Showing posts with label indian stops rice sugar and pulse export to nepal. Show all posts
Showing posts with label indian stops rice sugar and pulse export to nepal. Show all posts

Thursday, April 2, 2009

चामल,चिनी र दाल नेपाल ल्याउन रोक

चामल,चिनी र दाल नेपाल ल्याउन रोक
 रुद्र खड्का,रुपैडिहा भारत २० चैत

दुई सातादेखि भारतीय भन्सारले चामल, चिनी र दाल नेपाल ल्याउन लगाएको रोक अर्को महिना हुने लोकसभाको चुनाव सम्पन्न नहुन्जेल जारी रहने भएको छ। 

भारतीय सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचनको व्यवस्थापनमा वढी खटिनु परेको कारण देखाउँदै भारतीय सीमा भन्सार कार्यालयले दुईसातादेखि चामल, चिनी र दाल नेपालको निर्यातमा पूर्णरुपले बन्देज लगाएको छ।

´कानुनी रुपमा भारतबाट नेपालमा चामल, चिनी, दाललगायतका खाद्यवस्तु लान नपाइने भएपनि सीमावर्ती क्षेत्रका बासिन्दालाई मानवीय सेवाका लागि उपलब्ध गराएको खाद्यान्न निकासीमा रोक लगाउने केन्द्रको आदेश छ´ रुपैडिहास्थित स्थल सीमा शुल्क चौकीका प्रमुख आरजे खरेले भने ´अप्रिल ३० मा हुन गइरहेको लोकसभाको निर्वाचनपछि मात्र पुनः यस विषयमा नयाँ निर्णय हुन सक्छ।´

तर भारतीय व्यापारी र नेपाली उपभोक्ताहरु भने भन्सार कर्मचारी र सुरक्षाकर्मीले चुनावको कारण देखाउँदै खाद्यन्न निकासीमा रोक लगाइनुलाई राजनीतिक कारणको रुपमा समेत लिन थालेका छन्। रुपैडिहास्थित सन्जय स्टोरका सन्जयकुमार जयसवाल भन्छन् ´चुनावको बेला न भारतीय जनतालाई वढी खाद्यान्न आवश्यक पर्ने हो न त भारतबाट नेपालमा भित्रिने खाद्यन्न भन्सार र सुरक्षाकर्मीको लागि जाँचको समस्या हो।´ खाद्यान्न निकासीमा रोक लगाइनुलाई उनले केही राजनीतिक उद्देश्य हुनसक्ने अनुमान गरेका छन्। यता नेपाली व्यापारीलगायत राजनीतिकर्मीहरुले खाद्यान्नमा रोक लगाउने नलगाउने भारतको नीजि स्वार्थ भएपनि खुल्ला सीमानाका कारण नेपालीले लामो समयदेखि पाउँदै आएको सुविधा एकपक्षीय रुपमा कटौती गर्न नहुने धारणा राखेका छन् ।

खाद्यान्न निकासीमा रोक लगाउनु अघि भारतीय सुरक्षाकर्मीले सीमाका नेपाली सुरक्षाकर्मीलाई चामल दाल चिनीमा रोक लगाउने मौखिक रुपमा जानकारी गराएका थिए। केही समय पहिला भारतमा सिमेन्ट र फलामे छडको अभाव भएको भन्दै ती सामानमा रोकेको निकासी भने यतिखेर अन्त्य गरी सकेको छ ।

नेपाली वजारको तुलनामा भारतीय वजारमा खाद्यान्नलगायतका उपभोग्य वस्तु केही सस्तोमा पाइने भन्दै नेपाली उपभोक्ताहरुले सीमावर्ती शहरमा किनमेल गर्ने लामो समयदेखिको आचलन हो ।

सीमावर्ती भारतीय शहरमा सस्तो सामान पाइने आशाले दैनिक उपभोग्यका धेरै जसो सामान किन्ने बानी लागेका नेपाली उपभोक्ताहरुलाई भारतीय भन्सार कार्यालयको पछिल्लो निर्णयले निराश तुल्याएको छ। चामल, चिनी र दाल नेपाल भित्रिन् नपाएका कारण नेपाली उपभोक्ताहरुले समस्या भोग्नु परेपछि सीमामा तैनाथ दुबै देशका सुरक्षाकर्मीसँग गुनासो गर्न थालेका छन्। नेपाली सीमा चौकी जमुनाहाका प्रहरी प्रमुख सई विश्वदीप गौतमकाअनुसार भारतीय भन्सारले केही खाद्य वस्तुमा रोक लगाएपछि नेपाली उपभोक्ता र भारतीय व्यापारीले दिनहु गुनासो गरी रहेका छन्।

´घरायसी कामको लागि चाहिने २/४ किलो चिनी, दाल र चामल पनि भारतीय सुरक्षाकर्मीले ल्याउन दिदैनन् बिहीवार घरायसी सामान किनेर सीमामा पुगेकी नेपालगन्जकी रश्मी नकर्मीले भनिन् ´यसअघि कहिलै यस्तो नगरेको भारतीय भन्सार कर्मचारी र सुरक्षाकर्मीको व्यवहार मनोमानिल्य पूर्ण छ।´

भारतीय वजारको तुलनामा नेपाली वजारमा चामल, चिनी र दालमा ५ देखि १५ रुपैयासम्म महङ्गो पर्छ । चामल, दाल र चिनी वाहेक अन्य सामान र उपभोग्य वस्तुको निकासीमा भने यस अघिको भन्दा फरक आएको छैन ।

मुख्यरुपमा खाद्यान्न किनमेलको लागि यहाँ आउने गरेका नेपाली उपभोक्ताहरुले चामल, दाल र चिनीलाई नेपाल लान नसकेपछि रुपैडिहाको व्यापारिक कारोबारमा समेत कमी आएको छ। ´दुई साताअघिसम्म दैनिक १२ हजार भारतीय रुपैया बराबरको कारोबार हुन्थ्यो´ तुषार स्टोरका सन्चालक श्याम गुप्ताले भने ´अहिले कारोबार घटेर चार हजारमा सीमित भएको छ।´ यहाँका व्यापारीहरुले भने दिनहुँजसो भन्सार कार्यालयमा पुगी नेपालमा भइरहेको चामल, दाल र चिनी निकासीको रोक फिर्ता लिन माग गरी रहेका छन्।

http://www.dainikee.com/news/index.php?action=news_details&news_id=5729

Search and Buy from amazon.com