Thursday, September 2, 2010

मूर्ति तस्कर पूर्वराजा ज्ञानेन्द्र

यसकारण गोली हानियो मलाई

Font size: Decrease font Enlarge font
image

०३६ को जनमतसंग्रहपछि नेपालमा आएको राजनीतिक खुकुलोपनको लाभ त्यतिवेलाका महापञ्च सूर्यर्बहादुर थापाले पनि लिए । सरकारबाट बहिर्गमन भएपछि र लोकेन्द्रबहादुर चन्दसँग दूरी बढेपछि थापाले एकप्रकारले राष्ट्रिय पञ्चायतमा विपक्षीको भूमिका निर्वाह गर्न थाले । यसै क्रममा उनले भूमिगत गिरोहको पर्दाफास गर्न थालेका थिए । पत्रकारिताबाट यसको नेतृत्व तत्कालीन पत्रकार पदम ठकुराठीले गरेका थिए । फलस्वरूप उनलाई भूमिगत गिरोहले हत्याको प्रयास गर्‍यो । २० भदौ ०४३ मा उनलाई गोली हानियो । यस गोलीकाण्डको पृष्ठभूमिबारे ठकुराठी यसो भन्छन्:

राजनीति छाडेर पत्रकारिता

राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवारी दिएको थिएँ, हारेँ । यो ०३८ सालको कुरा हो । मैले चुनाव हार्नुपछाडि भूमिगत गिरोह (कानुनी जिम्मेवारी नभएका, तर जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवार काम गराएर फाइदा लिने) को हात थियो । राजनीतिमा बन्दै गएको मेरो छवि मन नपराउनेहरू पनि थिए । रापंसमा हारेपछि राजनीतिप्रति मोहभंग भयो ।

त्यसपछि लागेँ- पत्रकारितातिर । यता आउनुका कारण थियो- दरबारियाले पञ्चायतलाई माध्यम बनाएर नेपाल र नेपालीको शोषण गरिरहेको छ, त्यसविरुद्ध जनमत नबनाएसम्म यहाँ परिवर्तन सम्भव छैन । त्यो काम सम्भव बनाउन पत्रकारितातिर लागेँ म । क्रमशः पत्रकारितामै रत्तिन थालेँ । राजनीतिमै भविष्य खोज्न प्रतिबद्ध म, भएँ पत्रकार ।

त्यतिवेला हाम्रो मिसन नै थियो- भूमिगत गिरोहविरुद्ध धर्मयुद्ध -जेहाद) छेड्ने । भूमिगत गिरोह भनेको कानुनी जिम्मेवारी नभएका या बोक्नु नपर्ने, तर जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवार काम गराएर फाइदा लिने तत्त्वलाई हामी भूमिगत गिरोह भन्छौँ भनेर पत्रिकामै परिभाषा गरिदिएका थियौं । त्यसो भनेपछि भूमिगत गिरोह भनेको यिनीहरू रहेछन् भनेर सबैलाई थाहा भयो ।

भूमिगत गिरोहको षड्यन्त्र

पञ्चायतकालमा राजा र राजपरिवार संविधानभन्दा माथि थिए । यसको दुरुपयोग गर्दै उनीहरूले व्यक्तिगत फाइदा उठाइरहेका थिए । त्यस्ता कैयौँ घटना मलाई थाहा थियो । ती कुरा पत्रिकाको माध्यमबाट सार्वजनिक गर्न थालेँ । त्यसो भएपछि उनीहरू तिलमिलाए । त्यसपछि मलाई उनीहरूले दुःख दिन थाले । धम्क्याए । पत्रिका सिज गरे । २५ पटकसम्म त जेल हाले । तर, म कति पनि विचलित भइनँ । किनकि म आफ्नो मिसनमा प्रतिबद्ध भएर लागेको थिएँ । उनीहरूले त्यसरी दुःख दिँदा मलाई एकखालको आनन्द लाग्थ्यो, किनकि म आफ्नो मिसनमा सफलता पाउँदै गइरहेको अनुभूत गर्थेँ । लाग्थ्यो- पत्रकारिताबाटै भूमिगत गिरोहलाई तह लगाउँछु म । पत्रकारिताको शक्तिमाथि म पूर्णतः विश्वस्त थिएँ । म भलिभाँती जान्दथेँ- कलमको तागत कति हुन्छ ।

