Saturday, July 31, 2010

एमालेमा को कता

एमालेमा को कता


काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी सदस्यहरुमा क–कसले क–कस्को पक्ष सम्हालेका छन् त ।

खनाल पक्षधर (४०):

झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, भरतमोहन अधिकारी, अमृत बोहोरा, अशोक राई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उर्मिला अर्याल, रामचन्द्र झा, घनश्याम भुसाल, सहाना प्रधान, किरण गुरुङ, राजेन्द्र पाण्डे, गोकर्ण विष्ट, केशव बडाल, रघुवीर महासेठ, अरुण नेपाल, विजय पौडेल, सुरेन्द्र पाण्डे, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, परशुराम मेघी गुरुङ, योगेश भट्टराई, प्रकाश ज्वाला, राधा ज्ञवाली, गौरा प्रसाईं, जयन्ती राई, नरेश खरेल, राजेन्द्र गौतम, डिल्लीबहादुर महत, झिल्लुप्रसाद तिवारी, ललित बस्नेत, मोहम्मद आलम, विष्णु रिमाल, बेदुराम भुसाल, राजेन्द्र पाण्डे,
केशवप्रसाद देवकोटा, रामप्रित पासवान र लालबाबु पण्डित छन्

माधव–केपी पक्षधर (३६) :

माधवकुमार नेपाल, केपी शर्मा ओली, विद्या भण्डारी, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप नेपाल, भीम रावल, रवीन्द्र श्रेष्ठ, रघुजी पन्त, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, विन्दा पाण्डे, भानुभक्त ढकाल, विनोद श्रेष्ठ, खगराज अधिकारी, कल्याणी खड्का, डा.वंशीधर मिश्र, रामचन्द्र यादव, छविलाल विश्वकर्मा, जितु नेपाल, गंगादेवी डाागी, टुक हमाल, थममाया थापामगर, नागेन्द्रप्रसाद चौधरी, वीरबहादुर लामा, विजय सुब्बा, जगन्नाथ खतिवडा, देवीप्रसाद ज्ञवाली, गणेश तिमल्सिना, अग्नि खरेल, मुकुन्द न्यौपाने, गुरु बराल, वाचस्पति देवकोटा, तुलबहादुर गुरुङ र कर्णबहादुर थापा छन्।

तटस्थ (८)ः

महेन्द्रबहादुर पाण्डेय, धर्मनाथप्रसाद साह, भानभक्त जैशी, पशुपति चौलागाईं, गंगालाल तुलाधर, दलबहादुर रानामगर, देवराज भार र नेत्र पन्थी छन्।
एमाले केन्द्रीय समितिमा झिनो मतले खनाल बहुमतमा देखिएका छन् भने खनाल एक सय १० सभासद्मध्ये ६२ जना सदस्य रहेको दाबी गर्दैछन्।
source:
http://www.weeklynepal.com/newsite2/index.php?option=com_content&view=article&id=7405:2010-07-26-07-26-43&catid=52:featured-1

Friday, July 16, 2010

प्रधानमन्त्रीको आदेशपछि ...

प्रधानमन्त्रीको आदेशपछि ...


विदेशबाट आएका निर्मल राई २३ असारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे। दिउँसो १२ बजेदेखि बेपत्ता बनाइएका उनलाई त्यस रात गौशालास्थित प्रहरी कार्यालयमा थुनियो। उनको थुनुवा रेकर्डमा नाम चढेन, न त सोधपुछ नै भयो। भोलिपल्ट बिहानसम्म उनी गौशाला चौकीकै थुनुवा भए। तर, उनी यस्ता थुनुवा भए कि प्रधानमन्त्री माधवकुमार नेपाल आफैँले उनको पक्राउबारे चासो राखे। प्रहरी महानिरीक्षक सचिवालय स्रोतका अनुसार, राईलाई थुनेर नराख्न प्रधानमन्त्री नेपालले तीव्र दबाब दिएका थिए। यही कारण २५ असारको मध्याह्नपछि उनी फेर िनेपाल प्रहरीको चौकीमा देखिएनन्।

प्रहरी स्रोतका अनुसार, पटकपटकको सरकारी दबाबका कारण उनलाई सार्वजनिक गर्न सकिएन र गुपचुप रूपमै छिमेकी मुलुक भारतलाई बुझाइयोे। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ३ अगस्त २००८ को मितिमा जारी गरेको पासपोर्ट नं ४१५९३९४ भएका निर्मलले आफ्नो ठेगाना कामनपा वडा नं ६ बौद्ध लेखेका छन्। उनी पक्राउ परेपछि सात महिनाकी गर्भवती नेपाली युवती पटकपटक प्रहरीको हारगुहार गर्न पुगेकी पनि थिइन्। आफ्ना पतिको रहिाइ गरििदन वा दोष देखाइदिन गरेको उनको आग्रह काम लागेन। नेपाली नागरकिता, नेपाली पासपोर्ट साथमा भएका अन्दाजी ३० वर्षका यी युवा किन बुझाइए? स्रोतका अनुसार, वास्तविकतामा उनी नेपाली थिएनन्। उनी भारतको असमका नागरकि हुन् र असमको सशस्त्र विद्रोही समूहसँग सम्बद्ध छन्। भारतले पृथकतावादी समूह युनाइटेड लिबरेसन प|mन्ट अफ असन -उल्फा)लाई आतंककारीको सूचीमा राखेको छ।

नेपाली भाषा बोल्न नजान्ने निर्मल राईको खास नाम निरञ्जन होजाई हो। उनलाई भारतले आफ्नो मुलुकको 'ट्राइबल मिलिट्यान्ट ग्रुपमध्येको 'मोस्ट वान्टेड' व्यक्ति भनी नेपालसँग मौखिक रूपमा माग गरेको थियो। नेपाललाई आधार बनाएर नेपाली कागजातका आधारमा हङ्कङ्, थाइल्यान्ड, दक्षिण अपि|mकालगायत विश्वका धेरै मुलुक घुमिसकेका उनको पासपोर्टबाट देखिएको प्रहरी स्रोतको दाबी छ। थाई एयरवेजको टीजी ३१९ उडानबाट सिट नं १६ 'ए'मा बसेर २३ असारमा हङ्कङ्बाट बैंकक हुँदै काठमाडौँ आएका उनी भारतीय सूचनाकै आधारमा विमानस्थलमै पक्राउ परेका थिए। प्रहरी प्रवक्ता डीआईजी विज्ञानराज शर्माले भने यसबारे बुझेर मात्र केही भन्न सकिने जानकारी दिए।

नेपाली युवतीसँग विवाह गरी विगत केही वर्षदेखि नेपालका भ्रष्ट शासकलाई प्रभावमा पारेर उनले नागरकिता र पासपोर्ट लिएका रहेछन्। उनलाई पक्राउ गरेपछि नेपाल सरकारले उनको पासपोर्ट र नागरकिताको असलीयतबारे छानबिन गर्ने प्रयास पनि गरेन। नियमतः नेपाली कागजात भएको कुनै पनि नागरकि पक्राउ परेमा सबैभन्दा पहिले ती कागजातबारे छानबिन गर्नुपर्ने र गैरनागरकिले त्यस्तो कागजात बनाएको भए सोही अपराधमा मुद्दा चलाउनुपर्ने हुन्छ। यति मात्रै होइन, उनलाई नेपाली नागरकिता र पासपोर्ट दिने प्रशासकलाई पनि कारबाही गर्नुपर्ने हुन्छ। यस्ता अपराधमा कारबाही नै नगरी सुपुर्दगी गर्नुमा प्रहरीको दोष नभई सरकारको दबाब मुख्य भएको दाबी प्रहरी उच्च स्रोतको छ।

नेपाल र भारतका बीच सुपुर्दगी सन्धि नवीकरण भएको छैन। नेपालले माग गरेका आपराधिक कार्यमा लागेका नेपाली नागरकि भारतमा पक्राउ परे पनि रहिा भइरहेका छन्। पछिल्लो जानकारी अनुसार, काठमाडौँ मेडिकल कलेज, सिनामंगलका डा हेमांग दीक्षित र वीरमणि राजभण्डारीलाई फिरौती नदिँदा गोली प्रहार गर्ने गिरोहका मुखिया सन्दीप पाठक भन्ने मिलन लामा भारतमा हिरासतमुक्त भएका छन्। भारतमै पक्राउ परेका उनलाई सुपुर्दगी गरेर सहयोग गरििदन नेपाल प्रहरीले औपचारकि पत्रसमेत लेखेको छ। तर, उनी २५ हजार भारतीय रुपियाँ धरौटीमा रहिा भएका छन्। रहिापछि भुटान र बंगलादेशको टेलिफोन नम्बर प्रयोग गर्दै नेपालमा फेर िफोन धम्की आउन सुरु भइसकेको प्रहरी स्रोतले बताएको छ।

source:

http://www.ekantipur.com/nepal/article/?id=1286


Wednesday, July 7, 2010

मिडियामाथि नियन्त्रण र नाकाबन्दी

मिडियामाथि नियन्त्रण र नाकाबन्दी

Font size: Decrease font Enlarge font
image

दिउँसोदिउँसो लोकतन्त्र र राष्ट्रवादको झन्डा उचाल्ने, रातिराति राजदूतसँग डिनर खाई नेपाली राजनीतिको भविष्यबारे निर्णय गर्ने दास प्रवृत्तिको सिकार कान्तिपुरलाई पनि बनाइयो

हुन त अत्यन्त गौरवका साथ भारतलाई 'संसारको सबैभन्दा ठूलो लोकतन्त्र' भनिन्छ । तर, त्यो भारतको लोकतन्त्रको आयतन होइन, मुलुकको भौगोलिक आकार मात्रै हेरेर भनिएको हास्यास्पद भनाइ मात्रै हो । व्यवहारमा 'संसारको सबैभन्दा ठूलो लोकतन्त्र' कुलीनवर्गको बहिखातामै कैद छ । वास्तवमा यस्तो भनाइ भारतीय जनताविरुद्ध गरिएको अश्लील व्यंग्य मात्रै हो, र भारतका छिमेकी देशका लागि यो भनाइ मांसहारी व्यंग्यभन्दा उच्च छैन ।

