Showing posts with label origin of nepali bahun and chhetri. Show all posts
Showing posts with label origin of nepali bahun and chhetri. Show all posts

Wednesday, April 1, 2009

खशहरु आर्यमूलका क्षेत्रीहरु नभई आग्नेयीमूलका शेर्पा आदिवासीहरु हुन् - प्रा. श्यामसुन्दर शेर्पा

खशहरु आर्यमूलका क्षेत्रीहरु नभई आग्नेयीमूलका शेर्पा आदिवासीहरु हुन् - प्रा. श्यामसुन्दर शेर्पा
१३-चैत-२०६५,बिहिवार
पश्चिम नेपालको कर्णाली प्रदेशका चौधबीस भेकमा आदिमकालदेखि बसोबास गरेर राज्य चलाई पूर्व–मध्यकालमा आफ्नो आधिपत्य र बाहुल्यता कायम गरेर अहिले सुदूर पश्चिमाञ्चल क्षेत्र अन्तर्गतका जुम्ला, वझाङ, तिब्रिकोट, जाजरकोट आदि जिल्लाहरूमा छरिएर बसेका आग्नेयी शेर्पामूलका खश आदिबासीहरूलाई अज्ञानताको दलदलमा फसेर अहिलेसम्मका केही विद्वानहरूले ककेशियालीमूलका आर्यहरूका रूपमा उल्लेख गरेका पाइन्छन् भने केहीले चाहिँ मङ्गोलमूलका भोट–वर्मेली परिवारका जनजातिहरूका रूपमा चित्रण गरेका देखिन्छन्। तर यस उपमहाद्वीपमा प्राप्त भएका अहिलेसम्मका सम्पूर्ण ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, भाषिक, धार्मिक आदि प्रमाणहरूलाई केलाएर हेर्दा यी खशहरू ढुंगे–धातु युगको चौथो सहस्राब्दी (३५०० ईश्वी पूर्व)तिर नै सिन्धु तथा नेपाली सभ्यताहरूलाई सिर्जना गरेर चरमोत्कतर््तामा उतार्न सफल भएका र शेर्पा भाषामा 'शरब' भनिएर ऋग्वेद (१०/१२५/६)मा समेत त्यसैलाई अपभ्रंश गरेर 'शरव' भनिएका सिङ्गो भारतीय उपमहाद्वीपकै मूलबासी आग्नेयीमूलका अनार्य शेर्पा आदिबासीहरूका वंशजहरूका रूपमा प्रमाणित भएका देखिन्छन्।  
वास्तवमा, यी खशहरू शेर्पा आदिबासीहरूका वंशजहरू हुन् भन्ने कुरा यिनीहरूको जातीय नामको 'खश' भन्ने शब्द शेर्पा भाषाका 'ख (मुख) र 'श (मासु)' भन्ने शब्दहरूको संयोजनबाट बनेर  “मुखमा मासु हुने मानिसहरू” भनेर अर्थिई शिकारी युगका मांसाहारी जातिका मानिसहरूको “तपाईंको मुखमा मासु नै मासु परोस” भन्ने उखानलाई चरितार्थ गरेर पशुपालन युगको “तपाईंको मुखमा दूध र भात परोस” भन्ने उखानको जग बसाएको देखिएबाट स्पष्ट हुन्छ। यसबाट यी खशहरू शेर्पाहरू जस्तै शिकारी युगका मांसाहारी जातिका मानिसहरूका वंशजहरू हुन् भन्ने कुरालाई संकेत गरेको बुझिन्छ। किनभने, शेर्पा भाषामा 'शरब' भनिने शेर्पाहरूलाई ऋग्वेद (१०/१२५/६)मा समेत अपभ्रंश गरी “दानव” भन्ने अर्थमा 'शरव' भनिएको छ भने त्यसैलाई अझै अपभ्रंश गरेर ऋग्वेदकै मूल ग्रन्थ ऐतरेय ब्राह्मण (ऐ.ब्रा.३३अ.६.पृ.नं.