जाँदा मूर्ति आउँदा सुन

नेपालमा अब सक्कली मूर्ति बाँकी छैनन् भन्न सकिन्छ । पशुपतिनाथका चाहिँ भन्न सक्दिनँ । तीबाहेक सबै मूर्ति विदेश पुर्‍याइएका छन् । सक्कली मूर्तिका ठाउँमा प्रतिलिपि र प्रतिकृति स्थापना गरिएका हुन् । मूर्तिका साथै मन्दिरका टुँडाल र हस्तलिखित ग्रन्थसमेत विदेश पुर्‍याइएका छन् । विदेश पुर्‍याउने पूर्वराजा ज्ञानेन्द्र थिए । उनै हुन्- विदेशबाट आउँदा सुन र हेरोइन ल्याउने पनि ।

त्यतिवेला नेपाल र भारतमा एकतोला सुनको भाउमा तीन सय रुपैयाँको फरक थियो । तसर्थ, विदेशबाट ल्याइएका सुन भारत निर्यात गरिन्थ्यो । सुन भारत निर्यात गर्न धनगढीलाई उपयुक्त मानिन्थ्यो । किनकि, त्यहाँ धीरेन्द्रको लगानीमा लक्ष्मी कत्था उद्योग सञ्चालित थियो । सो उद्योगले सुनको बिस्कुट आकारकै कत्था बनाई कत्थाभित्र सुनको बिस्कुट हालेर भारत पठाउँथ्यो । त्यो जानकारी हाम्रो पत्रिकाको सूत्रले थाहा पाएपछि विमर्शमा समाचार छापियोे । समाचार छापिएपछि भूमिगत गिरोहले मलाई वाच गर्न थाले ।

मागेजति पैसा दिने प्रलोभन

धीरेन्द्र शाहका एडिसी भरत गुरुङले मलाई फोन गरे । गुरुङले फोनमै भने, 'तपाईंले पत्रकारिता छाड्नुपर्‍यो । छाडेबापत जति माग्नुहुन्छ त्यति पैसा र पद-प्रतिष्ठा मालिकबाट दिलाइदिन्छु ।' त्यो प्रस्तावको ठाडो अस्वीकार गरेँ । प्रतिउत्तरमा मैले गुरुङलाई भनेँ, 'मलाई तिम्रो मालिकको पैसाको लोभ छैन । चाहिँदैन पद-प्रतिष्ठा पनि । मलाई पाठकले दिएको माया नै मेरा लागि अमूल्य सम्पत्ति हो ।'

मैले पत्रकारिता छाडेमा उनीहरूको अवैध धन्धा निर्वाध चलिरहन्थ्यो । म त्यसको विपक्षमा थिएँ । बारम्बार मलाई उनीहरूले फकाउने प्रयास गरे । म उनीहरूको प्रलोभनमा परिनँ । मलाई निष्त्रिय पार्न खोजियो । म झनै सक्रिय बनेँ । भूमिगत गिरोहबाट आएका प्रलोभन मेरा लागि सक्रिय भएर पत्रकारितामा लाग्ने थप ऊर्जा बन्यो । कति गर्दा पनि उनीहरू सफल भएनन् । पत्रिका निरन्तर प्रकाशन भइरह्यो । उनीहरूले गरेका गलत कामको समाचार आउन पनि छाडेन ।

