Thursday, October 15, 2009

Sujata Koirala

सुजाताको चुनौती

Font size: Decrease font Enlarge font
image

'तपाईंहरुलाई कार्यबाहक सभापति, उपसभापति र महामन्त्री कसले बनायो ? सभापतिले तपाईंहरुलाई मनोनीत गर्न हुने, मलाई नहुने ?'

'ए, तपाईंले सभापति र मसँग स्पष्टीकरण लिने ? यत्रो वर्ष पार्टी चलाउँदा तपाईंहरुले के-के गर्नुभयो, मलाई एक-एक थाहा छ, कार्यबाहक सभापति र पदाधिकारी सबैसँग स्पष्टीकरण लिन्छु ।'

'ठूला कुरा गर्ने ? १८ वर्षसम्म पार्टीको नेतृत्वमा बसेर तपाईं -रामचन्द्र पौडेल) ले के गर्नुभयो ? तपाईं नेता बन्न सक्ने मान्छे होइन '

 

बालकृष्ण अधिकारी/नयाँ पत्रिका

काठमाडौं, २८ असोज

साँझ ५ बजे झ्याप्प बत्ती निभ्यो । तर, सुजाता कोइरालाको स्वर झन् चर्कियो । मैनबत्तीको उज्यालोमा सुजाताले पाखुरा सुर्किन् र ड्याम्म टेबुल ठोक्दै भनिन्, 'तपाईंहरूलाई सभापतिले मनोनीत गर्न हुने, मलाई उपप्रधानमन्त्री बनाउन किन नहुने ?'

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपप्रधानमन्त्री सुजाता कोइरालाले आफूमाथि सबैजसो केन्द्रीय पदाधिकारीले लगाएका आरोपको एक्लै सामना गरिन् ।

पूर्वनिर्धारित महासमिति बैठकबारे छलफलमा प्रवेश गर्दानगर्दै केन्द्रीय सदस्य गोविन्दराज जोशी र नरहरि आचार्यले उपप्रधानमन्त्रीमा सुजाताको नियुक्तिबारे बैठकलाई जानकारी दिन नेतृत्वसँग माग गरेका थिए । कार्यबाहक सभापति सुशील कोइरालाले सुजाताको नियुक्तिसम्बन्धी विषयभन्दा महत्त्वपूर्ण महासमिति बैठक भएकाले पहिले त्यसैमा छलफल गर्न आग्रह गरे । बैठकले महासमिति व्यवस्थापन तथा आर्थिक समिति तथा विधान र जिल्ला विवाद टुंग्याउन फरक-फरक समिति गठन गरेपछि विषय फेरि सुजातातिर सोझिएको थियो ।

विरोधका स्वर चर्किंदै गए, उपप्रधानमन्त्री सुजाताले बीचबीचमै प्रतिवाद गर्दै रहिन् । सुजाता र नेताहरूबीच पटक-पटक दोहोरो भनाभन चलिरह्यो, ठुल्ठूलै स्वरमा ।

पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूले उपप्रधानमन्त्री नियुक्ति प्रक्रिया संस्थागत नभएको भन्दै सभापति गिरिजाप्रसाद कोइरालाकै विरोध गरेका थिए । प्रतिवादमा केन्द्रीय सदस्यसमेत रहेकी उपप्रधानमन्त्री सुजाताले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पटकपटक हप्काएकी थिइन् ।

बैठकमा उपसभापति रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री विमलेन्द्र निधि, सहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य डा. रामशरण महत, नरहरि आचार्य, बलबहादुर केसी, चिरञ्जीवी वाग्लेलगायतका नेताले सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेकोमा सभापतिको चर्काे आलोचना गरेका थिए । उनीहरूले सभापतिले बलमिच्याइँ गरी कांग्रेसलाई नै समाप्त गर्न लागेको आरोप लगाएपछि सुजाताले त्यसको प्रतिवाद एवं आफ्नो नियुक्तिको बचाउ गरेकी थिइन् ।

स्रोतका अनुसार बैठकमा उपप्रधानमन्त्री सुजाताले आफ्नो नियुक्तिबारे अनावश्यक विवाद नगर्न चेतावनी दिँदै भनिन्, 'तपाईंहरूलाई कार्यबाहक सभापति, उपसभापति, महामन्त्री कसले बनायो ? सभापतिले तपाईंहरूलाई मनोनीत गर्न हुने, मलाई किन नहुने ?'

