Showing posts with label rupchandra bista. Show all posts
Showing posts with label rupchandra bista. Show all posts

Saturday, June 26, 2010

Rupchandra bista

मरेपछि मात्रै जो महान् भए

Font size: Decrease font Enlarge font
image

०४६ सालदेखि रूपचन्द्र विष्टको अन्तिम समयसम्म सँगै रहेका उनका सहयोगी र चेस पार्टनर समय बज्राचार्यका केही स्मृति :

राजालाई गोली ठोक्नुपर्छ
०३६ सालमा जनमत संग्रह घोषणापछि एक दिन काठमाडौंको ओमबहालमा एउटा सभा थियो । म ओमबहालकै हिमालय प्रेसमा काम गर्थें । त्यसदिन म पनि सभामा गएको थिएँ । गणेशमान, बिपीलगायत ठूला नेता आएका थिए । नाम सुनेका र चिनेका नेताका भाषण ठीक-ठीकै लाग्यो । तर, अन्तिमतिर कहिल्यै नचिनिएका र नसुनिएका नेता आएर भाषण गरे । उनले भूमिका नबाँधी भने, 'मभन्दा अघिकाको कुरा पनि सुन्नुभयो, पछिकाको पनि सुन्नुहुनेछ । म यति मात्रै भन्छु- यो देशमा दुईवटा राजा छन् । एउटा राजालाई गोली हानी मार्नुपर्छ, अनि मात्रै जनमुखी शासन आउँछ ।' यति भन्नेबित्तिकै प्रहरीले हस्तक्षेप गरिहाल्यो । भागाभाग भयो । म पनि त्यहाँबाट भागिहालेँ । के-के भयो, पत्तै पाइनँ । धेरै वर्षपछि मात्रै थाहा पाएँ- रूपचन्द्र विष्ट भन्ने मान्छे तिनै रहेछन् ।


थाहा बूढा
०४६ सालको जनआन्दोलमा लागेको भन्दै मलाई प्रेसबाट निकालियो । त्यसपछि मैले काठमाडौंको सोल्टीमोडमा 'स्वस्तिक स्टेसनरी' खोलँे । आन्दोलन सफल भएको केही समयपछि एकदिनको कुरा हो- ठूलो पानी परेको थियो । म पसलको सटर आधा मात्रै खोलेर बसिरहेको थिएँ । एकजना मान्छे पानीले निथ्रुक्क भिजेर मेरो पसल अगाडि आए । मैले उनलाई बस्न मुढा र पानी पुछ्न रुमाल दिएँ । मुढा र रुमाल दिएपछि उनले मतिर फर्किएर भने, 'पहिलो भेटमै यति धेरै प्रेम ?' 'होइन, साह्रै भिज्नुभा'रहेछ नि !' मैले भनेँ । उनले पानी पुछेर मलाई भने, 'तैंले मलाई चिनेको छस् ? मेरो बारेमा तँलाई थाहा छ ?' मैले थाहा छैन भनँे । एकाएक तँ-तँ र म-म गरेर कुरा गर्छ बा, म त अचम्ममा परँे । चिया दिएँ । उनले चिया पिउँदै भने, 'तेरो घर कता हो ? 'साँखुमा' मैले भनेँ ।
पानी रोकिएपछि 'मेरो घर ऊ त्यहाँ छ, कहिलेकाहीँ गफ गर्न आइज,' भनेर उनी हिँडे । उनको घर मेरो पसलपछाडिपट्ट िनजिकै रहेछ । नचिनेका मान्छेले यसरी कुरा गर्दा म विष्मित थिएँ । म त साह्रै झगडालु मान्छे थिएँ । कसैले ठूलो स्वर गर्‍यो भने टिपेर फालिदिन्थेँ । तर, त्यसदिन उनले त्यस्तो तँ-तँ र म-म गर्दा पनि रिस उठेन ।
भोलिपल्ट पनि उनी मेरो पसलमा आए र एउटा खाली कागजमा 'थाहा' लेखेर गए । किन लेखे ? त्यति वास्ता गरिएन । तर, हरेक दिन आउँदै खाली कागज देख्नेबित्तिकै 'थाहा' लेख्दै जान थाले, उनी । मकवानपुरनिवासीे अकुर रायमाझी भन्ने मेरो पसलमा स्टेसनरीका सामान लिएर आउँथे । मैले उनलाई यो 'थाहा प्रकरण'बारे बताएँ । उनले 'सत्यको परिचय, भ्रमको विपरीत- थाहा' भनेर लेखिदिनू भनेर सिकाए । मैले अर्को दिन त्यसै गरेँ । 'तँैले यो मन्त्र कसरी थाहा पाइस् ?' उनले सोधे । 'मैले यस्तो-यस्तो मान्छेबाट पत्ता लगाएँ' भनेँ । अनि मैले उनलाई सोधेँ, 'थाहा भनेको के हो ? उनले भने, 'यत्रो लेखेको छ । यति पनि बुझनिस् भने तेरो टाउको केका लागि ?'
त्यसपछि त उनी प्रत्येक दिन मेरो पसलमा आउँथे । हामी दुईजना चेस खेल्थ्यौँ । उनी चेसमा अत्यन्त सिपालु थिए । कहिल्यै नहार्ने । एकदिन मैले हराइदिएपछि उनले भने, 'तैँले मलाई बुद्धिले हराएको होइन । जथाभावी चालेर जितिसि् । यसरी चेस खेलिन्न, बाबु !' मलाई गर्नुसम्म गाली गरे ।
उनी मेरो चेस पार्टनर थिए । तर, मैले उनलाई रूपचन्द्र विष्ट भनेर चिनेकै थिइनँ । 'थाहा बूढा' भनेर मात्रै चिनेको थिएँ । एकदिन हेटौंडाबाट धर्मराज थला भन्ने मान्छे मेरो पसलमा रूपचन्द्र विष्ट सोध्दै आइपुगे । मैले त 'चिन्दिनँ' भनेँ । उनलाई भेट्न हेटौंडाबाट मेरो पसलको लोकेसन लिएर आएका रहेछन् । उनले 'थाहा' लेख्ने बूढा भनेपछि मैले उनको घर देखाइदिएँ । त्यसदिन मात्रै मैले मेरो चेस पार्टनर त 'रूपचन्द्र विष्ट' रहेछन् भनेर थाहा पाएँ । पछि, अरूबाट उनीबारे धेरै कुरा थाहा पाएँ ।

ए भाते, मीठो भनेको के हो ?
उनको मन पर्ने नाम 'रुदाने' भन्ने थाहा पाएपछि मैले उनलाई 'रुदाने' भनेर सम्बोधन गर्ने थालँे । उनी मलाई सधँै 'तँ' र भाते भनेर सम्बोधन गर्थे । जहिल्यै पनि वि्रदोही र अनौठा काम गरिरहन्थे । अरूलाई रिस उठाउने तरिकाले के-के गरिरहन्थे । कोही चिनेको मान्छे बाटोमा हिँडिरहेको छ भने केही नभनी झ्याम्मै हिर्काइदिन्थे । कुटाइ खानेले प्रतिकार गर्न आयो भने तर्क/वितर्क गर्थे र खुसी हुन्थे । प्रतिकार नगरी कुटाइ खाएर त्यत्तिकै जानेलाई चाहिँ 'लाछी' भन्थे । एकदिन सोल्टीमोडमा घर भएको मान्छे हातमा रक्सीको बोतल बोकेर घरतिर जाँदै थियो । पछाडिबाट बोतल खोसेर रूपचन्द्रले ठाडो घाँटी लाएर आधा बोतल रक्सी खाइदिए । मैले 'के गरेको यस्तो ? यस्तो गर्नुहुन्न,' भनँे । उनले फिस्स हाँसेर भने, 'तँ भातेलाई गर्नुहुन्छ कि हँुदैन, के थाहा ?'
सोल्टीमोडमा उनको घर त थियो, तर ढलान मात्रै गरेर छाडेको । उनी एक्लै थिए । एकदिन कुखुराको मासु ल्याएका रहेछन् । मलाई पनि घर जाऊँ भने । घरमा भाँडाकँुडा असरल्ल थिए । मलाई भात पकाउन अह्राए, तर स्टोभमा मट्टीतेल थिएन । 'स्टोभमा, मट्टीतेल छैन, रुदाने ?' भन्दा उनले भने, 'तेरो सरकारले सबै मट्टीतेल खान्छ, अनि कसरी मेरो घरमा हुन्छ ?' घरअगाडि भीमसेनपातीको ठूलो रूख थियो । त्यसकै हाँगा काटेर दाउरा बनाएका रहेछन् । त्यही दाउरा जोरेर भात पकाउन थालेँ । पानीमा मासु, दाल, चामल, नुन सबै हालेर पकाउन लगाए । 'यसरी पकाउँदा मीठो हँुदैन' मात्रै के भनेको थिएँ उनी जंगिहाले, 'ए भाते, मीठो भनेको के हो ? जसरी भनेँ त्यसरी पका ।'


