Sunday, January 29, 2012

हाइकिङ्को रमाइलो

हाइकिङ्को रमाइलो


नेत्र घिमिरे, ३५, को मोबाइलमा केही दिनयता घन्टी बजेको छैन। स्वास्थ्यसम्बन्धी उपभोग्य सामग्री उत्पादन गर्ने कम्पनी जोन्सन एन्ड जोन्सनका कर्मचारी घिमिरेले न त कार्यालय दिनहरूमा झैँ बजारमा सामग्रीको बिक्री तलमाथि परेका खबरहरू नै सुन्नुपरेको छ। काठमाडौँको उत्तरमा पर्ने सुन्दरीजलदेखि चिसापानी जोड्ने चिसापानी 'ट्रेल'को हाइकिङ्मा सहकर्मीहरूसाथ निस्केका उनी हालैको एक शनिबार नितान्त फरक शैलीमा देखिए।

बाटाभर िआफ्ना जागिरे जीवनका तीता-मीठा घटना सुनाउँदै गर्दा उनको भाव र भंगीमामा परविर्तन देख्न सकिन्थ्यो। गन्तव्यमा पुगेपछि झन् बढ्ता रौनक थपियो। साँझ क्याम्पफायर गरेर नाचगान गर्दा रातीको २ बजेको समेत पत्तो भएन घिमिरेको समूहलाई। भोलिपल्ट बिहान चियाको चुस्कीसाथ हिमाल हेरेर रमाइरहँदा उनको समूहले सहरको यान्त्रिक जीवनशैलीको सास्ती चटक्कै भुल्यो र रमायो। "म यसरी रमाउन सक्छु भन्ने थाहै थिएन," घिमिरे भन्दै थिए, "सधँै काम मात्र भनेर एकोहोरो कुद्दा मन नै जीर्ण बनिसकेको रहेछ।"

उता सोही रुट हुँदै चिसापानीबाट नगरकोटतर्फ जाने क्रममा भेटिएका अर्का तन्नेरी श्रीराम अधिकारी, ३१, लाई भने यात्रा नसकिँदै घर र्फकन हतार भइसकेको प्रस्टै देखिन्थ्यो। यति हुँदाहुँदै पनि उनमा हाइकिङ्प्रतिको वितृष्णा देखिएन। अधिकारी भन्दै थिए, "कतिखेर घर पुगेर फेसबुकमा फोटो हालौँजस्तो भइसक्यो।" पब्लिक युथ क्याम्पस, काठमाडौँबाट तीन वर्षअघि स्नातकोत्तर पूरा गरेेका अधिकारीजस्तै पाँच सहपाठी मिलेर पुनःमिलन गर्ने अवसरका रूपमा हाइकिङ्लाई रोजेका थिए। जसले नयाँ माहोलमा पुराना कलेज दिनहरूलाई पुनःताजगी मात्र गराएन, मित्रतामा नयाँ अविस्मरणीय क्षणहरूसमेत थप्यो।

हाइकिङ्वाजहरूसँग मिसिँदा देखे/सुनेका केही किस्सा मात्र हुन् यी। हाइकिङ् अहिले सहरी जमातमा छुट्टी मनाउने एउटा नयाँ विकल्पका रूपमा फस्टाइरहेको छ। स्कुले तन्नेरीदेखि सेवानिवृत्त जीवन बिताइरहेका व्यक्तिहरू अहिले हाइकिङ्का सोखिन भएका छन्। अझ दिनानुदिन व्यस्त बन्दै गइरहेको काठमाडौँको जीवनशैलीमा छोटो फुर्सद निकालेर रमाउन खोज्नेहरूका लागि त यो सबैभन्दा उत्कृष्ट विकल्प बनेको छ।

