Sunday, September 20, 2009

मन्त्रिपरिषदद्वारा ऋषि अमेरिका उड्नु पूर्व मुद्धा फिर्ता

मन्त्रिपरिषदद्वारा ऋषि अमेरिका उड्नु पूर्व मुद्धा फिर्ता

काठमाडौं, ४ असोज (दैनिकी)

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पत्रकार ऋषि धमला, रामशुभक महत्तो र वीरेन्द्र केएमको मुद्धा फिर्ता लिने निर्णय गरेको छ । रिपोर्टर्स क्लबका अध्यक्ष धमला परराष्ट्रमन्त्री सुजाता कोइरालाको सिफारिसमा रातो पासपोर्ट लिएर प्रधानमन्त्रीको भ्रमणटोलीमा समावेश भएर आज साँझ अमेरिका जाँदैछन । हातहतियार तथा खरखजाना ऐनअन्तर्गत धमला र अन्य दुई पत्रकारलाई केही समय अघि प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले तीनजना विरुद्ध सशस्त्र समूह रणबीर सेनासँग संलग्नताको अभियोगमा मुद्दा चलाएको थियो। ती मध्ये धमला तारेखमा रिहा भइसकेका छन् भने महतो र केएम अझै थुनामा छन्।
स्रोतका अनुसार मन्त्री कोइरालाको प्रस्तावमा ऋषिको मुद्दा फिर्ता लिने प्रसंग उठेपछि मधेशी मन्त्रीहरुले अन्य दुई मधेशीमूलका पत्रकारहरुप्रति किन विभेद नि भनेर आपत्ती गरेका थिए । यो निर्णयलगत्तै अदालतमा सरकारको निर्णय पठाइएको छ । फौज्दारी मुद्दामा सरकार वादी हुन्छ र यसको प्रकृया सरकारी वकिलको कार्यालयमार्फत अघि बढ्छ ।
नियमानुसार अमेरिकाले फौज्दारी अभियोग लागेकाहरुलाई आफ्नो मुलुकको प्रवेशाज्ञा दिदैन । तर परराष्ट्रमन्त्री सुजाता कोइरालाको "विशेष आग्रह"मा धमलालाई भिसा दिइएको स्रोतको दाबी छ ।
मन्त्रिपरिषदको बैठकले द्वन्द्वकालमा खोसिएका सम्पत्ति फिर्ता छानबिन गरी क्षतिपूर्ति तय गर्न शान्तिमन्त्री रकम चेम्जोङको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार सो समितिमा अर्थ गृह र महिला तथा बालबालिका मन्त्रालयका प्रतिनिधि समावेश छन ।
बैठकले देशभरिका अस्पताल विकास समितिहरु विघटन गरेको छ ।
बैठकमा विषेश गरेर प्रधानमन्त्रीको अमेरिका भ्रमण र राष्ट्र संघको महासभामा हुने सहभागिता र एजेण्डाहरुका बारेमा छलफल भएको थियो ।

source:

http://www.dainikee.com/newsdetail-10350.html



No comments:

Search and Buy from amazon.com