मलाई चिनेकाहरूले चिनेनन्
०४८ सालको आमनिर्वाचनमा चुनाव लड्न गए । बूढा, चुनावमा हारेर आए । त्यसपछि उनी निकै निराश भए । जीवनदेखि प|mस्ट्रेटेडजस्ता । उनी मलाई भन्ने गर्थे, 'हेर् भाते, यो देशमा मजस्तै देशलाई माया गर्ने मान्छे पनि जन्मिए र चोरफटाहा पनि जन्मिए । तर, अब चोरफटाहाको मात्रै राज चल्न थाल्यो । मेरो तपस्या भंग गराए । मैले चिनेकाहरूले मलाई चिनेनन् र चिन्छु भन्नेहरूले पनि माया गरेनन् । जतिसक्दो चाँडो म यो जीवन त्याग्न चाहन्छु ।'
रक्सी असाध्यै पिउन थालेका थिए । सोल्टीमोडपारिको चुन्नी पाखामा एउटा भट्टी थियो । त्यहाँ रक्सी खाएर केटाकेटीसँग गुच्चा खेल्दै दिनभरि बस्थे । 'तपाईंजस्तो मान्छेले यस्तो गर्नुहुन्न,' भनेर सम्झाउँदा 'अब के गर्ने त ?' भन्थे । कुनै वेला त थाम्नै नसक्नेगरी पिउँथे । मैले उनलाई धेरैपटक बोकेर घरसम्म पुर्‍याइदिएको थिएँ ।
म उनलाई 'मलाई हेटौंडा नलाने ?' भनेर कचकच गर्थें । उनको एउटा रातो बेन्ज कार थियो । एकदिन कार लिएर मेरो पसलअगाडि आएर 'ए भाते, हेटांैडा जान्छस् ?' भनेर सोधे । मैले 'जान्छ'ु भनँे । त्यत्ति नै खेर म हेटौंडा जान तयार भएँ । उनले 'तेरो बूढीलाई सोधिस् ?' भने । मैलेे 'छैन' भनेपछि उनले भने, 'भाते, तुरुन्तै सोध्, नभए तँलाई म लग्दिनँ ।' त्यसदिन मोरी माइत गएकी थिई, लगनखेलमा । करिब आधा घन्टाजति फोन गरेँ, तर ससुरालीको फोन उठेन । 'तँ अब जान पाउँदैनस्, तँलाई तेरै घरमा काम आइपर्छ,' भनेर उनी हुइँकिए । उनी गएको करिब १० मिनेटपछि श्रीमतीले उनका बालाई बिरामी भएर वीर अस्पताल लगिएकाले तुरुन्त अस्पताल आउन फोन गरिन् ।
चार दिनपछि रूपचन्द्र हेटौंडाबाट फर्के । आउनेबित्तिकै मलाई 'बिरामी कस्तो छ ?' भनेर सोधे । मैले 'को बिरामी ? कसरी थाहा पाउनुभयो ?' भनेर सोध्दा उनले 'तैँले थाहा दिएर थाहा पाएको नि !' भने । मलाई अचम्म लाग्यो ।

कल्पनादास समय
एकदिन पसलमा बसिरहेको थिएँ । रूपचन्द्र हतार-हतार मेरो पसलमा आए । 'ए भाते, मेरो घरमा बाउ बन्दे भन्दै एउटा केटो आयो । म के गरूँ ?' म अचम्ममा परेँ । बाउ बन्देऊ भन्दै को आयो होला भनेको त खासमा त्यो केटो उनकै छोरा रहेछन् । त्यसको निकै लामो अन्तरकथा रहेछ । मलाई सबै सुनाए । त्यसपछि मैले राख्दा राम्रै हुन्छ भन्ने सल्लाह दिएँ । हामी दुवैजना उनको घरमा गयौँ । यसो हेरेको छोरा त काटीकुटी रूपचन्द्र विष्टजस्तै ! मैले 'तपाईंजस्तै रहेछन् तपाईंको छोरा । तपाईं पनि युवावस्थामा यस्तै हुनुहुन्थ्यो होला' भनेँ । त्यसपछि, उनले भने, 'कति न मलाई उहिलेदेखि चिन्याजस्तो गर्छस्, भाते । म बाल्यकालमा या युवावस्थामा कस्तो थिएँ ? तँलाई के थाहा ?' मैले 'तपाइर्ं युवावस्थामा यस्तै हुनुहुन्थ्यो होला भनेर कल्पना गरेर भनेको नि !' भन्दा उनले मेरो नामै 'कल्पनादास समय' राखिदिए । कल्पनाको दास भएकाले मेरो नाम कल्पनादास समय राखेको रे π 'हामी नेपाली कामचाहिँ गर्दैनौँ, कल्पना मात्रै गरेर बस्छौँ । हामी कल्पनाको दास हौँ,' उनी भन्ने गर्थे । छोरा आएपछि उनमा केही उत्साह पलाएको थियो । 'मेरो पनि कोही छ' भन्ने बोधले उनी खुसी देखिन्थे ।
एक वर्षजति छोरासँग राम्ररी बसे । तर, पछि छोरासँग झगडा भयो, उनको । झगडाको कारणचाहिँ छोराले व्यापार गर्छु भनेर दुई/तीन लाख रुपैयाँ मागेका थिए रे ! तर, रूपचन्द्रले 'कस्तो व्यापार ? कहाँ गर्ने ? पूरै योजना बनाएर पेस गर्नू, अनि मात्रै पैसा खोजिदिन्छु' भनेछन् । तर, छोराले योजना बनाएर पेस गर्न सकेनन् । पैसा नदिएपछि छोराले अंश माग्न थाले । त्यसपछि उनले छोरालाई घरबाटै निकालिदिए । अरूको उक्साहटमा छोरा बाबुविरुद्ध लागेको कुरा सुनिन्थ्यो ।


एक अन्तर्वार्ताको रु. दुई हजार शुल्क
०५१ को चुनाव लड्न उनी फेरि मकवानपुर गए । यसपटक पनि उनी पराजित भए । मैले चुनावमा पराजित भएर आएपछि हेटौंडा किन नलगेको भनेर सोध्दा उनले भने, 'मकवानपुरमा केही घीनलाग्दा अपराधी बस्छन् । तँ भाते त्यहाँ गइस् भने त्यहीँ हराउँछस् ।' खै के भनेको हो, मैले कुरै बुझनिँ ।
दोस्रोपल्ट पनि चुनाव हारेपछि उनी झन् निराश भए । उनको राजनीतिक क्रियाशीलतामा शिथिलता आयो । रक्सी झनै पिउन सुरु गरे । पैसा हुँदा उनी बाहिरै खाना खान्थे । नहुँदाचाहिँ मेरोमा आउँथे । 'आजचाहिँ तेरैमा बस्न आउँछु
है !' भन्थे । बेलुका हामी दुईजना रक्सी खान्थ्यौँ । बढी नै निराश भएर हिँड्न थालेपछि 'मैले यस्तो गर्नुहुँदैन' भनेर एकोहोरो किचकिच गर्न थालँे । अरू साथीले पनि पुनः क्रियाशील हुन अनुरोध गरेपछि उनले लेख्न सुरु गरे ।
बनिनसकेको घर भए पनि पाँचवटै कोठामा उनले ओछ्यान लगाएका थिए । प्रत्येक दिन कोठा फेरिफेरी सुत्थे । मैले उनलाई किन यस्तो गरेको भनेर सोध्दा उनले भने, 'तँ भातेलाई केही पनि थाहा छैन । तिमीहरूले नै सुतिसकेको बाघलाई फेरि उठ्-उठ् भन्यौ र लेख्न सुरु गरेँ । बाघ उठेपछि सिकारीहरू बाघ मार्न आउन सक्छन् । राति सिकारी आउँछ कि भन्ने डरले कोठा परिवर्तन गर्दै सुतेको ।' उनी दिनभरि कता जान्थे ? कोसँग, कस्तो कुरा हुन्थ्यो, त्यो त मलाई थाहा भएन । तर, उनलाई आफूलाई कसैले मार्छ कि भन्ने त्रास थियो । मलाई बारम्बार भन्थे, 'भाते, मलाई जोसुकैलेे पनि मार्न सक्छ ।'
लेखनमा सक्रिय भएपछि पत्रिकाहरूले उनकोबारे चासो लिन थाले । एकदिन 'घटना र विचार' साप्ताहिकबाट अन्तर्वार्ताका लागि फोन आएछ । मलाई आएर उनले भने, 'भाते, पत्रकारहरू मेरो अन्तर्वार्ता लिन आउने भएका छन् । कुरा बंग्याएर छाप्न सक्छन् । त्यसो गरे भने मुद्दा हाल्नुपर्छ । त्यसवेला पैसा चाहिन्छ, फेरि अन्तर्वार्ताको पारिश्रमिक पनि चाहियो । यसका लागि धरौटी माग्नुपर्‍यो । कतिजति माग्नु भन् त ?' म धेरै नपढेको, नबुझेको मान्छे ! यस्तो विषयमा केही ज्ञान थिएन । पाँच हजार धरौटी माग्नुपर्छ भनिदिएँ । उनले 'त्यो त धेरै भयो, दुई हजारजति मागौँ' भने ।
भोलिपल्ट घटना र विचार पत्रिकाबाट रूपचन्द्रलाई खोज्दै देवप्रकास त्रिपाठी र अर्का एकजना पत्रकार मेरो पसलमा आए । मैलेे घरमा पुर्‍याइदिएँ । अन्तर्वार्ता दिनुअघि रूपचन्द्रले उनीहरूलाई भने, 'मेरो अन्तर्वार्ताका लागि मलाई दुई हजार चाहिन्छ । एक हजार मेरो पारिश्रमिक, एक हजारचाहिँ तिमीहरूले गल्ती छाप्यौ भने तिमीहरूविरुद्ध मुद्दा लड्ने खर्च । मैले जे भनेको छु, त्यही छाप्यौ भने पैसा फिर्ता पाउँछौ ।' रूपचन्द्रले यसो भनेपछि उनीहरू स्तब्ध भए । अन्ततः उनीहरू पैसा दिन सहमत भए र, अन्तर्वार्ता लिएर गए । पछि, 'पत्रिकाले जस्ताको तस्तै छाप्यो, सबै पैसा फिर्ता दिएँ' भन्दै थिए, रूपचन्द्र ।