डाँडाकाँडा र भीरपाखा चहार्दै प्राकृतिक वातावरणमा रमाएर गरनिे हाइकिङ्मा थप रमाइला पक्षहरू जोडिएर आउँछन्, जसले यात्रालाई झनै बढी स्मरणीय बनाउँछन्। "घुम्नु त छँदैछ, त्यसबाहेक हाइकिङ्ले गरेको सबैभन्दा राम्रो काम भनेको युवामा नेटवर्किङ् शैलीको विकास गराउनु हो," हाइकिङ् समूह 'पदयात्रीज्'का संस्थापकमध्येका एक सुरथ गिरी भन्छन्, "र, अहिले त्यो नेटवर्किङ् केही अर्थपूर्ण काममा सदुपयोग हुन थालेको छ।"

केही समयअघि त्यही 'हाइकिङ् फर कज'को भावनालाई समेटेर युवाको संस्था 'पश्चिम पाइला'ले काठमाडौँको साँघुदेखि नगरकोटसम्मको यात्रा आयोजना गरेको थियो। विश्व हात धुने दिवसको अवसर पारेर गरएिको ४० जना युवा सम्मिलित उक्त हाइकिङ्मा यात्रुले प्राकृतिक र सांस्कृतिक सौन्दर्यबाट मज्जा लिनुका साथै बाटोमा पर्ने गाउँका बालबालिकालाई साबुनपानीले हात धुनुको महत्त्वबारे सचेतना कार्यक्रमसमेत चलाएका थिए। पश्चिम पाइलाले मात्र होइन, हिजोआज अरू संस्थाले पनि यसरी हाइकिङ्लाई समाजसेवासँग जोड्न थालेका छन्। कुनै आयोजकले हाइकिङ्लाई भूक्षय नियन्त्रण अभियानमा सदुपयोग गर्छन् त कसैले वन्यजन्तु संरक्षणको क्षेत्रमा। वातावरण संरक्षणको सवालसँग त यो जोडिने नै भयो। यसलाई विभिन्न प्रयोजनमा जोडे तापनि यसको मुख्य पक्ष रमाइलो गर्नु वा 'रपि|mेस' हुनुमा कुनै असर पर्दैन।

राजधानी सहरवरपरका भेगमा हाइकिङ्का लागि निस्कँदा एउटा अचम्मको यथार्थसँग पनि परििचत हुने मौका पाउँछन् हाइकरहरूले। काठमाडौँबाट केही घन्टाकै दूरीमा रहेका कतिय गाउँबस्ती बत्तीमुनिको अँध्यारोजस्तै छन्। विकासको उज्यालोबाट वञ्चित यस्ता गाउँबस्तीमा ग्रामीण रहनसहन र जीवनशैलीको बोलवाला छ। "त्यसैले ती ग्रामीण बस्तीमा त्यहाँको जीवन अवलोकन गर्ने राम्रो अवसर पनि हो हाइकिङ्," ग्लोबल कलेज अफ म्यानेजमेन्टमा स्नातकोत्तरका विद्यार्थी कमल कँडेल भन्छन्, "त्यसैले पनि हामीहरू बेलाबेलामा हाइकिङ् जाने गरेका छौँ।" उता त्रिभुवन विश्वविद्यालयबाट भर्खर स्नातकोत्तर सकेका हरबिहादुर बस्नेत, २४, भने चिसापानी हिँड्ने क्रममा ढोका भन्ज्याङमा पहिलोपटक हिउँ देखेपछि पुनः थप साथीहरूलाई लिएर आउने तानाबाना बुन्दै थिए।

दिन खुल्दा देखिने सुन्दर हिमालहरू र डाँडामाथिबाट हेर्दा हुस्सुले ढाकेका बस्ती हाइकिङ्का विशेष आकर्षण हुन् यतिबेला। त्यसबाहेक स्थानीय संस्कृतिको अवलोकन गर्दै गोरेटो, भञ्ज्याङ र दुवैतर्फबाट पहाडले घेरएिका साँघुरा बाटामा हिँड्नु झनै रोचक हुन्छ। र, त्यसका लागि काठमाडौँबाट लामो बिदा लिएर निस्कनु वा धेरै खर्च जुटाइरहनु पनि पर्दैन। आफूसँग भएको समयकै अनुपातमा कस्तो रुटमा हाइकिङ् जाने भन्नेमा धेरै विकल्पहरू भेटिन्छन्। काठमाडौँ छेउछाउ सामान्यतः एक दिनदेखि पाँच दिनसम्म लाग्ने हाइकिङ् रुटहरू छन्।