व्यवहारमा 'संसारकै सबैभन्दा ठूलो लोकतन्त्र' छिमेकी देश र जनताका सम्बन्धमा ठोकतन्त्रका रूपमा अनुवाद हुँदै आएको छ । पाकिस्तान र चीनजस्ता छिमेकीसँग युद्ध गरिसकेको भारतले कुनै पनि छिमेकीसँग मैत्रीपूर्ण सुमधुर सम्बन्ध राख्न सकेको इतिहास छैन । दिलदिमागमा बि्रटिस साम्राज्यको धङधङी बोकेर छिमेकीसँग हस्तक्षेपपूर्ण व्यवहार गर्दै आएकाले भारत दक्षिण एसियामा ठूल्दाइका रूपमा बदनाम छ । हो, त्यस्ता ठूल्दाइका रूपमा, जो आफ्ना छिमेकी देशलाई आफ्नै आँगन नै ठान्छ, स्वतन्त्र मुलुक होइन । श्रीलंकादेखि माल्दिभ्ससम्म सैनिक बुटले टेक्ने भारतको आचरणले भन्छ, आफ्नै आँगनमा नाचे पनि, लडीबुडी गरे पनि कसले के गर्न सक्छ ? यस्तो भारतीय मानसिकता र आचरणले जन्माउने आचार-व्यवहार ठोकतन्त्रभन्दा उन्नत हुनै सक्दैन ।

भारत वास्तवमा दक्षिण एसियाली मुलुकका लागि त्यस्तो असजिलो छिमेकी हो, जसले घरीघरी ठूल्दाइ पल्टिएर ध्वाँस दिन्छ र धम्क्याएर पनि नधम्किएको मुलुकलाई कठोर सजाय दिन्छ, सडकको दादाले जस्तै । सानो मुलुक भुटानमा सुरक्षाका नाममा सेनाको तैनाथी र बंगलादेशमा स्वतन्त्रता संग्रामका निहुँमा सेनाको परिचालन गरिसकेको भारतको इतिहासमा ध्वाँस, धम्की र सजाय नौलो विषय नै होइन । हुन त पछिल्लो इतिहासमा नेपालमाथि भारतले युद्ध नै थोपरेको त छैन, तर आफूले भनेको नमान्दा उसले ठूल्ठूलै सजाय दिएको इतिहास भने जीवितै छ, ठूल्दाइ पल्टिएर । सात सालका परिवर्तनदेखि नेपालको राजनीतिमा प्रत्यक्ष रूपमा हात हाल्दै आएको छ भारतले । सत्र सालमा भएको शाही सैनिक कूलाई समेत घुमाउरो पाराले समर्थन गरेकै थियो भारतले । पञ्चायतको नाममा जारी राजतन्त्रलाई समेत टेवा दिँदै आएको भारतलाई तबमात्रै प्रजातन्त्र प्यारो भएको थियो, जब राजतन्त्रसँग उसको स्वार्थ बाझियो ।

०४५ सालमा राजतन्त्रले चीनबाट हतियार ल्याउन खोज्दा भारतले निहुँ खोज्यो र अनेक निहुँ थाप्दै आर्थिक नाकाबन्दीसमेत लगायो । व्यापार तथा पारबहन सन्धि नवीकरण नभएको मुद्दा त देखावटी मात्रै थियो, वास्तविक मुद्दा थियोः उसको आदेशानुसार नेपाल नचल्नु र उससँग हतियार नकिन्नु । त्यसकै सजायस्वरूप आर्थिक नाकाबन्दी गर्दै उसले राजा वीरेन्द्रको अधिकार कटौती गर्न बहुदलीय प्रजातन्त्रलाई टेवा दियो । शाही शासनकालमा राजासँग व्यवहार गर्दा होस्, या बहुदलीय प्रजातन्त्रमा राजनीतिक दलसँग गर्दा काम गर्दा होस्, उसका लागि सर्वापरि हुन्छः आफ्नै राष्ट्रिय स्वार्थ ः कुलीनवर्गीय हितको विस्तार । जसजसले उसको स्वार्थको खुट्टामा माथा टेकाउँछ, ऊ भारतका लागि पि्रयपात्र बन्छ, जसले टेकाउँदैन, ऊ बन्छ विरोधी । भारतले आफ्नो राष्ट्रिय स्वार्थको तराजुमा तौलीतौली राजा र नेतासँग व्यवहार गर्दै आएको छ । त्यसो नभए उसले संसदीय दलका भ्रष्ट नेताहरूको ढाडमा टेकेर संसद्, संविधान र प्रजातन्त्र मास्ने ज्ञानेन्द्रलाई साथ दिने थिएन । त्यसो नभए ऊ शाही सैनिक शासन चलाउने ज्ञानेन्द्रको राज बचाउन 'दुईखम्बे नीति'मा टाँसिरहने थिएन । न त उसले निरंकुश राजतन्त्रविरोधी बाह्रबुँदे समझदारीदेखि जनआन्दोलनलाई नै समर्थन गर्ने थियो ।

०६३ को आन्दोलनपछि स्थापित संविधानसभामा आफूले सोच्दै नसोचेको संख्यामा माओवादीको ठूलो उपस्थिति भारतलाई पचेन, जसरी नेपालका अरू राजनीतिक दललाई जस्तै । भारतको विश्लेषण थियोः माओवादी चीनमुखी हुन थालेको छ, ऊ आफ्नो राष्ट्रिय स्वार्थविपरीत जान थालेको छ, उसका एजेन्डाले भारतीय जनतालाई समेत प्रभावित पार्न सक्छ । यस्तै हचुवा र कच्चा विश्लेषण गरेर उसले ०६६ सालमा अर्काे राजनीतिक नाकाबन्दी गर्‍यो, र्‍याडिकल एजेन्डा बोकेको माओवादीविरुद्ध । इन्टरनेशनल क्राइसिस ग्रुपको 'नेपालको भविष्य कसको हातमा ?' शीर्षकको रिपोर्टले भन्छ, कार्यकारी प्रधानमन्त्री प्रचण्डका आदेश नमान्ने सेनापतिलाई बर्खास्त गर्न खोज्दा भारतबाट राष्ट्रपति रामवरण यादवदेखि एमालेका अध्यक्ष झलनाथ खनाललाई समेत फोन गरेर दबाब दिइयो । अन्ततः भारतकै चक्रब्यूहमा परेर माओवादी अभिमन्यूझैँ सत्ताच्युत भयो र उसकै गुरुयोजनामा बन्यो माओवादीविरोधी सैनिक नेतृत्व र दलहरूको गठबन्धन सरकार । बाइस दलको गठबन्धनको सरकार तेह्र महिनासम्म टिक्नु अनौठो होइन । ३०१ को गणितीय खेल त देखावटी मात्रै हो, वास्तविक खेल हो उसको आडभरोसा पाउनु । जतिखेरसम्म लोकतान्त्रिक गठबन्धन नामधारी दक्षिणपन्थी सरकार उसको स्वार्थपूर्तिका लागि उपयोगी भयो, तबसम्म माओवादी जतिसुकै सडकमा उफ्रे पनि सरकारलाई आर्यघाटमा पुर्‍याइएन । दिल्ली दरबारको आशिर्वाद भएसम्म सरकारको मृत्यु भएन, उसको स्वार्थको निरन्तरताका लागि माधव सरकार उपयोगी हुन छाडेपछि मात्रै राजीनामा प्रकरण बाहिर आयो ।

भारतबाट नेपाली सीमा मिचिँदा, बाँध बाँधेर नेपाली भूमि र जनतालाई डुबाइँदा, राजदूतमार्फत् नेपाली राजनीतिमाथि प्रत्यक्ष हस्तक्षेप हुँदा, नेपाली सेनामा प्रत्यक्ष प्रभाव पारिँदा पनि चुँसम्म नबोल्ने माधव सरकार नै भारतका लागि सबैभन्दा लोकतान्त्रिक सरकार साबित भयो, किनभने उसले चलाइरहेको 'विश्वको सबैभन्दा ठूलो लोकतन्त्र'को आँगनमा उसको हित र स्वार्थविरुद्ध जाने अनुमति कसैलाई छैन । उसको लोकतन्त्रको परिभाषाअनुसार जसले उसको स्वार्थ र हस्तक्षेपविरुद्ध बोल्छ, ऊ भारतका आँखामा सबैभन्दा अलोकतान्त्रिक दल हुन्छ, सजायका लागि योग्य शक्ति हुन्छ । कमरेड प्रचण्ड सत्ताबाट नौ महिनामै बाहिरिन बाध्य हुनु र कमरेड माधवकुमार नेपाल १३-१३ महिनासम्म सत्तासीन हुनुको रहस्य बुझ्न धेरै गाह्रो छैन, असजिलो छिमेकीका नीति र नियत बुझे पुग्छ ।

भारतवेष्ठित नेपालमा अचेल फेरि आर्थिक र राजनीतिक नाकाबन्दी सुरु भएको छ । त्यसको पहिलो सिकार माओवादी पार्टी भइसकेको छ, र अब हुँदै छ मिडिया पार्टी पनि । त्यसै सिलसिलामा निसाना बनाइएको छ कान्तिपुर पब्लिकेसन्सलाई, जसको सम्पादन नीतिले भारतको हित र स्वार्थ पूरा नगर्ने छाँटकाँट देखाउन थालेको थियो । त्यसमा पनि मूलतः कान्तिपुर दैनिकको सम्पादकीय नीति र दृष्टिकोणका केही पक्ष भारतलाई मन नपरेको तथ्य उसको परराष्ट्र मन्त्रालय स्रोतलाई उद्धृत गर्दै पत्रपत्रिकामै लेखिएको अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले प्रस्टै उल्लेख गरेको छ । भारतको आँखामा कान्तिपुर दैनिकले शान्ति र संविधानविरोधी गोटीका रूपमा स्थापित माधव सरकारको राजीनामा माग्ने 'धृष्टता' गर्‍यो । उसले माधव सरकारले भारतभक्ति देखाउन गरेको एमआरपी छपाइको ठेक्कामा उपप्रधानमन्त्री सुजाता कोइरालादेखि भारतीय राजदूत राकेश सुदलाई कठघरामा उभ्याउने 'दुस्साहस' गर्‍यो । उसले मेघालयमा भएका नेपाली मूलका भारतीयजनको जातीय हत्या र लखेटाइबारे निरन्तर लेख्ने 'हिम्मत' गर्‍यो ।

