Showing posts with label prithvi narayan shah. Show all posts
Showing posts with label prithvi narayan shah. Show all posts

Thursday, May 27, 2010

यस्ता थिए सनकी राजाहरु

यस्ता थिए सनकी राजाहरु

Font size: Decrease font Enlarge font
image

प्रा. दिनेशराज पन्त
इतिहासविद्

इतिहासमा नेपाल एकीकरण अभियानका नायकका रूपमा चिनिएका राजा पृथ्वीनारायण शाहको अर्को रूप धेरैलाई थाहा छैन । उनी एकदमै क्रुर स्वभावका थिए । आफूले भनेको काम पूरा नभए घनघोर रिसाउँथे । राज्य चलाउन कुशल र निडर व्यक्तित्वको धनी भए पनि उनी रिस उठेको वेला कसैलाई बाँकी राख्दैनथे । आफ्ना नातागोतालाई त तथानाम भन्ने नै भए, रिसाएको वेला सेनापति कालु पाण्डेलाई समेत 'काले' भनेर बोलाउँथे, उनी । रिस उठेका वेला उनी अदब/बेअदब केही पनि जान्दैनथे । कीर्तिपुरसित तीनपटक हारेका उनले अन्ततः कीर्तिपुर जितिछाडे । र, कीर्तिपुरवासीका नाक र चुल्ठो काटेर आफ्नो क्रोध र सनकको अद्भूत उदाहरण दिएका थिए 

पृथ्वीनारायणका पिता नरभूपाल शाहले पहिलोपटक नुवाकोट आक्रमण गर्दा दुईजना सेनापति खटाएका थिए, जयन्त राना र अमर पन्त । काठमाडौं राज्यअन्तर्गत पर्ने नुवाकोटको लडाइँमा हार भएपछि नरभूपालले अमरलाई आफ्नो पि्रयपात्र बनाए । उता, जयन्तलाई भने वास्तै गर्न छाडिदिए । यसले जयन्तको चित्त दुख्यो । उनले काठमाडौंका राजा जयप्रकाश मल्ललाई साथ दिए । जयप्रकाशले उनलाई सेनापतिकै जिम्मा दिए । पृथ्वीनारायण शाहले अर्कोपटक नुवाकोट हमला गर्दा जयन्तलाई गोर्खाली फौजमा र्फकन चिठी पठाए 

जयन्तले आफूले जयप्रकाशको नुन खाएकाले फिर्ता नहुने जवाफ दिए । यसले गर्दा पृथ्वीनारायण शाहलाई निकै रिस उठाएको थियो- गोर्खाली फौजको कमान्डर नै दुस्मन फौजतिर लागेको भनेर 

०००

पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट जिते । त्यसपछि बेलकोटमा बसेको जयन्तलाई जित्न लडाइँको तयारी गरेँ । कालु पाण्डेले फौज तयारी अवस्थामा नभएकाले लडाइँ नगर्ने सल्लाह दिए । पृथ्वीनारायण शाहले जँगिँदै 'काले, लडाइँ कति वेला लड्ने भनेर तिमीले सिकाउने होइन । फौज ठीक पार' भने भन्ने केही इतिहासकारले उल्लेख गरेका छन् । लडाइँमा गोर्खाली सेनातर्फ निकै क्षति पुगे पनि अन्त्यमा जित गोर्खाकै भयो । त्यसपछि उनले जयन्तलाई नियन्त्रणमा लिएर छाला काढेर मारे भने जयन्तका छोरा शंखमणिलाई पनि काटे 

०००

उनको सनकसँग जोडिएको अर्को पनि रोचक प्रसंग छ । उनले भक्तपुरकी नेवार्नीसित बिहे गरेका थिए । कम उमेरमै उनी क्षयरोगले थलिइन् । त्यसपछि उनलाई कासी लैजाने सल्लाह भएछ । डोलीमा राखेर कासी पठाइयो । देवघाटको बाटोबाट लैजाँदै गर्दा पाल्पाका राजा त्रिविक्रमले पुथ्वीनारायणकी रानीको घुम्टो खोलेर अनुहार हेरे रे भन्ने सुनेपछि त्रिविक्रमलाई जेल हालेका थिए, पृथ्वीनारायणले 

surendra-shahउनका पिता नरभूपालको मगजै गडबड् थियो । आफ्नो जीवनको अन्तिम समयमा उनी तरुनी केटी लिएर वनतिर डुल्ने गर्थे । एकहोरो स्वभावका उनी वेला-वेला असाध्यै रिसाउने गर्थे । नुवाकोट र तनहुँसँग पराजय भएपछि उनमा तनाव चुलिएको पाइन्छ 

