Thursday, September 9, 2010

khagendra sangraula: म कसरी बालसाहित्यकार भएँ ?

म कसरी बालसाहित्यकार भएँ ?

Font size: Decrease font Enlarge font
image

भदौ दोस्रो साता गुरुकुलमा आयोजित खगेन्द्र संग्रौलाको एकल गद्यवाचन कार्यक्रममा डा. अभि सुवेदीले संग्रौलाको गद्यलेखनको चर्चा गर्दै 'उनी एउटा लेख छपाएर ६ महिना चुपचाप बसे पनि उनको नामले कतिपय मानिसलाई तर्साइरहन्छ' भनेका थिए । नेपाली अखबारी लेखनमा शक्तिशाली संग्रौला कथा, उपन्यास र निबन्धमा पनि उत्तिकै प्रभावशाली छन् । संग्रौला राम्रो बालसाहित्य पनि लेख्छन् भन्ने सायद थोरैलाई मात्रै थाहा छ । बालसाहित्य लेख्न आफूलाई प्रेरित गर्ने शान्तदास मानन्धरको संग्रौलाले धेरै ठाउँमा चर्चा गरेका छन् । अघिल्लो महिना बजारमा आएको पछिल्लो बालकथा संग्रह 'मंगलीको अधुरो क' सार्वजनिक गर्ने कार्यक्रममा संग्रौलाले दिएको मन्तव्यको सम्पादित अंश प्रस्तुत छः

खगेन्द्र संग्रौला

मेरो बाल्यकालमा मेरो छेउमा बालकथाका किताबहरू थिएनन् । मलाई सम्झना भएअनुसार जम्मा दुईवटा किताब थिए । ती किताबका गाता थिएनन् । छपाइ अत्यन्तै निम्नस्तरको थियो । एउटा तोतामैनाको कथा थियो र अर्को गुलबकावलीको कथा । मैले बाल्यकालमा यी दुईटा कथाबाहेक कुनै पनि कथा पढ्न पाइनँ । मैले आफ्नी आमाबाट, भाउजूबाट, दिदीबाट, फुपूबाट धेरै कथा सुनेँ । ती भूतप्रेतका, बोक्सीका र वनझाँक्रीका कथा थिए । र, ती कथाबाट मलाई आनन्दको भन्दा पनि त्रासको अनुभूति हुन्थ्यो । केहीपछि मैले बोधविक्रम अधिकारीका दन्त्यकथा पढेँ, जसमा लाटोबुंगोको कथा पनि थियो ।

विश्वसाहित्य मात्र होइन, नेपाली साहित्यकै पनि बालसाहित्यका राम्रा कृतिहरू मैले वयस्क भएपछि मात्रै पढ्ने मौका पाएँ । ह्यान्स क्रिश्चियन एन्डर्सन मैले धेरै ढिलो पढेको हुँ । विश्वसाहित्यका उत्कृष्ट भनिएका बालकथाहरू पनि मैले पाको उमेरको भइसकेपछि मात्रै पढेँ । मलाई जीवनभरि के लागिरह्यो भने बालककालमै ती उत्कृष्ट कथाहरू पढ्न पाएको भए सायद मेरो मस्तिष्क योभन्दा बढी मलिलो हुन्थ्यो ! र, सायद मेरो अनुभूति पनि तिखो हुन्थ्यो र म अहिलेभन्दा राम्रो लेखक हुन्थेँ । तर, अफसोस ! मलाई त्यस्तो अवसर प्राप्त भएन ।

अहिले मैले लेख्ने गरेको बालसाहित्य आफ्नो बाल्यकालको अभावको पूूर्ति गर्नका लागि लेखेको हुँ । वास्तवमा यी कथा म आफँैले लेखेका होइनन् । आधुनिक चीनका लेखक लु सुनले गुरुका बारेमा धेरैपटक धेरै कुरा लेख्नुभएको छ । गुरुबारे उहाँका आफ्ना अनुभव छन् र उहाँ भन्नुहुन्छ- मैले जीवनमा धेरै समय गुरु खोजिरहेँ, तर गतिलो गुरु कहीँ पनि फेला परेन । प्रत्येक मानिसको जीवनको परिवेश फरक हुन्छ, उसका सामाजिक सम्बन्धहरू फरक हुन्छन्, उसका लक्ष्य र आदर्शहरू, आकांक्षा र स्वप्नहरू, सुखहरू र दुःखहरू सबै फरक हुन्छन् । त्यसैले जीवनमा चिताएजस्तो गुरु खोजेर पाइँदैन । तपाईं कि त आफँै आफ्नो गुरु हुनुहुन्छ, कि तपाईं कसैको छाया हुनुहुन्छ ।

लु सुनले भनेको त्यही कुरो मैले जीवनमा पटकपटक दोहोर्‍याएको छु । तर, मलाई के लागिरहन्छ भने म पनि जीवनभरि गुरु नै खोजिहरेको छु । मेरो सम्पर्कमा शान्तदास मानन्धर नहुनुभएको भए सम्भवतः मैले बालकथा एउटा पनि लेख्ने थिइनँ । ०४२ सालमा म चितवनबाट काठमाडौं आएँ । मेरो काठमाडौं आउनुको बडो रमाइलो कथा छ । म चितवनमा वीरेन्द्र कलेजमा शिक्षक थिएँ, अंग्रेजी पढाउँथे । रामकृष्ण पन्त भन्ने एकजना सिडिओ सिन्धुलीबाट सरुवा भएर चितवन आए । चितवन आएको एक सातापछि उनले मलाई कार्यालयमा डाकिपठाए । म गएँ । उनको शिरमाथि राजारानीको तस्बिर थियो । त्यही तस्बिर देखाएर उनले मलाई भने, 'विष्णुका औतारका वैरीहरूलाई म मार्छु ।' चितवन आउनुभन्दा अगाडि ऋषि देवकोटा 'आजाद'को हत्या गरेर उनी चितवन आएका थिए । मलाई डर लाग्यो । हातमा हतियार नभएको मान्छेले मार्छु भन्यो भने डराइहाल्नुपर्ने अवस्था हुँदैन । हातमा हतियार छ र जसलाई राज्यले मार्ने अधिकार दिएको छ, त्यसले मार्छु भन्यो भने डराउनुपर्छ । हो, मलाई डर लाग्यो । र, म लुक्दै-छिप्दै भागेर काठमाडौं आएँ ।

