Tuesday, September 13, 2011

माओवादीले जस लिने कांग्रेस-एमालेको डर

शान्ति प्रकृयामा भट्टराईको गति किन घट्यो ?

'माओवादीले जस लिने कांग्रेस-एमालेको डर'

२७ भदौ, काठमाडौं । आफ्नै पार्टीको चर्को बिरोधका बाबजुद प्रधानमन्त्री हुनासाथ डा. बाबुराम भट्टराईले शान्ति प्रकृया सक्न तिब्ररुपमा काम अघि बढाएपनि पछिल्लो एक साता त्यसमा खासै गति देखिएको छैन् ।

माओवादी हतियार भण्डारण गरिएको कन्टेनरको चावी सरकारलाई बुझाएर त्यसको प्रारम्भ गरेका प्रधानमन्त्रीले तत्कालै लडाकूको बर्गिकरण थाल्ने बताएको भएपनि अहिलेसम्म वर्गिकरण अगाडी बढ्न सकेको छैन् । बरु प्रधानमन्त्री भट्टराई शान्ति प्रकृयालाई छाडेर शासकीय सुधारका काममा पो केन्द्रीत भएका हुन कि जस्तो देखिन थालेको छ ।

तर, माओवादीले भने आफ्नो पार्टी कुनै पनि सर्तमा शान्ति प्रक्रियालाई पूरा गर्न लागेपनि कांग्रेस र एमालेले पूर्व सहमतिबाट पछि हट्दै नयाँ नयाँ सर्त राख्न थालेपछि शान्ति र संविधान निर्माण प्रक्रिया प्रभावित भएको बताउँछ । दुई दलले लडाकू बर्गिकरणमा समेत अबरोध गरेका छन भने शान्ति प्रकृया नसकिएसम्म संबिधान बनाउन नपाइने भन्दै अडान लिइरहेका छन् ।

यसअघि जेठ १४ मा संविधानसभाको म्याद थप्दा नेपाली कांग्रेस ६ हजार लडाकू समायोजन गर्न सहमत भएको थियो । उसको एउटैमात्र सर्त थियो-’कन्टेनरको चावी सरकारलाई बुझाउनुपर्छ ।’ झलनाथ खनाल प्रधानमन्त्रीमा रहँदा एमालेले ७ देखि ८ हजारसम्म लडाकू समायोजन गर्न सकिने, लडाकूका लागि मापदण्ड फेर्ने, ५ देखि ७ लाख रुपैयाँ पुनस्थापना प्याकेज दिने लगायतमा सहमति जनाएको थियो । तर, भट्टराई प्रधानमन्त्री हुनासाथ कांग्रेस र एमाले दुवैले चार हजारभन्दा लडाकू समायोजन हुन नसक्ने, पुनस्थापना हुन चाहानेलाई ३ लाख रुपैयाँ दिने र तत्कालै हतियार बुझाउनुपर्ने सर्त राखे । पहिले महानिर्देशनालयको प्रस्तावलाई स्वागत गरेको कांग्रेस अहिले त्यसलाई मान्न नसकिने बताइरहेको छ ।

‘अहिले माओवादी र प्रधानमन्त्री भट्टराई शान्ति र संविधान निर्माणमा प्रतिवद्ध देदिएका छन्’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भन्नुभयो-’तर, कांग्रेस र एमाले पूर्व सहमतिहरुबाट समेत पछाडी हटेका छन् । कतै उनीहरु शान्ति प्रक्रिया पूरा गर्न नचाहेको हो कि भन्ने आशंका उठेको छ ।’ बाबुराम भट्टराईको नेतृत्वमा शान्ति प्रक्रिया पूरा गरी संविधान निर्माण गरे माओवादीले जस पाउँछ भन्ने कांग्रेस र एमालेको डर छ । ‘अहिले कांग्रेस र एमालेमा माओवादीले शान्ति र संविधान निर्माण पूरा गरेर जस लिने भयो भन्ने डर देखिएको छ’ श्रेष्ठले भन्नुभयो-’सबै विषयमा लिचिलो भएर आउँदा पनि टाँगै मुनी छिराउनु खोज्नु भनेको शान्न्ित प्रक्रिया भाड्न खोज्नु हो ।’

माओवादीले पनि कांग्रेस र एमालेले शान्ति प्रक्रिया पूरा गर्न नचाहेको हो कि भन्ने आशंका व्यक्त गरेको छ । ‘अहिले हामीले शान्ति र संविधान निर्माण पूरा गर्न प्रतिवद्ध भएर आएका छौं’ माओवादी नेता जनार्दन शर्मा प्रभाकरले भन्नुभयो-’तर, विगतमा भएका सहमतिलाई समेत उल्टाएर कांग्रेस र एमालेले शान्ति प्रक्रिया पूरा गर्न नचाहेको देखिएको छ ।’ शान्ति प्रक्रिया सहमतिबाट मात्र अगाडि बढाउनु पर्ने वाध्यकारी प्रावधान रहेको भन्दै उहाँले कांग्रेस र एमाले सहमतिमा आउनु पर्ने बताउनु भयो ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा अनौपचारिक सहमति भएका बिषयमा शान्ति प्रक्रिया पूरा भएपछि मात्र संविधान निर्माण गर्ने कांग्रेसको अडानका कारण माओवादी थप सशंकित भएको छ । आफ्ना लडाकू र हतियार राज्यलाई बुझाएपछि कांग्रेस र एमालेले संविधान निर्माणमा कर्नरमा पर्ने वा संविधान नै नबनाउने हो कि भन्ने उसको आशंका छ । तर राजनीतिक विश्लेषक श्रेष्ठ भने यसले माओवादी मात्र नभई कांग्रेस र एमालेलाई नै विनासको वाटोमा लैजाने देख्नु हुन्छ । ‘माओवादीलाई सफल हुन नदिने नाममा मुलुकलाई नै असफल पार्ने प्रयास भइरहेको छ’ उहाँले भन्नुभयो-’यसले कांग्रेस र एमालेलाई नै विनासको वाटोमा लैजान्छ । जनताले वुझिएरहेका छन् शान्ति र संविधानमा कहाँबाट अबरोध भइरहेको छ भनेर ।’

कांग्रेस नेता एवं विशेष समितिका सदस्य रामशरण महत भने यसलाई अस्वीकार गर्नुहुन्छ । माओवादीको आन्तरिक कारण शान्ति प्रक्रिया अघि बढ्न नसकेको भन्दै उहाँले भन्नुभयो-’यो माओवादीको शब्दजाल हो । विगतमा भएका सहमतिअनुसार शान्ति प्रक्रिया अगाडि बढाउन माओवादी तयार भए सबै कुरामा सहमति हुन्छ ।’ माओवादीले आफ्ना लडाकू र हतियार राखेर नै संविधान जारी गर्न खोजेको उहाँको आरोप छ ।


source:

http://www.onlinekhabar.com/2011/09/13/87452.html


No comments:

Search and Buy from amazon.com