पृथ्वीनारायणका कान्छा छोरा बहादुर शाह भने अरू कसैको सनकको नराम्रो सिकार भए । नेपालको राज्य विस्तारमा ठूलो योगदान पुर्‍याएका उनी दरबारिया षड्यन्त्रमा परे । नायवी रूपमा शासन चलाएका उनको अन्त्य अत्यन्त हृदयविदारक रह्यो । उनलाई तेल खन्याएर मारिएको थियो 

०००

राजा रणबहादुर शाहलाई बौलाहा राजा भनिन्थ्यो । हुन पनि उनी मानसिक सन्तुलन नभएका राजा थिए । कहाँ, कहिले र कसलाई के गर्थे, केही भन्न सकिन्नथ्यो । स्वेच्छाचारिता उनको व्यक्तित्वको अभिन्न हिस्सा थियो । जे मन लाग्यो त्यही गर्थे । छाडा थिए । उनीमाथि कसैले अंकुश लगाउन सक्दैनथ्यो । क्षणमै रिसाउने, क्षणमै खुसाउने ! ठेगानै नभएको मान्छे थिए, उनी 

केही वर्षसम्म राजा भएपछि उनले छोरालाई धर्मपत्र गरी राज्य सुम्पिए । त्यसको केही समयपछि फेरि राजा हुने इच्छा जनाए । निर्माणानन्द स्वामी नाम राखेर केही भारदारलाई साथमा लिएर कासीतिर पनि हिँडे । तर, त्यहाँ धेरै दिन टिक्न सकेनन् । यस्तैखाले व्यवहारले उनलाई नोक्सान पुगेको पाइन्छ 

०००

रणबहादुरले खर्च बढी गरे भन्ने विषयमा हालको रणमुक्तेश्वरको एक घरमा कचहरी चल्दै थियो । सो कचहरीमा सहभागी थिए- भीमसेन थापा, काजी त्रिभुवन प्रधान, शेरबहादुर शाह, बालनरसिंह कुँवर आदि । कचहरीमा भनाभन बढ्दै गएपछि रणबहादुरका सहोदर भाइ शेरबहादुरले उनलाई ठाउँको ठाउँ तरबारले दुई टुक्रा पारिदिए । यो कस्तो आक्रोश ? चित्त नबुझे रेटिहाल्ने । सत्ता प्राप्ति र पदमा पुग्न यस्ताखाले घटना त्यतिबेला ख्याल-ख्याल हुन्थे । राजाहरू मात्र होइनन्, सेनापति, चौतरियाजस्ता शक्तिशाली ओहदामा रहेकाहरू पनि आफ्ना विपक्षीलाई तह लगाइछाड्थे । उनीहरूको आवेग र सनक कहाँ कसरी प्रकट हुन्थ्यो, अनुमानै गर्न सकिन्नथ्यो 

०००

prithvibikramराजेन्द्रविक्रम भलादमी राजा भए पनि कहिलेकाहीँ उनी पनि सनक प्रदर्शन गर्थे । उनको भलादमीपनको फाइदा सुरुमा भीमसेन थापाले उठाए भने, पछि जंगबहादुरले । उनको कमजोर शासकीय शैलीकै कारण कोतपर्व, भण्डारखालजस्ता घटना भए । राणाशासनको जन्म भयो । राजा आफै नजरबन्दमा परे । उनलाई कहिले भक्तपुर त कहिले हनुमानढोकामा राखिएको थियो । नजरबन्दमै उनलाई फकाउन राम्री तरुनी पठाइन्थ्यो । उनले बन्दी अवस्थामै इतिहासमा आफ्ना पुर्खालाई कति 'श्री'को दर्जा दिने भनेर लेखेका थिए । उनले पृथ्वीनारायण शाहलाई श्री ५२ भनेर लेखेका थिए भने कसैलाई श्री ८ त, कसैलाई श्री ५ ठीक हुने भनेर लेखेका थिए । उनकी रानी राज्यलक्ष्मीलाई देश निकाला गरियो । राजेन्द्रका छोरा देवेन्द्रलाई विष पिलाएको झुटो आरोप भीमसेन थापामाथि लगाइयो । त्यसवेला राजाले केही प्रतिकार गर्न सकेनन् । त्यो झुटो लान्छनाको अपमान सहन नसकेर भीमसेन जेलको झ्यालको सिसाले रेटिए र घाइते भए । त्यसको केही दिनपछि मात्र उनको मृत्यु भयो । लास विष्णुमतीमा फालियो । कसैले वास्ता गरेनन् 