विचार बाँड्नू, भोट नमाग्नू
०५६ मा फेरि चुनाव भयो । उनले फेरि चुनाव लड्न जान्छु भने । मैले काठमाडौंबाटै चुनाव लड्न धेरै आग्रह गरेँ । उनले मानेनन् । तर, चुनाव प्रचार-प्रसारको क्रममा बिरामी भएछन् र फर्किएर काठमाडौं आए । त्यसवेला एमालेका अध्यक्ष मनमोहन अधिकारीको निधन भएर काठमाडौं क्षेत्र नं. १को चुनाव स्थगित भएको थियो । मैले 'तपाईंको विचार जनतासामु पुर्‍याउन पनि उठ्नुपर्छ' भन्दा उनले भने, 'अब मेरो विचार किन पुर्‍याउनु ? नचिनेकाले मलाई चिनेजस्तो गर्छन्, चिनेकाले नचिनेजस्तो । तँ, भातेलाई केही पनि थाहै छैन । तँजस्ता एकजना कुदेर केही पनि हुन्न ।'
पछि साथीहरूसँग सल्लाह गरेछन् । काठमाडौंबाट उठ्न सहमत भए । मेरी श्रीमतीलाई उनी मोटी भन्थे । मेरी श्रीमतीलाई भनेछन्, 'मोटी, तेरो पोइले ज्यादै जिद्दी गर्‍यो । त्यही भातेका लागि चुनाव लड्दै छु ।'
रूपचन्द्र विष्ट, नवीन विष्ट र म तीनजना भएर उनको उम्मेदवारी दर्ता गर्न गयौँ । अरू पार्टीका त नाराबाजीसहित हुल बनाएर आएका थिए । त्यहाँ उम्मेदवारको फोटो चाहिनेरहेछ । हामीसँग थिएन । नेगेटिभबाट हतार-हतार बागबजार गएर मैले फोटो धुलाएर ल्याएँ । नोमिनेसन दर्ता गर्ने दिन धेरै पत्रकारले उनीसँग प्रतिक्रिया लिन खोजे, तर उनले केही पनि बोलेनन् ।
रूपचन्द्र र मैले मेरो पसलनजिकै एउटा गोलघर बनाएका थियौँ । त्यहाँ बसेर चेस खेल्नेलाई एक कप चिया दिन्थ्यौँ । त्यसबापत दस रुपैयाँ लिने गथ्र्याैं । त्यही गोलघरमा बसेर हामीले रातभरि पर्चा बनायौँ । पर्चा सबै उनले नै लेखे । नवीन विष्टको प्रेस थियो । त्यहाँबाट पर्चा निकाल्यौँ । नवीन, रणसंग्राम, मुक्तिसंग्राम गरी हामी ६ जना उनको प्रचार-प्रसारमा थियाँै । हामीलाई चुनावी ज्ञान शून्य थियो । तैपनि, प्रत्येक दिन हामी प्रचारमा गइरहेका थियौँ । एकदिन रूपचन्द्र प्रचारसामग्री राखेको ठाउँमा गएछन् । प्रचारसामग्री थुपि्रएर बसेको देेखेपछि मसँग रिसाएर भने, 'भाते, यो मलाई पोल्न राखेको !' त्यसदिन त मलाई यति धेरै हकारे कि म ह्वाँ-ह्वाँ रोएँ ।
उनी हामीलाई 'कोणसभा गरेर आउनू' भन्थे । तर, हामी प्रचारमा लागेका ६ जनालाई बोल्नै आउँदैनथ्यो । अनि केको कोणसभा ?
प्रचारसामग्रीमा उनको फोटो थिएन । एकदिन हामीलाई मान्छेहरूले तिमीहरूको नेताको फोटो खोइ ? भनेर सोधे । मैले बेलुका आएर उनलाई फोटो टाँस्नुपर्‍यो भनेँ । उनले भने, 'मेरो फोटो हेरेर भोट दिने होइन, मेरो विचार हेरेर दिने हो । मेरो विचारसँग सहमत नभई कसैले मलाई भोट दिए भने त्यो पनि धाँधली नै हो ।' विचार मात्रै बाँड्नू, भोट नमाग्नू भन्थे उनी ।
प्रचारका क्रममा हामी नांग्लेभीर पुगेको थियौँ । त्यहाँ पुग्दा त अर्काे पार्टीका कार्यकर्ताले रूपचन्द्र विष्ट मर्‍यो भनेर माइकबाट फुकिरहेका रहेछन् । उनीहरूसँग हाम्रो झन्डै झडप भएको ! यो कुरा रूपचन्द्रलाई मुक्तिले सुनाइदिए । त्यसपछि रूपचन्द्रले हेटौंडा फोन गरेर रामनारायण बिडारी, बलराम बलहरूलाई बोलाए ।
अर्को दिन दिउँसो म चुनाव प्रचारबाट फर्केपछि थाकेर बसिरहेको थिएँ । हेटौंडाबाट एउटा एम्बुलेन्स आएर मेरो पसलअगाडि रोकियो । एम्बुलेन्सबाट दुईजना निस्किएर र भने, 'रुदाने मर्‍यो अरे, कहाँ छ ? हामी त लिन आएको ।' म त अचम्ममा परेँ । रिस पनि उठ्यो । मैले दुवैजनाको कानमा समाएर रुदाने बसेको ठाउँमा लगेर देखाइदिएँ । रुदाने बसेर लेखिरहेका थिए । उनलाई देखेपछि ती दुवैजना जिब्रो टोक्दै भागे । वास्तवमा त्यो एमालेहरूले रुदाने मरेको अफवाह फैलाएका रहेछन् ।
फोन गरेको तेस्रो दिन होला, हेटौंडाबाट रामनारायण बिडारी, बलराम बलहरू काठमाडौं आए । रूपचन्द्रले उनीहरूसँग मेरो चिनजान गराए । रामनारायण बिडारीलाई चाहिँ 'यो मेरो हेटौंडाको टेपरेकर्डर' भनेर परिचय गराए । एमालेहरूले अफवाह फैलाएपछि हामीले रूपचन्द्रलाई सबै क्षेत्रमा घुमायौँ ।
चुनावको दिन साँखुको भाग्यदोय निमाविमा एजेन्ट बसेँ । मतदान गणना भएको ठाउँमा नवीन विष्टलाई पठायौँ । चुनावको दिन राति एक बजे बसेर छलफल गर्दा रूपचन्द्रले मलाई देखाउँदै भने, 'एक भोट त यो भातेबाट स्योर छ । बाँकीचाहिँ एउटा गाविसबाट एकजनाले दियो भने ३२ होला, दुई/दुईजनाले दिए भने ६४ होला । त्योभन्दा बढी भोट आउँदैन । भोट किनबेच हुन्छ, हामीले किनेका छैनौँ ।' नभन्दै उनले जम्मा ८१ भोट पाए ।


पर्चा बक्सिस
चुनाव सकिएको केही दिनपछि एक साँझ उनी र म मेरो कोठामा बसेर रक्सी खाँदै गफ गरिरहेका थियौँ । मैले 'अबचाहिँ संगठन बनाउनुपर्छ' भनेँ । उनले झडंग रिसाएर भने, 'तँ भातेलाई जति भने पनि केही बुझनिस् । संगठन बनाउने होइन, आफँै बन्नुपर्छ । आफैँ बनेको संगठन मात्रै राम्रो हुन्छ । ल भैगो, तँ संगठन बना, म आएर सम्बोधन गरिदिउँला ।' यति भनेपछि उनी एकोहोरो हाँस्न थाले । किन हाँसेको भनेर सोध्दा उनले निराश भएर भने, 'तँ भाते संगठनको कुरा गर्छस्, अब म धेरै बाँच्दिनँ ! म बाटोमा मरेँ भने मलाई लगेर कसैलाई नभनी पोलिदिनू । धेरै मान्छेले थाहा पाए र मलामी आए भने उनीहरूले दुःख पाउँछन् । म बस्ने भनेको तेरो घर र अजय-अजय सुमार्गी)को घर हो । तिमीहरू दुवैले म मरेको थाहा पाउनेछौ । मेरो निधनपछि दुइटा कुरा नगर्नू । पहिलो, धेरै मान्छेलाई मेरो निधनको बारेमा थाहा नदिनू, अर्को मेरो लासमाथि फूल, सिन्दुर कसैलाई पनि चढाउन नदिनू, राजनीति गर्न नदिनू ।' बेलुका मलाई चुनावमा सहयोग गरेबापत बक्सिस भन्दै उनका सबै पर्चा स्टिच गरेर दिए । अझैसम्म त्यो मसँग सुरक्षित छ ।


