Monday, August 29, 2011

राति २ बजेसम्म सक्रिय प्रचण्ड

राति २ बजेसम्म सक्रिय प्रचण्ड

नेत्र पन्थी/नयाँ पत्रिका

काठमाडौं, ११ भदौ

'बाबुरामलाई अरूले समर्थन गर्छन्, तर प्रचण्डले रोक्छन्' राजनीतिक वृत्तमा मान्यता थियो । उनी उम्मेदवार भए सहयोग गर्छन् भने कांग्रेस र एमाले बाबुरामको प्रतिस्पर्धामा उत्रिए, तर सहयोग गर्दैनन् भनेका अध्यक्ष प्रचण्ड रातदिन खटिए । आफ्ना सहयोद्धालाई प्रधानमन्त्री बनाउन राति २ बजेसम्म खटिए ।

झलनाथ खनालले राजीनामा गरेपछि डा. भट्टराईलाई सहमतीय सरकारको प्रधानमन्त्री बनाउन प्रचण्डले १० दिन खर्च गरे । सहमतीय नबन्ने पक्का भएपछि माओवादीको स्थायी समिति बैठकले डा. भट्टराईलाई नै अगाडि सार्ने निर्णय गर्‍यो । त्यसपछि बुहमतीय सरकारको भए पनि प्रधानमन्त्री बनाउने मिसनमा लागिरहेका थिए प्रचण्ड । तर, सहयोगी भनिएको एमालेले साथ नदिने स्पष्ट भएपछि शनिबार राति निर्णायक वार्तामा जुटे प्रचण्ड ।

एमाले बैठकले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने जनाउ दिएपछि प्रचण्डले एमालेसँग वार्ताको प्रयत्नसमेत गरेनन् । प्रचण्ड दिनभर एमालेको निर्णय कुरेर बसेका थिए, उनले भट्टराईलाई साना दलसँग भेट्न लगाए । भट्टराईले दिनभर साना दलका नेतासँग भेटे र तीनपटक नयाँबजार पुगेर प्रचण्डलाई बि्रफिङ सुनाए ।

एमालेको समर्थन नपाउने भएपछि प्रचण्डले मधेसी मोर्चासँग आबद्ध दलसँग वार्ताको चाँजोपाँजो मिलाएर घरबाट निस्के साढे ६ बजेतिर । शनिबार रातभर उनले भेटघाटमै बिताए ।

स्रोतका अनुसार प्रचण्ड र डा. भट्टराईले मधेसी मोर्चाका आबद्ध दलसँग शनिबार राति सात घन्टा लामो वार्ता गरेका थिए । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको साला सहदेव कक्षपतीको घरमा बेलुका ७ बजेदेखि राति २ बजेसम्म वार्ता भएको थियो ।

जतिवेला माओवादी र मोर्चाबीच वार्ता भइरहेको थियो, कांगे्रस नेताहरूले पनि विभिन्न च्यानलमार्फत मधेसी दलका नेताहरूसँग सम्पर्कको प्रयास गरिरहेका थिए । २ बजेसम्म बसेर मधेसी मोर्चासँग सहमति गरेपछि प्रचण्ड र भट्टराई आ-आफ्नो निवासमा फर्केका थिए ।

आइतबार बिहानै माओवादीको पदाधिकारी बैठक डाके र त्यहाँबाट मोर्चासँग भएको चारबुँदे सहमति गराए प्रचण्डले । सहमति भए पनि आइतबार बिहानसम्म माओवादी र मोर्चाले सहमति गोप्य राखेका थिए । दुवैले व्यवस्थापिका संसद् सुरु हुनुपूर्वमात्र सहमति सार्वजनिक गर्ने योजना बनाएका थिए ।

राजनीतिक व्यस्तताबीच आइतबार बिहानै प्रचण्ड जनमैत्री अस्पताल पुगे र बिरामी बुबालाई भेटे । उनले 'प्रधानमन्त्रीको चुनाव छ बा म जान्छु,' भन्दै छोटो समयमै अस्पतालबाट निस्के । आइतबार बिहान नै उनले अज्ञात समूहको आक्रमणमा घाइते भएका सभासद् शालिकराम जमरकट्टेललाई भेट्न नर्भिक अस्पताल पुगेका थिए ।

प्रचण्ड आइतबार १० बजे नै खाना खाएर घरबाट निस्के । संविधानसभा भवन पुगेर मोर्चासँग संयुक्त पत्रकार सम्मेलन गरे । दुवैले आफूलाई परिवर्तनकामी शक्तिका रूपमा व्याख्यासमेत गरे ।

सेना समायोजनको संख्या र प्रक्रियाबारे माओवादीमा यसअघि विवाद भए पनि अध्यक्ष प्रचण्ड पछिल्लो प्रस्तावमा माओवादीभित्र सर्वसम्मति बनेपछि भट्टराईलाई सहमतिको प्रधानमन्त्री बनाउन सकिनेमा आशावादी थिए, प्रचण्ड । ७ भदौमा प्रचण्डले प्रस्ताव पदाधिकारीबीच छलफल गराएरका थिए । त्यसपछि 'शान्तिप्रक्रिया, संविधान र सरकारबारे प्रस्ताव एवं प्रतिबद्धता'सहितको प्रस्ताव स्थायी समितिले पास गरेको थियो ।

प्रधानमन्त्री निर्वाचनको ठीकअघि शनिबार मात्र उपाध्यक्ष किरणले आफूपक्षधर नेताहरूको सुरक्षामा रहेका लडाकु शिविर फर्काएर भट्टराईलाई प्रधानमन्त्री बनाउन सहयोगी भूमिका खेले । प्रधानमन्त्रीको दौडबाट बाहिर उभिएका प्रचण्डले आफ्नो मिसन शान्ति र संविधान भएको बताएका छन् । 'मैले जुनसकै त्याग गरेर भए पनि शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउने र संविधान लेखनको काम पूरा गर्नेछु । हाम्रो केन्द्रीय समितिले बाबुरामजीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गर्‍यौँ, तर कतिपय मानिसले साँच्चै यस्तो होला त भनेर प्रश्न उठाएका छन् । यो प्रश्न आधारहीन छ भन्ने मलाई लाग्छ,' प्रचण्डले गत साता मात्र भनेका थिए ।

डा. भट्टराईलाई प्रधानमन्त्रीमा निर्वाचित गराएपछि प्रचण्ड संविधानसभा भवन बानेश्वरबाट आफ्नोनिवास नयाँबजार फर्के । शनिबार राति सुत्न नपाएपछि थकान महसुस गरेका प्रचण्डले गाडीबाट उर्लदै गर्दा सहयोगीसँग भनेका थिए, 'आखिर बनाएर नै छाडियो है,' सहयोगीले पनि भने, 'सर लागेपछि के हुँदैन र ?'


http://www.nayapatrika.com/coverstory/11819-%E0%A4%AB%E0%A5%87%E0%A4%B0%E0%A4%BF-%26%23039%3B%E0%A4%AB%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E2%80%99.html

Search and Buy from amazon.com