अहिले पछि फर्केर हेर्दाखेरि तत्कालीन सिडिओ रामकृष्ण पन्तप्रति म कृतज्ञ छु । तिनले मारेको भए मेरो एकबारको चोला समाप्त नै हुन्थ्यो । तिनले मलाई मार्छु मात्रै भने, तर मारेनन् । ज्यान जोगाऊ अभियानमा म काठमाडौं आएँ । काठमाडौं आएपछि म सञ्चारको नजिक भएँ, प्रकाशनगृहको नजिक भएँ र मलाई बौद्धिक सत्संग प्राप्त भयो । त्यसवेला शान्तदास मानन्धर बालप्रकाशनमा व्यस्त हुनुहुन्थ्यो, अत्यन्त निष्ठापूर्वक र गम्भीर साधनाका साथ । उहाँ बालकोसेली छाप्नुहुन्थ्यो । एकदिन बिहान सबेरै उहाँ आएर भन्नुभयो- 'केटाकेटीका निम्ति जसले लेख्दैन, त्यो केही कामको लेखक होइन । भविष्य आजका बालबालिकाहरूको हो । आजका बालबालिकाहरूको मस्तिष्क समृद्ध भयो भने, तिनीहरू विवेकमान भए भने र तिनको हातमा सीप भयो भने मात्रै यो समाज राम्रो हुन्छ, समाज राम्रो हुँदै गयो भने संसार राम्रो हुन्छ । संसार राम्रो भयो भने यो जीवन यसभन्दा अलि बढी जिउनलायक हुन्छ, जीवन सुन्दर हुन्छ ।' यसरी नै उहाँले धेरैपटक मलाई घच्घच्याउनु र इख्याउनुभयो ।

बालकथा लेख्नका निम्ति मसँग कुनै विषय नै थिएन, भाषा थिएन, शैली र सीप पनि थिएन, मलाई साहस भएन । शान्तदास मानन्धरले मलाई धेरैपटक गिज्याउनुभयो । उहाँले पारिजातलाई पनि गिज्याउनुभयो- 'तपाईंहरू वयस्कहरूका लागि साहित्य लेखिरहनुभएको छ । वयस्कहरूलाई साहित्यका राम्रा सामग्रीहरूको स्रोत के हो, त्यस्तो साहित्य कहाँ फेला पर्छ, त्यो थाहा छ । तर, केटाकेटीहरूलाई थाहा छैन । केटाकेटीहरू अबोध, असहाय र निरूपाय हुन्छन् । त्यसैले तिनीहरूका लागि लेख्नुपर्छ ।' त्यसपछि मैले उहाँले प्रकाशन गर्नुभएको बालकोसेली पत्रिकाका लागि बालसाहित्य लेख्न सुरु गरेँ । 'पुतलीका कथा' भनेर मैले १४/१५ वटा कथा लेखेँ । ती कथा ठीकठीकै थिए । पछि मूल्यांकन प्रकाशन गृहद्वारा प्रकाशित नवयुवा पत्रिकामा मैले आफ्ना किशोरवयका अनुभव स-सानो टुक्राटाक्री गरेर ४५/४६ वटा लेखेँ । ती पनि ठीकै थिए । भर्खरै प्रकाशित मेरो 'मंगलीको अधुरो ँकपुस्तकमा संकलित तीन कथा भने तीभन्दा बाहिरका हुन् । र, यी केही नयाँ पनि छन् भन्ने मलाई लागेको छ । गुरुका रूपमा शान्तदास मानन्धर मेरोअगाडि नआउनुभएको भए यी बालकथा रचिने थिएनन् र म बालसाहित्यकार पनि हुने थिइनँ । तसर्थ यसको श्रेय म उहाँलाई दिन्छु ।

नेपाली बालसाहित्यका क्षेत्रमा दुईथरी धारणा छन् र लेखनमा पनि दुईथरी बान्की छन् । एउटा धारणा धेरै पुरानोजस्तो लाग्छ । त्यसमा महेन्द्रीय राष्ट्रवाद अर्थात् शाही राष्ट्रवाद धेरै बाक्लो पाइन्छ । चिन्तन र शिक्षाको त्यो परम्परामा राष्ट्रवाद शाही राष्ट्रवादका रूपमा देखिन्छ । धेरैजसो कथाका विषयवस्तुमा छाँगा, छहरा, पहरा, बुद्ध, सीता, देवीदेवता आदि हुन्छन् । ती कथामा अर्ती-उपदेशहरूको धेरै ठूलो भारी हुन्छ । वर्णन धेरै भद्दा हुन्छ । भाषा धेरै पुरानो हुन्छ । भाषा, विषय र शैली-निर्माणको दृष्टिकोणबाट ती पठनीय हुँदैनन् । नेपाली बालसाहित्यको एउटा ढर्रा यही हो । अर्को ढर्रा, अहिलेका बोर्डिङ स्कुलहरूमा फेसनका रूपमा छ । त्यसले भन्छ- बालसाहित्यको मुख्य उद्देश्य भनेको बालबालिकाहरूको आनन्द हो, उनीहरूलाई नीति-उपदेश र ज्ञान दिनु होइन । यो ढर्राले बालबालिकाहरूको मनोरञ्जन नै बालसाहित्यको मुख्य उद्देश्य हुनुपर्छ भनी जिद्दी गर्छ ।

म निष्ठापूर्वक संलग्न भएको, मैले जिन्दगीभरि प्रेम गरेको र मैले धेरै कुरा सिकेको मेरो पाठशाला वामपन्थी पाठशाला हो । वामपन्थी पाठशालामा पनि बालसाहित्य सामान्यतया पहिलो ढर्रामा पर्छ । वामपन्थी साहित्यमा पनि विषयको अत्यन्त ठूलो बोझ हुन्छ र नैतिक शिक्षाको पनि बोझ हुन्छ । मेरो आफ्नो चिन्तन र धारणा यो दुई धारको बीचमा पर्छ । यस सन्दर्भमा पनि म मध्यपन्थी संशोधनवादी नै हुँ । मध्यपन्थ खराब कुरा होइन । संशोधन भनेको परिमार्जन र परिष्कार पनि हो । त्यो भनेको पोलिस लगाउने र काम नलाग्ने चिजहरू फ्याँकेर नयाँ राम्रा चिज थप्ने कुरा पनि हो । त्यसैले चिन्तनमा र साहित्यलेखनमा म मध्यपन्थी संशोधनवादी हुँ । बालसाहित्य लेखनका सम्बन्धी मेरो धारणा पनि म यी दुईवटा कुराको बीचमा पर्छ ।

मलाई के लाग्छ भने बालसाहित्य होस् या प्रौढ साहित्य पाठकका निम्ति जिज्ञासा नै प्रस्थानबिन्दु हो । पाठकको मनमा केही नयाँ कुरा भेट्ने, नयाँ कुरा देख्ने र केही नयाँ अनुभव प्राप्त गर्ने खुल्दुली हुन्छ । खुल्दुलीबाट नै पाठकले पढ्न सुरु गर्छ । सम्पूर्ण पठन प्रक्रियाभरि उसले आनन्द प्राप्त गर्छ । तपाईंको कृतिले पठनको सम्पूर्ण प्रक्रियाभरि पाठकलाई आनन्द दिएन भने पाठकले तपाईंको कृति बीचमै छाडिदिन्छ । किनभने तपाईंको पट्यारलाग्दो, निस्सासलाग्दो र उच्चाटलाग्दो कृति पढिदिनका लागि कोही पनि दुनियाँमा जन्मेको हुँदैन । तपाईंको कृति बोधगम्य छ, रुचिकर छ र त्यसले पाठकलाई सम्मोहित गर्छ भने मात्रै उसले त्यो पढिसक्छ । पठनको प्रारम्भ भनेको जिज्ञासा हो, पठनको सम्पूर्ण प्रक्रिया भनेको आनन्द हो र पठनको अवतरण भनेको शिक्षा हो ।