अतः भारतीय दूतावासको धम्कीपूर्ण वक्तव्यबाजी र भावभंगिमाले स्पष्टै भनेः भारत सरकार यस्ता पत्रपत्रिकासँग खुस छैन, अतः तिनलाई नेपाल सरकार र त्यसको आडभरोसा बनेको भारत सरकारप्रति लचकदार बनाउनु जरुरी छ । यसमा लचकदार हुनुको साटो अनेक धृष्टता र दुस्साहस गर्ने जोकोहीलाई पनि आर्थिक र राजनीतिक नाकाबन्दीद्वारा सजाय दिइनेछ । भारतीय भन्सारले अनुसन्धान गर्न बाँकी रहेको निहुँ थाप्दै कान्तिपुरको न्युजपि्रन्ट आपूर्तिमा ढिलाइ गर्नु सजायकै एउटा प्रकट रूप थियो । र, त्यसको अप्रकट रूप थियो, भारत सरकार र भारतीय कम्पनीहरूले दिँदै आएका विज्ञापन बन्द गर्नु । जर्ज अर्वेलले भनेजस्तै आधिकारिक रूपमा प्रतिबन्ध नलगाइकन पनि आफूले नचाहेका विचारको बोली बन्द गर्ने अनेक उपायमध्ये एक हो ः मिडियालाई विज्ञापन बन्द गर्नु । यस अर्थमा कागज आपूर्तिमा ढिलाइभन्दा पनि भारतीय कम्पनीका विज्ञापनको वितरणमा रोक कान्तिपुरलगायत अन्य नेपाली मिडियामाथि नियन्त्रणको अचुक उपाय साबित भएको छ । जमिम शाहको हत्यापछि कान्तिपुर र काठमाडौँ पोस्टका सम्पादक र प्रकाशकमाथि आएको धम्कीभन्दा पनि कडा सजाय होः भारतीय विज्ञापनमा रोक । मिडियाबाट विचारमाथि नियन्त्रण र आफ्नो हित र स्वार्थअनुकूलको सहमति निर्माण जारी रहेको स्थितिमा भिन्न खाले मिडियाको पनि बोली बन्द गर्ने जुन खेल भयो, त्यसले नेपालीको स्वतन्त्रता, स्वाधीनता, स्वायत्तता र सार्वभौमिकता प्राप्तिको संघर्षलाई दण्डित गर्न खोजेको देखियो ।

हो, दिल्ली दरबारको आशिर्वादविना पुच्छरसमेत नहल्लाउने दक्षिणपन्थी नेतृत्वको सरकार हुने र लैनचौरस्थित दूतावासमा चर्न जाने नेताहरूको बाहुल्यता भएको सानो देश ठूल्दाइको हेपाहा प्रवृत्तिको सिकार हुन्छ नै । त्यसैले दिउँसोदिउँसो लोकतन्त्र र राष्ट्रवादको झन्डा उचाल्ने, रातिराति राजदूतसँग डिनर खाई नेपाली राजनीतिको भविष्यबारे निर्णय गर्ने दास प्रवृत्तिको सिकार बनाइयो कान्तिपुर पब्लिकेशनलाई पनि । कान्तिपुरमाथि केही समय लगाइएको कागजको नाकाबन्दी सूचनाको हक, प्रेस स्वतन्त्रता र भूपरिवेष्ठित मुलुकको पारवहन अधिकारमाथिको आक्रमण मात्रै होइन, सिंगो देशको स्वाधीनता र नेपालीको सार्वभौमिकतामाथिको हस्तक्षेप हो । यसको प्रतिरोध नेपालको निम्छरो राजनीतिक नेतृत्वका दास प्रवृत्तिमाथि प्रहार गर्ने, स्वाधीन, सार्वभौम, सबल र स्वतन्त्र देश निर्माण गर्ने अनि अन्तर्राष्ट्रिय क्षेत्रमा भारतलाई जवाफदेही बनाउने र उसको ठूल्दाइपनको भण्डाफोर गर्ने अभियानबाट मात्रै हुन सक्छ ।rajem003@yahoo.com

source:

http://www.nayapatrika.net/newsportal/view/14883.html


Tuesday, July 6, 2010

नेपाली नेताका भुटानी भ्रम

नेपाली नेताका भुटानी भ्रम


आगामी हिउँददेखि भुटानले लोडसेडिङ्को मार खेप्दै छ भन्ने सुन्दा धेरै नेपालीलाई पत्याउनै गाह्रो होला। आखिर दशकौँ भइसक्यो भनिँदै आएको छ कि भुटानले जलविद्युत् विकास कति राम्ररी गरेको छ, कसरी बिजुली भारत निकास गरेर कुस्त कमाएको छ र आफ्नो प्रतिव्यक्ति आय दक्षिण एसियाकै उच्चतम बनाउन सकेको छ। र, यो पनि भन्ने गरएिको छ कि नेपालीहरू भने महाकाली, पश्चिम सेतीजस्ता योजनामा बखेडा झिकेर 'खोक्रो राष्ट्रवाद' मात्र प्रदर्शन गर्छन्। त्यसैले होला, दुई दशकदेखि मुलुक हाँक्दै आएका मुख्य पार्टीका नेताहरूमा बौद्धिक लघुताभास र नैतिक हीनताबोध व्याप्त छ। सुरक्षा र परराष्ट्र नीति मुग्लानलाई सुम्पेको भुटान हिँडेको मार्ग नेपाललाई त परै जाओस्, भुटानकै लागि पनि दीर्घकालीन रूपमा लाभप्रद छ कि छैन भन्ने प्रश्न साम्यवादी र समाजवादी भनिनेहरूले आफ्नै दर्शनका आधारमा केलाउन सकेको पाइँदैन।

प्रसंग डेढ दशकअघिको हो, एक परििचत पार्टीका बुद्धिजीवीको फोन आयो तुरुन्त भेट्नुपर्‍यो भनेर। आसपासै भएकाले होला, दस मिनेटमै हस्याङफस्याङ गर्दै पाटनढोकानजिक तेस्रो तलामा रहेको यस पंक्तिकारको कार्यालयमा छिरे। छिर्नासाथ उत्तेजित भएर प्रश्न बर्साउन थाले, "तपाइर्ंहरू भुटानी मोडल ठीक छैन भन्नुहुन्छ। त्यत्रो कमाइसक्यो भुटानले। हामीले उसकै मोडल किन न अपनाउने ?" एकछिनको कुराकानीपछि आफूले यसबारेमा विस्तारमा बताउने भन्दाभन्दै पनि उनी शान्त भएनन्, मेरा तर्कहरू सुन्ने धैर्य पनि राखेनन्। नेताकै पारामा आफ्नै मात्र कुराहरू फलाकिरहे र मेरो तर्कसँग सहमत नभएको भन्दै हुरीझैँ बाहिरएि। आफ्नो पार्टीप्रमुखको नीतिगत भाषणहरू लेख्ने व्यक्ति भनेर ख्याति कमाएका ती मित्रको यस्तो बुझ्नै नचाहने व्यवहारको रहस्य भोलिपल्टको एक राष्ट्रिय दैनिकमा खुल्यो। त्यहाँ उनको लेख रहेछ, नेपालले जलविद्युत् विकासमा भुटानी बाटो समात्नुपर्छ भनेर। कूटनीतिक र सामरकि पक्षलाई समेत ध्यान नदिई वास्तवमा उपनिवेशीकरणको अन्धो वकालत गर्नेहरूले पार्टी नेताहरूलाई कुम जोडेर बुद्धि दिँदा नेपाल लोडसेडिङ्को दीर्घरोगी हुनु कुनै आश्चर्य होइन। भुटानमा हुन लागेको लोडसेडिङ्पछाडिको भित्री अर्थराजनीतिक गुह्य यिनीहरूले बुझ्नु जरुरी छ।

झ्वाट्ट हेर्दा भुटानले जलविद्युत् विकासमा हामीभन्दा धेरै राम्रो गरेको छ। क्षेत्रफलमा नेपालभन्दा तीन गुना सानो र जनसंख्यामा भने झन्डै ५० गुना कम यस हिमाली देशले नेपालको सात सय मेगावाटको तुलनामा दोब्बर -१ हजार ४ सय ८८ मेगावाट) क्षमताका विद्युत्गृहहरू सञ्चालनमा ल्याएको छ। निर्माणाधीन ताला जलविद्युत् आयोजनाले सन् २०१६ मा अर्को १ हजार २० मेगावाट थप्नेछ, जुन भारत सरकारको ६० प्रतिशत अनुदान र ४० प्रतिशत अत्यन्तै सस्तो ब्याजदरमा भुटानले ऋण प्राप्त गरेकाले सम्भव भयो। यति सस्तो लगानी फेला परेकाले भुटानी उपभोक्ताले भारतीय १ रुपियाँ ३० पैसा प्रतियुनिटमा बिजुली उपभोग गर्न पाइरहेका छन्। सस्तो भएकै कारण भुटानमा खाना पकाउने र कोठा तताउने बिजुलीबाटै हुन्छ। भुटानका कुल १ लाख २६ हजार घरधुरीमध्ये झन्डै ७० प्रतिशतमा बिजुली पुगिसक्यो। सन् २०१३ सम्ममा चार हजार घरधुरीबाहेक सबैलाई बिजुली पुगिसक्ने लक्ष्य छ। चार हजार घरधुरीलाई छुटाउनुको कारण ती लेकका गोठ हुन्, जहाँ छ महिना कोही बस्दा रहेनछन्। त्यसैले त्यहाँ लाइनको बिजुलीको सट्टामा सौर्य लालटिन उपलब्ध गराउने नीति रहेछ।