मरेपछि हाइ-हाई
'रुदाने' वीर अस्पतालको बेडमा लडिरहेका थिएँ । के भयो ? भनेर सोधेँ । उनले 'एउटा काँक्रो खाएको थिएँ, पखाला लाग्यो' भने । उनले अस्पतालको क्याबिनमा बस्न अस्वीकार गरेका थिए । साधारण बेडमा बसेका थिए ।
म उनीसँग अस्पतालमा बस्न थालँे । मलाई साह्रै दुःख लाग्छ- उनका त्यत्तिका आफन्त थिए, तर कोही पनि एकरात उनलाई कुर्न आएनन् । उनी असाध्यै कमजोर भएपछि मैले पत्रकारहरूलाई रूपचन्द्र विष्ट अन्तिम अवस्थामा छ भनेर लेखिदिनू भनेर धेरै अनुरोध गरँे । तर, मेरो कुरा कसैले सुनेनन् । मलाई त त्यसवेलादेखि नेपाली मिडियाको विश्वासै लाग्दैन । मलाई लाग्छ- त्यसवेला कुनै पत्रिकाले बेलैमा रुदानेको बारेमा लेखेको भए, उनको बाँच्ने सम्भावना धेरै थियो । मैले त्यसवेला वीर अस्पतालका डाक्टरहरूसँग पनि झगडा गरँे । म अझै पनि दाबीका साथ भन्छु- 'डाक्टरहरूको लापरबाहीले नै रूपचन्द्रको निधन भएको थियो ।'
अघिल्लो दिन उनी अत्यन्तै सिकिस्त थिए । त्यही दिन नेपालको एक चर्चित दैनिक पत्रिकाले 'रूपचन्द्र विष्ट सिकिस्त, स्वास्थ्य लाभको कामना' भनेर लेखिदियो । तर, कस्तो दुःखद् संयोग ! भोलिपल्ट त्यो पत्रिका बजारमा आउनुअघि नै उनको निधन भइसकेको थियो ।
रूपचन्द्र विष्ट बिरामी छ भनेर हेर्न आएकाहरूले उनको लास मात्रै हेर्न पाए । त्यस पत्रिकाले एक साताअघि मात्रै उनीबारे समाचार लेखिदिएको भए, रूपचन्द्र विष्टले सायद राम्रो उपचार पाउँथे ।
उनको पार्थिव शरीरमा सबैले फूल र अबिर चढाउन खोजेका थिए । तर, मेलै कसैलाई पनि त्यसो गर्न दिइनँ । मानिसलाई दुःख पर्दा उसको साथ कोही हुँदैन, तर उसको मृत्युपछि भने फूल चढाउन हुलै आउँदारहेछन् । अहिले पनि रूपचन्द्रको नाम लिएर ठूला कुरा गर्नेहरू धेरै छन् । तर, रूपचन्द्र काठमाडौंका गल्लीमा दुःखले भौंतारिँदा तिनै मान्छेले बेवास्ता गरे । म त सोझो मान्छे, धेरै कुरा जान्दिनँ । बस् यत्ति जान्दछु कि मरेपछि मात्रै रूपचन्द्रलाई महान् मानियो ।

rajesh.kulung@gmail.com


source:

http://www.nayapatrika.net/newsportal/middle_page/14692.html



Tuesday, June 23, 2009

मूर्ति-भञ्जक रूपचन्द्रको मूर्ति

मूर्ति-भञ्जक रूपचन्द्रको मूर्ति
अन्य समाचार
पुरानो अंक

खगेन्द्र संग्रौला
2009-06-23,Tuesday


अजंगको कदका रूपचन्द्र विष्ट एक जटिल ग्रन्थी, एक रोमाञ्चक रहस्य, एक विचित्र मानवजस्ता लाग्थे । पहिलोपटक भेटेर तिनका विचित्रका कुरा सुन्ने जोसुकैलाई पनि लाग्दो हो- यो मानिस तामसी हो, सन्काहा हो अथवा यो 'ठिस्' हो । यसको दिमागका एक-दुईवटा तार त पक्का पनि खुकुलिएकै होलान् ! तर, त्यही क्षणमा तिनको असामान्य व्यक्तित्वको सतहमुनि लुकेको कुनै चुम्बकीय तत्त्वले उसलाई नजानिँदोगरी आफूतिर खिच्दो पनि हो । रूपचन्द्र विष्ट आफ्नो लवाइ र खवाइमा, चिन्तन र वचनमा, आदर्श र आचरणमा लुखुर-लुखुर सनातनी गोरेटोमा हिँड्ने सरदर मानिसभन्दा बिछट्ट बेग्लै थिए । उनको विचारको मौलिकता, उनको आदर्शको आकर्षण र उनको आचरणको शक्ति त्यही उनको बेग्लोपनबाट पैदा भएको थियो । उनको त्यो बेग्ल्याइँ दुई जिब्रे कुरा, पाखण्डी अभिनय वा छलकारी आश्वासनमा होइन, कथनी र करनीको मितेरी साइनोमा थियो, आदर्श र आचरणको संगममा थियो । उनी जे भन्थे, त्यो गर्थे । उनी जे गर्थे, चुसिएका र हेपिएका, दबिएका र बक् हरिएका जनहरूका लागि गर्थे । अनि उनी जे गर्थे, त्यसबाट आफू कुनै फल पाउने आशा कहिल्यै गर्दैनथे । उनको सेवाको दाउ पछि मेवा खानु थिएन । उनी जे गर्थे, केवल जनजागृतिका लागि गर्थे, केवल न्यायका लागि गर्थे, केवल सत्य, शिव र सुन्दरका लागि गर्थे ।

'थाहा'पथको राम्ररी भेउ नै नपाएका अल्पज्ञानी बटुवाहरूको जस्तो अभिनय गरे
रूपचन्द्र विष्ट साँचो अर्थमा मूर्ति-भञ्जक थिए । जहाँजहाँ पाइला टेक्थे, त्यहाँ उनी मूर्ति-भञ्जन गर्न अर्थात् मूर्ति तोड्न बेतोडले आफ्ना विचारको घन उठाइहाल्थे । त्यो सत्यको मखमली खोल हालिएको झूठको मूर्ति हुनसक्थ्यो । त्यो न्यायको चहकदार जलप लगाइएको अन्यायको मूर्ति हुनसक्थ्यो । त्यो सत्यको भ्रान्तिकारी आवरणमुनि छोपिएको असत्यको मूर्ति हुनसक्थ्यो । र, त्यो सदाचारको सुन्दर खोलभित्र लुकाइएको दुराचारको कुरूप मूर्ति हुनसक्थ्यो । रूपचन्द्र विष्ट आफ्नो मूर्ति-भञ्जन अभियानमा एक आँधी थिए, एक आतंक थिए । रूपचन्द्र एकमा अनेक थिए । चिन्तक पनि आफैं, आफ्नो चिन्तनलाई मूर्तरूप दिने व्यूहरचनाकार पनि आफैं, त्यो व्यूहरचनालाई व्यवहारमा साकार रूप दिन अभियानमा निस्कने जोदाहा पनि आफैं । एक छाँटका एकल अभियन्ता ! जोजो उनको अभियानको पछि लागे, ती उनले 'आऊ' भनेर आएका थिएनन् । ती उनको आकर्षणबाट डोरिएर यस्सै आएका थिए । ती उनको चिन्तन, कर्म र आचरणको सुवासबाट मोहित भएर आएका थिए ।

लाजमर्नु कुरो, अहिले उनै साहसिक मूर्ति-भञ्जक रूपचन्द्र विष्टको मूर्ति खडा गरिएको छ । सुन्छु, मूर्ति खडा गर्नेहरू उनकै अभियानका सहयात्रीहरू हुन् । सके यी मूर्तिपूजकहरू रूपचन्द्रपथका ज्ञाता र प्रवक्ता, अनुयायी र साधक भनी आफूलाई चिनाउनमा खुबै गर्व गर्दा हुन् । तर, मूर्ति-भञ्जक रूपचन्द्रकै मूर्ति खडा गरेर तिनले तिनका आदर्शको विम्बमा ध्वाँसो त दलिदिएका छन् नै, यिनले आफ्नै हातले ध्वाँसो दलेर आफ्ना अनुहार पनि हेरिनसक्नु बनाएका छन् ।

०३६ सालको जनमत संग्रहको चेतन-प्रवाहको धक्काले जब शाही पञ्चायतको धनु हल्लाइदियो, रूपचन्द्र विष्ट पञ्चायती राजनीतिको मैदानमा हाम्फाले । उनले आफ्नो राजनीतिको नाउँ 'जनमुखी' राखे । उनले चलनचल्तीको कुनै दर्शन वा राजनीतिक आदर्शको म अनुयायी हुँ भनेनन् । बरु शाही पञ्चायतका आँखा छल्न उनले 'थाहा' शब्द रोजे । त्यो 'थाहा' उनको दर्शन, सिद्धान्त, आदर्श सबैथोकको प्रतीक थियो । उनले 'थाहा'का अनेक आकारका रबरछाप बनाए र जहाँ गयो त्यहाँ उनी भकाभक 'थाहा' छाप ठोक्दै हिँडे । सडकका भित्तामा 'थाहा' छाप, घरका भित्तामा 'थाहा' छाप, चौतरी-देउरालीमा 'थाहा' छाप, युवाहरूका छाती-छातीमा 'थाहा' छाप । नागबेली परेको जीवन-यात्रामा वाहन चालक र प्रधानाध्यापकबाट प्रधानपञ्च हुँदै उनी 'जनमुखी' शैलीमा राष्ट्रिय पञ्चायतको चुनाव लड्न पुगे । त्यो पनि उही 'जनमुखी' शैलीमा । हातमा एक अम्मलको पर्चा छ, मुखमा छ 'ए भाते, कुकुरहरू' हो ! कुमबाट हाते माइक झुन्डिएको छ, उनी कबाडीखानाबाट झिकिएजस्तो पत्रु स्कुटरमा चढेका छन् । सित्तीमा कसैको केही नलिने उनको कठोर नीति छ । उसो त विचार र आदर्शबाहेक उनी कुनै पनि भौतिक वस्तु सित्तीमा कसैलाई नदिन पनि प्रतिबद्ध छन् । चुनावी खर्च जोड्न उनी सुका-मोहोरमा 'भाते, कुकुरहरू'लाई पर्चा हातहातै बेच्छन् । वचन त्यस्तो क्षुद्र छ, तैपनि मानिसहरू हाँसी-हाँसी उनका पर्चा किनेर बडो खुल्दुलीसाथ पढ्छन् । रूपचन्द्रको मनोरचना र अभिव्यक्ति शैली तिनले बुझेका छन् । र, नै तिनका नजरमा रूपचन्द्रको 'भाते, कुकुरहरू' क्षम्य छ ।