साहित्य-कला भनेको उपयोगी चिज हो । त्यसको सामाजिक लक्ष्य, दायित्व र प्रयोजन हुन्छ । बालसाहित्यले, मैले भनेजस्तो बालसाहित्यले, पढिरहँदा आनन्द दिन्छ र पढिसकेपछि पढ्नेलाई थाहै नपाउनेगरी केही ज्ञान र शिक्षा दिन्छ । वास्तवमा यो पाठकको मनमा सियो भएर पस्ने र फाली भएर निस्कने चातुर्ययुक्त कलाको परिणति हो । यस्तो साहित्यको रचना गर्दा कलाकार वा स्रष्टाले कलाका सबै उपकरणको उपयोग गर्न जान्नुपर्छ । पहिलो कुरा भाषामा दख्खल र ताजापन हुनुपर्छ । साहित्यमा प्रयोग गरिने उपमा, विम्ब, प्रतीक, मिथक, रुपक, किंवदन्ती, लोकगाथा आदिको प्रयोग हुनुपर्छ र यथार्थबाट टिपिएको कच्चापदार्थलाई कलात्मक विधिले रूपान्तरण गर्न जान्नुपर्छ । यति सबै कुरा भएपछि तपाईंले निर्माण गरेको साहित्य आनन्ददायी पनि हुन्छ, शिक्षाप्रद पनि हुन्छ । पछिल्लो समयमा मैले यही धारणा र यही प्रयोजनलाई आधार मानेर बालसाहित्य लेख्ने गरेको छु ।

प्रस्तुतिः सङ्गीतश्रोता
sangeet.srota@gmail.com


source:

http://www.nayapatrika.net/newsportal/middle_page/16844.html



Monday, September 6, 2010

महाकविकी छोरी

बुवा राम्रो गाउनु पनि हुन्थ्यो: महाकविकी छोरी

  • महाकविकी गायिका छोरीसँग गफगाफ

पारस नेपाल


काठमाडौ, भाद्र २१ - अम्बिकादेवी रिमाल महाकवि लक्ष्मीप्रसाद देवकोटाका चार छोरीमध्ये माइली हुन् । उनले भारतको गुजरातस्थित एमएस युनिभर्सिटीबाट शास्त्रीय गायनमा प्रभाकर (एमम्युज) गरेकी छन् । उनी राष्ट्रिय नाचघरमा कार्यरत रहिन्, रेडियो नेपालमा लामो समय प्रमुख शास्त्रीय गायिकाका रूपमा प्रस्तुत भइन् । ६७ वर्षीया रिमाल अचेल काठमाडौं मैतीदेवीमा बिरामी साइली बहिनी मीराको सेवाशुश्रूषा गर्दै दिन बिताइरहेकी छन् । सात वर्षअघि पति लोकेन्द्रनाथ रिमाल गुमाएकी उनका छोराछोरीसमेत छैनन् ।

महाकविकी छोरीलाई शास्त्रीय संगीतमा रुचि कसरी बसेको थियो ?

बुवाकै कारणले हो । बुवा गाना मज्जाले गाउनुहुन्थ्यो । आफैं हारमोनियम बजाएर यस्तो तान मार्ने कि कुरो गरी साद्धे छैन । उहाँको आवाज केटीको जस्तो थियो, तीखो । हारमोनियम पनि त्यस्तै, पेरिस रिडको । म उहाँले गाउँदा जिल्ल परेर हेर्दै सुनिरहन्थें । बुवाले गाना गाएको मलाई खुब मन पर्ने क्या, आनन्द आउने । हुँदाहुँदा मलाई पनि कसोकसो त्यतैपट्टी इन्ट्रेस्ट लाग्यो । 'पढ्ली जस्ती छैन, यल्लाई चैं गानै सिकाउनुपर्ला जस्तो छ' भन्दै बुवाले मलाई शास्त्रीय संगीत सिकाउन मास्टर पनि राखिदिनुभयो ।

पढाइमा मन जाँदैनथ्यो त ?

अब पढ्ने कसरी ? आमाले काम अराएको अरायै गर्ने । खालि यो गर् त्यो गर् भन्ने । मेरा कान निमोठ्ने र यसोत्यसो गर्ने मान्छे कोही भएनन् । दिदीको सानैमा बिहे भएकाले घरकी जेठी मै थिएँ । धेरै जसो काम मैले नै गर्नुपथ्र्यो । मलाई गायन सिकाउन चेतनाथ (शर्मा) गुरु आउनुहुन्थ्यो । मीराले र मैले उहाँसँग सिक्यौं । १२/१३ वर्षी थिएँ होला, मेरो आवाज खुब तगडा थियो । मलाई खुब प्राक्टिस गर्न मन लाग्थ्यो, बिहान चारै बजे उठेर प्राक्टिस गर्थें । तर मेरो मदरले चाहिं गाली गर्ने क्या । मान्छे खुसी हुनुपर्ने ठाउँमा, 'मुटु फुटेर मर्छेको त, किन यस्तरी चिच्याइरहेकी' भन्ने । आफू जति बिहानै उठेर प्राक्टिस गरे पनि मुमा जागेपछि काम सघाइहाल्नुपथ्र्यो । दुइटा दाइ स्वर्गे भएर पाएकोले होला, मुमाले भाइ (पदम) लाई केही भन्न दिनुहुन्नथ्यो । कान्छो भाइ दीपक सानो थियो । 'बाबु, यो गिलास उता लग्देन' भनेको सुने पनि 'भाइलाई काम अराएको - 'भन्दै कराइहाल्नुहुन्थ्यो । अनि अरू पढाइमा कसरी मन जान्थ्यो ?

पढ्न मन नलाग्ने मान्छे गुजरात कसरी पुग्नुभयो त ?

पछि पढें नि । पद्मकन्यामा आईए पढ्दापढ्दा गुजरातको स्कलरसिप पाएकी थिएँ । एसएलसी दिने बेलामा पनि 'यल्लाई जाँच दिन लगाउनु हुँदैन है, बेइज्जत गर्छे होल सब्जेक्ट पर्छे त' भन्थे । तर म बिहान सबेरै उठेर पढ्थें, कसैले देख्दैदेख्दैनथे । एसएलसी कसोकसो पास भएँ ।

एकै चोटिमा पास हुनुभएको थियो ?

बुवा स्वर्गीय भएपछि मैले जाँच दिएको क्या । अरू दुइ बहिनी घरको काम गर्दैनथे । अनि मदरले मलाई बुवाको कोठासोठा सफा गर्ने जिम्मा पनि दिनुभएको थियो । बुवा ट्युसन पढाउनुहुन्थ्यो । उहाँ बितेपछि एक दिन कोठा सफा गर्दा मैले क्वेस्चन-एन्सरको कापी भेटें, बुवाले कसकसलाई पढाउँदा लेखेर राखेको । 'मैले टिचर राखेर पढ्न नपाए पनि यो कण्ठ पारिदिएँ भने त पास भइहाल्छु नि' भनेर डटाडट घोक्न थालें । नभन्दै जाँचमा तिनैतिनै आए, पास भइहालें नि हा˜हा˜हा˜...

अनि संगीत पढ्न बाटो खुल्यो ?