नेपालको तुलनामा यस्तो उपलब्धिलाई स्वर्गै मान्नुपर्ने हुन्छ। त्यसो हो भने यो भुटानी मोडल बेठीक किन ? अनि, फेर ित्यहाँ लोडसेडिङ् कसरी त ? नेपालभन्दा दोब्बर जडित क्षमता भए तापनि भुटानको ८० प्रतिशत बिजुली भारत निर्यात हुन्छ, जसले गर्दा भुटानी खपतका लागि करबि तीन सय मेगावाट मात्र उपलब्ध छ। यसमध्ये पनि ८० मेगावाट गार्हस्थ प्रयोजनका लागि उपलब्ध छ भने अधिकांश विद्युत् दक्षिण भुटानमा सस्तो बिजुली पाउने भन्दै ल्याइएका सिमेन्ट इत्यादि जस्ता प्रायः भारतीय उद्योगहरूको भागमा परेको छ। साधारण बजार भाउभन्दा धेरै सस्तो विद्युत् दर राखिएकाले माग चुलिएको छ, आपूर्तिको तुलनामा। सन् २००७ बाट २००८ मा माग १९ प्रतिशतले बढ्यो भने २००९ मा २७ र २०१० मा ५४ प्रतिशतले। फलस्वरूप यस वर्षको जाडोमा करबि २५ मेगावाट लोडसेडिङ्द्वारा कटौती गर्नुपर्नेछ। यो क्रम बढ्दै गएर सन् २०१६ सम्मै जानेछ। किनभने, त्यतिबेला मात्र १ हजार २ सय मेगावाटको पुनात्साङ्छु-१ सम्पन्न हुनेछ।

आगामी पाँच वर्ष टड्कारो देखिने लोडसेडिङ् आइपर्नुमा योजना तर्जुमाकै असफलता भए तापनि नेपालको जस्तो योजना अभावको स्िथति र अस्िथर राजनीतिले जन्माएको नीतिगत खडेरी भुटानमा छैन। बिजुलीको समस्या जादुको छडीले तुरुन्तै हल हुँदैन तर आइलागेको विपत्ति हल गर्न त्यहाँ सही कदमहरू उठाउन थालिसकिएको छ। भारतबाट बिजुली आयात गर्ने विकल्प त छ तर त्यो महँगो पर्छ किन भने आफूले बेचेको दरभन्दा झन्डै दोब्बरमा खरदि गर्नुपर्ने स्िथति छ। भारतले आफ्नै विद्युत् खडेरीका कारण प्रचुर मित्रता हुँदाहुँदै पनि भुटानलाई सस्तोमा बिजुली दिन सक्दैन। त्यसैले भुटानले 'इनर्जी ब्याकिङ्'को सिद्धान्त अगाडि सारेको छ, जस अनुसार वषर्ाको समयमा उबि्रएको उत्पादन भारतमा निकासी गर्ने र हिउँदमा भुटानमा कमी भएको समयमा बैंकबाट पैसा झिकेसरह फिर्ती पैठारी गर्ने। ठाडो खरदि गर्नुभन्दा यस प्रकारको ऊर्जाकै लेनदेन भुटानलाई सस्तो पर्छ र यसबारेमा भारतीय अधिकारीहरूसँग वार्ता पनि प्रारम्भ भइसकेको छ। नेपालमा भने सन् १९९२ मा वासु रजिाल जलस्रोत मन्त्री हुँदा जल तथा शक्ति आयोजनाले 'इनर्जी बार्टर' -ऊर्जा लेनदेन)को सिद्धान्त पास गरेको थियो तर महाकालीको सपना र पार्टी कलहले त्यो आजसम्म अगाडि बढ्न सकेको छैन।

भारतको चाहना र योजना अनुरूप मात्र अगाडि नबढेर भुटानी अर्थतन्त्रको माग अनुरूप छुट्टै मझौला खाले १ सय २६ मेगावाटको डागाछु र २ सय ८ मेगावाटको निखछु आयोजना निजी-सरकारी साझेदारीमा 'क्लिन डिभेलपमेेन्ट मेक्यानिजम' अन्तर्गत भुटानले सुरु गरसिकेको छ। साना जलविद्युत् योजनाहरूको प्रशस्त सम्भावना छ, जो भुटान सुहाउँदो पनि हुने थियो। तर, भारतसँग भएका सम्झौताका कारण सस्तोमा बिजुली बेच्नुपर्ने बाध्यताले साना जलविद्युत् योजनाहरूमा लगानी गर्न असम्भव भएको छ। आफ्नो प्रणालीको माग सुहाउँदो नेपालमा जस्तै मझौलाखाले १० मेगावाटका योजनाहरू दुई-दुई वर्षमै सम्पन्न गर्दै जान सक्ने स्िथति हुँदाहुँदै पनि त्यो बाटोमा लाग्न विगतका सम्झौताका कारण भुटानले सक्दैन। र, लोडसेडिङ् दुई वर्षमै अन्त्य गर्न नपाएर सन् २०१६ सम्म कुर्न विवश छ।

यस्तो साँघुरो नीतिगत कोठाभित्र रहेर पनि भुटान अरू विकल्प खोज्दै छ लोडसेडिङ्को। पकाउने ऊर्जाका लागि बायोग्यास, पानी तताउन सोलार प्यानल, उद्योगहरूलाई आफ्नै 'क्याप्टिभ' जलविद्युत् निर्माण गर्न कर सहुलियतलगायतका आर्थिक प्रोत्साहन दिएर विद्युत् प्रणालीको माग व्यवस्थापन गरँिदै छ। भएका योजनाहरूको तल्लोपट्ट ि'टेलरेस'मा पानी जम्मा गर्ने पोखरी बनाएर रातको समयमा पम्पद्वारा माथिल्लो जलाशयमा पुनः पानी जम्मा गर्ने -पम्प स्टोरेज) योजनाहरूको विकास गर्न लागिपरेको छ। नीतिगत फेरबदलले अब कुनै पनि निकासीमूलक योजना प्रवर्द्धकले १५ प्रतिशत ऊर्जा सित्तँैमा भुटान सरकारलाई बुझाउनुपर्ने हुन्छ। जलवायु परविर्तनको कारणले हिमनदी र खोलामा पानी सुक्दै जाने हुनाले भोलिका दिनहरूमा जलविद्युत्मा मात्र निर्भर नभई वायु र सौर्यजस्ता वैकल्पिक नवीकरणीय ऊर्जाका स्रोतहरू विकास गर्न भुटान अहिलेदेखि नै सक्रिय भइसक्यो। राष्ट्रिय ऊर्जा सुरक्षा सबल बनाउन विद्युत्को निकासीमूलक नीतिले मद्दत गर्दैन भन्ने कुरा यस प्रकारको नीति परविर्तनले देखाउँछ।

नेपालमा जस्तै भुटानी हिमालका खोलाहरू माघदेखि जेठसम्म सुकेर त्यहाँका सबैजसो जलाशय नभएका 'रन्-अफ-रभिर' विद्युत्गृहहरूले क्षमताको एकतिहाइ विद्युत् मात्र पनि उत्पादन गर्न सक्दैनन्। जलाशययुक्त योजनाहरू बनाएर वषर्ाको पानी सञ्चित गरे हिउँदमा बढी विद्युत् उत्पादन गर्न सकिन्थ्यो र अहिले देखिएको उत्पादनको मौसमी असन्तुलन अन्त्य भई प्रणालीको व्यापक विस्तारमा पनि मद्दत हुन्थ्यो। तर, नेपालमा जस्तै त्यहाँ साना र मझौला जलाशययुक्त जलविद्युत् योजना बनाउन सक्ने साइटहरू कमै छन्। भएका पनि थिग्रेनीको समस्याले आर्थिक रूपले उपयुक्त नहुन सक्छन्। ठूला जलाशययुक्त आयोजनाहरूले भने उर्वरा खेत, जंगल र बस्तीहरू धेरै डुबानमा पार्ने भएकाले त्यसतर्फ भुटानीहरूको खासै चासो देखिएको छैन। चार हजार मेगावाटको जलाशययुक्त सुनखोस आयोजनाको अध्ययन पूरा भइसकेको छ र यसलाई अगाडि बढाउन भारत सरकारको प्रचुर दबाब भुटानले झेल्दै आइरहेको छ। तर, अनौपचारकि कुराकानीमा भुटानी अधिकारीहरूको प्रायः एउटै भाका सुनिन्छ कि उनीहरू नेपालीहरूजस्तो जोरी खोज्न सक्दैनन्। ज्यादै दबाब आएर थेग्नै नसकिने भयो भने मात्र यस्ता भीमकाय जलाशययुक्त आयोजना निर्माणमा लैजाने उनीहरूको सोच छ। तर, त्यो उनीहरूको अन्तिम प्राथमिकता भएको निष्कर्ष अधिकांशको मुखबाट बारम्बार सुन्न पाइयो, हालैको चारदिने थिम्पु बसाइमा।

जलाशययुक्त जलविद्युत् आयोजनाको समस्या एउटा कारखानाको जस्तो हो, जसले एउटा मात्र नभएर थरीथरीका सामानहरू उत्पादन गर्छ। त्यो कारखाना बनाउँदा खर्चिनु परेको लागत, बोक्नु परेको ऋणभार इत्यादि सबै एउटै सामानको भाउमा लादेको खण्डमा त्यो सामान बेचेर आउने लाभ कम मात्र होइन, प्रतिस्पर्धी पनि नहुन सक्छ। झन् अरू उत्पादित सामानहरू सित्तँैमा बाड्न थालेको खण्डमा यी सामान प्रयोग गर्ने फरक-फरक उपभोक्ताहरूबीच मनमुटाव र झगडासमेत हुनसक्छ। जलाशययुक्त आयोजनाले विद्युत्का अलावा सिँचाइ, बाढी नियन्त्रण, मत्स्यपालन, जलपरविहन, पर्यटनजस्ता लाभहरू दिन सक्छन्, जुन फरक समुदायहरूले फरक-फरक हिस्सा र मूल्यमा प्राप्त गर्छन्। नेपाल -र, भारत पनि)ले खासै महत्त्वको बहुउद्देश्यीय जलाशययुक्त आयोजना नबनाएको हुनाले यस्ता लाभहरू न्यायोचित ढंगले कसरी बाँडफाँट गर्ने भन्ने व्यावहारकि गृहकार्य गरेकै छैन र नीति निर्माण तह यसको अर्थराजनीतिक एवं सामाजिक र वातावरणीय पक्षबारे अनभिज्ञ छ। तर, चनाखो भुटानले त्यो बुझेको हुनाले त्यस्ता जलाशययुक्त आयोजनाहरूको कम्तीमा ५० प्रतिशत लाभ गैरविद्युतीय हुने भएकाले सोही अनुरूप भारतसँग कुराकानी अगाडि बढाएको छ। भुटानमा तराई नभएकाले जलाशयमा सञ्चित पानीले उपलब्ध गराएको अन्य लाभ भारतलाई मात्र हुनेछ, जुन ऊ नदीजोड योजनामार्फत दोहन गर्न चाहन्छ ताकि त्यो लाभ बंगलादेशतर्फ खेर नजाओस्।