०००

इतिहासका अर्का सनकी राजा हुन्- सुरेन्द्रविक्रम शाह । वास्तवामा उनलाई सनकीहरूको सरदार नै भनिदिए पनि हुन्छ । रिसाएको वेला बाबुलाई समेत कुट्न पछि नपर्ने ! आफूले चाहेको कुरा हुनैपर्ने, पाउनैपर्ने । वेला-वेला राजगद्धी छाड्दिन्छु भनेर जंगबहादुरलाई धम्क्याउँथे । जंगबहादुर उनलाई फकाउन पिठ्युँमा बोक्ने गर्थे । युवा अवस्थामा एकदमै जोशिला जंगबहादुर सुरेन्द्रले भनेका कुरा सबै पुर्‍याइदिन्थे । सुरेन्द्र उनलाई कहिले जिउँदै हात्ती पक्रन लगाउँथे भने कहिले त्रिशूलीमा हामफाल्न लगाउँथे । धरहराबाट हामफालेर जंगबहादुरले बहादुरी देखाएकै थिए । यी सबै काम सुरेन्द्रलाई खुसी पार्न गरेका थिए, जंगबहादुरले 

०००

त्रैलोक्य विक्रमको कलिलो उमेरमै मृत्यु भएपछि उनका जेठा छोरा पृथ्वीविक्रम राजा भए । उनले चारपटक बिहे गरेका थिए । उनका दुईजना रानी भारतीय थिए भने दुईजनाचाहिँ वीरशमशेरका छोरी थिए । निडर स्वभावका पृथ्वीविक्रम मदिराप्रेमी थिए । उनकी आमा जंगबहादुरकी छोरी भएकाले सम्बन्ध राणासँग जोडिएको थियो । त्यसैले उनलाई कड्किन र रिस पोख्नबाट कसैले रोक्न सक्दैनथ्यो । उनी तथानाम भन्न कसैलाई बाँकी राख्दैनथे । प्रधानमन्त्रीले मागेजति पैसा दरबार नपठाएको भनेर उनले पठाइएको पैसा जलाइदिएका थिए । पछि मागेजति पैसा पुर्‍याइएको थियो 

०००

सनकी त राणाहरू पनि थिए । राजाहरूभन्दा कम्ती सनकी थिएनन् । प्रधानमन्त्रीको रोलक्रममा आफ्नो पालो नआउने बनायो भनेर प्रधानमन्त्री रणोद्वीपलाई वीरशमशेर पक्षका राणाहरूले गोली हानेर मारे । भाइ पक्षलाई बाइपास गरेको भन्नेमा वीरलगायत खड्ग, डम्बर, भीम आदि थिए । नेपालको इतिहासमा कार्यकालमै गोल्ाी हानी हत्या गरिएका प्रधानमन्त्री रणोद्वीप नै थिए । यो वि.सं. १९४२ सालको घटना हो 

राजा त्रिभुवन निकै दूरदर्शी थिए । शाहवंशको गुमेको शक्ति फर्काउनु नै उनको मुख्य धेय थियो । त्यसका लागि भारतमा निर्वासनमा बसेर प्रजातन्त्र ल्याइछाडे । उनको सनक सही कुराका लागि हुने गरेको पाइन्छ । पढेलेखेका भएकाले उनी त्यति घमण्डी थिएनन् 

पृथ्वीनारायण शाहपछिका शक्तिशाली राजा हुन्, महेन्द्र । उनी एक अर्थमा दम्भी पनि थिए । र, राज्य गर्ने नीति थियो, उनमा । कतिले अधिकारको दुरुपयोग गरेर पञ्चायत लादेको भन्ने पनि गर्छन् । शाहवंश शक्तिशाली भइरहोस् भन्ने ध्येय देखिन्थ्यो उनको । स्वाभवाले त हठी थिए, उनी । आफूले चाहेको पूरा हुनैपर्ने । रत्नसितको बिहे त्रिभुवनले चाहेका थिएनन् । तर, महेन्द्रले रत्नै चाहिन्छ भनेर मरिहत्ते गरेका थिए 

इतिहासका अन्तिम राजा ज्ञानेन्द्रलाई धेरैले सनकी भन्छन् । तर, उनका धेरै कुरा अझै बाहिर आइसकेका छैनन् 

प्रस्तुतिः रामदत्त पन्त
pantnp@gmail.com

source:

http://www.nayapatrika.net/newsportal/middle_page/13885.html


Search and Buy from amazon.com