पद्मकन्यामा एक सब्जेक्ट म्युजिक लिएर आईए पढ्दै थिएँ । म्युजिकमा नाइन्टी ओभर आएछ । इन्दिरा पाण्डे बडोदरा (गुजरात) बाट पास भएर भर्खर आउनुभएको थियो । उहाँले 'तपाईंको म्युजिकमा धेरै राम्रो रहेछ, बडोदरै गएर पढ्नुस्' भनेर प्रेरणा दिनुभयो । पछि एक शुभेच्छुकले 'ल स्कलरसिप आएको छ, जाने भए एप्लाई गर' भने । लौ न त भनेर एप्लाई गरेको, नाम निस्क्यो । त्यति खेर नारायणगोपालले भर्नुभएको थिएन र मैले पाएँ । भगवानको कृपा भएपछि पढिंदो रैछ ।

नारायणगोपालजी पछि त्यहीं जानुभएको थियो नि ?

अँ, म थर्ड इयरमा हुँदा हो कि कसो हो, उहाँ पुग्नुभएको थियो ।

उहाँले कति वर्षपढ्नुभयो गुजरातमा ?

दुइ वर्ष हो क्यार । उहाँको गलाको तासिर थियो, सबै जनाले मन पराउँथे । आर्मी मान्छे हिंडया जस्तो डमडम परेर हिंड्नुहुन्थ्यो, मनमौजी तालबाट । स्वतन्त्र विचारधाराको व्यक्ति हुनुहुन्थ्यो । खानपरे गम्म खाने, बोल्नपरे निर्धक्क बोल्ने । त्यो युनिभर्सिटीमा रहेका नेपालीले 'लौन दाइ, त्यो गीत सुनौं न' भने भने बसेर हारमोनियम समाइहाल्नुहुन्थ्यो ।

गुजरातबाट फर्केपछि सरसंगत भयो कि भएन ?

खासै भएन । मैले नाचघर छोडिसकेपछि उहाँ महाप्रबन्धक बनेर पुग्नुभएको थियो । म नाचघरमा त्यति बसिनँ पनि । त्यहाँ विशेष गरी लोकगीतको मात्रै ऊ हुने रैछ । हाम्रा सरहरूले चाहिं के भनेका थिए भने क्लासिकल गाउनेले लोकगीत गाएर हिंड्नु हुँदैन । त्यस्तो इम्प्रेसन पर्‍यो, म त्यसैले लोकगीतपट्टी ढल्किइनँ । शास्त्रीय संगीतमा पनि त्यति प्रगति गर्न सकिएन ।

नारायणजीले आधुनिक गीत गाऔं भन्नुभएन ?

अहँ । रेडियो नेपालमा खालि क्लासिकल गीतहरू रेकर्ड गरें । 'दहीको ठेकी चामल रेखी...' जस्ता एकदुइटा लोकगीत पनि गाएकी थिएँ । तराईको एक जना कलाकारले सिकाइदिनुभा' थ्यो । लौ भरौंभरौं यो भनेपछि 'दहीको ठेकी...' गाएँ क्यार । कोइली दिदीका बूढाले दिएका दुइ तीनटा भजन रेकर्ड गरें ।

नारायणजीले संगीत पढाइ बीचैमा छोड्नुको कुनै कारण थियो कि ?

उहाँलाई पढ्न जरुरी नै थिएन । गलाको तासिर थियो । गीतहरू टप्पटप्प टिप्नुहुन्थ्यो, खटखटी । उहाँलाई आधुनिकमा ऊ गर्नु थियो, गर्नुभयो ।

बुवा बित्दा तपाईं कति वर्षी हुनुहुन्थ्यो ?

ठूलै भइसकेकी थिएँ, १६/१७ वर्षकी । मेरो विवाह भइसकेको थियो । श्रीमानको घर कालिकास्थान (काठमाडौं) मै भए पनि हाम्रै नजिक डेरामा बस्नुहुन्थ्यो । उहाँको सानोतिनो जागिर थियो, त्यसैले बुवाले हामीलाई सँगै राख्नुभएको थियो ।

श्रीमान्ले गुजरात जान सजिलै दिनुभएको थियो ?

उहाँको जागिर सानोतिनो थियो । मैले कुनै उपाय गर्नैपथ्र्यो । त्यसैले उहाँको त्यति मन नभए पनि जे त पर्ला भनेर टाप कसें । सात वर्षबसें उता । बीचमा यता श्रीमान्ले 'लौ न मेरी स्वास्नीलाई कसले भगाइदिएछ, भेटे त्यसलाई काट्छु' भनेर होहल्ला मच्चाउनुभएछ । म फर्केपछि मैतीदेवी छाडौं भन्नुभयो र सिनामंगलमा डेरा लिएर बस्यौं । उहाँ पनि तबला राम्रो बजाउनुहुन्थ्यो, तर बेलाबेलामा दिमाग फुस्सफुस्स उड्थ्यो । उहाँको स्वर यस्तो मीठो थियो कि तलत महमूदलाई फिका पारिदिनुहुन्थ्यो । नारायणगोपालको पलायन हुनुहुन्थ्यो । नेपालमा गायक भनेको नारायण गोपाल मात्रै छ भन्नुहुन्थ्यो । मैले चाहिं दरबारतिर गाउदैवर्दै परिवार चलाउँदै गएँ । मैले महेन्द्र सरकारका तीनटै छोराका बिहेमा क्लासिकल गाना सुनाएकी छु ।

राजपरिवारका अगाडि गाउन धक लाग्थ्यो कि ?

ओहो कुरै नगर्नुस् । पहिलो चोटि गाएको वीरेन्द्र सरकारको बिहेको पालामा हो कि क्या हो । म सिनामंगलमा भाँडा माझेर बसेकी थिएँ, मीरा स्याँस्याँ र प्याँफ्याँ गर्दै आई । दरबारबाट गाउनलाई निम्ता पठाएका रैछन् । हतारहतार गरेर मैतीदेवी आएँ र मुमासँग भाडा मागेर ट्याक्सी चढी महाराजगन्जतिरको खोइ कुन्नि के निवासमा पुगें । अपराह्न चार बजेतिर मेरो पालो आयो, तर गलो खुल्दैन । राजपरिवार अगाडि बसेका छन्, मेरो बाक्के बसे जस्तो भयो । गर्नलाई चार सय पचास राग कण्ठ गर्‍या हो, गाउने बेला आउँदैन । भरे होमनाथजी (तबलावादक पं. होमनाथ उपाध्याय) ले 'चार बज्न लागेको छ, राग मुलतानी गाउनुस् न' भनेपछि पो म झल्याँस्स भएँ हा˜हा˜हा˜...

महाकविजीले गीत बनाएर तपाईंहरूलाई सिकाउनुहुन्न थियो ?

कहाँ सिकाउनु हामी भुराभुरीलाई - बुवा त बाहिरबाट कहिले राति दस एघार बजे आउने, पसिनासरि भएर । कोट फुकालेर फ्यात्त फ्याँक्यो अनि बिछ्यौनामा बसेर कि कवितासविता लेख्यो कि हारमोनियम बजाउन थालिहाल्यो । कहिले एघार बजे राति पनि गाना गाउने । उहाँका धेरै कविताहरूलाई मैले बन्दिश बनाएर रेडियो नेपालमा रेकर्ड गरेकी थिएँ, छन् कि मासिसके कुन्नि ।

सुरमा गाउनुहुन्थ्यो कि बेसुरमा ?