अचेल तन्नेरीहरू विभिन्न अवसर पारेर समूहमा हाइकिङ् हिँड्ने क्रम बढेको छ। शनिबार वा छोटो बिदाको समय पारेर नजिकैका डाँडाकाँडा चहार्ने त सामान्य नै भयो। धान दिवस -असार १५)को अवसरमा गोदावरी पुगेर दही-चिउरा खाएको र हिलो खेल्दै धान रोपेको अनुभव सरोज वर्तमान, २२, ले अहिलेसम्म भुलेका छैनन्। भन्छन्, "अझ सहरी वातावरणमा भिजेका व्यक्तिहरूका लागि यस्तो अनुभव गर्न पाउनु विशेष हुन्छ।" सरोजसमेत सदस्य रहेको हाइकिङ् समूह गन्तव्यले चर्चामा नआएका त्यस्ता थुप्रै रुटमा हाइकिङ् गइसकेको छ।

वषर्ायाममा झरीमा रुझ्दै हिँड्न रुचाउनेहरूका लागि गन्तव्यले 'जुका हाइकिङ्' नाम दिएको छ। जुका हाइकिङ्मा जुका लाग्ने भेगमा यात्रा गरन्िछ। वषर्ायाममा विशंखुनारायण-लाकुरेभञ्ज्याङ-गोदावर रुटमा पुग्नु राम्रो मानिन्छ। वषर्ायाममा हिलोमा चिप्लँदै यात्रा गर्न रुचाउनेसमेत हुन्छन्। चैत-वैशाखको समयमा काफल खाँदै गरनिे हाइकिङ्लाई उनीहरूले 'काफल हन्टिङ्' नाम दिएका छन्, जुन पछिल्लोपटक कोटडाँडा-गोदावरी रुटमा सम्पन्न गरएिको थियो। त्यस्तै जनैपूणिर्माको समय पारेर साँखु-मणिचुड रुटमा हाइकिङ् जानु राम्रो मानिन्छ। गोसाइँकुण्ड यात्राको झल्को दिने टीकाभैरव-देवीचौर रुटसमेत हाइकिङ्का लागि प्रसिद्ध छ। "तर, चर्चामा नआएकै रुट भए तापनि केही साथीहरूको समूह बनाएर बिनायोजना हिँड्दासमेत झन् रोचक तथ्य एवं दृश्यहरू देख्न सकिन्छ," कमल कँडेल सुनाउँछन्, "तर, त्यस्तो अवस्थामा सहभागी सबैसँग त्यस भेगको नक्सा, दिशा बताउने कम्पास र आवश्यकताभन्दा केही बढी खानेकुरा हुनुपर्छ।" सामान्यतः हाइकिङ् जाँदा नक्सा, कम्पास, सलाई/लाइटर, फोल्डिङ् चक्कु, लाइट, आवश्यकताभन्दा केही बढी पानी र सुक्खा खाना, सनग्लास र प्राथमिक उपचारका सामग्री छुटाउनु हुँदैन।

अझ काठमाडौँ छेउछाउका कतिपय हाइकिङ् रुटमा एकतर्फी पैदल र एकतर्फी गाडीमा यात्रा गर्न सकिन्छ। चिसापानी वा नगरकोट ट्रेल त्यसका राम्रा उदाहरण हुन्। स्थानीय संस्कृतिहरूको प्रतिविम्ब त हरेकजसो रुटमा पाइन्छ नै। कीर्तिपुर रुट भने नेवारी संस्कृतिका लागि कहलिएको छ।