राष्ट्रिय पञ्चायतको चुनावी सरगर्मी जारी छ । जताततै भित्ताभरि अरू उम्मेवादरहरूका एकदमै भड्किला चुनावी फोटा टाँसिएका छन् । रूपचन्द्रको त्यस्तो केही छैन । ती भन्छन्- 'चुनाव लड्ने फोटाले होइन, विचारले हो । राजनीति गर्ने अनुहारले होइन, भावनाले हो ।' उनको त्यो भनाइमा मूर्ति-भञ्जनको हुंकार बोल्छ । तर, उनै रूपचन्द्रलाई श्रद्धा टक्रयाउन भनी उनैले भन्ने गरेका 'भाते, कुकुरहरू'ले अहिले तिनको कर्मथलो पालुङमा तिनको आदर्शलाई क्रूरतासाथ कुल्चिँदै तिनको निष्प्राण र भावशून्य मूर्ति ठड्याएका छन् । त्यो मूर्तिमा रूपचन्द्रको पि्रय आदर्शलाई गिज्याइएको त छ नै, त्यसमा कर्मकाण्डीय मूर्तिपूजाप्रतिको भयानक आशक्ति पनि प्रकट भएको छ ।

कुरा फेरि उही पञ्चायती चुनावका । रूपचन्द्र सूत्रवचनहरूमा आफ्नो राजनीतिको अर्थ ट्याक्क भर्छन् । अनि, उनी आफ्नो अभियानलाई 'निष्पक्ष अभियान' भनी अथ्र्याउँछन् । तैपनि पक्षधरताको ध्वजा उचालेर उनी उद्घोष गर्छन्- 'श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन, छाप्रोको राजनीति दरबारले गरेर हुँनैन ।' उनी कुरा घुमाएर आफ्नो चिन्तनको सार प्रकट गर्छन्- 'हामी कसैका होइनौँ, कोही हाम्रा होइनन् । हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रा ।' उनको मनको पन्तुरोभरि जनचेतना जगाउने राजनीतिका यस्ता सूत्रवचनहरू छन्, र उनको झोलामा छ पेट भर्ने रुखोसुखो रासन । उनी ज-जसका घरमा बस्छन्, आफ्नो र घरबेटीको रासन बाँडीचुँडी खान्छन् । खातिरदारी उनलाई मन पर्दैन, खुला र सादापन पाए उनी फुरुङ पर्छन् । उनी फिरन्ते भेषमा मकवानपुर जिल्लाका दुर्गम र विकट भेगका एक-एक अभावग्रस्त छाप्राहरू चहार्छन् । उनी पलेँटी कसेर गुन्द्रीमा बस्छन् र मन फुकाएर गाउँलेहरूसँग बात मार्छन् । आफू सूत्रमा छोटोमा छिटो बोल्छन् । र, अरूहरूलाई मनका बह पोख्न मनग्गे मौका दिन्छन् । यसरी माओका शब्दमा उनी गाउँलेरुसँग माछो र पानीको साइनो गाँस्छन् । यी हुन्- 'थाहा' आन्दोलनका प्रणेता 'जनमुखी' रुदाने !

जिब्रामा विचारको तेजस्वी घन छ । रूपचन्द्र मूति-भञ्जन गर्ने आफ्नो तुफानी यात्रामा गतिमान् छन् । जेजे हो र जो जस्तो हो, उनी त्यसलाई प्वाक्क त्यस्तै भन्दिन्छन् । उनलाई न केहीको डर छ, न कसैको त्रास । के प्रशासक, के शासक, के साहु, के मठाधीश सबैलाई उनी 'ए भाते, भ्रष्टाचारी, दुराचारी' भन्न बाँकी राख्दैनन् । भन्छन् र भनिनेको साँचो चिनारी उसकै आँखासामु उदांगो पारिदिन्छन् । उनलाई कसैका अगाडि निहुरिएर हात पसार्नु छैन । उनको अदम्य नैतिक शक्तिको मुहान त्यहीँ छ ।

'जनमुखी' भेषमा नवीन विचारको शक्तिले ओतप्रोत भएर जब रूपचन्द्रले राष्ट्रिय पञ्चायतमा पाइला टेके, यो कहाँको को आइलाग्यो भनेर राजाका दाससरहका पञ्चहरू तिल्मिलाए । पञ्चायतलाई 'राष्ट्रियता' र 'विकास'को मायावी झल्लरीभित्र सजाइएको थियो । उनले त्यो झल्लरी ध्वाध्र्वारी च्याते । र, भने- भाते हो ! यो महाभ्रष्टाचारी व्यवस्था हो । त्यो महाभ्रष्टाचारी व्यवस्थाका नियम र कानुन, नीति र कार्यक्रम बनाउने राष्ट्रिय पञ्चायतको अध्यक्षलाई पञ्च 'माननीय'हरूले निहुरिएर 'सम्माननीय' भन्नुपथ्र्यो । रूपचन्द्रले भन्न इन्कार गरे । अध्यक्षको नाउँको जीव उनलई 'माननीय' भनी पुकाथ्र्यो । उसलाई पनि उनले बराबरीको साइनो लगाएर 'माननीय'मात्र भने । राजाका छायारूपी पञ्चहरूको भीडमा खैलाबैला मच्चियो । र, उनलाई 'माननीय' फिर्ता लिएर 'सम्माननीय' भन्न गर्नुविधि कर्काप गरियो । तर, 'थाहा'को तत्त्वबोध भएका रुदानेले टेरपुच्छर लाएनन् । छाती फुकाएर उभिँदै बेलायती बैठकको सभाकक्ष नै थर्किनेगरी उनले भने- कोही 'सम्मानीय' हुन जनता 'जाननीय' हुनुपर्छ । त्यसै भइन्छ 'सम्माननीय' ? बस्, 'थाहा'सँग जोरी खोज्ने 'भाते' पञ्चहरू मुखामुख गर्दै तैँ चुप् मै चुप् भए ।

मूर्ति-भञ्जक रूपचन्द्रको 'थाहा' अभियान निख्ला वचनको आत्मतुष्टिकारी विलासमात्र थिएन । सिर्जना र निर्माणको चक्र पनि त्योसँग नङ-मासुझैं गाँसिएको थियो । रूपचन्द्रका सिर्जनशील हात शिक्षा र कृषि, सडक र सहकारीतिर पनि लहसिए । बाटो खन्ने अगुवा आफैं, ढुंगा बोक्ने अगुवा आआफैं, बारी खन्ने अगुवा आफैं, आफैं आफ्नो खटनकर्ता, आफैं आफ्नो कुल्ली । रूपचन्द्रका 'नारी, किसान, कलिला'हरूले उनलाई आँखाका नानीमा र हृदयको झोलीमा प्रेमले सजाएर राखेको त्यसै हो र ?

'थाहा' फगत चेतनाका 'जनमुखी' तरंगहरू उनिएर बुनिएको खुकुलो आन्दोलन थियो । रूपचन्द्रमा न संगठनको संरचना बनाउन उत्रो चिन्ता थियो, न त नेतृत्वको तहगत पंक्ति खडा गर्न चासो नै थियो । उनी चेतना र आदर्शको विशाल छाता थिए, त्यो छातामुनि ओत लाग्न मानिस यसै डोरिएर आउँथे । ०४६ सालमा जब बहुदलीय प्रजातन्त्र फक्र्यो, ठूला दलका प्रजातन्त्र र जनवादका उपासक हौँ भन्नेहरूले चुसाहा सेठहरूको मुक्त बजारमा लगेर आदर्शजति बुझाइदिए, र आफू टपरी बोकेर सत्ताको भान्सामा लुसुक्क पसे । 'जनमुखी' 'थाहा' आन्दोलन राजनीतिका अगस्ती खाओवादीहरूको घेराउमा पर्‍यो । यो मिचियो, यो किचियो, यो छिन्नभिन्न भयो र यो अलपत्र पर्‍यो । अनि रूपचन्द्रको बाँकी जीवन पराजित मुद्रा, एक्लोपन, उदासी र सुस्केरामा सकियो ।

'थाहा' चिन्तन सूत्र कविता र सूत्र गद्यमा रहस्यजस्तो भएर यत्रतत्र छरिएको थियो । न त्यसको व्यवस्थित खाका खिचियो न जनसाधारणले सहजै बुझ्ने भाषामा त्यसलाई लिपिबद्ध गरियो । आखिरमा कुनै रहस्यमय गुप्तज्ञानझैं त्यो रूपचन्द्रको एकान्तबाससँगै भूमिगत भयो । रूपचन्द्रका अनुयायीहरू जो थिए, तिनले 'जनमुखी' 'थाहा' पथको राम्ररी भेउ नै नपाएका अल्पज्ञानी बटुवाहरूको जस्तो अभिनय गरे । हुँदा-हुँदा अहिले ती मूर्ति-भञ्जक रूपचन्द्रको आदर्शलाई लतारेर निष्प्राण र रुढिमुखी मूर्तिमा पछार्न पो पुगे । लाग्छ, यो 'जनमुखी' 'थाहा' पथको कारुणिक दुर्दशा हो ।

विडम्बनावश, मूर्ति-भञ्जक रूपचन्द्रको मूर्तिको अनावरण माओवादी अध्यक्ष प्रचण्डका करकमलबाट भयो । यी विद्रोही नेतालाई 'मेरो एक्काइसौँ शताब्दीको जनवाद मूर्तिपूजासँग असमत छ' भन्ने वाक्य फुरेन । दृश्यमा देखेँ, रूपचन्द्रको मूर्ति अनावरण गरिने थलोमा 'महान् माक्र्सवादी सौन्दर्य चिन्तक' भनीकन कहलिएका मोहन वैद्य किरण पनि हाजिर थिए । ती मूर्ति-भञ्जक रूपचन्द्रको मूर्ति स्थापना गरिने थलोमा फड्के किनाराको साक्षी बसेको दृश्य मलाई बडो हास्यास्पद लाग्यो । तिनको सौन्दर्यशास्त्रमा मूर्ति-भञ्जन र मूर्तिपूजाबीच कुनै भेद नै पो नभएको हो कि ?