सुरमा नि । अँ, काइदाले गाउनुहुन्थ्यो । उहाँले पटनामा गायन सिक्नुभएको रैछ । मैतीदेवी घरमा उहाँलाई सिकाउन यज्ञराज ओस्ताज (संगीतशिरोमणि यज्ञराज शर्मा) आउनुहुन्थ्यो । जोशी थरका अर्का कलाकारले पनि उहाँलाई सिकाउनुहुन्थ्यो । यज्ञराजजीले एक चोटि बुवालाई 'ए कविजी, तपाईंको जस्तो फररर सरगम आउने भैदिएको भए हामी कति ठूलो कलाकार हुन्थ्यौं हुन्थ्यौं' भनेको मेरै कानले सुनेका हुन् । बुवा यति छिटो र मीठो सरगम भन्नुहुन्थ्यो कि के भन्नु । सारै मीठो गाउनुहुन्थ्यो ।

कसकसलाई गाना सिकाइदिन्छु पनि भन्नुहुन्थ्यो रे ?

त्यो चाहिं मैले सुनिनँ । ट्युसन चाहिं जसलाई पनि पढाइदिनुहुन्थ्यो, पैसा देऊ या नदेऊ, मतलब छैन । जोजो आउँछन्, सबलाई पढाउनुहुन्थ्यो ।

महाकविजी कलेज पढाउनुहुन्थ्यो, ट्युसन पढाउनुहुन्थ्यो, मैतीदेवीमा तीनचार रोपनी जग्गा थियो र पनि मान्छेले देवकोटा परिवारलाई दालभात डुकुको समस्या थियो भन्छन् नि ?

हा˜हा˜.. यौटा विचित्रको कुरा छ के । उहाँ त कमाउनुहुन्थ्यो बिहान छ बजेदेखि राति दस-एघार बजेसम्म । माथि बज्यै (मुवा) ले खाना पकाइरहे पनि कहिले नखाई हिंडिदिनुहुन्थ्यो । फेरि हाम्रो मुवाले चाहिं बुवाले भान्सा छाडेपछि खानुहुन्न थियो । बेलुका उहाँ घरमा आउनासाथ मान्छेहरू हुरुर्रुर्रुर कमिलाको गोलो जस्तो आउने । कोही ट्युसन पढ्न, कोही भेट्न । भन्या सुन्छु, त्यो बेलामा मेरा बुवाले जस्तो कमाएको कसैले होइन । पाँचसात हजार महिनाको चैं हुन्थ्यो । तर पैसा देखेपछि महादेवको तीन नेत्र हुन्थ्यो बुवालाई । कसैले यसो पैसाको कुरो गर्नेबित्तिकै 'ए, कति चाहियो -' भन्दै दिइहाल्नुहुन्थ्यो । बज्यै माथि भान्सामा छन्, बुवा तल पैसा बाँड्नुहुन्छ । अर्को आइपुग्छ, उसलाई पनि दियो । यसरी बुवाको हातमा त पैसा नरहने । अनि मुवाले माग्दा छैन । बज्यैले त छोराछोरीलाई खाउनुपर्‍यो नि । मुवाले 'यस्तो के गरेको बुवा हजुर -' भन्दा बुवा 'पैसा आइहाल्छ नि फेरि, तिमी वल्लो घर पल्लो घर सरसापटी लिएर काम चलाउन भनेर भन्दिने हा˜हा˜... । बुवाले यसो गरेपछि दुःख त बज्यैलाई भयो नि त ।

हातमुख जोड्नै दुःख कसरी हुन्छ त काठमाडौंका रैथानेलाई ?

दुःख भैहाल्छ नि । पैसा बेस्सरी कमाउनुभयो तर आफूसँग छैन । घर चलाउनुपर्ने बज्यै जहिल्यै रित्ता रित्तै भइनन् ।

पैसा त नुनभुटुन किन्न मात्रै त चाहिने हो ?

पैसै नभएपछि त्यो पनि कसरी किन्नु बाबु - महिनैपिच्छे बुवाले 'ल बज्यै, यति घरखर्चलाई राख' भनेर छुट्टयाएर दिने गरेको भए हुन्थ्यो नि, तर नगर्दिने । बुवा पैसा राख्नै नसक्ने । उहाँ त्रिचन्द्र क्याम्पसमा पढाउनुहुन्थ्यो । ए देवकोटाले पैसा बाँडेर सिध्याउँछन् रे, याँ गर्छन् रे, त्याँ गर्छन् रे भनेर क्याम्पसमा हल्ला चलेछ । हो कि होइन, बुझ्न भनेर तलब पाएको एक महिना सिद्धिचरण (श्रेष्ठ) हो कि कुन चैं कविजी उहाँको पछि लागेछन् । देवकोटाजीको तलब आयो भनेपछि क्याम्पसको भर्‍याङदेखि हात थाप्नेहरू थुप्रै हुने रे क्या । ती कविजीले एक सय नोट चैं सट्ट थुतेर उहाँको कोटको भित्री खल्तीमा राखिदिएछन् । त्रिचन्द्र क्याम्पसको सरस्वती सदनबाट डिल्लीबजारको पीपलबोटसम्म उहाँ माग्ने भेटे माग्ने, नभए उधारो खाएका मिठाई पसल वा बगरे (मासु पसले) लाई पैसा दिंदै आउनुभएछ । ठ्याक्क पीपलबोटमुनि एउटा माग्ने 'हजुर एक पैसा, हजुर एक पैसा' भन्दै बसेको रैछ । बुवाले दिन खोज्दा पैसा भेट्नुभएनछ अनि खल्तीमा राखिदिएको पैसा सम्झिनुभएछ र झिक्नुभएछ । त्यो सयको नोट माग्नेलाई दिन उहाँले हात बढाउँदा ती कविजीले च्याप्प समाएछन् रे । 'तपाईंले किन मेरो हात समाउनुभो' भनेर बुवाले सोध्दा उनले 'तपाईंका छोराछोरी के खान्छन् - यो सय रुपैयाँ बाहेक सबै बाँडेर सिध्याउनुभयो, यस्तो गर्नु भएन नि' भनेर सम्झाएछन् । बुवाले 'यो दियो भने उसले एक दुइ छाक मज्जाले खान पाउँछ नि' भनेपछि उनले सोधेछन्- 'तपाईंका स्वास्नी छोराछोरीले के खान्छन् नि -' अनि बुवाले आकाशतिर हेर्दै भन्नुभएछ- 'मेरा छोराछोरीलाई पाल्ने त उः त्याँ माथि छ ।' हा˜हा˜हा˜...

बज्यै कहिलेकाही नाङ्लामा चामलका गेडा अड्केका छन् कि भनेर खोज्नुहुन्थ्यो रे ?