८५६)मा चाहिँ 'शवर'  भनिएको पाइन्छ। संस्कृत भाषामा 'शवर' भन्ने शब्दले अनार्य जातिलाई बुझाएको देखिन्छ भने तिब्बती भाषामा यसैबाट अपभ्रंश भएको 'शवरी' भन्ने शब्दको अर्थ चाहिँ “शिकारी जाति” हुन्छ। त्यसै गरी, शेर्पा भाषाको 'खश' भन्ने शब्दको अर्थले जस्तै शेर्पा भाषाको 'शरब' भन्ने शब्दको अर्थले पनि शेर्पा भाषाकै 'श (मासु', 'र (वाख्र्रा) तथा 'ब/बस्तु (बस्तुभाउ)' भन्ने शब्दहरूको संयोजन गरेर “बाख्राहरूका साथै वस्तुभाउको मासु खानेहरू” भनी अर्थिएर शेर्पाहरू शिकारी युगका मांसाहारी जातिका मानिसहरू हुन् भन्ने तथ्यको उद्घाटन गरी यी खशहरू शेर्पाहरूकै वंशजहरू हुन् भनेर प्रमाणित गरेको देखिन्छ। त्यसैले यी खशहरूलाई पनि शेर्पाहरूलाई जस्तै गरी जाँड खाने जातिका मानिसहरू भनी 'जाँडे/जाडे' भनिँदै 'जाँड/जाड'  भन्नुका साथै अहिले पनि शेर्पा भाषाको 'पावी (पिताजीको)' भन्ने शब्दलाई अपभ्रंश गरी “पावै/पावई खश” भनी “पिता–पुर्खाको/पुर्ख्यौली” भन्ने अर्थलाई संकेत गरी “पुर्ख्यौली खश” भन्ने अर्थलाई बुझाएर यी खशहरू निश्चित रूपमा शेर्पा आदिबासीहरूका उत्तराधिकारीहरू भएको तथ्यलाई पुष्टि गरेको देखिन्छ। यस तथ्यलाई शेर्पाहरूले अहिले पनि शेर्पा भाषामा आफ्ना जन्मदिने बाबुलाई 'पाल' भनेर ऊनलाई पनि 'पाल्' भन्ने गरेका पाइएबाट पनि पुष्टि गर्न सकिन्छ। वास्तवमा, शेर्पा भाषाका यिनै 'पाल' र 'पाल्' भन्ने शब्दहरूकै प्रमुख आधारशिलामा खडा भएर  शेर्पाहरूका जातिय थरहरू मध्येको 'थिमी' समेत भनिने सलाका थरका उप–थरहरू मध्येको एक थरको नाम “पाल्दर्चे सलाका” भनेर रहेको देखिन्छ। यसबाट यो पाल्दर्चे सलाकाको नाम पनि शेर्पा भाषाको 'पाल्–दर्ची' भन्ने शब्दबाट “भेंडाको ऊनलाई ढुङ्गामा माडेर मुलायम बनाउने मान्छे” भन्ने अर्थ जनाई राखिएको पाइन्छ। यसबाट यस भेकमा तत्कालीन अनार्य शेर्पा आदिबासीहरूले भेंडा पालन गरेर भेंडाका ऊनलाई ढुङ्गामा माडेर मुलायम बनाएर राडी, पाखी, लुकुनी आदिको उत्पादन गरेका थिए भन्ने तथ्यको उद्घाटन हुन्छ। भेंडाका ऊनलाई ढुङ्गामा माडेर मुलायम बनाएर राडी, पाखी आदिको उत्पादन गर्ने चलन नेपालका दर्गम गाउँहरूमा अझै जिउदै भएका देखिन्छन््। खश अधिराज्य फष्टाएको सुदूर पश्चिम नेपालको अहिले पनि ढुङ्गै ढुङ्गाका खानीहरू भेटिने दार्चुलाको नाम पनि शेर्पा भाषाका “साूध लगाउने ढुङ्गा” भनी अर्थिने 'दर्चु' र 'देवता' भनी अर्थिने 'ल्हा' भन्ने शब्दहरूको संयोजनबाट निर्मित'दर्चु–ल्हा' भन्ने शब्दबाट “साँध लगाउने देवता जस्ता ढुङ्गाहरू भएको ठाउँ” भनी अर्थिएर रहेको पाइएबाट पनि यस तथ्यको पुष्टि गर्न सकिन्छ। यसका साथै, यस तथ्यलाई खश अधिराज्य फष्टाएको पश्चिम नेपालको पाल्पा जिल्लाको नाम पनि शेर्पा भाषाका 'पाल् (ऊन)' र 'पा/ब (वाला/मालिक)' भन्ने शब्दहरूको संयोजनबाट निर्मित'पाल्–पा' भन्ने शब्दबाट “भेंडाका ऊनका मालिकले बसोबास गरेका