फुटबलभित्र हेरोइन

सञ्चारकर्मीका लागि सूचना नै सबैभन्दा ठूलो सत्ता हो । त्यही सत्ताको खोजीमा हुन्छन् उनीहरू । १९८४ को ओलम्पिक अमेरिकाको लसएन्जल्समा भएको थियो । त्यहाँ हुने ओलम्पिकमा नेपालबाट खेलकुद परिषद्का संरक्षक धीरेन्द्र शाह, सदस्य-सचिव शरदचन्द्र शाह, धीरेन्द्रका एडिसी भरत गुरुङ, तेक्वान्दो खेलाडी जगत गौचन (शाहीकालका भौतिक योजना राज्यमन्त्री) गएका थिए । यो टोलीले फुटबलभित्र हेरोइन राखेर लगेका रहेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको ब्यागेज चेक-जाँच भएन । किनकि, पञ्चायतकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजपरिवार तथा राजपरिवार सदस्यको ब्यागेज चेक-जाँच गर्न पाइन्नथ्यो ।

त्यतिवेलाको कानुन नै त्यस्तो थियो । ओलम्पिकमा भाग लिन त्यता हिँडेका उक्त टोलीको ब्यागेज चेक-जाँच गर्न नपाइएपछि फुटबलभित्र लुकाएर लगिएको हेरोइन अमेरिका पुर्‍याउन गाह्रो भएन उनीहरूलाई । तर, अमेरिका ओर्लनासाथ शरदचन्द्र शाह र कृष्णमान श्रेष्ठ विमानस्थलमै समातिए । अमेरिकाका लागि तात्कालिक नेपाली राजदूत विश्व प्रधान जमानी बसेर शाहलाई तत्काल छुटाइए पनि श्रेष्ठ भने अहिले पनि अमेरिकामै जेल सजाय भोग्दै छन् ।

अमेरिकाबाट फ्याक्स

शरदचन्द्र शाह र कृष्णमान श्रेष्ठ समातिएको खबर अमेरिकाको स्थानीय एक पत्रिकामा छापियो । त्यो समाचार हाम्रो (विमर्श साप्ताहिक) पत्रिकाका एक पाठकले पढेछन् । समाचार पढ्नासाथ प्रकाशित समाचारको कटिङ उनले हामीलाई अमेरिकाबाट फ्याक्स गरिदिए । त्यही समाचार कटिङलाई स्रोत बनाएर हामीले समाचार छाप्यौँ । विमर्शमा छापिएको समाचारको कटिङ भूमिगत गिरोहका आफन्तले फ्याक्स गरी अमेरिका पठाएछन् ।

अमेरिकामा मात्रै नभएर उनीहरूले गर्दै आएका अवैध काम सारा नेपालीलाई थाहा भयो । त्यतिवेला हामीले एक हजारप्रति पत्रिका हुलाकबाट संसारभरि पठाउँथ्यौँ । तसर्थ, त्यो खबर देश-विदेशमा रहेका नेपालीले थाहा पाए । त्यसो भएपछि ममाथि उनीहरूले अपराध चिताउन बाध्य भए ।

अन्ततः मार्ने योजना

अन्ततः मलाई मार्ने योजना बनाइयो । त्यो पनि नेपालमा नभएर, अमेरिकाको लसएन्जल्समा । लसएन्जल्सको एक होटलमा बसेको छलफलमा धीरेन्द्र शाह, शरदचन्द्र शाह, भरत गुरुङ र दुई विदेशी सहभागी थिए रे । मलाई मार्न जगत गौचनलाई प्रस्ताव राखियो । गौचनले सो प्रस्ताव सहर्ष स्विकारे ।

३० चैत ०४३ को रापंस चुनावमा म्याग्दीको शिख गाउँ विकास समितिको मूलपानी गोलीकाण्डमा हिराबहादुर पुन, हिरालाल फगामी र सुरेश सेर्बुजाको मृत्यु भयो भने आइमती पाइचाको आँखामा गोली लाग्यो, १० घाइते र ४० विस्थापित भएका थिए । सो गोलीकाण्ड तात्कालिक रापंस सदस्य भीमप्रसाद गौचनको निर्देशनमा भएको थियो भन्ने समाचार विमर्शमा छापिएको थियो । त्यसको रिस फेर्न चाहिरहेका थिए जगत गौचनले । जसको बदला लिन उनी आतुर थिए । धीरेन्द्र, शरद र भरत नेपाल र्फकनुअघि नै मलाई सिध्याइसक्नुपर्ने उर्दी जारी गरिएको रहेछ । आज्ञापालक जगत गौचनले ओलम्पिकबाट र्फकनसाथ काम कुरा अगाडि बढाए ।