त्यो कुरा चैं हाम्ले देखेनौं हेर्नुस् । मान्छेहरूले सियोलाई पहाड र पहाडलाई सियो पनि बनाउँछन् । नाङ्लो कोट्याउँदा कति गेडा चामल आउँछ र ? चाहिने कुरा पो गर्नुपर्छ त । पहिलेपहिले भात पकाउन ठिक्क पारेको चामलबाट एक मुठी फाँको उठाएर राख्ने चलन थियो । त्यो चामलको भात ठूलाबडाले खाँदैनथे, केटाकेटीलाई पकाएर दिन्थे । ती मान्छेले त्यही कुरा भनेका होलान् ।

माइला ज्वाइ महाकविजीले नै खोज्नुभएको थियो कि ?

मैले आफैं खोज्या भन्नुपर्‍यो अब ।

बुवा बितेपछि बिहे भएको हो ?

उहाँ छँदै हो । बुवाले पनि धेरै मन पराइरहनुभएको थियो । जोसँग भए पनि बिहे गर्नैपर्ने थियो, लौ जा त भनेर गरिदिएँ । हाम्रो घरछेउ नै डेरा गरेर बस्नुहुन्थ्यो । उहाँका बुवाआमा कोही थिएनन् । सुरुमै बिहे गर्न खोज्दा मैले मानिनँ र उहाँले अर्को बिहे गर्नुभयो । पछि त्यो दुलही चैं काम नलाग्ने रैछ भनेर छोड्नुभयो । मलाई फेरि माया लाग्यो अनि बिहे गरें । उहाँ कालिकास्थानकै रिमाल परिवारको हुनुहुन्थ्यो ।

उहाँ पनि संगीतको सोखिन हुनुहुन्थ्यो ?

सोखिन मात्रै होइन, म त ठूलो कलाकार नै मान्छु । त्यति खेर चिन्न सकिन, अहिले आएर चिनेर के गर्नु ? उहाँको आवाज यस्तो मीठो थियो कि के भन्नु ? तर उहाँलाई परिवारले चक्रव्यूहमा पारेको रैछ । समाजमा पढेर मात्र पनि हुँदो रैनछ । यहाँ यौटा तत्व रैछ, जसले कुनैकुनै मान्छेलाई चक्रव्यूहबाट उत्रन दिंदो रैनछ । उहाँ आफ्ना बाउबाजेको सम्पत्ति पनि खान पाउनुभएन । अहिले पनि उहाँको सम्पत्ति छ, तर त्यो मेरो हातमा परेको छैन । थाहा पाउने मान्छेहरू ओहो यत्रो सम्पत्ति भनेर यति लामो ज्रि्रो तान्छन्, आफूले यौटा टीकोसम्म लाउन पाएको छैन । उहाँ अभावअभावमा पन्ध्र वर्षसम्म पक्षाघात भएर ओछ्यानको ओछ्यान हुनुभयो र २०६० सालमा बित्नुभयो ।

तपाईं अहिले बसिरहेको घर आफ्नै होइन ?

यो जग्गा मुमाले दिनुभएको, 'माइली छोरीले दुःख पाउने भई' भनेर । भाइले एक रोपनी लानु भनेको थियो, मैले घर बनाउन पुग्ने गरी छ आना मात्रै लिएँ । सञ्चयकोषको पैसा, खाई-नखाई गरेर यति छाप्रो चैं उठाइयो ।

भुइ तला भाडामा दिनुभएको हो ?

होइन, कान्छी बहिनी बसेकी छ, छोराबुहारीसँग । उसको पनि घर छैन । ज्वाइ इन्जिनियर हुनुहुन्थ्यो । उहाँ बुटवलमा सिमेन्ट कारखाना चलाउने योजनामा हुनुहुन्थ्यो । सबै सरसम्पत्ति लगाएर कारखाना खडा गरेपछि एक चोटि राम्रा मान्छेलाई देखाउनुपर्‍यो भनेर भारततिर लिन जानुभएको थियो, र्फकंदा एक्सिडेन्ट परेर खुत्रुक्कै हुनुभयो । उहाँ बित्दा छोराछोरी बालखै थिए, तिनलाई मैले नै हुर्काएकी हुँ ।

संगीत शिष्य परम्परामै भर पर्ने विद्या हो, तपाईंले ज्ञान त्यति बाँड्नुभए जस्तो छैन, किन होला ?

म गुजरातबाट फर्केपछि पद्मा कादम्बरी (शास्त्रीय संगीतकर्मी रंगराव कादम्बरीकी श्रीमती) ले पद्मकन्या क्याम्पसमा पढाउन आउनू भनेर निकै फोर्स गर्नुभएको थियो । इन्दिरा दिदी पनि त्यहीं हुनुहुन्थ्यो । तर बुवाले अहोरात्र छाती र घाँटी सुकाएर विद्यार्थीहरूको दिमागमा ज्ञान ठोसिरहेको देखेकीले होला, मलाई पढाउने काम झ्याउ लाग्यो । क्याम्पसमा छुट्टी पनि भनेको बेला पाइदैन, सरकारी जागिर भए त्यो पाइन्छ भन्ने लाग्यो । मुमालाई कति खेर के पर्छ कसो पर्छ, सघाउने मै थिएँ । अर्कोतिर भाइ पनि प्रोफेसरै भएर निक्लियो । आफू किन त्यही हुनु भनेर मैले लाइन चेन्ज गर्‍या ।

समकालीन शास्त्रीय संगीतकर्मीहरूसँग अचेल उठबस छ कि छैन ?

धेरै भयो संगत छुटेको । मेरा श्रीमान्लाई पन्ध्र वर्षति प्यारालाइसिस भयो । त्यसमा पनि थपक्क न चार वर्षबिछ्यौनामै पर्नुभो । सारै दयनीय स्थिति थियो क्या । संगीत छोडेर पतिसेवामा लाग्नुपर्‍यो । त्यसपछि चार वर्षेखि साइली बहिनी स्याहारिरहेकी छु । दीर्घ रोग लागेको छ ।



प्रकाशित मिति: २०६७ भाद्र २२ ०१:११


Thursday, September 2, 2010

मूर्ति तस्कर पूर्वराजा ज्ञानेन्द्र

यसकारण गोली हानियो मलाई

Font size: Decrease font Enlarge font
image

०३६ को जनमतसंग्रहपछि नेपालमा आएको राजनीतिक खुकुलोपनको लाभ त्यतिवेलाका महापञ्च सूर्यर्बहादुर थापाले पनि लिए । सरकारबाट बहिर्गमन भएपछि र लोकेन्द्रबहादुर चन्दसँग दूरी बढेपछि थापाले एकप्रकारले राष्ट्रिय पञ्चायतमा विपक्षीको भूमिका निर्वाह गर्न थाले । यसै क्रममा उनले भूमिगत गिरोहको पर्दाफास गर्न थालेका थिए । पत्रकारिताबाट यसको नेतृत्व तत्कालीन पत्रकार पदम ठकुराठीले गरेका थिए । फलस्वरूप उनलाई भूमिगत गिरोहले हत्याको प्रयास गर्‍यो । २० भदौ ०४३ मा उनलाई गोली हानियो । यस गोलीकाण्डको पृष्ठभूमिबारे ठकुराठी यसो भन्छन्:

राजनीति छाडेर पत्रकारिता

राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवारी दिएको थिएँ, हारेँ । यो ०३८ सालको कुरा हो । मैले चुनाव हार्नुपछाडि भूमिगत गिरोह (कानुनी जिम्मेवारी नभएका, तर जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवार काम गराएर फाइदा लिने) को हात थियो । राजनीतिमा बन्दै गएको मेरो छवि मन नपराउनेहरू पनि थिए । रापंसमा हारेपछि राजनीतिप्रति मोहभंग भयो ।