ठाउँ” भन्ने अर्थ जनाई राखिएको पाइएबाट पनि पुष्टि गर्न सकिन्छ। त्यसै गरी, यस तथ्यलाई पश्चिमी नेपालको खश राजा पृथ्वीमल्लको शाके संवत् १२७८ (सन् १३५६ ईश्वी)को कनकपत्रमा शेर्पा भाषाका “ऊन,” “बोकेर/लिएर” तथा “जाने” भनी अर्थ जनाउने पा(ल्), षोऊइ(खोर्उ्कइ) तथा डोऊ भन्ने शब्दहरूको साथमा संस्कृत भाषाका “लाभांश” तथा “खटिएर आएका राजपरुषलाई दिइने सिधाका रूपको कर” भनी अर्थ जनाउने 'हार्य(हारो' तथा 'मानु' भन्ने शब्दहरूको संयोजनबाट “ऊन बोकेर/लिएर जानेले खटिएर आएका राजपरुषलाई दिइने सिधाका रूपको कर/लाभांश)” भन्ने अर्थ जनाएर “पाषो ऊइडो ऊहारो मानु” भनिएको पाइएबाट समेत सहज रूपले पुष्टि गर्न सकिन्छ। यसबाट पाल्पा खशहरूका पालामा ऊन उत्पादनको एउटा प्रमुख केन्द्र थियो भन्ने कुराको पुष्टि हुन्छ। यहाँका अनुश्रुतिहरू अनुसार पनि चौथो शताब्दी ईश्वी पूर्वको मानिने कौटिल्यको अर्थशास्त्र लगायत जैन तथा बौद्धग्रन्थहरूका साथै अन्य पौराणिक श्रोतहरूमा समेत भारतीय बजारमा महत्वपूर्ण स्थान राख्ने नेपालका कम्बलहरूको सम्बन्धमा चर्चा गरिएको पाइन्छ। यस तथ्यलाई हिन्दू धर्मशास्त्रहरूमा पश्चिम नेपालको पाल्पालाई नेपालको ऐतिहासिक गरिमापूर्ण र प्राकृतिक सौन्दर्यले सम्पन्न ठाउँको रूपमा “नेपालगौरवे पाल्पाविषये  विश्वविश्रुते” भनी उल्लेख गरेको पाइएबाट स्पष्ट रूपले पुष्टि गर्न सकिन्छ। यसबाट यस भेकमा तत्कालीन शेर्पा आदिबासीहरूले भेंडा पालन गरेर भेंडाको ऊनलाई ढुङ्गामा माडेर मुलायम बनाएर राडी, पाखी, लुकुनी आदिको उत्पादन गरेर अनि तिनीहरूलाई देश तथा विदेशमा बिक्री गरेर खश अधिराज्यको अर्थतन्त्रलाई फष्टाएर नेपाली सभ्यतालाई चर्मोत्कर्षमा उतारेका थिए भन्ने तथ्यको पनि पुष्टि हुन्छ। यस तथ्यलाई स्वयं नेपाल देशको नाम समेत “प्रशस्तै ऊन भएको तीर्थस्थान” भनिएर शेर्पा भाषाका 'ने (तीर्थ) र 'पाल् (ऊन)' भन्ने शब्दहरूको संयोजनबाट निर्मित 'ने–पाल्' भन्ने शब्दबाट राखिएको पाइनुका साथै प्राचीन नेपालका लिच्छविकालीन अभिलेखहरूमा “शेर्पाहरूका कुलदेवता शम्बरहरूको शहर” भन्ने अर्थको 'साम्बपुर' भन्ने शब्दको साथै “भेडाका थुम्बाहरूले हान्ने ठाउँ” भनी अर्थिने शेर्पा भाषाको 'थम्बि–दुल' भन्ने शब्दको प्रयोग गरिएका पाइएबाट पनि पुष्टि गरेर प्रमाणित गर्न सकिन्छ। यसका साथै, यस तथ्यलाई जननेन्द्रियवाट हुने सम्पन्नता/उर्वरताको अभिवृद्धिको अर्थबोध गराउने काठमाडौंको राष्ट्रिय संग्रहालयका शक्तिसहितका साूढे र राूगाका शिरपोश धारण गरी उभिएका शेर्पाहरूका कुलदेवता बृषशम्बर तथा महिषशम्बरका चौधौं शताब्दी ईश्वीका कूासका मूर्तिहरूका साथै सिन्धु उपत्यकाको मोहनजोदरोमा पुरातात्विक उत्खनन् हँुँदा प्राप्त