भुटानले विगतमा अपनाएको विद्युत् निकासी गरी सलामी दस्तुर खाने नीति सुरुका वर्षहरूमा लाभप्रद भए तापनि अबका वर्षहरूमा त्यसले लाभभन्दा समस्या बढी जन्माउने देखिन्छ। नेपालका लागि आफ्नो स्वतन्त्र परराष्ट्र र सुरक्षा नीति नत्यागेसम्म त्यो बाटोबाटै होइन। स्रोत अर्थराजनीतिक हिसाबले हेर्ने हो भने भुटानी बाटो नवउपनिवेशी मोडल हो र यसलाई 'नयाँ नेपाल'ले अपनाउनु भनेको मुलुक स्वाधीन राखी त्यसको स्वावलम्बी विकास गर्न अक्षम छौँ भन्ने स्वीकार्नु हो। उत्पादन वृद्धि मात्र सफलताको मापदण्ड हुँदैन किनभने विकासको पथमा आफैँ वामे सर्ने स्वावलम्बी अर्थतन्त्रभन्दा परावलम्बी उपनिवेशी अझ भनौँ दास प्रणालीले बढी उत्पादन गर्न सक्छ। प्राकृतिक स्रोत दोहनको अर्थराजनीतिले भन्छ, सलामी दस्तुर लिने मोडलले जलविद्युत्को विकास गरेर एकछिनलाई सरकार र सरकारमा बस्नेहरू धनी त होलान्, अरब मुलुकका 'शेखडम'हरू जस्तो तर राष्ट्रिय क्षमता वृद्धि, जुन वास्तविक अर्थमा विकास हो, त्यो हुँदैन। नेपालमा मागजति विद्युत्को आपूर्ति नभए तापनि सन् १९७० को दशकदेखि साना र मझौला जलविद्युत्को विकासले भने यस क्षेत्रमा नेपालीहरूको क्षमता वृद्धि भएको छ। त्यो सर्वे, डिजाइन, निर्माण, उपकरण उत्पादनका कामहरू स-साना कारखाना र परामर्शदातृ निकायहरूमा विकसित भएको छ।

त्यसको ज्वलन्त प्रमाण भुटानका जलविद्युत्कै हस्तीहरू नै छन्, जो वर्षमा एक-दुईपटक चुपचाप काठमाडौँको बौद्धस्िथत भुटानी गुम्बामा दर्शन गर्न आउँछन्। यही दर्शनको निहुँमा बालाजु, हेटौँडा र बुटवलस्िथत नेपाली कारखानामा आफ्ना विद्युत् आयोजनाहरूको मर्मत र उपकरण आपूर्तिका लागि सिद्राको व्यापार पनि गर्छन्। थाहा भएकै कुरा हो, सर्वे, फाउन्डेसन र जिओटेक्निकल -भूप्राविधिक) इन्जिनियरङि्का मामिलामा नेपालले राम्रै विकास गरेको छ, सरकारी प्रोत्साहन नभएर पनि। भुटानी हाकिमहरूको सबैभन्दा ठूलो गुनासो थियो, भुटानी ठेकेदारहरू क्षमता वृद्धि गर्नुको सट्टा भुटानीकरणको सरकारी नीतिलाई भ्रष्टीकरण गर्दै केवल भारतीय ठेकेदारहरूका लागि विचौलियाको काम मात्र गर्छन्। नेपालमा जस्तै झोलामा खोलाको लाइसेन्स बोक्नेले आफूले नै योजना विकास गर्नुको सट्टा, लाइसेन्स बेचेर भाडा असुल्ने विकृत प्रवृत्ति त्यहाँ पनि नभएको होइन।

नेपालको राजनीतिक नेतृत्व वर्गको जलविद्युत् क्षेत्रले परीक्षा लिने समय अगाडि आएको छ। के नेपाललाई भुटानको जस्तो नवउपनिवेशी बाटोमा डोर्‍याउने र हट्टाकट्टा दासले तीनछाक राम्रो खान पाएकामा गर्व गर्ने ? वा स्वावलम्बी विकासको बाटो अपनाउने, जुन बाटोमा जलविद्युत्को विकास नेपालीले नेपालका लागि गर्नेछन् ? सस्तो र भरपर्दो बजारमा प्रतिस्पर्धी बिजुली नेपाली सीप, श्रम र पुँजीले विकास गरेको खण्डमा कोरा मेगावाट निर्यातबाट भाडा खाने मात्र नभई त्यो प्रयोग गर्ने नेपाली उद्यमी, निर्माण गर्ने व्यवसायी, दिगो रूपमा सञ्चालन गर्ने संघसंस्था, लगानी गर्ने बैंक सबैको समग्र उन्नतिका साथै मुलुकमा राष्ट्रिय पुँजीको विकास हुने थियो। त्यसको परीक्षा अब सदनमा विचाराधीन नयाँ विद्युत् ऐनले गर्नेछ। तर, के उपनिवेशीकरण निम्त्याउने भुटानी मोडलको मस्यौदा पास गर्ने कि त्यसमा परेका १ सय ४२ वटा संशोधनलाई मनन गरेर नेपाललाई स्वावलम्बी जलविद्युत् विकासको बाटोमा लैजाने ? धेरै दिन प्रतीक्षा गर्नु नपर्ला।


source:

http://www.ekantipur.com/nepal/article/?id=1250


Sunday, June 27, 2010

गाई पालेर करोडपति

गाई पालेर करोडपति

    कृष्ण आचार्य

    च्याङ्ली (गोरखा), अषाढ १३ - १५ वर्षअघि ऋण लिएर गाईपालन थालेका यहाँका एक किसान अहिले करोडपति बनेका छन् । त्यतिखेर एक लाख ९० हजार रुपैयाँ ऋण लिएर गाईपालन थालेका च्याङ्ली-८ का राजेन्द्र पन्तले यो सफलता हासिल गरेका हुन् ।

    कृषि विकास बैंकबाट ऋण लिएर सातवटा गाईबाट सुरु गरेको उनको व्यवसायमा अहिले एक सय ३५ गाई छन् । गोठ मात्रै नौवटा रहेको उनले बताए । होलेस्टिन फिजियन नामका गाईबाट व्यवसाय थालेका उनको गोठमा अहिले विश्वप्रसिद्व गाईका जात देख्न सकिन्छ । हलिस्टपान, जर्सी र टेरेन्टेजलगायत जातका गाई आफ्नो गोठमा रहेका उनले बताए ।

    'यो व्यवसायमा ऋण दिन त्यतिबेला कसैले नपत्याएपछि बैंकबाट लिएर सुरु गरेको थिएँ,' ५४ वर्षीय पन्तले कान्तिपुरसँग भने, 'अहिले गोठमा भएका सबै गाई बिक्री गर्ने हो भने करोडभन्दा बढी आउँछ ।' बैंकबाट लिएको ऋणबाट व्यवसाय सुरु गरेको दुई वर्षमै चुक्ता गरिसकेको उनले बताए । उनी अहिले दैनिक हजारदेखि १ हजार २ सय लिटर दूध बिक्री गर्ने गरेका

    छन् । उनले लिटरको २९ रुपैयाँका दरले दूध बिक्री गर्ने गरेका छन् । उनले ५२ सालबाट व्यावसायिक रूपमा गाईपालन सुरु गरेका थिए । 'व्यवसायमा दैनिक हुने खर्च कटाएर मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म बचत गर्ने गरेको छु,' उनले भने । उनले भएको आम्दानीसमेत गाई र तिनको आहारामा लगानी गर्ने गरेको बताए । देशका विभिन्न सहरमा दूध वितरण गरिसकेका उनले अहिले चितवनको सुजल कम्पनीलाई मात्र दूध दिने गरेका छन् ।

    'यो व्यवसाय सुरु गर्दा धेरैले बौलायो भन्थे,' पन्तले भने, 'अहिले तिनीहरूको मुख थुनिएको छ ।' पन्तका बाबु जिल्लाका तत्कालीन बडाहाकिम थिए । परिवार र आफन्तले अरू काम गर्नुपर्छ भन्दाभन्दै उनी आफ्नै सुरमा गाईपालन पेसामा लागेका हुन् । मुलुककै सफल कृषक भएबापत् उनलाई एक दर्जनभन्दा बढी संघसंस्थाले सम्मान गरिसकेका छन् । सरकारले यस वर्षको समाजसेवा पदकसमेत उनलाई दिएको छ ।

    सरकारले ०३२ सालमा घोषणा गरेको कृषि वर्षबाट प्रेरित भएर उनी कृषि पेसामा लागेका हुन् । ०३२ सालमै राजनीतिशास्त्र र इतिहास विषय लिएर स्नातक गरेका पन्तले राजधानीबाट गाउँ फर्किएर कृषि पेसा अँगालेका थिए । उनको परिवारका सदस्य भने काठमाडौं बस्दै आएका थिए । त्यसयता उनले फलफूलखेती, भंैसीपालनलगायत कृषि पेसा अपनाए । गाईका विषयमा लामो समय अनुसन्धान गरेका पन्तले गाईपालनबाट राम्रो मुनाफा आर्जन गर्न थालेपछि एक वर्षभित्रै विदेशबाट थप १२ वटा गाई किनेर ल्याएका थिए । तीनबाट उनले अहिले १२ दर्जनभन्दा बढी गाई बनाइसकेका छन् । पन्तको गोठमा भएका एउटा गाईले आठदेखि १५ लिटरसम्म दूध दिने गरेका छन् । उनको गोठमा सात पुस्तासम्मका गाई छन् । उनले आफ्नो १२ जनालाई स्थायी रूपमा रोजगारी दिएका छन् । दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरू २० जनासम्म हुने गरेको पन्तले बताए । उनले भने, 'करिब एक सय रोपनीमा गाईलाई खुवाउने घाँससमेत आफैंले लगाएको छु ।'

    source:

    http://www.ekantipur.com/np/2067/3/13/full-news/313744/



    Saturday, June 26, 2010

    Rupchandra bista

    मरेपछि मात्रै जो महान् भए

    Font size: Decrease font Enlarge font
    image

    ०४६ सालदेखि रूपचन्द्र विष्टको अन्तिम समयसम्म सँगै रहेका उनका सहयोगी र चेस पार्टनर समय बज्राचार्यका केही स्मृति :