त्यसपछि लागेँ- पत्रकारितातिर । यता आउनुका कारण थियो- दरबारियाले पञ्चायतलाई माध्यम बनाएर नेपाल र नेपालीको शोषण गरिरहेको छ, त्यसविरुद्ध जनमत नबनाएसम्म यहाँ परिवर्तन सम्भव छैन । त्यो काम सम्भव बनाउन पत्रकारितातिर लागेँ म । क्रमशः पत्रकारितामै रत्तिन थालेँ । राजनीतिमै भविष्य खोज्न प्रतिबद्ध म, भएँ पत्रकार ।

त्यतिवेला हाम्रो मिसन नै थियो- भूमिगत गिरोहविरुद्ध धर्मयुद्ध -जेहाद) छेड्ने । भूमिगत गिरोह भनेको कानुनी जिम्मेवारी नभएका या बोक्नु नपर्ने, तर जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवार काम गराएर फाइदा लिने तत्त्वलाई हामी भूमिगत गिरोह भन्छौँ भनेर पत्रिकामै परिभाषा गरिदिएका थियौं । त्यसो भनेपछि भूमिगत गिरोह भनेको यिनीहरू रहेछन् भनेर सबैलाई थाहा भयो ।

भूमिगत गिरोहको षड्यन्त्र

पञ्चायतकालमा राजा र राजपरिवार संविधानभन्दा माथि थिए । यसको दुरुपयोग गर्दै उनीहरूले व्यक्तिगत फाइदा उठाइरहेका थिए । त्यस्ता कैयौँ घटना मलाई थाहा थियो । ती कुरा पत्रिकाको माध्यमबाट सार्वजनिक गर्न थालेँ । त्यसो भएपछि उनीहरू तिलमिलाए । त्यसपछि मलाई उनीहरूले दुःख दिन थाले । धम्क्याए । पत्रिका सिज गरे । २५ पटकसम्म त जेल हाले । तर, म कति पनि विचलित भइनँ । किनकि म आफ्नो मिसनमा प्रतिबद्ध भएर लागेको थिएँ । उनीहरूले त्यसरी दुःख दिँदा मलाई एकखालको आनन्द लाग्थ्यो, किनकि म आफ्नो मिसनमा सफलता पाउँदै गइरहेको अनुभूत गर्थेँ । लाग्थ्यो- पत्रकारिताबाटै भूमिगत गिरोहलाई तह लगाउँछु म । पत्रकारिताको शक्तिमाथि म पूर्णतः विश्वस्त थिएँ । म भलिभाँती जान्दथेँ- कलमको तागत कति हुन्छ ।

जाँदा मूर्ति आउँदा सुन

नेपालमा अब सक्कली मूर्ति बाँकी छैनन् भन्न सकिन्छ । पशुपतिनाथका चाहिँ भन्न सक्दिनँ । तीबाहेक सबै मूर्ति विदेश पुर्‍याइएका छन् । सक्कली मूर्तिका ठाउँमा प्रतिलिपि र प्रतिकृति स्थापना गरिएका हुन् । मूर्तिका साथै मन्दिरका टुँडाल र हस्तलिखित ग्रन्थसमेत विदेश पुर्‍याइएका छन् । विदेश पुर्‍याउने पूर्वराजा ज्ञानेन्द्र थिए । उनै हुन्- विदेशबाट आउँदा सुन र हेरोइन ल्याउने पनि ।

त्यतिवेला नेपाल र भारतमा एकतोला सुनको भाउमा तीन सय रुपैयाँको फरक थियो । तसर्थ, विदेशबाट ल्याइएका सुन भारत निर्यात गरिन्थ्यो । सुन भारत निर्यात गर्न धनगढीलाई उपयुक्त मानिन्थ्यो । किनकि, त्यहाँ धीरेन्द्रको लगानीमा लक्ष्मी कत्था उद्योग सञ्चालित थियो । सो उद्योगले सुनको बिस्कुट आकारकै कत्था बनाई कत्थाभित्र सुनको बिस्कुट हालेर भारत पठाउँथ्यो । त्यो जानकारी हाम्रो पत्रिकाको सूत्रले थाहा पाएपछि विमर्शमा समाचार छापियोे । समाचार छापिएपछि भूमिगत गिरोहले मलाई वाच गर्न थाले ।

मागेजति पैसा दिने प्रलोभन

धीरेन्द्र शाहका एडिसी भरत गुरुङले मलाई फोन गरे । गुरुङले फोनमै भने, 'तपाईंले पत्रकारिता छाड्नुपर्‍यो । छाडेबापत जति माग्नुहुन्छ त्यति पैसा र पद-प्रतिष्ठा मालिकबाट दिलाइदिन्छु ।' त्यो प्रस्तावको ठाडो अस्वीकार गरेँ । प्रतिउत्तरमा मैले गुरुङलाई भनेँ, 'मलाई तिम्रो मालिकको पैसाको लोभ छैन । चाहिँदैन पद-प्रतिष्ठा पनि । मलाई पाठकले दिएको माया नै मेरा लागि अमूल्य सम्पत्ति हो ।'

मैले पत्रकारिता छाडेमा उनीहरूको अवैध धन्धा निर्वाध चलिरहन्थ्यो । म त्यसको विपक्षमा थिएँ । बारम्बार मलाई उनीहरूले फकाउने प्रयास गरे । म उनीहरूको प्रलोभनमा परिनँ । मलाई निष्त्रिय पार्न खोजियो । म झनै सक्रिय बनेँ । भूमिगत गिरोहबाट आएका प्रलोभन मेरा लागि सक्रिय भएर पत्रकारितामा लाग्ने थप ऊर्जा बन्यो । कति गर्दा पनि उनीहरू सफल भएनन् । पत्रिका निरन्तर प्रकाशन भइरह्यो । उनीहरूले गरेका गलत कामको समाचार आउन पनि छाडेन ।

फुटबलभित्र हेरोइन

सञ्चारकर्मीका लागि सूचना नै सबैभन्दा ठूलो सत्ता हो । त्यही सत्ताको खोजीमा हुन्छन् उनीहरू । १९८४ को ओलम्पिक अमेरिकाको लसएन्जल्समा भएको थियो । त्यहाँ हुने ओलम्पिकमा नेपालबाट खेलकुद परिषद्का संरक्षक धीरेन्द्र शाह, सदस्य-सचिव शरदचन्द्र शाह, धीरेन्द्रका एडिसी भरत गुरुङ, तेक्वान्दो खेलाडी जगत गौचन (शाहीकालका भौतिक योजना राज्यमन्त्री) गएका थिए । यो टोलीले फुटबलभित्र हेरोइन राखेर लगेका रहेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको ब्यागेज चेक-जाँच भएन । किनकि, पञ्चायतकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजपरिवार तथा राजपरिवार सदस्यको ब्यागेज चेक-जाँच गर्न पाइन्नथ्यो ।