भएको ढुंगे–धातु युगको शेर्पाहरूका कुलदेवता महिषशम्बर अंकित एक पाको–माटोका पशुपति–मुद्रामा बाघ, हात्ती, गैंडा तथा भैंसीलाई तैनाथ गराई उक्त महिषशम्बरको आसन मुनिबाट भेंडा–बाख्रा वर्गका दुइ बाख्रा/मृगलाई देखाइएको पाइएबाट सहज रूपमा प्रमाणित गर्र्न सकिन्छ। यसै तथ्यलाई स्वीकारेर नै दुल्लु कीर्तिस्तम्भाभिलेखमा खशहरूलाई आद्यैतिहासिक वंशका मानिसहरू हुन् भन्ने तथ्यको उद्घाटन गरेर 'आदित्यवंश' भनी आदिपाल, अमरपाल, जयपाल (प्रथम), विजयपाल, वीरपाल, विक्रमपाल, श्रीपाल, धीरपाल, सोमपाल, सूर्यपाल, समुद्रपाल, सुखपाल, बिग(ग्र)हपाल, महीपाल (वरपाल, गजपाल), विश्वपाल, जीवपाल, सरलपाल र जयपाल (द्वितीय)का नामहरूको सम्झना गरेका देखिन्छन्। यसका अतिरिक्त, यस तथ्यलाई यी दुवै जातिका मानिसहरूले आफूहरू छैठौं शताब्दी ईश्वी पूर्व देखि वर्तमान समयसम्म जन्मसिद्ध बौद्धमार्गी भएर पनि आफ्ना जन्मदेखि मृत्युसम्मका सम्पूर्ण सांस्कारिक कार्यक्रमहरूमा शिकारी युगको परम्पराको अर्थबोध गरेर भाङ्–धतुरो (मादक–पदार्थ) खाएर मस्त हुने शिवका शिकारी रूपका मानिसहरू जस्तै भएर अनिवार्य रूपमा सुँगुर, राँगा, गोरू आदिको मासुको साथमा जाूड–रक्सीको प्रयोग गरेर आफ्ना पुरोहितहरूमार्फत शेर्पा भाषामा 'क्षो' भनिने लामावादी बौद्ध धर्मग्रन्थहरूबाट शिव भगवानलाई आफ्ना कुलदेवता मानेर “शिवदाङ्। ङोदाङ् टशी फेल्वर जद्दुसोल”  भनी पूजा–आजा गरेका पाइएबाट पनि वस्तुगत रूपमा पुष्टि गर्न सकिन्छ। त्यसै कारण, यी खशहरूले अझै पनि आफूहरूलाई 'ऐडी'  भन्ने थरबाट पनि चिनाउने गरेका देखिन्छन्। वास्तवमा, यस 'ऐडी (अइ–डी)' भन्ने शब्दले शेर्पा भाषाका ऐ (भगवानको) तथा डी (याक्सा) भन्ने शब्दहरूको संयोजनबाट “भगवानको याक्सा” भन्ने अर्थ जनाउने काम गरेको देखिन्छ। यही 'ऐडी (अइ–डी)' भन्ने शेर्पा शब्दको 'ऐ (अइ)' भन्ने उपसर्गबाट नै यस उपमहाद्वीपका शेर्पा आदिवासीहरूले आफ्ना परिवारका दिवङ्गत भइसकेका मानिसहरूका प्रतिमाहरूको निर्माण गरेर पूजाआजा गरी अन्त्येष्टि–कर्म गर्दा बडो भाव विह्वल भएर “भगवानलाई परमात्माका स्वरूप भएका हीरा, मोती आदि रत्नद्वारा सुसज्जित नागविशेषको हुङ्कारको प्रतिध्वनी गर्ने लेकाली डाँडोलाई प्रार्थना अर्पण गर्दछु” भन्ने अर्थ खुल्ने “अला ॐ मणि मणि पद्मे हुँ हि्र” भन्ने जस्ता मन्त्रहरूको निर्माण गरेर जपेका देखिन्छन्। त्यसै गरी, संस्कृत शब्द ऐ (शिव) तथा शेर्पा शब्द डी (याक्सा) शब्दहरूको संयोजनबाट बनेको 'ऐडी (अइ–डी)' भन्ने शब्दको “शिवजीको याक्सा” भन्ने अर्थ पनि भएको देखिन्छ। यसबाट यी खशहरू ऋग्वेदको सातौं मण्डलको एक्काइसौं सूक्तको पाँचौं मन्त्रमा “शैवमार्गी” भन्ने अर्थ जनाई “शिश्नदेवा” अर्थात “लिङ्ग–पूजक” भनी आर्यहरूद्वारा अपमानित र अबहेलित हुने सिङ्गो यस उपमहाद्वीपका मूलवासी अनार्य शेर्पा आदिवासीहरूका वंशजहरू हुन् भनेर प्रमाणित हुन्छन्। यस तथ्यलाई प्रष्ट्याएर बोधगयाको अशोकचल्लको नामको लक्ष्मण संवत् ७४ (वि. सं. १३३२/ई. सं. १२७५) अङ्कित भएको अभिलेख, खश राजा पृथ्वीमल्लले शाके संवत् १२७९ (सन् १३५७ ईश्वी)मा स्थापना गरेको दुल्लु कीर्तिस्तम्भाभिलेख आदि अभिलेखहरूका शेर्पा भाषाका अधिकांश शब्दहरूलाई संस्कृतकरण गरेर संस्कृत भाषाका शब्दहरूको दाँजोमा बढी मात्रामा प्रयोग गरिएको पाइएबाट स्पष्ट रूपमा पुष्टि गर्न सकिन्छ। उदाहरणकालागि, “ॐ म नि (णि) पद्मे हुँ” भन्ने मन्त्रलाई अग्रभागमा उल्लेख गरेर “अथ खारि प्रदेशथो यो जावेश्वर ताम गा त् (त)। तेन श्रीनागराजेन (राजन्) सेञ्जा (शिङ्जा)पुर्या स्थिति (ः) कृता (किता)।। १२।।” भन्ने दुल्लु कीर्तिस्तम्भाभिलेखमा शेर्पा भाषाका 'खा (हिउँ),' 'रि/हि्र (लेकाली डाँडो),' 'यो (माथिल्लो भेक),' 'ताम (कुरा),' 'गा/गाल ( भएको/हुनगएको/गएको),' 'त्/त (अब),' 'तेन (दिवङ्गत भइसकेका पूर्वजहरूका प्रतिमुर्तिहरू),' 'सेञ्जा/सेञ्जो/शिङ्जो (बारी बनाउनु)' तथा 'कृता/किता (गर्ने छन्)' भन्ने जम्मा ९ वटा शब्दहरूको शब्दहरूका साथमा संस्कृत भाषाबाट विकसित भएका 'अथ (आरम्भ)' 'प्रदेश ( प्रान्त),' 'जाबेश्वर (बाख्राको बथानको मालिक/राजा),” 'नाग (राजगोमन),' 'राजेन (राजा),' 'पुर (शहर/नगर)' तथा 'स्थिति (बस्ने/रहने क्रिया)' भन्ने जम्मा ६ वटा शब्दहरूको संयोजन गरी प्रयोग गरेर “आरम्भमा हिउँ पर्ने माथिल्लो भेकको लेकाली डाँडो थियो अब भने यो बाख्राको बथानको मालिक/राजाले बसोबास गरेको ठाउँको कुरा हुनगएको छ। अब नागराज वंशका दिवङ्गत भइसकेका पूर्वजहरूका प्रतिमुर्तिहरू (वंशजहरू)ले बारी बनाएको नगरमा रहने कार्य गर्ने छन्” भन्ने अर्थ खुलाई यी खशहरू नागराज वंशका हुन् भनेर प्रष्ट्याएको देखिन्छ। यसबाट पनि यी खशहरू नागलाई गलामा भिर्ने भगवान शिव (पशुपतिनाथ)लाई कुलदेवता मान्ने नागराज वंशका आदिम शेर्पाहरूका वंशजहरू हुन् भनेर प्रमाणित हुन्छन्। यस तथ्यलाई एकातिर शेर्पाहरूका जीवित परम्परागत सांस्कृतिक रीति–रिवाज तथा पूजाआजाको निरिक्षण तथा अवलोकन गरेको खण्डमा शेर्पाहरू नागराज वंशका हुन् भनेर वस्तुगत रूपले प्रमाणित गर्न सकिन्छ भने अर्कोतिर यी खशहरूका पनि केही हदसम्म शेर्पाहरूका जस्तै कालो तथा खस्रो केश, गहुँ गोरो वर्ण, आँखाको कालो नानी, होचो नाक, ठिकैको कद आदि शारिरिक विशेषताहरू भएका देखिएबाट पनि यी खशहरू आदिम शेर्पाहरूका वंशजहरू हुन् भनेर वस्तुगत रूपमै प्रमाणित गर्न सकिन्छ। तैपनि, यस विश्वका अहिलेसम्मका विद्वानहरूले अज्ञानताको