थाहा छ, 'जनमुखी' 'थाहा आन्दोलन'मा 'नारी, किसान, कलिला'हरूलाई खुबै सम्मानका नजरले हेरिन्थ्यो । तिनको जागरण, तिनको मुक्ति र तिनको सुख नै यो आन्दोलनको एकमात्र अभीष्ट थियो । रूपचन्द्रको मूर्तिको अनावरण कुनै बालिकाको कलिलो हातबाट भएको भए 'थाहा'कर्मीहरूले कमसेकम रूपचन्द्रको आदर्शलाई बिर्सेका रहेनछन् भनेर चित्त बुझाउने एउटा लुरे उपाय त हुन्थ्यो कि ! तर, 'नारी, किसान, कलिला'हरूलाई भुसुक्कै बिर्सेर प्रचण्डको भेषमा तिनले शक्तिको मुख ताके ।
अनर्थ गरियो ! मूर्ति-भञ्जक रूपचन्द्र विष्टको आदर्शलाई उनैको मूर्तिमा गिराएर गर्नु/नगर्नु उपहास गरियो !
source:

थाहाको सम्झना

थाहाको सम्झना

तारालाल श्रेष्ठ

मान्छे शक्तिको पूजारीमात्र होइन आत्मकेन्द्री पनि हुन्छन् । सबैले आफूलाई सधैँ पुजिरहून् भन्ने चाहन्छन् शक्तिलिप्त मान्छे । केही मानिस यस्ता पनि छन् जो सम्मानदेखि परै बस्न चाहन्छन् तर त्यसैको फेला पर्छन् । त्यस्तै थोरैमध्ये एक थिए स्व रुपचन्द्र विष्ट।

विद्रोही दार्शनिक नेता रुपचन्द्र प्रधानाध्यापकदेखि प्रधानपाच हुँदै दुई पटकसम्म राष्ट्रिय पाचायतको सदस्य बनेका थिए । १९९० सालमा पालुङ्गमा जन्मेर ०७ सालदेखि राजनीतिमा सकि्रय उनी ०४६ पछि भने एक्लिँदै विरक्तिए । २०५६ असार ७ गते सदाका लागि उनी अस्ताए । तर रुपचन्द्रको विद्रोही दर्शन भने अस्ताएको छैन । "म तिम्रो जुत्ता हुँ लगाऊ आफ्नो गोडामा, अनि हिँड" भन्दै जनतालाई केन्द्रमा राख्दै उदाएको उनको 'थाहा' आन्दोलन झन्झन् सान्दर्भिक हुँदैछ।
पञ्चायतकालमा हाते माइक बोकी थोत्रो स्कूटर चढेर उनी गाउँ आइरहन्थे । पच्चीसदेखि पचास पैसासम्ममा पर्चा बेच्थे र सबैको छातीमा सःशुल्क "थाहा" लेख्दै भन्थे "निष्पक्ष सकि्रयताको अभ्यास हो थाहा" । हामी सबैभन्दा राम्रो सर्ट लगाएर डराइ-डराई छातीमा "थाहा" लेखाउँथ्यौं अनि उनको जनमुखी क्रान्तिकारी भाषण सुन्थ्यौं । उनको असाधारण व्यक्तित्वदेखि हामी डराउथ्यौँ तर उनको वरिपरि झुम्मिन छाड्दैनथ्यौं । हदैसम्म रुखो स्वभावका भए पनि केटाकेटीदेखि वृद्धवृद्धासम्म उनका वरिपरि झुम्मिन्थे ।

पञ्चायतकालमा हाते माइक बोकी थोत्रो स्कूटर चढेर उनी गाउँ आइरहन्थे । पच्चीसदेखि पचास पैसासम्ममा पर्चा बेच्थे र सबैको छातीमा सःशुल्क "थाहा" लेख्दै भन्थे "निष्पक्ष सकि्रयताको अभ्यास हो थाहा" । हामी सबैभन्दा राम्रो सर्ट लगाएर डराइ-डराई छातीमा "थाहा" लेखाउँथ्यौं अनि उनको जनमुखी क्रान्तिकारी भाषण सुन्थ्यौं । उनको असाधारण व्यक्तित्वदेखि हामी डराउथ्यौँ तर उनको वरिपरि झुम्मिन छाड्दैनथ्यौं । हदैसम्म रुखो स्वभावका भए पनि केटाकेटीदेखि वृद्धवृद्धासम्म उनका वरिपरि झुम्मिन्थे ।

शब्दकोशमा शिष्टताका शब्दै छैन जसरी उनी कठोर शब्द प्रयोग गर्थे । सम्बोधनमा प्रायः सबैलाई 'तँ भाते' भन्थे । कारण सोधे उनी भन्थे "एक अँगालो स्वास्नी र एक थाल भातभन्दा बढी केही नसोच्ने र नदेख्नेलाई के भन्ने त।" उनको असाधारण व्यक्तित्वलाई अनपढ जनताले पनि असाधारणै किसिमले सम्मान दिन्थे । सोझो अभिव्यक्तिमा जनताले भनेको सुनिन्थ्यो "जसले जे भने पनि एक भोट त त्यही बौलाहालाई नै दिने हो ।"

मीठो खान राम्रो लाउन नपर्ने उनी झुत्रेझाम्रे जनतासँग अधिकांश समय उनी गाउँमै बिताउँथे । जनताले जे छ सोही खुवाउँथे । बढी सम्मान गरेमा उनी जंगिहाल्थे । सित्तैमा खाँदैनथे। पाचायतकालीन परिवेशमा पनि उनले जनचेतना फैलाउने जुन भूमिका निर्वाह गरे त्यसको वर्णन शब्दले गरेर पुग्दैन।

उनले उनकै शब्दमा "महाडाँकातन्त्रमा" बाँच्न जानेनन् वा बाँच्न चाहेनन् वा बाँच्नै दिइएन अनेक अर्थ लगाउलान् तर्कवाजहरुले । तैपनि उनी "महाँडाकातन्त्र" र त्यसको पूजारीसामु कदापि झुकेनन् चुकेनन् र विकेनन् । आफ्नो दर्शनलाई कदापि लत्याएनन् हार्दाहार्दै पनि त्यसलाई त्यागेनन्। उनले "थाहा" आन्दोलनको विगुल फुक्दै रित्याए आफूलाई।

नातावादको कट्टरविरोधी उनको पारिवारिक जीवन सुखमय भएन । कृत्रिम आदर सत्कार गर्न नचाहने उनी आफूलाई पनि त्यसबाट टाढा राख्न चाहन्थे । सम्मानको कुनै सामन्ती तडकभडक मन पराउँदैनथे । उनले मृत्युपछि पनि मानसम्मन नगर्न आग्रह गरेका थिए । उनले चाहेनन् त्यो उनको महानता हो तर उनको सम्मानमा गृहजिल्ला पालुङमा उनको प्रतिमा स्थापना गरिदिए । काम गर्ने मान्छेले जे बोल्छन् त्यही कानुन बनेमा मात्र प्रगतिशील समाज निर्माण हुन्छ भनिहिँड्ने रुपचन्द्रको प्रतिमा स्थापना गरी उनको योगदानको सम्मान गरिएको छ । ढिलै भए पनि रुपचन्द्रलाई ुरिकलु गरिँदैछ । रुपचन्द्रको सिद्धान्तविपरीत भए पनि यो अर्थपूर्ण र सान्दर्भिक छ ।

स्थानीय सहयोगमा कलाकार लक्ष्मण भुजेलद्वारा सिर्जित उनको पूर्ण कदको प्रतिमाको निर्माण उनको अपमान होइन सम्मानको प्रतीक हो । नागरिक सर्वोच्चताको आवाज उठेका बेला यो स्वतस्फूर्त सम्मान अत्यन्त सान्दर्भिक छ । कलाकार भुजेलको १० वर्षको धोको पनि पूरा भएको छ।

रुचन्द्रको मृत्युलगत्तै भुजेलले बिनापारिश्रमिक रुपचन्द्रको प्रतिमा बनाउने र मकवानपुरको हर्नामाडी गाविस चोकमा स्थापना गर्ने प्रयास गरेका थिए । त्यसका लागि स्थानीय स्तरमा प्रतिमा स्थापना समिति समेत गठन गरी अन्तकिर््रया तथा अर्थ संकलनको प्रारम्भिक कामसमेत भएको थियो । त्यस समितिमा यो पंक्तिकार पनि थियो । रसिद छाप र लेटर प्याड अझै सुरक्षित छन् । तर सुरुबाटै सुनियोजित विवाद आए । उनका विरोधी त प्रतिमा नबनोस् भन्ने चाहन्थे नै तर रुपचन्द्रकै सबैभन्दा निकट रामनारायण बिँडारीले समेत रुपचन्द्र स्वयमले नगर्नु भनेको कर्म गर्न तम्सनु उचित नहुने भन्दै प्रतिमा स्थापना अभियान रोक्न सल्लाह दिएका थिए । अनि रुपचन्द्रको सम्मान गर्ने सपना गर्भमै तुहिएको थियो । हामी असफल भएका थियौँ । त्यसको ग्लानी छ । तर अहिले ढिलै भए पनि रुपचन्द्रलाई नबिस्रने जुन कर्म भएको छ त्यसमा संलग्न सबै धन्यवादका पात्र छन्।