पेस्तोल चलाउन तालिम

थाहा पाएसम्म निरन्तर दरबार र दरबारियाको समाचार लेखिरहेँ । उनीहरूका बारेमा समाचार लेख्ोबापत म राजाविरोधी पत्रकार भएको थएँ । त्यसकारण म उनीहरूका लागि आँखाको कसिंगर भएँ । मेरो अस्तित्व रहेसम्म कसिंगर पन्छाउनु त्यति सजिलो थिएन । कसिंगर पन्छाउनु भनेको मेरो अस्तित्व सिध्याउनु हो । त्यसैअनुसार मलाई सिध्याउन उनीहरू लागिपरे । जगतले टंक गौचनमार्फत विकास गुरुङ फेलापारे ।

मलाई सिध्याउन विकासलाई तयार पारियो । गुरुङ स्याङ्जाको आँधीखोलामा एकजनाको हत्या गरी काठमाडौँ पसेका रहेछन् । त्यो मुद्दा जगतले जिताइदिन्छु भन्ने आश्वासन दिएपछि विकास मलाई सिध्याउन तयार भएका रहेछन् । मलाई खुकुरी प्रहार गरी मार्नु भनिए पनि गुरुङले नमानेपछि पेस्तोल तयार पारिएको रहेछ । तयार पारेपछि विकासलाई पेस्तोल चलाउने तालिम गराइयो । तालिम फर्पिङको हात्तीवनमा भएको थियो । गोली भने प्रदीपले नीरशमशेरका नाति विनयशमशेरबाट हात पारेका थिए ।

नरशमशेरको पेस्तोल

विकास गुरुङले तालिममा चलाएको पेस्तोल नरशमशेरको थियो । नरशमशेरका छोरा प्रदीपशमशेर जगत गौचनका चेला थिए । मतलब गौचनले प्रदीपलाई तेक्वान्दो तालिम गराउँथे । उनै चेला प्रदीपमार्फत गौचनले नरशमशेरका पेस्तोल हात पारे । नाइन एमएमको सो पेस्तोल स्विट्जरल्यान्ड जाँदा त्यहाँका एक पेस्तोल कम्पनीले दुईवटा पेस्तोल उपहार दिएको रहेछ । त्यसमध्ये एउटा त्रिभुवनले राखे र अर्का नरशमशेरलाई दिएका थिए ।

२० भदौ ०४३ मा त्यही पेस्तोलले मलाई गोली हानियो । गोली हानेका थिए- उनै विकास गुरुङले । गोली हानेको ३५ दिनसम्म मेरो होस खुलेन । मेरो उपचार बंैककको समितिभेज अस्पतालमा भएको हो । दुई महिनासम्मको उपचारपछि म जाती भएँ । उपचारका लागि लगभग २५ लाख खर्च भयो । पाँच सय पाउन्ड मात्रै खर्च भयो मेरो । बाँकी आमनेपाली शुभचिन्तकको सहयोगले मेरो उपचार सम्भव भएको थियो । सात हजार सरकारले दिएका थिए । मलाई गोली हानिएपछि मेरा मित्रहरूले नेपाल टेलिभिजनबाट 'पदम ठकुराठी उपचार कोष' गठन भएको सूचना प्रवाह गरेपछि मेरो उपचारका लागि त्यतिविधि रुपैयाँ जम्मा भएको थियो । त्यतिवेला मागेजति रुपैयाँ र पद-प्रतिष्ठामा बिकेको भए आज म पदम ठकुराठी हुने थिइनँ ।

प्रस्तुतिः दीपेन्द्र राई

raideependra@gmail.com
source:
http://www.nayapatrika.net/newsportal/middle_page/16673.html

No comments:

Search and Buy from amazon.com