त्यतिवेलाको कानुन नै त्यस्तो थियो । ओलम्पिकमा भाग लिन त्यता हिँडेका उक्त टोलीको ब्यागेज चेक-जाँच गर्न नपाइएपछि फुटबलभित्र लुकाएर लगिएको हेरोइन अमेरिका पुर्‍याउन गाह्रो भएन उनीहरूलाई । तर, अमेरिका ओर्लनासाथ शरदचन्द्र शाह र कृष्णमान श्रेष्ठ विमानस्थलमै समातिए । अमेरिकाका लागि तात्कालिक नेपाली राजदूत विश्व प्रधान जमानी बसेर शाहलाई तत्काल छुटाइए पनि श्रेष्ठ भने अहिले पनि अमेरिकामै जेल सजाय भोग्दै छन् ।

अमेरिकाबाट फ्याक्स

शरदचन्द्र शाह र कृष्णमान श्रेष्ठ समातिएको खबर अमेरिकाको स्थानीय एक पत्रिकामा छापियो । त्यो समाचार हाम्रो (विमर्श साप्ताहिक) पत्रिकाका एक पाठकले पढेछन् । समाचार पढ्नासाथ प्रकाशित समाचारको कटिङ उनले हामीलाई अमेरिकाबाट फ्याक्स गरिदिए । त्यही समाचार कटिङलाई स्रोत बनाएर हामीले समाचार छाप्यौँ । विमर्शमा छापिएको समाचारको कटिङ भूमिगत गिरोहका आफन्तले फ्याक्स गरी अमेरिका पठाएछन् ।

अमेरिकामा मात्रै नभएर उनीहरूले गर्दै आएका अवैध काम सारा नेपालीलाई थाहा भयो । त्यतिवेला हामीले एक हजारप्रति पत्रिका हुलाकबाट संसारभरि पठाउँथ्यौँ । तसर्थ, त्यो खबर देश-विदेशमा रहेका नेपालीले थाहा पाए । त्यसो भएपछि ममाथि उनीहरूले अपराध चिताउन बाध्य भए ।

अन्ततः मार्ने योजना

अन्ततः मलाई मार्ने योजना बनाइयो । त्यो पनि नेपालमा नभएर, अमेरिकाको लसएन्जल्समा । लसएन्जल्सको एक होटलमा बसेको छलफलमा धीरेन्द्र शाह, शरदचन्द्र शाह, भरत गुरुङ र दुई विदेशी सहभागी थिए रे । मलाई मार्न जगत गौचनलाई प्रस्ताव राखियो । गौचनले सो प्रस्ताव सहर्ष स्विकारे ।

३० चैत ०४३ को रापंस चुनावमा म्याग्दीको शिख गाउँ विकास समितिको मूलपानी गोलीकाण्डमा हिराबहादुर पुन, हिरालाल फगामी र सुरेश सेर्बुजाको मृत्यु भयो भने आइमती पाइचाको आँखामा गोली लाग्यो, १० घाइते र ४० विस्थापित भएका थिए । सो गोलीकाण्ड तात्कालिक रापंस सदस्य भीमप्रसाद गौचनको निर्देशनमा भएको थियो भन्ने समाचार विमर्शमा छापिएको थियो । त्यसको रिस फेर्न चाहिरहेका थिए जगत गौचनले । जसको बदला लिन उनी आतुर थिए । धीरेन्द्र, शरद र भरत नेपाल र्फकनुअघि नै मलाई सिध्याइसक्नुपर्ने उर्दी जारी गरिएको रहेछ । आज्ञापालक जगत गौचनले ओलम्पिकबाट र्फकनसाथ काम कुरा अगाडि बढाए ।

पेस्तोल चलाउन तालिम

थाहा पाएसम्म निरन्तर दरबार र दरबारियाको समाचार लेखिरहेँ । उनीहरूका बारेमा समाचार लेख्ोबापत म राजाविरोधी पत्रकार भएको थएँ । त्यसकारण म उनीहरूका लागि आँखाको कसिंगर भएँ । मेरो अस्तित्व रहेसम्म कसिंगर पन्छाउनु त्यति सजिलो थिएन । कसिंगर पन्छाउनु भनेको मेरो अस्तित्व सिध्याउनु हो । त्यसैअनुसार मलाई सिध्याउन उनीहरू लागिपरे । जगतले टंक गौचनमार्फत विकास गुरुङ फेलापारे ।

मलाई सिध्याउन विकासलाई तयार पारियो । गुरुङ स्याङ्जाको आँधीखोलामा एकजनाको हत्या गरी काठमाडौँ पसेका रहेछन् । त्यो मुद्दा जगतले जिताइदिन्छु भन्ने आश्वासन दिएपछि विकास मलाई सिध्याउन तयार भएका रहेछन् । मलाई खुकुरी प्रहार गरी मार्नु भनिए पनि गुरुङले नमानेपछि पेस्तोल तयार पारिएको रहेछ । तयार पारेपछि विकासलाई पेस्तोल चलाउने तालिम गराइयो । तालिम फर्पिङको हात्तीवनमा भएको थियो । गोली भने प्रदीपले नीरशमशेरका नाति विनयशमशेरबाट हात पारेका थिए ।

नरशमशेरको पेस्तोल

विकास गुरुङले तालिममा चलाएको पेस्तोल नरशमशेरको थियो । नरशमशेरका छोरा प्रदीपशमशेर जगत गौचनका चेला थिए । मतलब गौचनले प्रदीपलाई तेक्वान्दो तालिम गराउँथे । उनै चेला प्रदीपमार्फत गौचनले नरशमशेरका पेस्तोल हात पारे । नाइन एमएमको सो पेस्तोल स्विट्जरल्यान्ड जाँदा त्यहाँका एक पेस्तोल कम्पनीले दुईवटा पेस्तोल उपहार दिएको रहेछ । त्यसमध्ये एउटा त्रिभुवनले राखे र अर्का नरशमशेरलाई दिएका थिए ।

२० भदौ ०४३ मा त्यही पेस्तोलले मलाई गोली हानियो । गोली हानेका थिए- उनै विकास गुरुङले । गोली हानेको ३५ दिनसम्म मेरो होस खुलेन । मेरो उपचार बंैककको समितिभेज अस्पतालमा भएको हो । दुई महिनासम्मको उपचारपछि म जाती भएँ । उपचारका लागि लगभग २५ लाख खर्च भयो । पाँच सय पाउन्ड मात्रै खर्च भयो मेरो । बाँकी आमनेपाली शुभचिन्तकको सहयोगले मेरो उपचार सम्भव भएको थियो । सात हजार सरकारले दिएका थिए । मलाई गोली हानिएपछि मेरा मित्रहरूले नेपाल टेलिभिजनबाट 'पदम ठकुराठी उपचार कोष' गठन भएको सूचना प्रवाह गरेपछि मेरो उपचारका लागि त्यतिविधि रुपैयाँ जम्मा भएको थियो । त्यतिवेला मागेजति रुपैयाँ र पद-प्रतिष्ठामा बिकेको भए आज म पदम ठकुराठी हुने थिइनँ ।

प्रस्तुतिः दीपेन्द्र राई

raideependra@gmail.com
source:
http://www.nayapatrika.net/newsportal/middle_page/16673.html

Search and Buy from amazon.com