त्यो समय मुक्त-जीवन बाँच्ने एउटै उपाय 'थाहा' भन्दै लेख्दै हिँड्ने उनीजतिको निडर नेता सायदै थिए । काम एकथरिलाई कमाइ अर्को थरिलाई बढी पार्ने शोषणतन्त्रमा ठीक विकास हुँदैन बुद्धिसम्म चोरको पनि हुन्छ मेहनतसम्म मुर्खले पनि गर्छजस्ता उनका थुप्रै चोटिला चेतनामुखी दर्शन संकलित छन् कृति "थाहा २०६२" मा । महिनामा २९ दिन व्यक्तिगत र कमसेकम एक दिनमात्र भए पनि जनमुखी सार्वजनिक काम गर्नुपर्छ भन्ने बोलीलाई व्यवहारमै प्रयोग गरी हिँडेका रुपचन्द्रलाई बिर्सिएर पनि बिस्रन सकिँदैन । सकिएन।

रुपचन्द्रको जनमुखी जीवन-दर्शनबाट विवेकहीन अवसरवादी हाम्रा नेता र हामीजस्ता जीविका-विषयी बौद्धिकले पनि धेरै कुरा सिक्न सक्छौँ।
source:
http://www.nagariknews.com/nagarik-blog/85-blog/2201-2009-06-22-13-01-02.html

Sunday, June 21, 2009

रुपचन्द्रका दश दर्शन

रुपचन्द्रका दश दर्शन
अन्य समाचार
पुरानो अंक


2009-06-21,Sunday


रूपचन्द्र त्यस्ता नेता हुन्, जो चुनावमा चुनावी-पर्चा बिक्री गरेर प्रचार गर्थे । मत दिने जनतालाई 'तिमीहरू भाते, कुकुर हौ' भनेर मत माग्थे । तर, उनी कति लोकपि्रय थिए भने व्यवस्थाविरोधी एजेन्डा बोकेर, व्यवस्थाले नै हराउन खोज्दा पनि चुनाव जित्थे । उनी जनतासँगै श्रम गर्थे, जनताकै असल मित्र थिए, आफ्नो पूरै जिन्दगी जनताको हितमा दिए ।

'थाहा आन्दोलन' का प्रणेता जनतालाई 'थाहा' दिन जिन्दगीभरि जागिरहेका विष्टको आफ्नै दर्शन थियो, दर्शनका पक्षमा आफ्नै तर्क र व्याख्या थिए । रूपचन्द्रको स्मृतिदिवसका अवसरमा उनको मौलिक दर्शन र जीवनशैलीसँग सम्बन्धित दस बुँदा मात्र यहाँ प्रस्तुत छन् ः

जनता जाननीय भए मात्रै नेता माननीय
रूपचन्द्रले तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्षलाई सम्मानीय भनेनन् । राष्ट्रिय पञ्चायत सदस्यलाई जस्तै 'माननीय अध्यक्ष' मात्रै भने । अरू सदस्यले नियमापत्ति गरे । रूपचन्द्रले तर्क गरे, 'जनता जाननीय नभई हामी कसरी माननीय हुन सक्छौँ, अध्यक्ष महोदय ? तसर्थ अध्यक्ष पनि सम्माननीय
हुन सक्दैन ।'

छोरा तेरो, चासो हामीलाई
रूपचन्द्रले मकवानपुरका सबै बासिन्दालाई आ-आफ्ना छोराछोरी पढाउन अनुरोध गर्थे । किन छोराछोरी पढाउने भनेर उनी प्रशिक्षण पनि दिन्थे । नपढाउने अभिभावकलाई श्रम-सजायसमेत दिइन्थ्यो । रूपचन्द्रले छोरी नपढाउनेलाई दोब्बर सजायको व्यवस्था गरेका थिए ।
एकपटकको भेलामा एकजना अभिभावकले भनेछन्, 'मेरा छोराछोरीको मलाई नै चिन्ता छ । छोरो पढाऊँ कि नपढाऊँ, तँलाई के खाँचो ?'

रूपचन्द्रले भने, 'छोरो मात्रै तेरो हो । त्यसले पढ्ने कि नपढ्ने भन्ने तँलाई भन्दा हामीलाई बढी चासो हुन्छ । तेरो छोराले पढेन भने त्यो चोर, डाँका, दुष्ट हुन्छ । त्यस्तो हुँदा उसले तेरो घर त चोर्दैन, हाम्रो घरमा चोर्छ । हामीलाई बढी दुःख दिन्छ । त्यसैले तेरो छोराले नपढ्नुमा हामीलाई बढी चासो छ । बुझिस् ?'
त्यसपछि रूपचन्द्रले शिक्षाबारे नारा नै बनाए, 'छोराछोरी पढाउने जिन्दावाद, छोराछोरी नपढाउने मुर्दावाद !'

भेट हुँदा तपाईं, छुटेपछि तँ !
रूपचन्द्र अत्यन्तै विरलै मान्छेलाई तपाईं भन्थे । तिमी भनेर सम्बोधन गर्नेहरू पनि अत्यन्तै कम थिए । अरू सबै-सबैलाई उनले 'तँ' भन्थे । किन ?
'भेट हुँदा मात्रै तपाईं भन्ने, तर छुट्नासाथ तँ भन्ने तिमीहरू ढोंगी र पाखण्डी हौ । भित्री मनले तँ भन्ने भएपछि अघिल्तिर तपाइं भनेर किन ढाँट्ने ? किन स्वाङ पार्ने ?'
यही तर्कसहित रूपचन्द्रले नेता, प्रशासकदेखि सबै उच्च ओहोदामा आसीनलाई पनि अघिल्तिरै तँ सम्बोधन गर्थे ।

जस्तो देख्यो, त्यस्तै !
रूपचन्द्रले कतिपय वरिष्ठ नेता र नाम चलेका व्यक्तिलाई पनि आफ्नै नाम दिएका थिए । उनीसित नकारात्मक अर्थ वहन गर्ने विशेषणसहितका ती नामको व्याख्या पनि थियो । उनी जसलाई जस्तो देख्यो, उस्तै भन्थे । भ्रष्टाचारी भेटियो भने 'के छ भ्रष्टाचारी ?' भनिदिने ।

एकपटक मकवानपुरकी एक दुलहीलाई विवाहकै दिन उनले दाह्रे भनिदिए, 'ल दाह्रे रहिछस्, तेरो विवाह सफल होस् !'
दाँत अलिकति बाहिर निस्केकी ती महिला विष्टसँग तीन वर्षसम्म बोलिनन् । पछि मात्रै रूपचन्द्रको खुला स्वभाव चिनेपछि उनी बोलेकी थिइन् ।

जरुरी छैन नाता
रूपचन्द्र सबैलाई सोझै नामबाट बोलाउँथे । दाइभाइ, दिदीबहिनी, काकाकाकी आदि भनेको उनलाई मन पर्दैनथ्यो । कसैले उनलाई 'दाइ' सम्बोधन गर्‍यो भने हपार्थे, 'ए, भाते ! तेरो बा र मेरी आमाबीच वा मेरा बा र तेरी आमाबीच के सम्बन्ध छ र मलाई 'दाइ' भन्छस् ? खुरुक्क मेरो नामले
बोलाउन सक्दैनस् ?'

आफ्नो-आफ्नो खुस
रूपचन्द्र वाक्स्वतन्त्रताबारे हदैसम्मको वकालत गर्थे । उनी असीमित वैचारिक-स्वतन्त्रता हुनुपर्छ भन्ने मान्यता राख्थे । बोलेको कुरालाई कसरी लिने भन्नेमा चाहिँ सुन्ने मान्छे स्वतन्त्र हुन्छ भन्थे । रूपचन्द्र भन्थे, 'के बोल्ने, तेरो मुखको खुस, सुन्ने कि नसुन्ने, अरूका कानको खुस । तेरा मुखका खुसलाई अरूका कानका खुसले बाधा पार्न पाइँदैन । म के बोल्ने, मेरो मुखको खुस । मेरो मुखको खुसमा अरू कसैले शासन गर्न पाइँदैन । मैले 'बाँकी सप्पै संसार बेठीक, म मात्रै ठीक' भन्न पनि पाउनुपर्छ ।'

सत्य बोल्न रूपचन्द्र कसैको डर, धक मान्दैनथे । आफूलाई लागेको सत्य उनी राष्ट्रिय पञ्चायत बैठकदेखि आमसभासम्म स्पष्ट भन्थे । पञ्चायती व्यवस्थामा निर्वाचित उनी पञ्चायतलाई नै शोषक र फटाहा व्यवस्था भन्थे । उनका सहयोगीले यसरी बोल्दा हामीलाई अप्ठ्यारो पर्छ कि भन्दा रूपचन्द्र कड्किन्थे, 'कसलाई सजिलो पर्छ र कसलाई असजिलो पर्छ भन्ने उसैको काम । कसलाई खुसी पार्ने भनेर बोल्ने मेरो काम होइन, के सत्य हो भन्ने मात्रै मेरो काम ।'

तँ पाइले मान्छे, म बाटे मान्छे
एकपटक रामनारायण बिडारीले भाषण सम्पादन गरे रूपचन्द्र विष्टको । त्यहाँ निरंकुश व्यवस्थाको अगाडि 'पञ्चायत' शब्द थप्न बिडारीले अनुरोध गरे । तर, रूपचन्द्र विष्ट त्यसो गर्न मानेनन् । किन ? उनले भने, 'हामीले एकैचोटि त्यस्ता शब्द प्रयोग गर्नुहुँदैन । के भनेको र कसलाई भनेको भन्ने जनताले प्रस्ट बुझ्ने, तर कानुनले समात्न नसक्ने कुरा बोल्नुपर्छ । तैंले यस्तो कुरा बुझेको छैनस् ।

उनले सबैजसो निरंकुश व्यवस्थाको विरोध गर्नेक्रम सदाबहार तर्क राख्दै भने, 'तँ पाइले मान्छे, एक पाइलाको र आजैको कुरा गर्छस् । तर, म बाटे मान्छे, लामो बाटो पार गर्नेसम्मको कुरा सोच्छु ।'

प्रतिपाँच मिनेटको हिसाब
रूपचन्द्र विष्टको आफ्नै जीवनशैली थियो, श्रम गर्ने, सत्य बोल्ने, ध्यान गर्ने, थाहा दिने । प्रत्येक पाँच मिनेटको हिसाब गर्नुपर्छ भन्ने उनको आग्रह हुन्थ्यो । उनले अरूलाई पनि भन्थे- एक पाँच मिनेट सत्य बोल, एक पाँच मिनेट सत्य सोच (ध्यान गर), एक पाँच मिनेट सत्य थाहा देऊ । एक दिनमा दुई सय ८८ पाँच मिनेट छन् । तिमी कम्तीमा तीन पाँच मिनेट सत्य र थाहालाई किन दिन्नौ ?'