केन्द्रीय सदस्य डा. रामशरण महतले उपप्रधानमन्त्री नियुक्तिका विषयमा सभापति कोइराला र सुजातासँग केन्द्रीय समितिले स्पष्टीकरण सोध्नुपर्ने धारणा राखेपछि आकोशित बनेकी सुजाताले तत्कालै केन्द्रीय समितिलाई चुनौती दिँदै कार्यबाहक सभापतिलगायत पार्टीका पदाधिकारीलाई नै स्पष्टीकरण सोध्ने चेतावनी दिइन् । 'यत्रो वर्ष पार्टी चलाउँदा तपाइर्ंहरूले के-के गर्नुभयो, मलाई एक-एक थाहा छ, तपाईं कार्यबाहक सभापति र तपाइर्ं पदाधिकारीहरूलाई म स्पष्टीकरण लिन्छु,' उनले भनिन् ।

उपसभापति तथा संसदीय दलका नेता पौडेलले पार्टी केन्द्रीय समिति र संसदीय दललाई लत्याएर थप संकट निम्त्याएको भन्दै सरकारलाई अप्ठेरोमा पार्ने धारणा राखेका थिए । तर, सुजाताले पौडेलमाथि पार्टी विभाजन गर्ने र वर्तमान सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोप लगाइन् । 'ठूला कुरा गर्ने ? १८ वर्षसम्म पार्टीको नेतृत्वमा बसेर तपाइर्ंले के गर्नुभयो ?' बैठकमा उपसभापति पौडेलमाथि सुजाताले दिएको चुनौती उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईं नेता बन्न सक्ने मान्छे होइन, पख्नोस्, तपाईंहरूलाई महाधिवेशनमा देखाइदिन्छु ।'

प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । बैठकपछि कार्यबाहक सभापति कोइरालाले सभापतिको उपस्थितिमा अर्काे बैठकले उपप्रधानमन्त्री नियुक्तिबारे छिनोफानो गर्ने बताए ।

बैठकको अन्तिम समयसम्म बसेकी सुजाताले आफ्नाविरुद्ध षड्यन्त्र भएको भन्दै छानबिन गर्नुपर्ने धारणा राखेकी थिइन् । 'तपाइर्ंहरू ममाथि षड्यन्त्र गर्दै हुनुहुन्छ, यसको पनि छानबिन हुनुपर्छ,' उनले भनिन् ।

स्रोतका अनुसार दोहोरो भनाभन र विवाद चर्कंदै गएपछि विवादित मुद्दामा सभापति कोइरालासँगैै छलफल गरी निष्कर्षमा पुग्न पदाधिकारीहरू सहमत भएका थिए । सभापति कोइराला बुधबार मात्र गृहनगर विराटनगर गएका छन् । उनी राजधानी फर्केपछि उपप्रधानमन्त्री नियुक्ति विषयमा छलफल हुने भएको छ ।

अर्काे बैठक कहिले गर्ने भन्ने विषयमा समेत उपप्रधानमन्त्री सुजाताले बैठकमा 'हस्तक्षेप' गरेकी थिइन् । एक केन्द्रीय सदस्यका अनुसार पार्टी पदाधिकारीहरू बैठक निरन्तर जारी राख्नुपर्ने अडानमा थिए । तर, सुजाताले 'तिहारपछि मात्रै बैठक राख्न' भनेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो


source:

http://www.nayapatrika.com/newsportal/cover_story/6932.html

No comments:

Search and Buy from amazon.com