दलदलमा फसेर यी खशहरूलाई पनि शेर्पाहरूलाई जस्तै गरी जाँड खाने जातिका मानिसहरू भनी 'जाँडे/जाडे' अथवा 'जाँड/जाड' भन्नुका साथै मङ्गोलमूलका भोट–वर्मेली परिवारका 'भोटे (तिब्बतीे)' भनेर उनीहरूले बसोबास गरेका 'खशान' भन्ने भूभागहरूलाई पनि तिब्बती भूभागहरूका रूपमा चित्रण गरेका पाइन्छन् भने केहीले चाहिँ जाँड खाने “मतवाली क्षेत्री” समेत भनेर आर्यहरूका रूपमा परिभाषित गरेका देखिन्छन्। तर यी खशहरू आर्यहरू नभएकै कारण सामान्यतया आर्यमूलका क्षेत्रीहरू जस्तै गरी तागाधारीका रूपमा कहिले पनि रहेका पाइँदैनन्। यी सम्पूर्ण विवरणहरूबाट, यी खशहरू निश्चित रूपमा आग्नेयीमूलका शेर्पा आदिबासीहरूका वंशजहरू हुन् प्रमाणित हुन्छन्। तसर्थ, अहिलेसम्म आर्यमूलका र मङ्गोलमूलका मानिसहरूको चेपुवामा परेर आफ्नो वास्तविक पहिचान समेत गुमाएर पश्चिम नेपालमा पूर्वी नेपालका आर्यमूलका र मङ्गोलमूलका मानिसहरूको विशेष गरेर तिब्बती शरणार्थीहरूको चेपुवामा परेका दुर्गम ठाउँका शेर्पाहरू जस्तै गरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक शोषणमा परी छटपटाइरहेका यी खशहरू यसरी नेपालको इतिहासमा सर्वप्रथम संघीयताको मूलआधारशीला मानिने आदिबासीको रूपमा प्रमाणित हुन पुगेको हुनाले अब बन्ने नयाँ पश्चिम नेपालका हिमाल, पहाड तथा मधेस अन्तर्गतका खशान स्वायत्त प्रदेशहरूका यी भाग्यमानी आग्नेयी शेर्पामूलका खश आदिबासीहरूलाई यस लेखकको हार्दिक बधाई छ। यसमा सम्बन्धित सबैको विशेष गरी नेपालका संविधानविद्हरू, इतिहासविद्हरू, आदिबासी जनजाति महासंघ, सरकार र सभासद्हरूको अविलम्ब ध्यान पुगोस र यस देशको वास्तविक र दिगो संघीय संविधान बनाउने काममा यो लेखमार्फत सबैलाई सफलता पनि मिलोस भन्ने यस लेखकको हार्दिक शुभकामना पनि छ!  
 लेखक नेकपा (एमाले) बुद्धिजीवी हुनुका साथै त्रिभुवन विश्व विद्यालयमा तीन दशकभन्दा बढी समयको सेवा प्रदान गरी “सिन्धु तथा नेपाली सभ्यता र संस्कृतिको विकासमा शेर्पाहरूको योगदान” शीर्षकमा त्रिभुवन विश्व विद्यालय अन्तर्गतको मानविकी तथा सामाजिक शास्त्र संकायको नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयको विद्यावारिधि उपाधिकोलागि लामो समयदेखि अनुसन्धानमा संलग्न हुने सुवर्ण पदक नेपाल (महेन्द्र) विद्याभूषण–वि. सं २०२९, सुवर्ण शिक्षा पदक–वि. सं २०५१, सुवर्ण यूनेस्को–लुम्बिनी बौद्ध विद्वत् पदक–ई. सं. १९९५ र सुवर्ण दीर्घ सेवा पदक–वि. सं २०५५द्वारा विभूषित पहिलो शेर्पा एम. ए. तथा एम. एड. गोल्ड मेडालिष्ट र पहिलो श्रेणीको पहिलो शेर्पा अनुसन्धाता प्राध्यापक हुन्। 

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=21020

Search and Buy from amazon.com