एक अँगालो स्वास्नी एक थाल भात
रूपचन्द्रले सत्य बोल्न कसैको डर, धक मान्दैनथे । आफूलाई लागेको सत्य उनी राष्ट्रिय पञ्चायत बैठकदेखि आमसभासम्म स्पष्ट भन्थे । पञ्चायती व्यवस्थामा निर्वाचित उनी पञ्चायतलाई नै शोषक र फटाहाको व्यवस्था भन्थे । उनका सहयोगीले यसरी बोल्दा हामीलाई अप्ठ्यारो पर्छ कि भन्थे । तर, रूपचन्द्र कड्किन्थे, 'कसलाई सजिलो पर्छ र कसलाई असजिलो पर्छ भन्ने उसैको काम । कसलाई खुसी पार्ने भनेर बोल्ने मेरो काम होइन, के सत्य हो भन्ने मात्रै मेरो काम ।'

को दोषी ?
रूपचन्द्रले थाहा आन्दोलनको प्रवर्द्धन गर्न थुप्रै नारा, गीत, कविता, टुक्का, मन्त्र पनि बनाएका थिए । एउटा कवितांश :
'केटाकेटी बिग्रे बाबुआमा दोषी
जनता बिग्रे सरकार दोषी
सरकार बिग्रे व्यवस्था दोषी
व्यवस्था बिग्रे अगुवा दोषी
अनि यथार्थमुखी, कर्तव्यमुखीबाहेक
पछुवा, भगुवा सारा दोषी ।
जात ठूलो कि जनता ?
नाता ठूलो कि न्याय ?
स्वार्थ ठूलो कि स्वार्थ ?'
(०३९ को स्थानीय चुनावको प्रचारमा तयार)

बाख्रा गोठालो चितुवा
पञ्चायती व्यवस्था यस्तै छ भनेर ०३९ मा उनले तयार पारेको अर्को कवितांश :
पैसाबाट सत्यता
पदबाट इन्साफ,
जातबाट जनहित
शोषकबाट विकास,
विदेशीबाट राष्ट्रियता
रन्डीबाट इमान,
गुन्डाबाट राजनीति
शासकबाट प्रजातन्त्र,
पाइन्छन् भन्नेले
लगाएछन् चितुवालाई
बाख्राको गोठालो ।

(विष्टका सहकर्मी रामनारायण बिडारीको सहयोगमा)

source:

Saturday, June 20, 2009

'थाहा' को स्मृतिमा

'थाहा' को स्मृतिमा

प्रताप विष्ट

सत्य र न्यायका पक्षपाती तथा निष्पक्षकर्मी रूपचन्द्र विष्ट 'थाहा' बितेको आज एक दशक भयो । २०५६ असार ७ गते उनले वीर अस्पतालमा देहत्याग गरेका थिए । गाउँका भोका/नाङ्गा र समाजमा दबाइएकालाई जागृत गराउन मकवानपुरवासीका घर-घर पुगेर आफ्ना लागि आपै“m उठनुपर्ने सन्देश दिने तिनै 'थाहा' को स्मरण हुनथालेको छ । कथनी र करनी एउटै भएका यिनले जनजागरणमा जीवन अर्पेका थिए । उनको भौतिक शरीर छैन तर उनले छरेका चेतनाका बीउहरू मकवानपुरमा अहिले फलिरहेका छन् । गाउँको विकासमा गाउँकै बासिन्दाको श्रम र लगानी हुनुपर्छ भन्ने अवधारणाबाट दामन- पालुङमा २०३१ सालमा उनले सञ्चालन गरेको निर्यातजन्य वस्तुमा कर उठाउने प्रचलनले अहिले संस्थागत रूप लिएको छ । यस क्षेत्रको विकास निर्माणको आधार यही कर बनेको छ ।

श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन, छाप्रोको राजनीति दरबारले गरेर हुँदैन भन्दै तल्लो तहका जनतालाई जागरण गर्दै हिँड्ने विष्ट हमेसा अन्यायविरुद्ध लड्नुपर्ने धारणा राख्थे । अन्याय नगर्ने र अन्याय नसहने उनको हक्की स्वभावबाट धेरै उतिबेला कायल थिए । 'हामी कसैका होइनौँ, कोही हाम्रा होइनन्, हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रा' उनको मुख्य धारणा यही थियो ।

उनले जात, नाताकुटुम्ब, परिवारलाई कहिल्यै मुख्य प्राथामिकतामा राखेनन् । उनी सत्यका घनघोर पक्षपाती थिए । मृत्युपर्यन्त विद्रोही उनी यथास्थितिमा रहन कदापि रुचाउँदैनथे । जुन वर्गको राजनीति रोज्यो, त्यही वर्गको जिन्दगी बाँच्न खोज्ने, धन- मान, मोजको आकर्षणमा लालची नहुने उनको चरित्र नेपाली राजनीतिकर्मीका लागि अनुकरणीय बन्नसक्छ । 'जो जति शक्तिमा छ, समाज सप्रे-बिग्रेमा, त्यो त्यति जिम्मेदार छ,' २७ वर्षअघि रूपचन्द्र विष्टले वितरण गरेको यो पर्चा अहिले पनि शास्वत छ । शक्तिमा भएकाहरू जिम्मेवार नहुने, दोषजति अरूलाई दिने, राम्रा कामको जस आफूले मात्र लिने प्रवृत्ति मौलाइरहेको अवस्थामा उनको यो भनाइ अहिले पनि सान्दर्भिक छ ।

तीसको दशकको सुरुमा उनले चलाएको 'थाहा' आन्दोलनको मुख्य सार थियो- निष्पक्ष सक्रियताको अभ्यास । निष्पक्ष भएपछि सक्रिय रहन कठिन हुने उनको तर्क थियो । पक्ष भएर काम गर्न सजिलो र सरल हुन्छ तर त्यसले विवेक गुमाउँछ भन्दै उनी 'थाहा' अभियानमा जुटे । कुनै दलसँग आबद्ध नरहेका विष्ट आग्रह र पूर्वाग्रहबाट मुक्त भएर निष्पक्ष ढङ्गले व्यवहार गर्थे । सबैसँग एकनासको व्यवहार गर्ने विष्ट राजनीतिज्ञभन्दा पनि दार्शनिक, चिन्तक र समाजसुधारक हुन् । उनले सार्वजनिक गरेका पर्चाहरू यसकै उदाहरण हुन् । २०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका यी निर्वाचनमा पर्चा बिक्री गरेर लडेका थिए । आफ्ना प्रतिद्वन्द्वीहरू भित्ताभरि फोटो टाँसेर चुनाव लडिरहेको अवस्थामा उनी फोटो होइन, विचार राखेर निर्वाचन लड्थे । उनले तत्कालीन राष्ट्रिय पञ्चायतमा बोल्ने क्रममा संविधानसभाको निर्वाचनको माग गरेका थिए ।

मकवानपुरको माटो प्रगतिशील राजनीतिको उर्वराभूमि बनाउने र निष्ठाको राजनीति गर्ने उनीप्रति २०४६ सालको आन्दोलनकारी शक्तिले न्याय गर्न सकेनन्, जसले गर्दा उनले

छाप्रा जगाउँदै आएको अभियानमा ठेस पुग्यो ।

तत्कालीन शिखरकोट गाविसको घर्तीखोलामा १९९० साल पुस २६

गते जन्मेका विष्टले समाजसुधारको अभियान दामन-पालुङबाट प्रारम्भ गरेका हुन् । दामन-पालुङका अधिकांश बासिन्दाको बोलीचाली, हाउभाउ र अनुहारमा विष्ट झल्कने गर्छ । उनको यो कर्मथलोमा त्यसै क्षेत्रका बासिन्दाको पहलमा पूर्णकदको चलायमान सालिक निर्मार्ण गरिएको छ । स्व. रूपचन्द्र विष्टका विचार, चिन्तन र आदर्श व्यवहारहरूलाई कुनै पनि राजनीतिक दर्शनको

घेरामा कैद गर्नु हुँदैन । स्व. विष्ट चिन्तक भएकाले उनले दिएका विचारको अध्ययन, विश्लेषण गरेर व्यवहारमा

उतार्न सकेमा उनीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।

Posted on: 2009-06-20 19:44:19

source:

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=200194

Search and Buy from amazon.com