    राजालाई गोली ठोक्नुपर्छ
    ०३६ सालमा जनमत संग्रह घोषणापछि एक दिन काठमाडौंको ओमबहालमा एउटा सभा थियो । म ओमबहालकै हिमालय प्रेसमा काम गर्थें । त्यसदिन म पनि सभामा गएको थिएँ । गणेशमान, बिपीलगायत ठूला नेता आएका थिए । नाम सुनेका र चिनेका नेताका भाषण ठीक-ठीकै लाग्यो । तर, अन्तिमतिर कहिल्यै नचिनिएका र नसुनिएका नेता आएर भाषण गरे । उनले भूमिका नबाँधी भने, 'मभन्दा अघिकाको कुरा पनि सुन्नुभयो, पछिकाको पनि सुन्नुहुनेछ । म यति मात्रै भन्छु- यो देशमा दुईवटा राजा छन् । एउटा राजालाई गोली हानी मार्नुपर्छ, अनि मात्रै जनमुखी शासन आउँछ ।' यति भन्नेबित्तिकै प्रहरीले हस्तक्षेप गरिहाल्यो । भागाभाग भयो । म पनि त्यहाँबाट भागिहालेँ । के-के भयो, पत्तै पाइनँ । धेरै वर्षपछि मात्रै थाहा पाएँ- रूपचन्द्र विष्ट भन्ने मान्छे तिनै रहेछन् ।


    थाहा बूढा
    ०४६ सालको जनआन्दोलमा लागेको भन्दै मलाई प्रेसबाट निकालियो । त्यसपछि मैले काठमाडौंको सोल्टीमोडमा 'स्वस्तिक स्टेसनरी' खोलँे । आन्दोलन सफल भएको केही समयपछि एकदिनको कुरा हो- ठूलो पानी परेको थियो । म पसलको सटर आधा मात्रै खोलेर बसिरहेको थिएँ । एकजना मान्छे पानीले निथ्रुक्क भिजेर मेरो पसल अगाडि आए । मैले उनलाई बस्न मुढा र पानी पुछ्न रुमाल दिएँ । मुढा र रुमाल दिएपछि उनले मतिर फर्किएर भने, 'पहिलो भेटमै यति धेरै प्रेम ?' 'होइन, साह्रै भिज्नुभा'रहेछ नि !' मैले भनेँ । उनले पानी पुछेर मलाई भने, 'तैंले मलाई चिनेको छस् ? मेरो बारेमा तँलाई थाहा छ ?' मैले थाहा छैन भनँे । एकाएक तँ-तँ र म-म गरेर कुरा गर्छ बा, म त अचम्ममा परँे । चिया दिएँ । उनले चिया पिउँदै भने, 'तेरो घर कता हो ? 'साँखुमा' मैले भनेँ ।
    पानी रोकिएपछि 'मेरो घर ऊ त्यहाँ छ, कहिलेकाहीँ गफ गर्न आइज,' भनेर उनी हिँडे । उनको घर मेरो पसलपछाडिपट्ट िनजिकै रहेछ । नचिनेका मान्छेले यसरी कुरा गर्दा म विष्मित थिएँ । म त साह्रै झगडालु मान्छे थिएँ । कसैले ठूलो स्वर गर्‍यो भने टिपेर फालिदिन्थेँ । तर, त्यसदिन उनले त्यस्तो तँ-तँ र म-म गर्दा पनि रिस उठेन ।
    भोलिपल्ट पनि उनी मेरो पसलमा आए र एउटा खाली कागजमा 'थाहा' लेखेर गए । किन लेखे ? त्यति वास्ता गरिएन । तर, हरेक दिन आउँदै खाली कागज देख्नेबित्तिकै 'थाहा' लेख्दै जान थाले, उनी । मकवानपुरनिवासीे अकुर रायमाझी भन्ने मेरो पसलमा स्टेसनरीका सामान लिएर आउँथे । मैले उनलाई यो 'थाहा प्रकरण'बारे बताएँ । उनले 'सत्यको परिचय, भ्रमको विपरीत- थाहा' भनेर लेखिदिनू भनेर सिकाए । मैले अर्को दिन त्यसै गरेँ । 'तँैले यो मन्त्र कसरी थाहा पाइस् ?' उनले सोधे । 'मैले यस्तो-यस्तो मान्छेबाट पत्ता लगाएँ' भनेँ । अनि मैले उनलाई सोधेँ, 'थाहा भनेको के हो ? उनले भने, 'यत्रो लेखेको छ । यति पनि बुझनिस् भने तेरो टाउको केका लागि ?'
    त्यसपछि त उनी प्रत्येक दिन मेरो पसलमा आउँथे । हामी दुईजना चेस खेल्थ्यौँ । उनी चेसमा अत्यन्त सिपालु थिए । कहिल्यै नहार्ने । एकदिन मैले हराइदिएपछि उनले भने, 'तैँले मलाई बुद्धिले हराएको होइन । जथाभावी चालेर जितिसि् । यसरी चेस खेलिन्न, बाबु !' मलाई गर्नुसम्म गाली गरे ।
    उनी मेरो चेस पार्टनर थिए । तर, मैले उनलाई रूपचन्द्र विष्ट भनेर चिनेकै थिइनँ । 'थाहा बूढा' भनेर मात्रै चिनेको थिएँ । एकदिन हेटौंडाबाट धर्मराज थला भन्ने मान्छे मेरो पसलमा रूपचन्द्र विष्ट सोध्दै आइपुगे । मैले त 'चिन्दिनँ' भनेँ । उनलाई भेट्न हेटौंडाबाट मेरो पसलको लोकेसन लिएर आएका रहेछन् । उनले 'थाहा' लेख्ने बूढा भनेपछि मैले उनको घर देखाइदिएँ । त्यसदिन मात्रै मैले मेरो चेस पार्टनर त 'रूपचन्द्र विष्ट' रहेछन् भनेर थाहा पाएँ । पछि, अरूबाट उनीबारे धेरै कुरा थाहा पाएँ ।

    ए भाते, मीठो भनेको के हो ?
    उनको मन पर्ने नाम 'रुदाने' भन्ने थाहा पाएपछि मैले उनलाई 'रुदाने' भनेर सम्बोधन गर्ने थालँे । उनी मलाई सधँै 'तँ' र भाते भनेर सम्बोधन गर्थे । जहिल्यै पनि वि्रदोही र अनौठा काम गरिरहन्थे । अरूलाई रिस उठाउने तरिकाले के-के गरिरहन्थे । कोही चिनेको मान्छे बाटोमा हिँडिरहेको छ भने केही नभनी झ्याम्मै हिर्काइदिन्थे । कुटाइ खानेले प्रतिकार गर्न आयो भने तर्क/वितर्क गर्थे र खुसी हुन्थे । प्रतिकार नगरी कुटाइ खाएर त्यत्तिकै जानेलाई चाहिँ 'लाछी' भन्थे । एकदिन सोल्टीमोडमा घर भएको मान्छे हातमा रक्सीको बोतल बोकेर घरतिर जाँदै थियो । पछाडिबाट बोतल खोसेर रूपचन्द्रले ठाडो घाँटी लाएर आधा बोतल रक्सी खाइदिए । मैले 'के गरेको यस्तो ? यस्तो गर्नुहुन्न,' भनँे । उनले फिस्स हाँसेर भने, 'तँ भातेलाई गर्नुहुन्छ कि हँुदैन, के थाहा ?'
    सोल्टीमोडमा उनको घर त थियो, तर ढलान मात्रै गरेर छाडेको । उनी एक्लै थिए । एकदिन कुखुराको मासु ल्याएका रहेछन् । मलाई पनि घर जाऊँ भने । घरमा भाँडाकँुडा असरल्ल थिए । मलाई भात पकाउन अह्राए, तर स्टोभमा मट्टीतेल थिएन । 'स्टोभमा, मट्टीतेल छैन, रुदाने ?' भन्दा उनले भने, 'तेरो सरकारले सबै मट्टीतेल खान्छ, अनि कसरी मेरो घरमा हुन्छ ?' घरअगाडि भीमसेनपातीको ठूलो रूख थियो । त्यसकै हाँगा काटेर दाउरा बनाएका रहेछन् । त्यही दाउरा जोरेर भात पकाउन थालेँ । पानीमा मासु, दाल, चामल, नुन सबै हालेर पकाउन लगाए । 'यसरी पकाउँदा मीठो हँुदैन' मात्रै के भनेको थिएँ उनी जंगिहाले, 'ए भाते, मीठो भनेको के हो ? जसरी भनेँ त्यसरी पका ।'


    मलाई चिनेकाहरूले चिनेनन्
    ०४८ सालको आमनिर्वाचनमा चुनाव लड्न गए । बूढा, चुनावमा हारेर आए । त्यसपछि उनी निकै निराश भए । जीवनदेखि प|mस्ट्रेटेडजस्ता । उनी मलाई भन्ने गर्थे, 'हेर् भाते, यो देशमा मजस्तै देशलाई माया गर्ने मान्छे पनि जन्मिए र चोरफटाहा पनि जन्मिए । तर, अब चोरफटाहाको मात्रै राज चल्न थाल्यो । मेरो तपस्या भंग गराए । मैले चिनेकाहरूले मलाई चिनेनन् र चिन्छु भन्नेहरूले पनि माया गरेनन् । जतिसक्दो चाँडो म यो जीवन त्याग्न चाहन्छु ।'
    रक्सी असाध्यै पिउन थालेका थिए । सोल्टीमोडपारिको चुन्नी पाखामा एउटा भट्टी थियो । त्यहाँ रक्सी खाएर केटाकेटीसँग गुच्चा खेल्दै दिनभरि बस्थे । 'तपाईंजस्तो मान्छेले यस्तो गर्नुहुन्न,' भनेर सम्झाउँदा 'अब के गर्ने त ?' भन्थे । कुनै वेला त थाम्नै नसक्नेगरी पिउँथे । मैले उनलाई धेरैपटक बोकेर घरसम्म पुर्‍याइदिएको थिएँ ।
    म उनलाई 'मलाई हेटौंडा नलाने ?' भनेर कचकच गर्थें । उनको एउटा रातो बेन्ज कार थियो । एकदिन कार लिएर मेरो पसलअगाडि आएर 'ए भाते, हेटांैडा जान्छस् ?' भनेर सोधे । मैले 'जान्छ'ु भनँे । त्यत्ति नै खेर म हेटौंडा जान तयार भएँ । उनले 'तेरो बूढीलाई सोधिस् ?' भने । मैलेे 'छैन' भनेपछि उनले भने, 'भाते, तुरुन्तै सोध्, नभए तँलाई म लग्दिनँ ।' त्यसदिन मोरी माइत गएकी थिई, लगनखेलमा । करिब आधा घन्टाजति फोन गरेँ, तर ससुरालीको फोन उठेन । 'तँ अब जान पाउँदैनस्, तँलाई तेरै घरमा काम आइपर्छ,' भनेर उनी हुइँकिए । उनी गएको करिब १० मिनेटपछि श्रीमतीले उनका बालाई बिरामी भएर वीर अस्पताल लगिएकाले तुरुन्त अस्पताल आउन फोन गरिन् ।
    चार दिनपछि रूपचन्द्र हेटौंडाबाट फर्के । आउनेबित्तिकै मलाई 'बिरामी कस्तो छ ?' भनेर सोधे । मैले 'को बिरामी ? कसरी थाहा पाउनुभयो ?' भनेर सोध्दा उनले 'तैँले थाहा दिएर थाहा पाएको नि !' भने । मलाई अचम्म लाग्यो ।