हाइकिङ् जाँदा फरक-फरक क्षेत्रका व्यक्तिहरू भेटिन्छन् र त्यसबीचमा फरक-फरक विषयमा तर्कविर्तक चल्छन्। धेरैका गन्जागोल गफगाफ र कुराकानीले हाइकिङ् रमाइलो हुन्छ। हिँड्दाहिँड्दै साथीहरूले एकअर्कालाई जिल्याउन 'र्‍याग' हान्नु, टिम बाँडेर अन्ताक्षरी खेल्नुजस्ता कुराहरू हाइकिङ्सँग जोड्न सकियो भने सुनमा सुगन्ध नै हुन्छ। त्रिभुवन विश्वविद्यालयबाट सामाजिकशास्त्रमा स्नातक गररिहेकी प्रमिला थपलिया, २२, भने हाइकिङ्मा हुने तिनै अविस्मरणीय घटनालाई कविता बुन्न सहयोग पुग्ने ठान्छिन्। थपलिया हाँस्दै भन्छिन्, "हाइकिङ् रुटको मादक माहोलले जोकोहीलाई कविझैँ बनाउँछ।"

पहिलेपहिले विदेशी मात्र धेरै भेटिने त्यस्ता हाइकिङ् रुटमा अहिले स्वदेशी पर्यटककै लर्को बढी लाग्न थालेपछि स्थानीय पर्यटन व्यवसायीले त्यसै अनुसार प्याकेजको व्यवस्था गरेका छन्। चिसापानीमा शिवपुरी फाइन्डर क्याम्प चलाइरहेका पर्यटन व्यवसायी मणिराम केसी, ४२, भन्छन्, "पहिले विदेशी पर्यटक मात्र आउँथे, त्यसैले खर्च महँगो थियो, अहिले विदेशीभन्दा कैयौँ गुणा बढी नेपाली नै आउन थालेपछि होटल र खानपिनको दरसमेत उनीहरूलाई नै लक्षित गरेर राखिएको छ।" अहिले झन्डै १ हजार ५ सय रुपियाँको प्याकेजमा दुईदिने चिसापानी हाइकिङ् चलिरहेको होटल बीबीसी एन्ड माउन्टेन भ्यु रेस्टुराँका प्रबन्धक साधुराम केसी, ३२, बताउँछन्।





केही प्रसिद्ध हाइकिङ् रुट

सुन्दरीजल-चिसापानी

फर्पिङ-दक्षिणकाली

गोदावरी-काटडाँडा

साँखु-नगरकोट

सांग्ला-गुर्जेभन्ज्याङ

सूर्यविनायक-रानीकोट

कीर्तिपुर-चम्पादेवी

थानकोट-चन्द्रागिरि





हाइकिङ्को तयारी

आफू हाइकिङ् जान लागिएको ठाउँको तापक्रम, बाटोघाटो आदिको जानकारी पहिल्यै लिए त्यसै अनुसार योजना बनाउन सहयोग पुग्छ। नक्सामा केही कुरा गलतसमेत हुन सक्ने हुँदा त्यसमा मात्र पूर्ण रूपमा भर नपरीकन पहिले गइसकेका व्यक्तिहरूबाट समेत सुझाव लिनु राम्रो हुन्छ। त्यसमाथि पहिलोपटक हिँड्नेहरूले सानो रुट -एक दिनजतिको)बाट सुरु गर्नु राम्रो मानिन्छ। विश्राम गर्दै अघि बढ्नुपर्छ। कम हिँड्नेलाई अग्रपंक्तिमा राख्दै उसलाई आधार मानेर अघि बढियो भने टोलीका कुनै पनि सदस्य हराउने वा पछाडि छुट्ने डर हुँदैन। लामो वा एकान्त हाइकिङ् रुटमा एक्लै नहिँड्नु राम्रो हुन्छ।


source:

http://www.ekantipur.com/nepal/article/?id=3299


No comments:

Search and Buy from amazon.com