनेर छोड्नुभयो । मलाई फेरि माया लाग्यो अनि बिहे गरें । उहाँ कालिकास्थानकै रिमाल परिवारको हुनुहुन्थ्यो ।
उहाँ पनि संगीतको सोखिन हुनुहुन्थ्यो ?
सोखिन मात्रै होइन, म त ठूलो कलाकार नै मान्छु । त्यति खेर चिन्न सकिन, अहिले आएर चिनेर के गर्नु ? उहाँको आवाज यस्तो मीठो थियो कि के भन्नु ? तर उहाँलाई परिवारले चक्रव्यूहमा पारेको रैछ । समाजमा पढेर मात्र पनि हुँदो रैनछ । यहाँ यौटा तत्व रैछ, जसले कुनैकुनै मान्छेलाई चक्रव्यूहबाट उत्रन दिंदो रैनछ । उहाँ आफ्ना बाउबाजेको सम्पत्ति पनि खान पाउनुभएन । अहिले पनि उहाँको सम्पत्ति छ, तर त्यो मेरो हातमा परेको छैन । थाहा पाउने मान्छेहरू ओहो यत्रो सम्पत्ति भनेर यति लामो ज्रि्रो तान्छन्, आफूले यौटा टीकोसम्म लाउन पाएको छैन । उहाँ अभावअभावमा पन्ध्र वर्षसम्म पक्षाघात भएर ओछ्यानको ओछ्यान हुनुभयो र २०६० सालमा बित्नुभयो ।
तपाईं अहिले बसिरहेको घर आफ्नै होइन ?
यो जग्गा मुमाले दिनुभएको, 'माइली छोरीले दुःख पाउने भई' भनेर । भाइले एक रोपनी लानु भनेको थियो, मैले घर बनाउन पुग्ने गरी छ आना मात्रै लिएँ । सञ्चयकोषको पैसा, खाई-नखाई गरेर यति छाप्रो चैं उठाइयो ।
भुइ तला भाडामा दिनुभएको हो ?
होइन, कान्छी बहिनी बसेकी छ, छोराबुहारीसँग । उसको पनि घर छैन । ज्वाइ इन्जिनियर हुनुहुन्थ्यो । उहाँ बुटवलमा सिमेन्ट कारखाना चलाउने योजनामा हुनुहुन्थ्यो । सबै सरसम्पत्ति लगाएर कारखाना खडा गरेपछि एक चोटि राम्रा मान्छेलाई देखाउनुपर्यो भनेर भारततिर लिन जानुभएको थियो, र्फकंदा एक्सिडेन्ट परेर खुत्रुक्कै हुनुभयो । उहाँ बित्दा छोराछोरी बालखै थिए, तिनलाई मैले नै हुर्काएकी हुँ ।
संगीत शिष्य परम्परामै भर पर्ने विद्या हो, तपाईंले ज्ञान त्यति बाँड्नुभए जस्तो छैन, किन होला ?
म गुजरातबाट फर्केपछि पद्मा कादम्बरी (शास्त्रीय संगीतकर्मी रंगराव कादम्बरीकी श्रीमती) ले पद्मकन्या क्याम्पसमा पढाउन आउनू भनेर निकै फोर्स गर्नुभएको थियो । इन्दिरा दिदी पनि त्यहीं हुनुहुन्थ्यो । तर बुवाले अहोरात्र छाती र घाँटी सुकाएर विद्यार्थीहरूको दिमागमा ज्ञान ठोसिरहेको देखेकीले होला, मलाई पढाउने काम झ्याउ लाग्यो । क्याम्पसमा छुट्टी पनि भनेको बेला पाइदैन, सरकारी जागिर भए त्यो पाइन्छ भन्ने लाग्यो । मुमालाई कति खेर के पर्छ कसो पर्छ, सघाउने मै थिएँ । अर्कोतिर भाइ पनि प्रोफेसरै भएर निक्लियो । आफू किन त्यही हुनु भनेर मैले लाइन चेन्ज गर्या ।
समकालीन शास्त्रीय संगीतकर्मीहरूसँग अचेल उठबस छ कि छैन ?
धेरै भयो संगत छुटेको । मेरा श्रीमान्लाई पन्ध्र वर्षति प्यारालाइसिस भयो । त्यसमा पनि थपक्क न चार वर्षबिछ्यौनामै पर्नुभो । सारै दयनीय स्थिति थियो क्या । संगीत छोडेर पतिसेवामा लाग्नुपर्यो । त्यसपछि चार वर्षेखि साइली बहिनी स्याहारिरहेकी छु । दीर्घ रोग लागेको छ ।
प्रकाशित मिति: २०६७ भाद्र २२ ०१:११
No comments:
Post a Comment