कटवालले अदालतलाई टेरेनन्
काठमाडौं, जेठ ११ (नागरिक) - सर्वोच्च अदालतले दुई पटक ताकेता गर्दा पनि प्रधानसेनापति रुक्मांगत कट्वालले आफ्नो उमेर सम्बन्धी विवरण पठाएका छैनन्। अदालतले दोस्रो ताकेता गरेको एक सातासम्म पनि सिटरोल फाराम पठाउन अटेर गरेका हुन्।
सरकारी सेवा प्रवेश गर्दा कर्मचारीको सम्पूर्ण विवरण सिटरोलमा खुलाइएको हुन्छ।
कट्वालले उमेर सच्याएको भनी परेको रिटमा न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले सिटरोल फारम पेश गर्न गत वैशाख २३ मा आदेश दिएको थियो। आदेशबमोजिम सिटरोल नआएपछि पछिल्लो पटक गत बुधबार दोस्रो ताकेता गरेको हो।
सेनापति कट्वालले २००१ साल हुनुपर्नेमा चार वर्ष कम हुने गरी उमेर सच्याई पदमा वहाल रहेको भनी अधिवक्ता डिलहरी शर्माले रिट दिएका थिए। इजलासले यसअघि निर्णय सुनाउने दिन तोकेपनि सिटरोल फारम मगाउने आदेश गरेको थियो।
source:
http://www.nagariknews.com/politics/party-politics/1305-2009-05-25-12-56-52.html