Showing posts with label willful defaulters to be prosecuted. Show all posts
Showing posts with label willful defaulters to be prosecuted. Show all posts

Saturday, April 4, 2009

कालोसूचीका ऋणीलाई पक्राउ गरिने

कालोसूचीका ऋणीलाई पक्राउ गरिने

यदु देवकोटा/नयाँ पत्रिका
काठमाडौं, २२ चैत
2009-04-05,Sunday

बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचीमा परेका ऋणीहरू पक्राउ पर्ने भएका छन् । उनीहरूलाई समाती छुट्टै घरमा थुनेर अनुसन्धान गर्नुपर्ने निर्णय सरकारद्वारा गठित खराब कर्जा अनुगमन समितिले गरेको छ ।

पहिलो चरणमा समितिले पाँच करोडभन्दा बढी कर्जा लिएका ऋणीलाई गिरफ्तार गर्न गृह मन्त्रालयलाई पत्र लेख्नेछ । उनीहरूलाई प्रहरीमा राख्दा अनुसन्धानमा कठिनाइ हुने भएकाले छुट्टै घरको व्यवस्था भएपछि मात्र पत्र पठाइने बताइएको छ । पक्राउ गर्ने ऋणीको सूची समितिले तयार गरिसकेको छ ।

समितिका संयोजक हरि रोकाले कालोसूचीमा परेका ऋणीलाई गिरफ्तार गर्न गृह मन्त्रालयसँग आग्रह गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, 'गिरफ्तार ऋणीहरूलाई थुन्न छुट्टै घरको व्यवस्थाका लागि पनि सरकारलाई अनुरोध गर्नेछौँ ।'

ऋणीलाई गिरफ्तार गर्ने विषयमा गृह मन्त्रालयसँग मौखिक कुराकानी भने भइसकेको संयोजक रोकाले बताए । उनले भने, 'उहाँहरूले पत्र पाएपछि पक्राउ गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।'

ऋण नतिर्ने मात्र हैन, कमसल धितोलाई बढी मूल्यांकन गरी कर्जा स्वीकृत गर्ने कर्मचारीसमेत कारबाहीको घेरामा पर्ने भएका छन् । यसअघि कर्मचारीलाई कारबाहीको दायरामा राख्ने गरिएको थिएन । धितो मूल्यांकन प्रक्रियामा तल-माथि भएको देखिएमा कर्मचारीलाई समेत कारबाही अगाडि बढाइने समितिले जनाएको छ । यसका लागि सम्बन्धित कर्मचारीलाई बोलाएर जानकारी लिइने संयोजक रोका बताउँछन् ।

समितिले कालोसूचीमा परेको कर्जाका बारेमा विस्तृत अध्ययन पनि थालेको छ । कर्जा लिनलाई बैंक तथा वित्तीय संस्थामा निवेदन दिएदेखि कर्जा स्वीकृत हुँदासम्मको प्रक्रियाका बारेमा समितिले अध्ययन गर्नेछ ।

मन्त्रिरिषद्को गत माघ २९ गते बसेको बैठकले कालोसूचीमा परेका ऋणीहरूमाथि भएको कारबाहीको अनुगमन गर्न सभासद् हरि रोकाको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति गठन गरेको थियो । खराब कर्जाको विषयमा अनुसन्धान गर्ने अधिकारसमेत समितिलाई दिइएको छ । समितिका सदस्यहरूमा डेपुटी गभर्नर, अर्थमन्त्रालयका सहसचिव, बैंकर्स एसोसिएसनका अध्यक्ष र राष्ट्र बैंक सुपरीवेक्षण तथा अनुगमन विभागका प्रमुख रहेका छन् । समितले पाँच करोड रुपैयाँभन्दा बढी ऋण बोकेका ३३ र एक करोड रुपैयाँभन्दा बढी ऋण भएका दुई सय ३८ जनालाई कारबाहीको सूचीमा राखेको छ ।

हालसम्म कालोसूचीमा राखिएका पाँच ऋणीले बैंकको सम्पर्कमा आएर ऋण तिर्ने सहमति जनाएका छन् । एक ऋणीले २० लाख रुपैयाँ तिरेर मासिक ३० हजार रुपैयाँ बुझाउने प्रतिबद्धता गरेको समिति स्रोत बताउँछ ।

सिद्धेश्वरी इन्डस्ट्रिज प्रालिको एभरेस्ट बैंकमा रहेको खाता समितिले रोक्का गराएको छ । २१ जनाको डेबिट/क्रेडिट कार्ड रोक्का भएको छ भने सातजनाको बैंकमा राखिएको लकर र खाता रोक्का गरिएको छ । एक सय दुई व्यक्तिको १२ बैंकमा रहेका खाता रोक्का गर्न समितिले सम्बन्धित बैंकलाई पत्राचार गरेको छ । त्यस्तै, ६ व्यक्तिको बैंक खाता तथा कार्ड रोक्का र एकजनाको लकर रोक्का गर्न बैंकलाई पत्र पठाइएको छ । समितिले पहिलो चरणमा कारबाहीमा परेका प्रमुख ऋणीको नाममा रहेको घरजग्गाको विवरणसमेत भूमिसुधार मन्त्रालयमार्फत संकलन गर्न थालेको छ । संयोजक रोकाका अनुसार उनीहरूको तीन पुस्ताको नाममा आठ जिल्लामा सम्पत्ति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 'त्यसका आधारमा सम्पूर्ण विवरण पठाउन पत्र लेखेका छौँ,' रोकाले भने ।

केही ऋणीहरूले बैंकका कारण आफूहरू डुबेको बयान समितिमा दिएकाले बैंक र ऋणीहरूलाई बोलाएर छलफल गरिने भएको छ ।

source: http://www.nayapatrika.com/newsdetail.php?id=904041042197136&n_id=23

Search and Buy from amazon.com