    कल्पनादास समय
    एकदिन पसलमा बसिरहेको थिएँ । रूपचन्द्र हतार-हतार मेरो पसलमा आए । 'ए भाते, मेरो घरमा बाउ बन्दे भन्दै एउटा केटो आयो । म के गरूँ ?' म अचम्ममा परेँ । बाउ बन्देऊ भन्दै को आयो होला भनेको त खासमा त्यो केटो उनकै छोरा रहेछन् । त्यसको निकै लामो अन्तरकथा रहेछ । मलाई सबै सुनाए । त्यसपछि मैले राख्दा राम्रै हुन्छ भन्ने सल्लाह दिएँ । हामी दुवैजना उनको घरमा गयौँ । यसो हेरेको छोरा त काटीकुटी रूपचन्द्र विष्टजस्तै ! मैले 'तपाईंजस्तै रहेछन् तपाईंको छोरा । तपाईं पनि युवावस्थामा यस्तै हुनुहुन्थ्यो होला' भनेँ । त्यसपछि, उनले भने, 'कति न मलाई उहिलेदेखि चिन्याजस्तो गर्छस्, भाते । म बाल्यकालमा या युवावस्थामा कस्तो थिएँ ? तँलाई के थाहा ?' मैले 'तपाइर्ं युवावस्थामा यस्तै हुनुहुन्थ्यो होला भनेर कल्पना गरेर भनेको नि !' भन्दा उनले मेरो नामै 'कल्पनादास समय' राखिदिए । कल्पनाको दास भएकाले मेरो नाम कल्पनादास समय राखेको रे π 'हामी नेपाली कामचाहिँ गर्दैनौँ, कल्पना मात्रै गरेर बस्छौँ । हामी कल्पनाको दास हौँ,' उनी भन्ने गर्थे । छोरा आएपछि उनमा केही उत्साह पलाएको थियो । 'मेरो पनि कोही छ' भन्ने बोधले उनी खुसी देखिन्थे ।
    एक वर्षजति छोरासँग राम्ररी बसे । तर, पछि छोरासँग झगडा भयो, उनको । झगडाको कारणचाहिँ छोराले व्यापार गर्छु भनेर दुई/तीन लाख रुपैयाँ मागेका थिए रे ! तर, रूपचन्द्रले 'कस्तो व्यापार ? कहाँ गर्ने ? पूरै योजना बनाएर पेस गर्नू, अनि मात्रै पैसा खोजिदिन्छु' भनेछन् । तर, छोराले योजना बनाएर पेस गर्न सकेनन् । पैसा नदिएपछि छोराले अंश माग्न थाले । त्यसपछि उनले छोरालाई घरबाटै निकालिदिए । अरूको उक्साहटमा छोरा बाबुविरुद्ध लागेको कुरा सुनिन्थ्यो ।


    एक अन्तर्वार्ताको रु. दुई हजार शुल्क
    ०५१ को चुनाव लड्न उनी फेरि मकवानपुर गए । यसपटक पनि उनी पराजित भए । मैले चुनावमा पराजित भएर आएपछि हेटौंडा किन नलगेको भनेर सोध्दा उनले भने, 'मकवानपुरमा केही घीनलाग्दा अपराधी बस्छन् । तँ भाते त्यहाँ गइस् भने त्यहीँ हराउँछस् ।' खै के भनेको हो, मैले कुरै बुझनिँ ।
    दोस्रोपल्ट पनि चुनाव हारेपछि उनी झन् निराश भए । उनको राजनीतिक क्रियाशीलतामा शिथिलता आयो । रक्सी झनै पिउन सुरु गरे । पैसा हुँदा उनी बाहिरै खाना खान्थे । नहुँदाचाहिँ मेरोमा आउँथे । 'आजचाहिँ तेरैमा बस्न आउँछु
    है !' भन्थे । बेलुका हामी दुईजना रक्सी खान्थ्यौँ । बढी नै निराश भएर हिँड्न थालेपछि 'मैले यस्तो गर्नुहुँदैन' भनेर एकोहोरो किचकिच गर्न थालँे । अरू साथीले पनि पुनः क्रियाशील हुन अनुरोध गरेपछि उनले लेख्न सुरु गरे ।
    बनिनसकेको घर भए पनि पाँचवटै कोठामा उनले ओछ्यान लगाएका थिए । प्रत्येक दिन कोठा फेरिफेरी सुत्थे । मैले उनलाई किन यस्तो गरेको भनेर सोध्दा उनले भने, 'तँ भातेलाई केही पनि थाहा छैन । तिमीहरूले नै सुतिसकेको बाघलाई फेरि उठ्-उठ् भन्यौ र लेख्न सुरु गरेँ । बाघ उठेपछि सिकारीहरू बाघ मार्न आउन सक्छन् । राति सिकारी आउँछ कि भन्ने डरले कोठा परिवर्तन गर्दै सुतेको ।' उनी दिनभरि कता जान्थे ? कोसँग, कस्तो कुरा हुन्थ्यो, त्यो त मलाई थाहा भएन । तर, उनलाई आफूलाई कसैले मार्छ कि भन्ने त्रास थियो । मलाई बारम्बार भन्थे, 'भाते, मलाई जोसुकैलेे पनि मार्न सक्छ ।'
    लेखनमा सक्रिय भएपछि पत्रिकाहरूले उनकोबारे चासो लिन थाले । एकदिन 'घटना र विचार' साप्ताहिकबाट अन्तर्वार्ताका लागि फोन आएछ । मलाई आएर उनले भने, 'भाते, पत्रकारहरू मेरो अन्तर्वार्ता लिन आउने भएका छन् । कुरा बंग्याएर छाप्न सक्छन् । त्यसो गरे भने मुद्दा हाल्नुपर्छ । त्यसवेला पैसा चाहिन्छ, फेरि अन्तर्वार्ताको पारिश्रमिक पनि चाहियो । यसका लागि धरौटी माग्नुपर्‍यो । कतिजति माग्नु भन् त ?' म धेरै नपढेको, नबुझेको मान्छे ! यस्तो विषयमा केही ज्ञान थिएन । पाँच हजार धरौटी माग्नुपर्छ भनिदिएँ । उनले 'त्यो त धेरै भयो, दुई हजारजति मागौँ' भने ।
    भोलिपल्ट घटना र विचार पत्रिकाबाट रूपचन्द्रलाई खोज्दै देवप्रकास त्रिपाठी र अर्का एकजना पत्रकार मेरो पसलमा आए । मैलेे घरमा पुर्‍याइदिएँ । अन्तर्वार्ता दिनुअघि रूपचन्द्रले उनीहरूलाई भने, 'मेरो अन्तर्वार्ताका लागि मलाई दुई हजार चाहिन्छ । एक हजार मेरो पारिश्रमिक, एक हजारचाहिँ तिमीहरूले गल्ती छाप्यौ भने तिमीहरूविरुद्ध मुद्दा लड्ने खर्च । मैले जे भनेको छु, त्यही छाप्यौ भने पैसा फिर्ता पाउँछौ ।' रूपचन्द्रले यसो भनेपछि उनीहरू स्तब्ध भए । अन्ततः उनीहरू पैसा दिन सहमत भए र, अन्तर्वार्ता लिएर गए । पछि, 'पत्रिकाले जस्ताको तस्तै छाप्यो, सबै पैसा फिर्ता दिएँ' भन्दै थिए, रूपचन्द्र ।


    विचार बाँड्नू, भोट नमाग्नू
    ०५६ मा फेरि चुनाव भयो । उनले फेरि चुनाव लड्न जान्छु भने । मैले काठमाडौंबाटै चुनाव लड्न धेरै आग्रह गरेँ । उनले मानेनन् । तर, चुनाव प्रचार-प्रसारको क्रममा बिरामी भएछन् र फर्किएर काठमाडौं आए । त्यसवेला एमालेका अध्यक्ष मनमोहन अधिकारीको निधन भएर काठमाडौं क्षेत्र नं. १को चुनाव स्थगित भएको थियो । मैले 'तपाईंको विचार जनतासामु पुर्‍याउन पनि उठ्नुपर्छ' भन्दा उनले भने, 'अब मेरो विचार किन पुर्‍याउनु ? नचिनेकाले मलाई चिनेजस्तो गर्छन्, चिनेकाले नचिनेजस्तो । तँ, भातेलाई केही पनि थाहै छैन । तँजस्ता एकजना कुदेर केही पनि हुन्न ।'
    पछि साथीहरूसँग सल्लाह गरेछन् । काठमाडौंबाट उठ्न सहमत भए । मेरी श्रीमतीलाई उनी मोटी भन्थे । मेरी श्रीमतीलाई भनेछन्, 'मोटी, तेरो पोइले ज्यादै जिद्दी गर्‍यो । त्यही भातेका लागि चुनाव लड्दै छु ।'
    रूपचन्द्र विष्ट, नवीन विष्ट र म तीनजना भएर उनको उम्मेदवारी दर्ता गर्न गयौँ । अरू पार्टीका त नाराबाजीसहित हुल बनाएर आएका थिए । त्यहाँ उम्मेदवारको फोटो चाहिनेरहेछ । हामीसँग थिएन । नेगेटिभबाट हतार-हतार बागबजार गएर मैले फोटो धुलाएर ल्याएँ । नोमिनेसन दर्ता गर्ने दिन धेरै पत्रकारले उनीसँग प्रतिक्रिया लिन खोजे, तर उनले केही पनि बोलेनन् ।
    रूपचन्द्र र मैले मेरो पसलनजिकै एउटा गोलघर बनाएका थियौँ । त्यहाँ बसेर चेस खेल्नेलाई एक कप चिया दिन्थ्यौँ । त्यसबापत दस रुपैयाँ लिने गथ्र्याैं । त्यही गोलघरमा बसेर हामीले रातभरि पर्चा बनायौँ । पर्चा सबै उनले नै लेखे । नवीन विष्टको प्रेस थियो । त्यहाँबाट पर्चा निकाल्यौँ । नवीन, रणसंग्राम, मुक्तिसंग्राम गरी हामी ६ जना उनको प्रचार-प्रसारमा थियाँै । हामीलाई चुनावी ज्ञान शून्य थियो । तैपनि, प्रत्येक दिन हामी प्रचारमा गइरहेका थियौँ । एकदिन रूपचन्द्र प्रचारसामग्री राखेको ठाउँमा गएछन् । प्रचारसामग्री थुपि्रएर बसेको देेखेपछि मसँग रिसाएर भने, 'भाते, यो मलाई पोल्न राखेको !' त्यसदिन त मलाई यति धेरै हकारे कि म ह्वाँ-ह्वाँ रोएँ ।
    उनी हामीलाई 'कोणसभा गरेर आउनू' भन्थे । तर, हामी प्रचारमा लागेका ६ जनालाई बोल्नै आउँदैनथ्यो । अनि केको कोणसभा ?
    प्रचारसामग्रीमा उनको फोटो थिएन । एकदिन हामीलाई मान्छेहरूले तिमीहरूको नेताको फोटो खोइ ? भनेर सोधे । मैले बेलुका आएर उनलाई फोटो टाँस्नुपर्‍यो भनेँ । उनले भने, 'मेरो फोटो हेरेर भोट दिने होइन, मेरो विचार हेरेर दिने हो । मेरो विचारसँग सहमत नभई कसैले मलाई भोट दिए भने त्यो पनि धाँधली नै हो ।' विचार मात्रै बाँड्नू, भोट नमाग्नू भन्थे उनी ।
    प्रचारका क्रममा हामी नांग्लेभीर पुगेको थियौँ । त्यहाँ पुग्दा त अर्काे पार्टीका कार्यकर्ताले रूपचन्द्र विष्ट मर्‍यो भनेर माइकबाट फुकिरहेका रहेछन् । उनीहरूसँग हाम्रो झन्डै झडप भएको ! यो कुरा रूपचन्द्रलाई मुक्तिले सुनाइदिए । त्यसपछि रूपचन्द्रले हेटौंडा फोन गरेर रामनारायण बिडारी, बलराम बलहरूलाई बोलाए ।
    अर्को दिन दिउँसो म चुनाव प्रचारबाट फर्केपछि थाकेर बसिरहेको थिएँ । हेटौंडाबाट एउटा एम्बुलेन्स आएर मेरो पसलअगाडि रोकियो । एम्बुलेन्सबाट दुईजना निस्किएर र भने, 'रुदाने मर्‍यो अरे, कहाँ छ ? हामी त लिन आएको ।' म त अचम्ममा परेँ । रिस पनि उठ्यो । मैले दुवैजनाको कानमा समाएर रुदाने बसेको ठाउँमा लगेर देखाइदिएँ । रुदाने बसेर लेखिरहेका थिए । उनलाई देखेपछि ती दुवैजना जिब्रो टोक्दै भागे । वास्तवमा त्यो एमालेहरूले रुदाने मरेको अफवाह फैलाएका रहेछन् ।
    फोन गरेको तेस्रो दिन होला, हेटौंडाबाट रामनारायण बिडारी, बलराम बलहरू काठमाडौं आए । रूपचन्द्रले उनीहरूसँग मेरो चिनजान गराए । रामनारायण बिडारीलाई चाहिँ 'यो मेरो हेटौंडाको टेपरेकर्डर' भनेर परिचय गराए । एमालेहरूले अफवाह फैलाएपछि हामीले रूपचन्द्रलाई सबै क्षेत्रमा घुमायौँ ।
    चुनावको दिन साँखुको भाग्यदोय निमाविमा एजेन्ट बसेँ । मतदान गणना भएको ठाउँमा नवीन विष्टलाई पठायौँ । चुनावको दिन राति एक बजे बसेर छलफल गर्दा रूपचन्द्रले मलाई देखाउँदै भने, 'एक भोट त यो भातेबाट स्योर छ । बाँकीचाहिँ एउटा गाविसबाट एकजनाले दियो भने ३२ होला, दुई/दुईजनाले दिए भने ६४ होला । त्योभन्दा बढी भोट आउँदैन । भोट किनबेच हुन्छ, हामीले किनेका छैनौँ ।' नभन्दै उनले जम्मा ८१ भोट पाए ।


    पर्चा बक्सिस
    चुनाव सकिएको केही दिनपछि एक साँझ उनी र म मेरो कोठामा बसेर रक्सी खाँदै गफ गरिरहेका थियौँ । मैले 'अबचाहिँ संगठन बनाउनुपर्छ' भनेँ । उनले झडंग रिसाएर भने, 'तँ भातेलाई जति भने पनि केही बुझनिस् । संगठन बनाउने होइन, आफँै बन्नुपर्छ । आफैँ बनेको संगठन मात्रै राम्रो हुन्छ । ल भैगो, तँ संगठन बना, म आएर सम्बोधन गरिदिउँला ।' यति भनेपछि उनी एकोहोरो हाँस्न थाले । किन हाँसेको भनेर सोध्दा उनले निराश भएर भने, 'तँ भाते संगठनको कुरा गर्छस्, अब म धेरै बाँच्दिनँ ! म बाटोमा मरेँ भने मलाई लगेर कसैलाई नभनी पोलिदिनू । धेरै मान्छेले थाहा पाए र मलामी आए भने उनीहरूले दुःख पाउँछन् । म बस्ने भनेको तेरो घर र अजय-अजय सुमार्गी)को घर हो । तिमीहरू दुवैले म मरेको थाहा पाउनेछौ । मेरो निधनपछि दुइटा कुरा नगर्नू । पहिलो, धेरै मान्छेलाई मेरो निधनको बारेमा थाहा नदिनू, अर्को मेरो लासमाथि फूल, सिन्दुर कसैलाई पनि चढाउन नदिनू, राजनीति गर्न नदिनू ।' बेलुका मलाई चुनावमा सहयोग गरेबापत बक्सिस भन्दै उनका सबै पर्चा स्टिच गरेर दिए । अझैसम्म त्यो मसँग सुरक्षित छ ।


    मरेपछि हाइ-हाई
    'रुदाने' वीर अस्पतालको बेडमा लडिरहेका थिएँ । के भयो ? भनेर सोधेँ । उनले 'एउटा काँक्रो खाएको थिएँ, पखाला लाग्यो' भने । उनले अस्पतालको क्याबिनमा बस्न अस्वीकार गरेका थिए । साधारण बेडमा बसेका थिए ।
    म उनीसँग अस्पतालमा बस्न थालँे । मलाई साह्रै दुःख लाग्छ- उनका त्यत्तिका आफन्त थिए, तर कोही पनि एकरात उनलाई कुर्न आएनन् । उनी असाध्यै कमजोर भएपछि मैले पत्रकारहरूलाई रूपचन्द्र विष्ट अन्तिम अवस्थामा छ भनेर लेखिदिनू भनेर धेरै अनुरोध गरँे । तर, मेरो कुरा कसैले सुनेनन् । मलाई त त्यसवेलादेखि नेपाली मिडियाको विश्वासै लाग्दैन । मलाई लाग्छ- त्यसवेला कुनै पत्रिकाले बेलैमा रुदानेको बारेमा लेखेको भए, उनको बाँच्ने सम्भावना धेरै थियो । मैले त्यसवेला वीर अस्पतालका डाक्टरहरूसँग पनि झगडा गरँे । म अझै पनि दाबीका साथ भन्छु- 'डाक्टरहरूको लापरबाहीले नै रूपचन्द्रको निधन भएको थियो ।'
    अघिल्लो दिन उनी अत्यन्तै सिकिस्त थिए । त्यही दिन नेपालको एक चर्चित दैनिक पत्रिकाले 'रूपचन्द्र विष्ट सिकिस्त, स्वास्थ्य लाभको कामना' भनेर लेखिदियो । तर, कस्तो दुःखद् संयोग ! भोलिपल्ट त्यो पत्रिका बजारमा आउनुअघि नै उनको निधन भइसकेको थियो ।
    रूपचन्द्र विष्ट बिरामी छ भनेर हेर्न आएकाहरूले उनको लास मात्रै हेर्न पाए । त्यस पत्रिकाले एक साताअघि मात्रै उनीबारे समाचार लेखिदिएको भए, रूपचन्द्र विष्टले सायद राम्रो उपचार पाउँथे ।
    उनको पार्थिव शरीरमा सबैले फूल र अबिर चढाउन खोजेका थिए । तर, मेलै कसैलाई पनि त्यसो गर्न दिइनँ । मानिसलाई दुःख पर्दा उसको साथ कोही हुँदैन, तर उसको मृत्युपछि भने फूल चढाउन हुलै आउँदारहेछन् । अहिले पनि रूपचन्द्रको नाम लिएर ठूला कुरा गर्नेहरू धेरै छन् । तर, रूपचन्द्र काठमाडौंका गल्लीमा दुःखले भौंतारिँदा तिनै मान्छेले बेवास्ता गरे । म त सोझो मान्छे, धेरै कुरा जान्दिनँ । बस् यत्ति जान्दछु कि मरेपछि मात्रै रूपचन्द्रलाई महान् मानियो ।

    rajesh.kulung@gmail.com


    source:

    http://www.nayapatrika.net/newsportal/middle_page/14692.html



    Search and Buy from amazon.com